+
+

मिटरब्याजीले हडपेको जग्गा फिर्ता पाउँदाको खुसी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० साउन २ गते १९:४९
महोत्तरीको लोहारपट्टी नगरपालिका–२ सुखैनिया टोलकी उर्मिलादेवी महरा र उनका कान्छो छोरा जयनारायण ।

२ साउन, जनकपुरधाम । ‘हमर खुसीके सीमा नही हे । सपनों मे नही सोचै छी की आब हमर किनल घरघरारी हमर हे । मुदा सरकारके कारण से फिर्ता भेटेले’ मिटरब्याजीले हत्याएको जग्गा फिर्ता पाएपछि उर्मिला देवी महरा (चमार) दंग छिन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ सुखैनिया टोलकी उर्मिलाको परिवार ऐलानी जग्गामा बस्दै आएको थियो । आफ्नै जमिनमा ओत लाग्ने सपना पछ्याउँदै उनको परिवारले सात वर्ष अघि ११ लाख खर्चिएर १८ धुर घडेरी जोडेको थियो । त्यही जग्गा पास गर्न लिएको ऋणले उनको परिरवारलाई दिनु दुःख दियो । कतिसम्म भने तीन छोरा, तीन बुहारी र ८ नातिनातिना सहित १५ जनाको परिवारकी मुली उर्मिला थातथलो छाड्ने सोचमा पुगेकी थिइन् ।

तर उनको परिवारमा खुसी फर्किएको छ । शुक्रबार साँझ ५ बजे घरभन्दा केही पर बटैया (अधियामा उब्जाउने) लिएको खेतमा धान रोपाइँ गरिरहेकी उर्मिला निकै खुसी थिइन् ।

खुसी साट्दै गर्दा आफूले पाएको दुःख पनि सुनाइन् । उर्मिलाका अनुसार गाउँकै राजी यादवसँग जग्गा किन्ने क्रममा ७ लाख रुपैयाँ पुगेन । खरिद गरेको जग्गा सोझै जग्गा धनीको नामबाट आफ्नो नाममा दृष्टिबन्धक गरिदिने र कपाली तमसुक बनाउने शर्तमा साहु सोनेलाल ऋण दिन तयार भए । आफ्नै जमिनमा घर बनाउने सपना देखेकी उर्मिला सहमत भइन् । दृष्टिबन्धक रहने गरी जग्गा पास भयो ।

उर्मिलाको परिवारका अनुसार ऋण लिंदा मासिक सयकडा ३ रूपैयाँ ब्याज तोकिएको थियो । सोनेलालले ऋण दिएको रकम ७ लाखको चार गुणा (२८ लाख) को कपाली तमसुक गराए । माइलो छोरा बलिरामसँग २–२ लाखको तमसुक गराए ।

उर्मिलाका कान्छो छोरा जयनारायणका अनुसार ऋण लिएको वर्ष दिनमै पाँच लाख रुपैयाँ बुझाएको थियो । उर्मिलाका छोराहरू वैदेशिक रोजगारीमा गए । जेठो छोरा देवशरणले कतार र माइलो बलिरामले कुवेतबाट पठाएको पैसा पनि साहुलाई बुझाए । पटक पटक गरेर १५ लाख ८० हजार बुझाएको थियो । तर साहु सोनेलालले ३५ लाख रुपैयाँ अझ बाँकी रहेको भन्दै घडेरी र तीनवटै कपाली तमसुक फिर्ता नगर्ने बताए ।

सोनेलालले मानिसहरू लिएर आउँथे, र घडेरी खाली गराउन धम्की दिन्थे, गालीगलौज गर्थे । साहुको हप्कीदप्कीबाट आजित उर्मिलाको परिवार घरघडेरी खाली गरेर अन्तै जाने मनस्थितिमा पुगेको थियो । पछिल्लो समय मिटरब्याज विरुद्ध आन्दोलन सुरु भयो । सरकारले त्यसलाई सम्बोधन गर्न अध्यादेश ल्याएपछि उर्मिला र उनको परिवारमा आशा पलायो । जयनारायणका अनुसार १९ वैशाखमा उनीहरूले जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा मिटरब्याजी साहु सोनेलाल विरुद्ध उजुरी दर्ता गराए ।

ब्याजको स्याज लिइसकेका मिटरब्याजी सोनेलाल तर्सिए । गाउँमै मिलाउन प्रयास गर्न थाले । तर उर्मिलाको परिवार मानेन । जिल्ला प्रशासनमै छलफल गर्ने अडान लिए । जिल्ला प्रशासन कार्यालयले १३ जेठमा दुवै पक्षलाई बोलायो । सोनेलाल पुगे, तर छलफल गर्न मानेनन् । उर्मिलाको परिवारले ५० हजार रुपैयाँ दिए जग्गासहित तीनवटै कपाली तमसुक फिर्ता दिने बताए ।

उर्मिला राजी भइन् । तर सोनेलालले मेलमिलापको कागज गराउन खोजे, उर्मिलाले पहिले जग्गा फिर्ता गर्नुपर्ने शर्त अघि सारिन् । सोनेलाल तीनवटा कपाली तमसुक फिर्ता गर्नुका साथै मालपोतमा गएर जग्गा फिर्ता गरिदिएको जयनारायण बताउँछन् ।

‘साहु सोनेलालले लगभग बेइमानी गरिसकेको घडेरी र कपाली तमसुक यति सहजै फिर्ता गर्छन् भन्ने कल्पनै गरेका थिएनौं । तर मिटरब्याज सम्बन्धी अध्यादेश आउँदा गुमिसकेको हाम्रो घडेरी फिर्ता भयो’, जयनारायणले खुसी साटे ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार डेढ महिनामा करिब ४१ बिघा ८ कट्ठा ११ धुर जग्गा फिर्ता गराइएको छ । यसरी मिटरब्याज पीडितहरूलाई फिर्ता गराइएको जग्गामध्ये कतिपय त साहुले अदालतबाट मुद्दा जितेका समेत छन् ।

यसरी जग्गा फिर्ता पाउनेमध्ये एक हुन् महोत्तरीकै वलवा नगरपालिका–११ निकाल टोलका लक्ष्मेश्वर यादव । उनले १३ वर्षपछि ४ कट्ठा ७ धुर जग्गा फिर्ता पाएका छन् ।

उनले २०६७ असारमा घरव्यवहार चलाउन लोहारपट्टी नगरपालिका–८ भ्रमरपुराका रामनारायण साहसँग ऋण लिएका थिए । २ लाख ५० हजार रुपैयाँ ऋण लिने गरी दिदी निर्मलाको नाममा रहेको जग्गा दृष्टिबन्धक राखे भने साढे ७ लाखको तमसुक बनाए । तर एजेन्ट वलवा नगरपालिका–९ का मो. जलम्तरले एकलाख मात्र पैसा दिए । केही समयपछि अढाइ लाखको ब्याज सहित गरी पैसा माग्न थाले ।

आफूले पाएको एकलाख ब्याजसहित तिर्न लक्ष्मेश्वर तयार थिए, तर साहुले मानेनन् । बरु तीन वर्षपछि दृष्टिबन्धक पास गरेको लक्ष्मेश्वरको जग्गामा साहु रामनारायणले जोतभोगमा रोक लगाए । साहु रामनारायणले सावाँ–ब्याज सहित ५४ लाख चुक्ता गरे मात्र फिर्ता गर्ने अड्डी कसे ।

महोत्तरीको वलवा नगरपालिका–११ निकाल टोलका लक्ष्मेश्वर यादव ।

साहु रामनारायणले आफ्नो जग्गा बेच्न खोजेपछि अदालतमा रोक्का मुद्दा हाले, पटक–पटक प्रहरी तथा गाउँमा छलफल भयो । तर सहमति जुट्न सकेन । पछिल्लो पटक मिटरब्याज विरुद्ध आन्दोलन चर्किएपछि लक्ष्मेश्वर यादवले गत फागुनमा साहु रामनारायण विरुद्ध जिल्ला प्रशासनमा ठगी मुद्दा दर्ता गराए । ५ वैशाखमा प्रहरीले रामनारायणलाई पक्राउ गर्‍यो । २० वैशाखमा छलफलमा बस्ने र उचित रकम लिएर फिर्ता गर्ने शर्तमा उनी छुटे ।

पूर्वसहमति अनुसार २० गते जिल्ला प्रशासनमा भएको छलफल ५ लाख ८५ हजार रुपैयाँ लिएर लक्ष्मेश्वरको जग्गा फिर्ता गर्न मिटरब्याजी साहु रामनारायण सहमत भए । २ जेठमा जग्गा फिर्ता भयो । ‘मिटरब्याज विरुद्धमा सरकार अडिग नभएको भए साहु रामनारायणले जग्गा फिर्ता गर्ने थिएनन्’ लक्ष्मेश्वर भन्छन्, जालझेल गरेर १० वर्षदेखि खेत जोत्न दिएको थिएन । हामीले त आशै मारिसकेका थियौं ।’

महोत्तरीको बलवा नगरपालिका–११ निकालटोलकै रामस्नेही यादवलाई हर्ष र चिन्ता एकसाथ आइलागेको छ ।

मिटरब्याजी साहुले हडपेको जग्गा फिर्ता हुन लागेकाले उनी खुसी छन्, तर साहुलाई तिर्नुपर्ने रकम जुटाउनुपर्ने भएकाले दबाबमा पनि । रामस्नेहीले खुसी र चिन्ता मिश्रित भावमा भने, ‘साहुले हत्याएको २ कट्ठा १३ धुर जग्गा फिर्ता हुनेवाला छ । त्यसैको लागि रुपैयाँ पैसाको जोगाडमा लागेको छु ।’

रामस्नेही र उनकी आमा सोमनीदेवीले २०७० सालतिर छिमेकी साहु बैजनाथ यादवसँग मासिक सयकडा ३ रुपैयाँ ब्याज तिर्ने गरी एक–एक लाख रुपैयाँ ऋण लिएका थिए । सोमनीदेवीले घरव्यवहार चलाउन र औषधि उपचारका लागि ऋण लिएकी थिइन् भने रामस्नेहीलाई जेठी छोरी शोभाको विवाह गर्नु थियो । साहु बैजनाथले आमा छोरासँग ऋण दिएको मूल धनको तीन गुणा ३–३ लाखको कागज गरे ।

रामस्नेहीका अनुसार आमा सोमनीको ६ वर्षअघि निधन भयो, उनले अहिलेसम्म १ लाख ४३ हजार रुपैयाँ तिरेका छन् । पछिल्लो वर्षहरूमा साहु बैजनाथले कपाली तमसुक अनुसर सावाँ र व्याज चुक्ता गर्न दबाब दिंदै आएका थिए । ‘मानसिक यातना दियो । मुद्दा हालिदिन्छु, सडकमा ल्याइदिन्छु भनेर दिएको धाकधम्कीको सीमा छैन’, रामस्नेही अतीत सम्झिन्छन् ।

महोत्तरीको बलवा नगरपालिका–११ निकालटोलकै रामस्नेही यादव ।

रामस्नेहीका अनुसार लिएको ऋणको उचित सावाँ–ब्याज तिर्न उनी तयार थिए । गाउँ–समाजमा भएको छलफलमा पनि उनले त्यही मत राखेका थिए । तर साहुले मनलाग्दी रकम माग्न थालेपछि सहमति जुटेन । दुई वर्षअघि साहु बैजनाथले २४ लाख बिगो दाबी सहित महोत्तरी जिल्ला अदालतमा लेनदेन मुद्दा हालिदिए, जसको रामस्नेहीले सुईकोसम्म पाएनन् । गत वर्ष डाक लिलाम मार्फत आठ कठ्ठा जमिनमध्ये २ कट्ठा १३ धुर साहु बैजनाथको नाममा पास गराएको अदालतको पत्र आयो । रामस्नेही छाँगाबाट खसे झैं भए ।

डाक लिलाम रद्द गराउन अदालत पुगे । अदालतमा मुद्दा विचाराधीन रहेका बेला सरकारले मिटरब्याजी विरुद्ध जिल्ला प्रशासनमा निवेदन दिन आह्वान भएपछि उनी पनि उजुरी दिन पुगे । २७ असारमा भएको छलफलमा रामस्नेहीले चार लाख रुपैयाँ तिर्ने र साहु बैजनाथले २ कट्ठा १३ धुर जग्गा फिर्ता गर्ने सहमति भयो ।

करिब ४० लाख मूल्य पर्ने जग्गा फिर्ता पाउने भएपछि रामस्नेही रकम जोहो गर्न जुटेका छन् । ‘सरकारले चालेको यो कदमले म जस्ता धेरै पीडितले न्याय पाइरहेका छन् । सरकारलाई धेरै धेरै धन्यवाद’ भावविह्वल रामस्नेहीले हात जोडे ।

महोत्तरीको सोनमा गाउँपालिका–५ का मो. जलाल शेखले पनि आफ्नो जग्गा फिर्ता पाएका छन् ।

काठमाडौंमा फेन्सी पसल चलाएका उनी २०७२ वैशाखको विनाशकारी भूकम्पपछि घर फर्किएका थिए । त्यसक्रममा उनी घरजग्गा व्यवसायतिर लागे । मासिक सयकडा ३ रूपैयाँ ब्याजमा कर्जा दिएर जग्गा कारोबार सुरु गरे । २०७५ सालमा उनले गौशाला नगरपालिका–५ मा ३ कट्ठा घडेरी २७ लाखमा किने ।

महोत्तरीको सोनमा गाउँपालिका–५ का मो. जलाल शेख ।

सोनमाका साहु विन्देश्वर यादवसित २७ लाख ऋण लिए, उनकै नाममा जग्गा दृष्टिबन्धक पास गरिदिए । कोरोना महामारीसँगै घरजग्गा कारोबार चौपट् भयो । ब्याज बढ्दै गयो । साहु विन्देश्वरलाई ५० लाख रुपैयाँ बुझाउँदा पनि थप ११ लाख नतिरे १३ धुर जग्गा फिर्ता नगर्ने अडान राखे ।

पछिल्लो पटक सरकारले मिटरब्याजीलाई अनुचित लेनदेन मान्दै कानुनी कारबाही गर्ने प्रक्रिया थालेपछि जलालले १ जेठमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा साहु विन्देश्वर विरुद्ध उजुरी दिए । २० लाख मूल्य पर्ने जग्गा फिर्ता पाउने भएपछि जलाल ३ लाख रुपैयाँ दिएर मेलमिलाप गर्न सहमत भए । सहमति अनुसार २५ असारमा विन्देश्वरबाट १३ धुर जग्गा जलालले फिर्ता पाए ।

उनको गौशाला बजारमै अर्का साहु सन्दीप साह सुडीको कब्जामा रहेको १२ धुर जमिन पनि फिर्ता हुने भएको छ । जलालका अनुसार ४० लाखको कपाली तमसुक गरेका साहु सन्दीपले ७८ लाख रुपैयाँ नदिए जग्गा फिर्ता नगर्ने अडान लिएका थिए । ५ वैशाखमा उनले जिल्ला प्रशासनमा उजुरी दिए ।

केही दिनअघि मात्र भएको छलफलमा ७ लाख रुपैयाँ लिएर १२ धुर जग्गा र ४० लाखको कपाली तमसुक फिर्ता गर्न मिटरब्याजी साहु सन्दीप साह सुडी सहमत भएका छन् ।

जलालले पनि सहमति अनुसारको रकम बुझाएका छन् भने भोलि ३ साउनमा जग्गा फिर्ता पाउने आशमा छन् । ‘सुदखोरले जग्गा फिर्ता गर्दैन होला भन्ने लागेको थियो । उनीहरूको हर्कतले जग्गा पाउने कुनै आशा थिएन’ जग्गा फिर्तासँगै बिग्रिएको आफ्नो कारोबार केही सुधार हुने आश गरेका उनी भन्छन्, ‘आयोग नबनेको भए मेरो जग्गा पनि फिर्ता हुने थिएन ।’

आयोगका अनुसार हालसम्म करिब २४ हजार उजुरी छन् । मधेश प्रदेशका ८ जिल्लामा मात्र १८ हजारभन्दा धेरै उजुरी छन् । डेढ महिनामा एक हजार ८८२ वटा निवेदनमा मेलमिलाप भएको छ ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की पनि साहु महाजनले तीन चार गुणाबढी रकम राखेर तमसुक बनाउने गरेको पाइएको बताउँछन् ।

बैंक वित्तीय संस्थाबाट सहज रुपमा ऋण नपाउने र बाध्य भएर साहु महाजनसँग मिटरब्याजमै ऋण लिने बाध्य भएको भन्दै उनले अगाडि भने, ‘दुई लाख लियो भने तीन/चार गुणा बढीको तमसुक बनाउँछन्, जग्गा पास गराउँछन् । मानिसहरु पनि बाध्यतामा आँखा चिम्लेर सही गरिदिन्छन् ।’

आयोगमा यस्ता उजुरीको चाङ लागेको भन्दै अध्यक्ष कार्कीले सहमति गराउन समय लाग्ने बताउँछन् । ‘सजिलो तरिकाले मेलमिलाप हुँदैन । सत्य तथ्यमा पुग्न धेरै समय लाग्छ’, उनले भने, ‘जति ऋण दिएको छ, त्यसको उचित व्यजा साँवासहित दिने सहमति गराउँछौं ।’

पछिल्लो पटक संसदबाट यससम्बन्धी विधयेक पास भएपछि थप सहज भएको भन्दै पूर्वन्यायाधीश समेत रहेका आयोगका अध्यक्ष कार्कीले भने, ‘परेका बाँकी उजुरीको समाधान गर्छौं । बदमासी गर्ने मिटरब्याजीलाई कानुन लगाएर थुन्छौं ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?