+
+

धरानमा ४ वर्षपछि फेरि कसरी फैलियो डेंगुको प्रकोप ?

डेंगु संक्रमण गराउने लामखुट्टे सफा पानीमा हुर्कने गर्छ । खानेपानीको अभाव भएका कारण धरानमा पानी ड्रम र भाँडामा जम्मा गरेर राख्नुपर्ने बाध्यता छ । तर, त्यही ड्रम र भाँडामै लामखुट्टे हुर्किरहेका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८० साउन १० गते २०:०४

१० साउन, धरान । धरान उपमहानगरपालिका-१५ का मातृका नेपाल डेंगु संक्रमणबाट भर्खरै मुक्त भए । पछिल्लो चार वर्षदेखि उनलाई हरेक वर्ष डेंगु संक्रमण भइरहेको छ । यसवर्ष श्रीमती र दुई सन्तानलाई पनि डेंगुले भेट्यो । ‘यसपाली मलाई धेरै गाह्रो बनाएन तर श्रीमती र केटाकेटीलाई गाह्रो बनायो’, उनले भने ।

धरान उपमहानगरपालिका-१८ का सूर्य विश्वकर्माको परिवारका चारमध्ये तीन जना डेंगु संक्रमित भएका छन् । मजदुरी गर्ने उनीहरु डेंङ्गु संक्रमणका कारण काममा जान सकेका छैनन् ।

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघा पनि डेंगु निको भएर केही दिनअघि मात्र नियमित काममा फर्किएका छन् । उनी अहिले डेंगु नियन्त्रण अभियानमा सक्रिय छन् । धरानको हरेक टोलमा डेंगुको संक्रमण छ । अस्पताल पनि डेंगुका बिरामीले भरिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु संक्रमितको उपचारका लागि छुट्टै वार्ड र क्लिनिक सञ्चालन गरिरहेको छ । क्लिनिकमा बिहानदेखि बेलुकासम्म जाँच गराउन आउनेको संख्या दिनप्रतिदिन बढ्दो छ ।

‘बीपी मात्रै होइन निजी अस्पतालमा पनि भिडभाड छ’, धरान-१५ का नेपाल भन्छन्, ‘डेंगुका विरामी नभएको कुनै क्लिनिक पनि खाली छैनन् ।’

२०७६ सालमा पनि धरानमा डेंगु प्रकोपको रुपमा यसरी नै फैलिएको थियो । त्यतिबेला चार हजार ३ सय जना संक्रमित भएका थिए । त्यसअघि छिटफुट रुपमा डेंगुका बिरामी भेटिए पनि प्रकोपको रुपमा फैलिएको थिएन । त्यसपछिका तीन वर्ष  सामान्य देखिएको डेंगु २०८० को वैशाखमा फेरि देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन् ।

उनका अनुसार २०७६ मा देखिएको प्रकोप लामखुट्टेको खोज र नष्ट गर अभियानबाटै नियन्त्रणमा आएको थियो । गत वैशाखदेखि ९ साउनसम्म दुई  हजार ६६ जनामा डेंगु पुष्टि भइसकेको छ । डेंगु नियन्त्रणका लागि अहिले पनि ‘खोज र नष्ट गर’ अभियान अन्तर्गत लामखुट्टे मार्न किटनाशक औषधि छर्ने काम भइरहेको छ ।

मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघासहित जनप्रतिनिधिहरु आफै टर्च लाइट बोकेर लामखुट्टे हुर्कन सक्ने क्षेत्रको सफाइमा हिँडिरहेका छन् । ‘मच्छड हुर्किने गरी पानी जमाएर राख्नु भएन, तपाईहरु पनि आफैं सचेत हुनुपर्छ,’ वडा नं १८ मा पुगेका मेयर साम्पाङले भने ।

अभियानका क्रममा उनले खुला ठाउँमा नछोपी राखेको पानी फालिदिन र  सर्वसाधारणलाई लामखुट्टेको लार्भा नष्ट गरी सतर्कता अपनाउनसमेत आग्रह गरे । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार सबै वडामा डेंगु संक्रमित छन् । जसमध्ये वडा नम्बर १५, १७ र १८ बढी प्रभावित छ ।

हाल डेंगुको कारण मृत्यु हुनेको संख्या ७ पुगेको मेहताले जानकारी दिए । मृत्यु हुनेमा धेरैजसो वृद्ध भए पनि केही युवाले पनि डेंगुका कारण ज्यान गुमाउनु परेको छ । मृत्यु भएकाहरुमा अरु दीर्घ रोग पनि देखिएको उनको भनाइ छ ।

चार वर्षअघि डेंगु फैलदा ४ हजार तीन सय जना संक्रमित भेटिए पनि त्‍यतिबेला कसैको मृत्यु भएको रेकर्ड थिएन ।

कसरी फैलियो डेंगु ?

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता धरानमा डेंगु बारम्बार डुंगु फैलिनुको तीन वटा  कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘ डेंगु फैलनुको  पहिलो र मुख्य कारण  खानेपानीको अभाव हो।  दोस्रो कारण नजिकै रहेको वनजंगल र तेस्रो बङ्गुर पालनले पनि डेंगु सर्वसारधारणलाई सरिरहेको छ।’

डेंगु संक्रमण गराउने लामखुट्टे सफा पानीमा हुर्कने गर्छ । खानेपानीको अभाव भएका कारण धरानमा पानी ड्रम र भाँडामा जम्मा गरेर राख्नुपर्ने बाध्यता छ । तर, त्यही ड्रम र भाँडामै लामखुट्टे हुर्किरहेका छन् ।

नछोपी राखिएको ड्रममा लामखुट्टेले फुल पार्ने भएका कारण उपमहानगरले पानी राख्ने भाँडा छोप्नका लागि आग्रह गरिरहेको छ । ‘ड्रम  र भाडा नछोपी राखेको पानी तीन दिनमा परिवर्तन गर्न आग्रह गरिरहेका छौं’, मेहताले भने, ‘परिवर्तन गरिएन भने लार्भा हुर्कने चान्स बढी हुन्छ ।’

त्यस्तै नजिकैको जंगलका रुखका टोड्कामा बर्खामा परेको पानी जम्ने र त्यहाँ डेंगु फैलाउने लामखुट्टे हुर्कने मेहता बताउँछन् ।  साथै सुँगुरको खोरमा हुने फोहोरबाट पनि लाखुट्टे फैलिएको उनको भनाइ छ । ‘धरानमा बङ्गुर पालन धेरै हुन्छ । खोरमा फोहोर बढी भएका कारण पनि लाखुट्टे फैलिएको हुनसक्छ ।’ उनी भन्‍छन् ।

यता, प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले सुनसरीको धरानमा प्रकोपको रुपमा डेंगु फैलिरहेको बताए । झापा, इलाम, संखुवासभालगायत पहाडी जिल्लामा पनि छिटफुट रुपमा डेंगुका विरामी भेटिएको उनको भनाइ छ ।

प्रकोप फैलिएपछिस्वास्थ्य सेवा विभागको इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाको टोली धरान आएको थियो । उपमहानगरपालिकाले डेंगु परीक्षण किटको अभाव भएको समस्या सुनाएको थियो ।

तर महाशाखाको टोलीले किट खरिद गर्न खोज्दा बजारमा नपाएको जवाफ दिएको थियो ।

प्रकोपको रुपमा फैलिएका कारण परीक्षणलाई भन्दा पनि नियन्त्रण र रोकथामको अभियान सञ्चालन गर्न महाशाखाको टोलीले सुझाव दिएको थियो ।

बीपीमा छुट्टै क्लिनिक र वार्ड

डेंगु संक्रमितको संख्या बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु क्लिनिक र वार्ड सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको कोभिड अस्पतालको खाली वार्डलाई डेंगु संक्रमितको उपचारका लागि प्रयोगमा ल्याएको हो ।

संक्रमितको उपचारका लागि आइतबारबाट वार्ड सञ्चालनमा ल्याएको सहप्रवक्ता डाक्टर चुरामणि पोखरेलले बताए । प्रतिष्ठानले असार २९ गतेबाट इमर्जेन्सी वार्ड नजिकै त्रिपाल टागेर डेंगु क्लिनिक सञ्चालनमा ल्याएको थियो ।

प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आउने गम्भीर प्रकृतिका डेंगुका बिरामीलाई आईसीयू, इमर्जेन्सी र वार्डहरुमा राखेर उपचार भइरहेको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरुलाई नयाँ वार्डमा राखिने अस्पतालले जनाएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?