+
+
सहकारी संकट-१५ :

जीबी राई समूहको बदमासी : सहकारी नेटवर्क खडा गरी १६ अर्ब संकलन, अवैध नेटवर्किङ व्यवसायमा लगानी

विजय पराजुली विजय पराजुली
२०८० साउन १ गते ९:१०

१ साउन, काठमाडौं । गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ ।

राई कुनै समय सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनलका एक साझेदार थिए । सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेको थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगायो । त्यसपछि नेपालमा हर्बो बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए । तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्ब्स, नेचर नेस्टलगायतको नाममा नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका छन् ।

गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष कुमार रम्तेलले आफ्नो समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको स्वीकार गरे । रम्तेल भन्छन्, ‘हाम्रो टिमको सुरुवात पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट भएको हो ।’

ती संस्थामध्ये ३ अर्ब रुपैयाँ निक्षेप रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंको अध्यक्ष जीबी राई आफैं हुन् भने कुमार रम्तेल कोषाध्यक्ष छन् । उपत्यका बाहिर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि यही समूहको हो । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिवमा पूर्वउराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन छन् ।

तीनवटा सहकारी संस्थामा जीबी राई आफैं अध्यक्ष छन् भने कुमार रम्तेल ४ वटामा । जबकि सहकारी ऐन– २०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था छ । तर, यो समूहले संघ, प्रदेश र स्थानीय तह फरक–फरक नियामकअन्तर्गत सहकारी दर्ता गरेर सरकारलाई समेत झुक्याएको देखिन्छ ।

थप पाँचवटा सहकारीमा उनीहरुकै समूहका व्यक्तिहरु अध्यक्ष तथा सञ्चालक छन् । जीबी राईले आफ्ना दाजुभाइ अनन्तबाबु र देवेन्द्रबाबु राईलाई पनि सहकारीको सञ्चालकको जिम्मेवारीमा राखेका छन् । उनीहरुकै समूहमा रहेका आशिस आनन्द र असरफ अली सिद्धिकी एकभन्दा बढी संस्थामा एकसाथ सञ्चालक छन् ।

यो समूहको आबद्धता रहेको सबै सहकारी समस्यामा छन् । पछिल्लो एक वर्षयता कुनै पनि सहकारी संस्थाले निक्षेपकर्ताको बचत रकम फिर्ता गरेका छैनन् ।

बचतकर्ताको रकममा जीबीको लामो हात 

नेपालभरि विभिन्न नाममा सहकारी संस्थाहरु सञ्चालनमा रहे पनि त्यसको सबै नियन्त्रण जीबी राईसँगै हुने गरेको सरकारी नियामक निकायहरुकै अनुगमनका क्रममा खुलेको छ ।

चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा समस्या आएपछि बागमती प्रदेश, सहकारी मन्त्रालयको सहकारी शाखाका कर्मचारी अनुगमनमा गएका थिए । तर, सहकारीका प्रबन्धकले सिस्टम माथिबाटै कन्ट्रोल हुने भन्दै कुनै विवरण दिन नसकेपछि यसै फर्किएको महाशाखाका एक कर्मचारीले बताए । ७९ करोड ५५ लाख निक्षेप रहेको यो सहकारीमा कुनै समय जीबी राई आफैं अध्यक्ष थिए, अहिले सागर केसी छन् ।

समानता बचत तथा ऋण सहकारीमा पनि समस्या आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले बोलाएर छलफल गरेको थियो । त्यसक्रममा सहकारीका महाप्रबन्धकले बचत रकम केन्द्रमा लैजाने गरेका कारण समस्या आएको बताएका थिए । २० करोड कारोबार देखिएको यो सहकारीको अध्यक्ष जीबी राई आफैं छन् भने कोषध्यक्ष आशिष आनन्द छन् । आशिष आनन्द अहिले सम्पर्कमा नरहेको महानगरको सहकारी शाखा प्रमुख बताउँछन् ।

१ अर्ब ३३ करोड निक्षेप दायित्व रहेको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीले बचत फिर्ता नगरेपछि लुम्बिनी प्रदेशका सहकारी विभागले बोलाएर छलफल गरेको थियो ।

पटक-पटक छलफल र पत्राचार गरे पनि सहकारीले सम्पत्ति र दायित्वको विवरण भनेर एउटा विवरण पेश गर्नुबाहेक कुनै प्रगति नभएको रजिष्ट्रार भीम अधिकारीले बताए । उनका अनुसार पछिल्लो पटक सहकारी सञ्चालक र व्यवस्थापकको सबै सम्पत्ति, बैंक खाता र पासपोर्ट रोक्का गर्न पत्राचार गरेको छ भने आवश्यक कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लेखेर पठाएको छ । यो सहकारीमा सुरुमा जीबी राई आफैं अध्यक्ष थिए । अहिले ओमप्रकाश गुरुङलाई बनाएका छन् भने कुमार रम्तेल सचिव छन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीले पनि एक वर्षदेखि बचतकर्तालाई रकम फिर्ता पाएका छैनन् । १ अर्ब ५५ करोडको कारोबार गर्ने यो सहकारीमा थानबहादुर बुढा अध्यक्ष छन् भने कुमार रम्तेल कोषाध्यक्ष छन् । लामो समयसम्म रकम नपाएपछि राईको समूहले सञ्चालन गरेको टेलिभिजन घेर्ने भन्दै बचतकर्ता काठमाडौंसम्म आएका थिए ।

वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कुल निक्षेप १ अर्ब २० करोडभन्दा बढी छ । अनन्तबाबु राई अध्यक्ष र कुमार रम्तेल कोषाध्यक्ष रहेको सहकारीमा समस्या देखिएपछि मेयर राजेशमान सिंहले संस्थापक जीबी राई, व्यवस्थापक असरफ अलीलाई बोलाएर १ लाखभन्दा कम निक्षेप रहेका बचतकर्ताहरुको रकम क्रमबद्ध रुपमा फिर्ता गर्ने र वित्तीय स्थिति खुल्ने श्वेतपत्र साउन १५ भित्र सार्वजनिक गर्ने लिखित सहमति गराएका हुन् ।

कृषि सहकारीका नाममा अर्कै धन्दा

यो समूहले चलाएको हाम्रो नयाँ कृषि सहकारी संस्थाले भने नेटवर्किङकै शैलीमा सर्वसाधारणसँग पैसा उठाएको पाइएको छ ।

१३ जेठ २०७० मा काठमाडौंमा केन्द्रीय कार्यालय रहने र नेपालभरि कारोबार गर्ने गरी सहकारी विभागमा दर्ता भएको सहकारीको अध्यक्ष जीबी राई छन् । यो सहकारीले विभिन्न स्थानमा सेवा केन्द्र खोल्न सेयर सदस्य बनाउने भनेर प्रति सदस्य ११ रुपैयाँको दरले पैसा उठाउने गरेको पाइएको छ ।

सहकारीका प्रतिनिधि सरोज पुडासैनीले मकवानपुरको बकैया गाउँपालिका र बागमती गाउँपालिकाका ३२५ जनाभन्दा बढी किसानबाट प्रति सदस्य ११०० रुपैयाँ उठाएका थिए भने दुई जना किसानको करिब ८ लाखको अन्न खरिद गरेका थिए ।

सहकारीका एजेन्ट सरोज पुडासैनी र अंगिता सुवेदीले सर्वसाधारणलाई विश्वासमा लिन स्थानीय शिवबहादुर खुलाललाई पनि प्रयोग गरेका थिए । अन्य स्थानीयलाई झुक्याएर सदस्य बनाएको र रकम लिएर बेपत्ता भएको खुलाल बताउँछन् ।

उनका अनुसार महिलालाई १५ लाख र पुरुषलाई १० लाखसम्म विना धितो ऋण दिने, साना किसान सहकारीबाट थप ५ लाख पनि ऋण दिने भन्दै सेयर सदस्य बनाएका थिए । सेयर प्रमाणपत्र दिने भनेर कागजात र फोटो संकलन गरे भने कार्यालय खोल्ने भनेर तयारी गरेका थिए । ‘१०० रुपैयाँ सेवा शुल्क र १ हजार सेयर सदस्य बापतको पैसा भनेर संकलन गरे । पैसा उठाएपछि अनेक बाहना गरेर सहकारीका एजेन्टहरु हराए’, खुलाल भन्छन् ।

मकवानपुरलगायत क्षेत्रका पीडितले दिएको उजुरीका आधारमा सहकारी विभागले जीबी राईसहित सञ्चालक समितिका ६ जनाको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । सबै स्थिर सम्पत्ति रोक्का गर्न भूमि व्यवस्था तथा अभिलेख विभाग र पासपोर्ट रोक्का राख्न अध्यागमन विभागलाई पत्राचार गरेको छ ।

मर्जरको नाममा कृत्रिम सम्झौता

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, खुसिबुस्थित लालीगुँरास बचत तथा ऋण सहकारी र जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच मर्जर गर्ने सम्झौता गरिँदै

जीबी राई र उनको समूहले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारी मर्जरको कृत्रिम सम्झौता गर्ने गरेको खुलेको छ ।

२४ भदौ २०७९ मा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, खुसिबुस्थित लालीगुँरास बचत तथा ऋण सहकारी र जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच मर्जर गर्ने र जीबी राई अध्यक्ष बन्ने सहमति भएको थियो । स्वर्णलक्ष्मीको अध्यक्षमा जीबी राई नै छन् भने अन्य दुईको नेतृत्वमा उनका ससुरालीतर्फका नातेदार हुन् । तत्कालीन गोर्खा विकास बैंकका अध्यक्ष तथा हाल गोर्खा सहकारीका सञ्चालक डीबी बम्जन जीबी राईका जेठान हुन् । राई र बम्जन समूहले देशभर सहकारीको सञ्जाल विस्तार गरेका छन् ।

लालीगुराँस र कल्याण उपकार दुवै सहकारीको साधारणसभा नै आफूले नै गराएकाे गोर्खा ग्रुपका अध्यक्षसमेत रहेका कुमार रम्तेलले बताए ।

गोर्खा समूहअन्तर्गतकै कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले बचत फिर्ता नगरेपछि काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यालयमा पुगेका बचतकर्ताहरू ।

मर्जर सम्झौता कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सघंका अध्यक्ष परितोष पौडेल पनि गएका थिए । तर, सहकारीमा समस्या देखिएपछि बचतकर्ताको आँखामा छारो हाल्न मर्जरको नाटक गरिएको र त्यसमा सहभागी गराएर आफूलाई फसाइएको अनुभव भएको उनले बताए । ‘संगठित रुपमा देशभरि सहकारी चलाउने र समस्यामा सिर्जना गर्नेहरुले नै सहकारी बदनाम गराएका हुन्,’ उनले भने ।

जीबी राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारीले काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता, वीरगञ्जको सानो पाइला र पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग मर्जर गर्ने भन्दै सहकारी विभागमा फाइल पठाएको छ । सबै सहकारीको समस्या समाधान नहुँदासम्म मर्जरको स्वीकृति दिन नसकिने विभागका रजिष्ट्रार नमराज घिमिरेले बताए ।

गोर्खा समूहका अध्यक्ष रम्तेल भने समूहअन्तर्गतका सहकारीहरुको एउटा संस्था बनाउँदा नेतृत्व र काम गर्न सजिलो हुन्छ भनेर मर्जर गर्ने प्रयास गरेको बताउँछन् । उनले भने, ‘संस्था एकीकृत गर्दै बचतकर्तालाई विश्वास दिलाएर समस्या समाधान गरेर अगाडि बढ्ने भनेको हो, तर उक्त योजना पूरा भएको छैन ।’

नेटवर्किङ नै प्रमुख धन्दा

जीबी राई नेतृत्वको गोर्खा ग्रुप अफ कम्पनीको प्रमुख धन्दा नै नेटवर्किङ व्यवसाय हो । यो समूहले नेचर हर्ब्स नेपालको नामबाट प्रत्यक्ष वस्तु बिक्रीको अनुमति लिएको छ ।

एक डेढ दशकअघिसम्म नेपालमा नेटवर्किङ व्यवसायको बिगबिगी थियो । त्यसबेला सबैभन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेशनलका एक साझेदार थिए, जीबी राई । हर्बोमा लगानी गरेर ठगिएका सर्वसाधारण अझै पनि भेटिन्छन् । नेटवर्किङबाट धेरै जनता ठगिएपछि सरकारले नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाएको थियो ।

२०७४ सालमा संसदबाट प्रतक्ष्य वस्तु बिक्री गर्ने ऐन पारित भयो, जसले विदेशी मालवस्तु नेपालमा ल्याएर बिक्री गर्न पाइने तर त्यसका लागि नेपालमा छुट्टै कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गर्‍यो । सोही ऐनको आधारमा वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी नियमावली २०७६ जारी भएपछि त्यस्तो कारोबार गर्ने भन्दै केही कम्पनीहरु नेपालमा दर्ता भए । सोही मध्येका एक हो नेचर हर्ब्स इन्टरनेसनल ।

१ असार २०७७ मा दर्ता भएको कम्पनीमा ओखलढुंगाका जीबी राई र नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका काठमाडौंका छविलाल जोशी शेयरधनी थिए । त्यसको महिना दिन पूरा नहुँदै जीबी राईले ललितपुरका कुमार रम्तेल र छविलाल जोशीले तनहुँका रामबहादुर खनालको नाममा सेयर ट्रान्सफर गरे । त्यो नाम मात्रको ट्रान्सफर भएको जानकार स्रोत बताउँछन् । किनकि अहिले पनि नेचर हर्ब्स र नेचर नेस्ट राईको गोर्खा ग्रुप अफ कम्पनीअन्तर्गत छन् । नेचर नेष्ट र नेचर हर्ब्स कम्पनीका अध्यक्ष जीबी राई आफैं छन् भने गोर्खा ग्रुपको अध्यक्ष रम्तेललाई बनाएका छन् ।

गोर्खा ग्रुपले अहिले पनि नेटवर्किङ शैलीमा कम्पनीको सेयर बिक्री गरेर सर्वसाधारणबाट पैसा उठाउने गरेको छ । अहिले पनि गोर्खा ग्रुप अफ कम्पनीको सेयरमा किनेर अहिले पनि लगानी गर्नसक्ने कम्पनीका एक सञ्चालकले बताए ।

गोर्खा ग्रुप, नेचर हर्ब्स लगायत कम्पनीले विभिन्न तहमा नेटवर्क खडा गरी अवैध मार्केटिङ धन्दा चलाउँदै आएका छन् । जसअनुसार ११ हजार ७ सय रुपैयाँ तिरेपछि नेटवर्कमा आबद्ध हुन पाइन्छ । नेटवर्कमा पैला लगाएअनुरुप ‘सिल्भर प्लान’, ‘गोल्ड प्लान’, ‘डाइमण्ड प्लान’ ‘सुपर डाइमण्ड प्लान’ भनेर अवैध पैसा असुली गरिरहेको पाइएको छ ।

त्यस्तै नेटवर्किङमा सदस्य थपेअनुसार विभिन्न हिमालका नाममा ‘स्टार लिडर’को पदवी भिराइन्छ । उदाहरणका लागि अन्नपूर्ण स्टार लिडर । कुन तहको स्टार लिडर हुने हो, यसले नयाँ बन्ने सदस्यबाट पाउने कमिसन पनि सोहीअनुरुप हुन्छ । त्यस्तै, सदस्य बनाउनेलाई तहगत बोनस पनि दिने भनिन्छ । यसरी जीबी राईको समूहले मुलुकमा अवैध रहेको नेटविर्कङ व्यवसाय मार्फत लाखौं सर्वसाधारणलाई ठगिरहेको पाइएको हो ।

जीबी राईकाे कम्पनीमा नेटवर्किङ व्यवसायमा आबद्ध तथाकथित अन्नपूर्ण स्टार लिडर ।

नेचर हर्ब्स र नेचर नेस्ट कम्पनीले नेपालका अतिरिक्त सिंगापुर, मलेसिया, भारत, यूएई, हङकङ, कतारमा नेटवर्किङ धन्दा चलाइरहेका छन् । नेचर नेस्टले चिया तथा सौन्दर्य प्रशोधनका सामान उत्पादन गर्ने र नेचर हर्ब्सले नेटर्किङमार्फत विभिन्न स्किममा बेच्ने गरेको छ ।

यही समूहको लगानीमा इलाममा गुप्ती टी इस्टेट प्रालि पनि सञ्चालनमा छ । त्यस्तै, यही समूहअन्तर्गत गोर्खा आयुर्वेद कम्पनीमा पनि जीबी राई सञ्चालक छन् । सो कम्पनीको अध्यक्षमा मणिध्वज जोशी छन् भने सञ्चालकहरुमा रामहरि सुवेदी, खेमराज भट्टराई, मनोजप्रसाद धिताल र जीबी राई छन् । यो कम्पनीले विभिन्न आयुर्वेदिक औषधिहरु उत्पादन गर्छ ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

सहकारी संकट-११

सहकारी संकट-१२

सहकारी संकट-१३

सहकारी संकट-१४

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?