रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ । यसको काम सासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्याउनु हो । यदि केही कारणले हेमोग्लोबिनको कमी भयो भने शरीरमा अक्सिजनको मात्रा कम हुन सक्छ । जसले गर्दा शरीरको विभिन्न अंगमा असर गर्न सक्छ । त्यसैले शरीरमा हेमोग्लोबिनको मात्रा सन्तुलित हुनुपर्छ ।
धेरै महिलामा हेमोग्लोबिनको मात्रा कम भएको पाइन्छ । हेमोग्लोबिनको कमीको समस्या बालबालिकामा पनि देखिन्छ । बालबालिकामा हेमोग्लोबिनको कमी किन हुन्छ ? लक्षणहरू के के देखिन्छन् लगायत विषयमा बाल हेमाटोलोजिस्ट अंकलोजिस्ट डा. सुचारिता तुलाधरसँग गरिएको कुराकानी :
बच्चामा हेमोग्लोबिनको कमी हुने कारण के के हुन् ?
बच्चामा हेमोग्लोबिनको कमी हुने विभिन्न कारण छन् । बच्चामा कुपोषण, जुका पर्ने समस्याको कारण शरीरमा रगतको कमी हुन्छ । साथै बच्चाको शरीरमा फोलिक एसिड, भिटामिन बी १२, आइरनको कमी भएमा रगत बन्न कम हुन्छ र हेमोग्लोबिनको कमी हुन्छ ।
जेनेटिक कारणले रातो रक्तकोष फुट्ने समस्या ‘थलसिमिया’, ‘सिकल सेल एनिमिया’ले गर्दा हेमोग्लोबिनको कमी हुन्छ । केही कारणवश बोनम्यारोले काम गर्न छोड्यो भने पनि बच्चामा हेमोग्लोबिनको कमी हुन्छ ।
कस्ता बालबालिकामा यसको जोखिम बढी हुन्छ ?
समयभन्दा पहिले जन्मिने बच्चाहरू, बच्चा जन्मिएदेखि एक वर्षभित्र गाईभैंसीको दूध खाएका बच्चामा यसको जोखिम बढी हुन्छ । साथै आइरन, भिटामिन र फोलिक एसिडको कमी भएका बच्चालाई पनि यसको जोखिम हुन्छ ।
रगतसम्बन्धी समस्या भएको परिवारका बच्चामा पनि यसको जोखिम बढी हुन्छ ।
लक्षण के के हुन्छन् ?
हेमोग्लोबिनको कमी हुँदा रोगसँग लड्ने क्षमता घट्छ । जसले गर्दा बच्चा कमजोर हुने, लोसे हुने, थकित हुने, खाना खान नमान्ने जस्ता लक्षण देखिन्छ ।
बच्चाहरू भर्याङ चढ्दा वा हिंड्दा स्वाँ-स्वाँ हुने, श्वास फुल्ने, अनुहार सेतो हुने, चिडचिडापन, पटक–पटक ज्वरो आउने, संक्रमण हुने समस्या हेमोग्लोबिनको कमीले हुन्छ ।
कति हुनुपर्छ हेमोग्लोबिनको मात्रा ?
मानिसअनुसार र उमेरअनुसार हेमोग्लोबिनको स्तर फरक–फरक हुन्छ । बालबालिकामा परीक्षणमा हेमोग्लोबिनको मात्रा ११ भन्दा कम छ भने त्यो कम हो । पुरुषमा १२-१६ जी/डीएल र महिलाहरूमा १४-१८ जी/डीएल हेमोग्लोबिन हुनुपर्छ ।
हेमोग्लोबिनको कमी हुँदा निम्तिन सक्ने जोखिम ?
बच्चालाई बारम्बार हेमोग्लोबिनको कमी भयो भने शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले उसको शारीरिक तथा मानसिक विकास राम्ररी हुँदैन । समयमै यसको उपचार भएन भने अनियन्त्रित धड्कन र मुटुमा समस्या देखा पर्ने जोखिम समेत हुन्छ ।
उपचार के छ ?
हेमोग्लोबिनको कमी भएको लक्षण देखिएमा कम्प्लिट ब्लड काउन्ट (सीबीसी) परीक्षण गराएर हेमोग्लोबिनको स्तर थाहा पाउन सकिन्छ । यो आफैंमा रोग नभएकाले कुन रोग लागेर संकेतको रूपमा देखा परेको हो, त्यस रोगको उपचार गरेपछि हेमोग्लोबिनको कमी पूरा हुन्छ । जस्तै, पोषणको कमी छ भने त्यसलाई परिपूर्ति गर्ने खानेकुरा खाने, शरीरबाट रगत बगिरहेको छ भने त्यसलाई रोक्ने सम्भावित उपचार गर्ने, बोनम्यारोमा समस्या भएको कारण हो भने सोही अनुसारको उपचार गर्नुपर्ने हुन्छ ।
हेमोग्लोबिनको मात्रमा सामान्य असन्तुलन हुँदा पनि शरीरमा आइरनको कमी हुने सम्भावना बढेर जान्छ । यस्तो समस्या रोक्नका लागि आइरनयुक्त खाद्यपदार्थको प्रयोग बढाउनुपर्छ । यसको लागि सबैभन्दा उपयुक्त प्राकृतिक स्रोत हुन्छ । हेमोग्लोबिन र आइरनको मात्रालाई सही राख्नका लागि सागपात, सलाद, विभिन्न प्रकारका सिमी, चना, मासु र अण्डजस्तो पदार्थको प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया 4