+
+

कस्मेटिक सामग्रीका कारण आउन सक्छ डण्डीफोर

डा. विक्रान्त ढकाल डा. विक्रान्त ढकाल
२०८० साउन ७ गते १३:०१

डण्डीफोरको समस्या किशोर अवस्थामा प्राय: सबैलाई देखा पर्छ । यद्यपि अहिले डण्डीफोर आउन कुनै उमेर समूहको हुनु पर्दैन । डण्डीफोरले अनुहारको सौन्दर्य बिगार्ने भएकाले यसले धेरैलाई तनाव दिन्छ ।

छालाको हेरचाह नगर्ने व्यक्तिमा प्राय: डण्डीफोरको समस्या देखिन्छ । तर कहिलेकाहीं छालाको हेरचाह गर्दागर्दै पनि डण्डीफोरको समस्याले सताउन सक्छ । डण्डीफोरले अनुहारको रौनक नै बिगार्छ । अझ कतिपय डण्डीफोरको त दाग नै बस्छ, जसलाई सहजै हटाउन सकिंदैन । त्यसैले डण्डीफोरको बारेमा केही कुरा जान्नैपर्छ ।

डण्डफोर आउने कारण

हार्मोनको गडबडी मात्र डण्डीफोरको कारण होइन । डण्डीफोर आउनुको पछाडि धेरै कारण छन् । यीमध्ये खानपान शैली र छालाको हेरचाहमा ध्यान नदिनु मुख्य कारण हुन् । मानव शरीरमा चिल्लो निकाल्ने ग्रन्थीहरूको विकास भएसँगै यसको एक्टिभेसन पनि बढ्दै गएपछि शरीरमा चिल्लोपन निस्कन थाल्छ ।  जसमा ब्याक्टेरिया जोडिएर जम्मा हुन थाल्छ र डण्डीफोरको रूपमा देखा पर्छ ।

छालामा हुने रोम छिद्रलाई डेडसेलहरुले बन्द गरिदिएपछि त्यही ठाउँमा डण्डीफोर आउँछ । साथै अनिद्रा र तनावको कारण पनि डण्डीफोरको समस्या देखिन्छ । धेरै चिल्लो खानेकुरा, प्याकेट बन्द खानेकुरा पनि डण्डीफोर आउनुका कारणमा पर्छन् ।

अनुहारमा विभिन्न सौन्दर्य प्रसाधन प्रयोग गर्दा पनि डण्डीफोरको समस्या हुने गर्छ । जथाभावी मेकअप गरेर अनुहारमा बढ्ता चिल्लोपन आएमा वा सुख्खापन भएमा पनि डण्डीफोरको खतरा हुने गर्छ । गलत मेकअपका कारण अनुहारको छालामा असर गर्छ र डण्डीफोरका कारण बन्छन् । युवामा देखा पर्ने डण्डीफोरको एउटा प्रमुख कारण कमसल मेकअप पनि हो ।

अपनाउनुपर्ने सावधानी

डण्डीफोरलाई हातले सोझै छुनु, कोट्याउनु हुँदैन । यदि छोएमा तुरुन्तै हात धुनुपर्छ । डण्डीफोर छोएको हात नधोई अनुहारको कुनै ठाउँमा छुँदा त्यही ठाउँमा डण्डीफोर आउन सक्छ । जथाभावी कमसल कस्मेटिकहरूको प्रयोग गर्नु हुँदैन । राति सुत्नु भन्दाअघि अनुहारको मेकअपलाई सफा पानीले पखाल्नु पर्छ ।

अनुहारलाई बेलाबेला क्लिन्जिङ गरिरहनुपर्छ । अनुहार सफा गरेपछि पुछ्नका लागि सफा रुमाल अथवा तौलियाको व्यवस्था गर्नुपर्छ ।

डण्डीफोरलाई लापरवाही गर्दा अनुहार नै बिग्रिन सक्छ

डण्डीफोरका समस्या भएकाले समयमा उपचार गरेनन् वा छालाको हेरचाहमा ध्यान दिएनन् डण्डीफोर बिग्रिएर छाला रातो हुने, दाग बस्ने हुन्छ ।

डण्डीफोरलाई जथाभावी चलाएमा खत बस्ने, दाग बस्ने समस्या देखिन्छ । त्यसैले डण्डीफोरलाई बढ्न नदिन र बिग्रिन नदिन समयमा नै उपचार गर्नु उपयुक्त हुन्छ ।

बच्ने उपाय

– प्रशस्त मात्रामा पानी पिउने

– अनुहारलाई सफा गरिरहने

– राम्रो गुणस्तरको सौन्दर्य सामग्री प्रयोग गर्ने

– पर्याप्त मात्रामा निदाउने

– तनाव नलिने

– धेरै चिल्लो खानेकुरा नखाने, सन्तुलित खाना खाने

– घामको विकिरणले अनुहारको छालामा असर पार्छ, त्यसैले घाममा निस्किनुअघि सनस्क्रिन, पूरा बाहुला भएको लुगा र छाताको प्रयोग गर्ने

-कतिले डण्डीफोर हो आफैं जान्छ भनेर बस्छन् तर यो बिग्रियो भने दाग धब्बा बस्ने भएकाले समयमा  उपचार गर्ने ।

(छाला तथा सौन्दर्य विशेषज्ञ डा. ढकाल नेपाल स्किन एण्ड एस्थेटिक सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?