+

बारम्बार रुखाखोकी लाग्नु पिनासको संकेत हो ?

२०८० असार  २४ गते १३:३८ २०८० असार २४ गते १३:३८
Shares
बारम्बार रुखाखोकी लाग्नु पिनासको संकेत हो ?

बदलिंदो मौसमका कारण कहिलेकाहीं रुघाखोकी लाग्नु सामान्य हो । जुन औषधि र खानपानमा ध्यान दिए एक-दुई दिनमा निको हुन्छ । तर लगातार रुघाखोकी लाग्यो भने पिनास पनि हुन सक्छ । यो एउटा जटिल समस्या हो । जसको समयमा उपचार नभए ज्यानै जोखिममा पर्न सक्छ । त्यसैले छिटो पहिचान गर्न र सही उपचारको लागि पिनासबारे बुझ्न आवश्यक छ ।

पिनास कस्तो रोग हो ?

टाउको र अनुहारको हाडहरुमा विभिन्न साइनस (हावाले भरिएको खाली भाग) हुन्छन् । साइनस नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । साइनसभित्र हावा भरिएपछि सामान्य व्यक्तिले हल्का अनुभव गर्छन् । तर  कुनैकारणवश सिंगान आउने बाटोमा अवरोध आयो भने साइन्समा भरिन्छ ।

यसको मतलब साइनसको निकास माध्यममा कुनै कारण अवरुद्ध भई नाकबाट निस्कने सिंगानजस्ता तरल पदार्थ निस्कन नपाई त्यही रहेर ब्याक्टेरिया वा भाइरसको संक्रमण हुनु पिनास हो । पिनासलाई अंग्रेजीमा ‘साइनसाइटिस’ भनिन्छ । पिनास भएमा सिंगान बाहिर निस्कन पाउँदैन । र, विस्तारै त्यसले नाकभित्र नै संक्रमण गराउँछ ।

कारण

यसको मुख्य नाकभित्र मासु पलाउनु, नाकको हड्डी बाङ्गो हुनु, प्रतिरोध क्षमता कमजोर हुनु, अत्यधिक चिसोले संक्रमण गराउनु पिनासका मुख्य कारण हुन् । त्यस्तै एलर्जी, दम, नाक वा साइनसमा संरचनात्मक अवरोध भएका व्यक्तिहरू वा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसलाई यसको उच्च जोखिम हुन्छ ।

लक्षण

कुनै पनि व्यक्तिलाई लगातार वा पटक-पटक रुघाखोकी लागेको तीन महिनापछि पिनासमा परिणत हुन्छ । सिंगान जम्मा हुने कारण नाक बन्द भइराख्ने, नाकबाट रगत आउने, टाउको दुख्ने, आँखा वरपर दुख्ने, गन्ध नाउने, निधारको भाग दुख्ने हुन सक्छ  । कसैलाई ज्वरो आउने, पहेंलो खकार आउने, सुँघ्ने क्षमता हराउने र श्वास गन्हाउने र नाकबाट बाक्लो लेदो गन्हाउने सिंगान पनि आउन सक्छ । यी लक्षण व्यक्तिअनुसार कसैमा बढी कसैमा कम देखिन्छ ।

परीक्षण

लक्षणअनुसार यसको परीक्षण गरिन्छ । पिनासको शंका लागेपछि नाकको इन्डोस्कोपी र  नाक, कान तथा घाँटीको सिटिस्क्यानबाट नाकभित्र संक्रमण, हड्डी बांगिएको, मासु पलाएको छ कि छैन भनेर हेरिन्छ । यदि पिनास रहेछ भने त्यही अनुसारको उपचार गरिन्छ ।

उपचार

पिनासमा प्राय: नाकमा मासु पलाएको र नपलाएको अवस्था हुन्छ । यदि मासु पलाएको छैन भने एन्टिबायोटिक औषधि, नाक खुलाउने औषधि खाँदा पनि ठीक हुन्छ । तर मासु पलाएको अवस्था हो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । बाहिरको भाग नकाटी भित्रबाट नै एन्डोस्कोपिक साइनस शल्यक्रिया गरेर पलाएको मासुलाई सन्तुलनमा ल्याउन सकिन्छ ।

बाङ्गो हड्डी भए सोझ्याउने लगायत उपचार गर्नुपर्ने हुन्छ । शल्यक्रियापछि पनि ६ महिनासम्म स्प्रेको माध्यमबाट नाक सफा गर्नुपर्छ । यसले पिनास बल्झिन दिंदैन । समयमै पहिचान तथा उपचार र त्यसपछि चिकित्सकको निगरानीमा ६ महिनासम्म बसेमा पिनास ठीक हुन्छ ।

 ‘पिनास बिग्रिदा पनि सक्छ’

उपचारमा ढिलाइ हुँदा पिनास बिग्रिन सक्छ । पिनास बिग्रिएमा नाकमा पलाएको मासु आँखामा पुगेर दृष्टिमा समस्या गराउने, पिप जम्ने, मस्तिष्कमा पुग्ने,  आँखा, नाक र मुखभित्रका केही हड्डीलाई दखल दिन सक्ने, आँखाबाट पिनास संक्रमण दिमागमा समेत पुग्न सक्छ ।

प्राकृतिकबाट पनि निको हुन्छ पिनास ?

एलोप्याथिकबाट उपचार गर्ने वा प्राकृतिक तरिकाबाट उपचार गराउने त्यो व्यक्तिको रोजाइ हो । त्यो व्यक्तिको विश्वासको कुरा पनि हो । एलोप्याथिक उपचारमा पिनास नाकभित्र हुने जटिल समस्या र यसबारे विभिन्न अध्ययन, अनुसन्धान र अनुभवको आधारमा पत्ता लगाइएको उपचार विधि छ । जसकारण छिटो पहिचान तथा उपचारको लागि एलोप्याथिकबाट उपचार भरपर्दो हुन्छ ।

कसरी जोगिने ?

यसबाट बच्न रुघाखोकी लाग्न नदिने, प्रतिरोध क्षमता वृद्धि गराउने, रुघाखोकी पटक-पटक लागिरहेमा खानपानमा ध्यान दिने, चिसो मौसमबाट जोगिने र जीवाणुको संक्रमण हुन नदिने कुरामा ध्यान दिनुपर्छ ।

त्यस्तै पिनास भइराख्ने व्यक्तिले एलर्जी नियन्त्रणमा राख्ने, रुघा लामो समयसम्म निको नभए चिकित्सकको परामर्श लिनुपर्छ ।  धुम्रपान गर्ने बानी पनि पिनास गराउने एक कारण हो । त्यसैले यसको सेवन गर्नु हुँदैन ।

(नाक कान तथा घाँटीरोग विशेषज्ञ तथा वरिष्ठ कन्सलटेन्ट डा. यादव वीर अस्पतालका असिस्टेन्ट प्रोफेसरसमेत हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

पिनास रुघाखोकी
डा. ओमप्रकाश यादव
लेखक
डा. ओमप्रकाश यादव
नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : ७९४१ एमबीएस, एमएस हाल वीर अस्पताल र बीपी स्मृति अस्पताल, बसुन्धरामामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

‘मेसु, निर्देशकको पछि पछि हिँड्ने जनशक्ति मात्रै होइनन् अस्पताल व्यवस्थापक’

‘मेसु, निर्देशकको पछि पछि हिँड्ने जनशक्ति मात्रै होइनन् अस्पताल व्यवस्थापक’