+

टाउको नचिरी मस्तिष्कघातको उपचार सम्भव छ

२०८० साउन  ९ गते १५:११ २०८० साउन ९ गते १५:११
टाउको नचिरी मस्तिष्कघातको उपचार सम्भव छ

तथ्यांकले देखाउँछ, ‘विश्वमा प्रति ४० सेकेन्डमा एक जना स्ट्रोक (मस्तिष्कघात) हुने गरेको छ ।’ त्यस्तै प्रत्येक ४ व्यक्तिमा एक जना कुनै न कुनै समयमा स्ट्रोकबाट पीडित हुने देखिएको छ ।

विश्वमा हृदय रोगपछि मृत्युको दोस्रो कारण हो, मस्तिष्कघात । दीर्घकालिन रुपमा अशक्त बनाउने पहिलो कारण मस्तिष्कघातलाई मानिन्छ ।

ससर्ती सुन्दा त डर लाग्छ । तर, यदि लक्षण देखिनसाथ उपचार गर्ने हो भने मस्तिष्कघातबाट बच्न सकिन्छ । अनि, सामान्य जीवनमा फर्कन सकिन्छ ।

के हो मस्तिष्कघात ?

मस्तिष्कमा रक्त संचार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालिन अवस्थालाई मस्तिष्क घात भनिन्छ । सामान्यतय मस्तिष्कघात  दुई किसिमको हुन्छ । एउटा स्केमिक स्ट्रोक र अर्को, हेमोरेजिकस्ट्रोक ।

मस्तिष्कको नसा बन्द भइ रक्तसंचार एक्कासी बन्द हुनेलाई स्केमिक स्ट्रोक भनिन्छ । यस्तोमा मस्तिष्कले अक्सिजन र पोषण रगतबाट पाउदैन । यी दुई विना दिमागको कोष विस्तारै मर्दै जान्छन् ।

त्यस्तै, मस्तिष्कमा एक्कासी रक्तको नसा फुटेर रगत प्रवाह हुनुलाई हेमोरेजिकस्ट्रोक भनिन्छ । नतिजा बगेको अत्याधिक रगतले दिमागको तन्तुहरुलाई दबाब दिइ क्षति पु¥याउँछ । यी दुई मस्तिष्कघातमध्ये धेरैलाई स्केकि स्ट्रोक हुनेगर्छ ।

कसलाई हुन्छ मस्तिष्कघात ?

उमेरले ५० नाघेका, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल जस्ता समस्या भएकाहरु यसका जोखिम बर्ग हुन् । त्यस्तै खानैपर्ने औषधि नखाएका वा खाँदै छाडेकालाई पनि मस्तिष्कघात हुनसक्छ । अनियन्त्रित खानपान, मोटोपन, व्यायाम नगर्ने, चुरोट तान्ने व्यक्तिलाई मस्तिष्कघात हुनसक्छ ।

कम उमेरमै मुटुको समस्या भएकाहरुमा मुटुमा रगत जमेर विस्तारै मस्तिष्कको नसासम्म पुगी मस्तिष्कघात हुनसक्छ ।

अचानक देखिन्छन् यस्ता लक्षण

मस्तिष्क घातको लक्षण छिटो देखिन्छ  । लक्षण देखिएको केहि क्षणमै अवस्था गम्भीर बन्न सक्छ, जुन एक घण्टा देखि एक दिनसम्म पनि हुनसक्छ ।

१. बोल्न कठिन हुनु, मुख बाङ्गिनु र बोली लर्बराउनु

२. शरीरको एक भाग अचानक कमजोरी अनुभव हुनु

३. अचानक टाउको दुख्नु

४. एक वा दुईआँखाले हेर्नमा कठिनाइ हुनु

५. हिँड्न, बस्न र उठ्न नसक्नु वा शरीरले आफ्नो सन्तुलन गुमाउनु

नसा फुटेर रक्तस्राव हुनुपूर्व अत्याधिक टाउको दुख्ने, वेहोस हुनेलगायतका लक्षण देखिन सक्छ ।

यी लक्षण एक्कासि देखिए तुरुन्त अस्पताल जानुपर्छ । खासगरी नसा खोल्नका लागि उपकरण भएको अस्पतालमा पुग्नु उत्तम हुन्छ । किनभने लक्षण देखिएको २४ घण्टाभित्र विस्तारै मस्तिष्कको कोष मर्दै जाने हँुदा एक÷एक मिनेटको महत्व हुन्छ । मरिसकेको तन्तु वा नसालाई केहि गर्न नसके पनि बाँकी भएकालाई नसामा भएको अवरोध खोलेर  रक्त संचार गराउन सकिन्छ । यसले बिरामी बाँच्ने संभावना बढ्छ ।

कसरी थाहा हुन्छ ?

सिटिस्क्यान, एन्जियोग्राफी र  एमआरआईबाट मस्तिष्कमा रगत बगिरहेको वा तन्तु र कोष कति क्षति पुगेको छ भनेर विस्तृतमा देखिन्छ । जसबाट उपचार प्रक्रिया कसरी गर्ने भन्नेबारे टुंगो गर्न सकिन्छ ।

के-के छ त उपचार ?

स्केमिक स्ट्रोक भएमा मस्तिष्कको सानो नसा बन्द भएको हुन्छ, जसमा थ्रम्बोलाइसिस औषधि दिएर जमेको रगतको ढिक्कालाई पगाल्न सकिन्छ । तर, ठुलो नसा बन्द भएको अवस्थामा औषधिले पगाल्न सक्दैन । तर, सो औषधि ठुलो नसा बन्द भएकालाई पनि दिइन्छ । ती मध्ये ५ प्रतिशत व्यक्तिमा मात्र पगाल्ने सम्भावना हुन्छ ।

औषधि दिएर पनि कुनै प्रभाव नदेखिएमा एउटै मात्र विकल्प बाँकी रहन्छ,  न्युरोइन्टरभेनसनल विधि ।  यसमा टाउकोको चिरफार नगरी भित्र–भित्रै नसाबाट मस्तिष्कसम्म तार पु¥याएर जमेको रगतले अवरोध भएको नसा खोलेर रक्त संचार गराइन्छ । यसलाई ‘मेकानिकल थ्रोम्बेक्टोमी’ भनिन्छ । तारबाट उपचार गरिएको छ भने सात दिनमै बिरामीलाई डिस्चार्ज दिन सकिन्छ ।

त्यस्तै हेमोरेजिक भएमा चिरफार र तारको माध्यम दुबैबाट उपचार गर्न सकिन्छ । यी दुई मध्ये तारबाट गरिने विधि प्रभावकारी मानिन्छ । यसमा टाउको खोलेर गर्ने शल्यक्रिया जति जटिल तारबाट गर्ने विधिमा नदेखिने र बिरामीलाई पनि तुलनात्मक रुपमा सहज हुन्छ  ।

नेपालमा ‘मेकानिकल थ्रोम्बेक्टोमी’को उपचार

चिरफार गरेर गरिने शल्यक्रिया धेरैजसो अस्पतालमा भए पनि विना चिरफार गरिने मेकानिकल थ्रोम्बेक्टोमी विधि थोरै अस्पतालमा मात्र छ ।

मेकानिकल थ्रोम्बेक्टोमी नँया प्रविधि सन् २०१९ बाट नेपालमा  उपलब्ध छ । यो सुविधा सरकारी अस्पतालमा छैन ।

हाल काठमाडौंको ग्रान्डी सिटी अस्पताल र न्यूरो अस्पतालबाँसबारीमा मात्र अत्याधुनिक मेसिन सहितको यो सुविधा छ । कुन अस्पतालमा यो उपचार सुविधा छ भन्ने पहिचान नहुँदा र समयमा उपचार नहुँदा पक्षघात हुने र ज्यान नै गुम्ने जोखिम छ ।

उपचार खर्च कति ?

यसको उपचार खर्च अलि महंगो नै छ ।  यसमा जरुरी उपकरण एकदमै महंगो हुने भएकाले पनि उपचार खर्च बढेको हो ।

यद्यपि सरकारी तवरबाट यस्तो मेसिन ल्याउन सके र सरकारी अस्पतालमा पनि यो सुविधा दिन सके धेरै सर्वसाधरणले विना चिरफार मस्तिष्कघातको उपचार पाउने थियो ।

(डा. फुयाल उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स अस्पतालका विभागिय प्रमुख हुन् । उनले सन् २०१९ मा नेपालमा पहिलोपटक थ्रोम्बोक्टोमी उपचार सेवा भित्राएका हुन्, जसबाट  विना चिरफार मस्तिष्कघातको उपचार सम्भव भएको छ ।)

डा. सुवास फुयाल
लेखक
डा. सुवास फुयाल
सिनियर न्युरोइन्टरभेन्सनल रेडियोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९१८९ अध्ययन : एमबीबीएस, रेडियो डायग्नोसिसमा एमडी, न्युरोइमेजिङ एण्ड इन्टसभेन्सनल न्युरोरेडियोलोजीमा डीएम हाल काठमाडौंस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स अस्पतालमा विभागीय प्रमुखको रुपमा कार्यरत, नेपाल न्युरोइन्टरभेन्सन फाउन्डेसनका अध्यक्ष नेपालमा पहिलोपटक विना चिरफार मस्तिष्कघातको उपचार गर्न सकिने ‘थ्रोम्बोक्टोमी’ उपचार प्रविधि भित्र्याउने चिकित्सक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय