
७ साउन, काठमाडौं । वीर अस्पतालमा भीभीआईपी र भीआईपीका लागि थप तीनवटा क्याबिन छुट्याइने भएको छ ।
सर्जिकल भवनमा एक भीभीआईपी र दुई भीआईपी कक्ष सोमबारदेखि सञ्चालन हुनेगरी तयारी अघि बढाइएको छ । यसअघि वीरमा भीभीआईपीका लागि एउटा र भीआईपीका लागि एउटा क्याबिनको व्यवस्था थियो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा थप भीभीआईपी कक्ष थप्न लागेको बताए ।
‘स्वास्थ्यमन्त्रीले भीआईपीको उपचार नेपालमै गर्नुपर्ने र त्यसको सबै व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने भन्दै आउनुभएको छ’ डा. बस्नेतले भने, ‘उहाँकै निर्देशनमा क्याबिन थपिन लागेको छ । भोलिबाट नै नयाँ सर्जिकल भवनमा भीभीआईपी कक्ष सञ्चालन ल्याउन सकिन्छ ।’
डा. बस्नेतका अनुसार फर्निसिङको सबै काम अन्तिम चरणमा पुगेको छ ।
भीभीआइपीलाई उपचारका लागि छुट्टै टिमको व्यवस्थापन गर्न लागिएको डा. बस्नेतले बताए ।
नाम चलेका वरिष्ठ चिकित्सक तथा सबै सेवा–सुविधा सम्पन्न वीरको भीआईपी कक्ष हुँदाहुँदै पनि विशिष्ट व्यक्तित्वहरु उपचार गर्न भर्ना नै हुँदैन । पछिल्ला दिनमा उपचार गर्न विशिष्टहरु विदेशतिर जाने लहडले वीरको भीभीआईपी कक्ष प्रयोगविहिन अवस्थामा छ ।
सर्वसाधारणले भने वीर अस्पतालको आकस्मिक कक्षमा बेड नपाएर भुईँमा समेत उपचार गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया 4