+

भान्सामा बालिने दाउराको धुवाँले चुरोटले जस्तै हानि

२०८० साउन  ९ गते १३:३८ २०८० साउन ९ गते १३:३८
भान्सामा बालिने दाउराको धुवाँले चुरोटले जस्तै हानि

सास नफेरी मान्छे कति समयसम्म बाँच्न सक्छ होला ?

विज्ञान भन्छ, ‘अपवादबाहेक मात्र केही मिनेटसम्म ।’ मान्छे सास नफेरी बाँच्नै सक्दैन । बरु पानी नपिई वा अन्न नखाई शरीरले लामो समयसम्म थेग्न सक्छ ।

शरीरलाई जरुरी अन्न र पानीभन्दा बढी महत्व छ, अक्सिजन । त्यसैले यसलाई आयुर्वेदले ‘प्राणवायु’ भन्ने गरेको छ । तर, के हाम्रो प्राणवायु शुद्ध वा ताजा छ त ?

धुवाँ, धूलोका सुक्ष्म कण र अनेकन रसायनले वायुमण्डललाई अशुद्ध बनाएको छ । यो शहरी र उद्योग–कारखाना भएका क्षेत्रको कुरा हो । ग्रामिण भेगको वायुमण्डलमा यतिविध्न दूषित कणहरु छैन । के त्यसो भए ग्रामिण भेगमा बस्ने मान्छेहरुले शुद्ध हावामा सास फेरिरहेका छन् त ?

यसको जवाफ पनि सकारात्मक छैन । हाम्रो गाउँघरमा अझै पनि दाउरामा खानेकुरा पकाउने गरिन्छ । हुन त त्यहाँ दाउरा सहज र सस्तो पर्न सक्छ । यसरी दाउरा बाल्दा भान्सामा धुँवा गुम्सिएर रहन्छ । दिनरात भान्सामा काम गर्ने वा बस्नेहरुको फोक्सोमा अक्सिजनसँगै सो धुँवापनि पुग्छ । जबकि हाम्रो भान्सामा दाउरा बलेको अहिले मात्र होइन । सदियौंदेखि पूर्खाहरुले दाउराकै प्रयोग गरे, न्यानोका लागि होस् वा खानपान तयार गर्न । त्यसैले कतिपयको बुझाई के छ भने दाउराको धुँवाले फोक्सो बिगार्दैन । तर, चिकित्सक र सम्बन्धित अध्ययनहरुले त्यसो भन्दैन ।

छाती तथा फोक्सोरोग विशेषज्ञ डा. राजु पंगेनी भन्छन्, ‘दाउराको धुवाँमा बस्नेहरुको फोक्सो चुरोट तान्नेहरुको भन्दा बढी खराब हुन्छ ।’ यो कुरा पुष्टि गर्न उनले केही थान फोटो देखाए, जसमा चुरोटको सर्कोले र दाउराको धुवाँले बिगारेको फोक्सोलाई समानन्तर राखिएको थियो । त्यहाँ चुरोट खानेको फोक्सोमा जति धेरै कालो दाग देखिन्थ्यो, त्यो भन्दा बढी दाउराको धुँवामा बस्नेको थियो ।

उनका अनुसार अस्पतालमा यस्ता थुप्रै गृहणी आउँछन्, जसले कहिल्यै चुरोट-हुक्का खाएका छैनन् । यद्यपि उनीहरुको फोक्सो चुरोट तान्नेको जस्तै कालो भइसकेको हुन्छ । ‘मकहाँ आउने बिरामीमध्ये दुई तिहाई गृहणी छन्’ डा. पंगेनी भन्छन्, ‘उनीहरु दम, खोकी जस्ता समस्याले बढी सताइएका छन् । चुरोट नखाएपनि उनीहरुको फोक्सो खराब भइसकेको देखिन्छ ।’

अमेरिकन लग्स् एसोसिएसनको रिपोर्टले भन्छ, ‘दाउराको धुँवाले खोकी, दमदेखि हृदयघातसम्मको जोखिम ल्याउँछ । यसले फोक्सोका रोगी, बालबालिका, बुढापाका, मधुमेह र हृदय रोग भएकालाई त गाह्रै पार्छ ।’

त्यसै पनि हाम्रो भान्सा साँघुरो र गुम्म हुन्छ । त्यहाँ ताजा हावा ओहोर-दोहोर गर्ने ठूलो झ्याल, भेन्टिलेशन नहुन सक्छ । यस्तो स्थितीमा भान्साको धुँवा त्यहीभित्र थेग्रिएर रहन्छ । यस्तो धुँवामा सास फेरिरहँदा शरीरलाई जरुरी अक्सिजनको आपूर्ति पनि कम हुनपुग्छ ।

कतिपयले बुझाई के छ भने, दाउरा प्राकृतिक हो र त्यसको धुवाँ खासै हानिकारक हुँदैन । ‘तर, यो भ्रम हो’ डा. पंगेनी भन्छन्, ‘दाउराको धुँवा अझ बढी हानिकारक हुन्छ ।’

फेमेली फर क्लिन एयर नामक वेबसाइटको एउटा रिपोर्टमा यसबारे विस्तृतमा लेखिएको छ । उक्त लेखको सारले भन्छ, ‘मान्छेले आदिम सभ्यतादेखि नै दाउरा बालेको भएता पनि यसको वायुले मानव स्वास्थ्यमा हानि गर्ने वैज्ञानिक शोधले पुष्टि गरिसकेको छ । अमेरिकाको सानफ्रान्सिस्को खाडी क्षेत्रमा दाउरा जलाउँदा हुने प्रदूषण निकै भयावह छ । त्यसले सवारी साधन र कारखानाले भन्दा डरलाग्दो प्रदूषण बनाएको छ ।’ उक्त रिपोर्ट अनुसार दाउरा बाल्दा निस्कने धुँवापनि ‘डाइअक्सिन’ जस्ता विषाक्त पदार्थको स्रोत हुन् । डाइअक्सिन रासासयनि कतत्वहरुको समूह हो, जुन वातावरिणीय प्रदूषक हुन् ।

डा. पंगीनका अनुसार दाउरा बाल्दा अति सुक्ष्म धुलोको कण उत्सर्जन हुन्छ, जुन फोक्सोसम्म सजिलै पुग्छ । तर, यसले फोक्सोलाई मात्र बिगार्दैन । यस्तो कण रगतमा पनि मिसिन पुग्छ र रगतकै माध्यामबाट शरीरका सबै भागमा पुग्छ । यसले उच्च रक्तचाप, हृदयघातदेखि रक्त क्यान्सरसम्मको जोखिम बढाइदिन्छ ।

अमेरिकन हार्ट एसोसिएनको रिपोर्टमा भनिएको छ, ‘दाउराको धुँवाले मुटुको धमनीलाई कडा बनाउँछ । यसले गर्दा खतरनाक हृदयघातको जोखिम ल्याउँछ ।’ पार्टीकल एन्ड फाइबर टक्सिकोलजी जर्नलको अध्ययनअनुसार गर्भवती महिलालाई दाउराको धुँवाले रक्तचाप बढाउने खतरा हुन्छ ।

दाउराको धुँवामा कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड आदि मिश्रित हुन्छ । दाउराको धुँवामा सयभन्दा बढी खतरनाक रसायनहरु निस्कने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनि ३०-४० लाख मान्छेको मृत्यु आन्तरिक प्रदूषणका कारणले हुने गरेको छ । आन्तरिक प्रदूषण भनेको घरभित्र उत्सर्जन हुने दूषित वायु हो । दाउराको धुवाँबाट मात्र होइन, मसिना धुलोका कण, ग्याँस, हिटरबाट निस्कने रसायन, घरपालुवा जनवार खासगरी कुकुर, बिरालोको चाया, रौं आदिबाट पनि यस्तो वायु निस्कने गर्छ । त्यस्तै हाम्रो घर जहाँ बनाइएको हुन्छ, त्यस जमिनमुनीबाट युरेनियम, आर्सेनिक जस्ता रसायन निस्कने गर्छ । त्यसबाहेक ओसिलो ठाउँमा हुने ढुसी पनि हानिकारक हुन्छ । यी सबैले घरभित्रको वायुलाई दूषित बनाइदिन्छ ।

डा. पंगेनीका अनुसार आन्तरिक प्रदूषणले सुरुमा एलर्जीको समस्या ल्याउँछ । घाँटी खसखसाउने, हाच्छिउँ गर्ने, खोकी लाग्ने, नाक बन्द हुने, रुघा लाग्ने आदि । त्यो क्रम बढ्दै गएमा संक्रमण नै हुनसक्छ । नाक, घाँटी, फोक्सोमा यसले संक्रमण निम्त्याउँछ । निमोनिया हुनु यसैको कारण हो ।

दीर्घकालीन रुपमा आन्तरिक प्रदूषणले रक्तचाप, मधुमेह, हृदयघात, क्यान्सरसम्म गराउँछ ।

 

आन्तरिक प्रदूषण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय