+

बिहान उठ्दा शरीर बोझिलो हुनु कुनै रोगको संकेत हो ?

२०८० साउन  १२ गते १३:४० २०८० साउन १२ गते १३:४०
बिहान उठ्दा शरीर बोझिलो हुनु कुनै रोगको संकेत हो ?

दिनभरिको थकान मेटाएर शरीरलाई आराम दिन राति सुत्ने गरिन्छ । मस्त निदाएर बिहान उठ्दा शरीर फूर्तिलो र ऊर्जावान् हुन्छ । तर कतिपयले यसको साटो शरीर नै बोझिलो भएको महसुस गर्छन् ।

यस्तो किन हुन्छ त ?

सामान्यतया शारीरिक व्यायामको कमी, अनिद्रा र अनियमिन खानपान यसको कारण हो । तनावका कारण पनि बिहान उठ्दा शरीर फूर्तिलो नभएको महसुस हुन्छ । यसबाहेक शरीरमा पौष्टिक तत्वको कमी र रोगका कारण पनि यस्तो हुन सक्छ ।

सुतेर बिहान उठ्दा शरीर फूर्तिलो नहुनुका कारणबारे यहाँ चर्चा गरिन्छ ।

भिटामिन डी को कमी

आजभोलि घाममा बस्ने कुरामा धेरैको चासो हुँदैन । कोठाभित्र बसेरै काम गर्ने र घाममा नताप्दा शरीरले भिटामिन डी प्राप्त गर्न सक्दैन ।

घाम ताप्नु स्वास्थ्यका लागि महत्वपूर्ण छ । यसबाट पाइने भिटामिन डीले हड्डी मजबुत गर्ने र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ । शरीरमा यसको कमी भएमा हड्डी दुख्ने, शरीरका मांसपेशी कमजोर भएर थकान र आलस्य महसुस हुन्छ । यसको लागि समय मिलाएर घाममा बस्ने वा भिटामिन डी चक्की खान सकिन्छ ।

क्याल्सियमको कमी

शरीरमा क्याल्सियमको कमी भएर हड्डीहरु कमजोर हुँदा शरीर सिथिल, कमजोर र आलस्य हुने गर्छ । क्याल्सियमको अभावले शरीरका हड्डी कमजोर भएर मांसपेशी पनि कमजोर हुँदै जान्छ । जसकारण शरीर बोझिलो भएको महसुस हुन्छ । रगतमा क्याल्सियमको मात्रा कम भएर हाइपोक्याल्सेमिया रोग लाग्ने जोखिम हुन्छ । त्यसैले क्याल्सियमयुक्त खानेकुरामा जोड दिनुपर्छ ।

आइरनको कमी

रगतमा आइरनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनको कमी पुग्छ । त्यसले मानिसलाई थकित बनाउँछ । यस्तो भएमा आराम मात्र गरेर हुँदैन । यसको लागि आइरन प्रशस्त मात्रामा पाइने गेडागुडी, अण्डा, हरियो सागसब्जी खान सकिन्छ ।

शरीरमा अक्सिजनको कमी

प्राय: दमका बिरामीलाई शरीरमा अक्सिजनको कमी भएर शरीर कमजोर वा सिथिल भएको महसुस हुन्छ । यदि दमको बिरामी भएमा बिहान उठ्दा स्फूर्ति महसुस हुँदैन । किनकि उनीहरुमा श्वासप्रश्वासको कमी भएर यस्तो समस्या भइरहेको हुन्छ ।

शरीरमा पानीको कमी हुनु

शरीरमा पानीको कमीले पनि थकान हुन्छ । दिनभरि आवश्यक पानी नपिउँदा टाउको दुख्ने, पाचन प्रक्रियामा गडबडी हुने, जोर्नी र मासंपेशी कमजोर हुने समस्या हुन्छ । मिर्गौलामा पत्थरीको जोखिम पनि हुन्छ । त्यसैले शरीरलाई आलस्य हुन नदिन दुई-दुई घण्टाको अन्तरमा पानी पिइरहनुपर्छ ।

मधुमेह

मधुमेहको संकेत पनि हुन सक्छ थकान । किनकि थकान महसुस हुने, आलस्य हुने जाँगर नचल्ने यसको लक्षण हो । यो शरीरमा इन्सुलिन हार्मोनले राम्रोसँग काम नगरेपछि हुने गर्छ । त्यसैले यस्तो लक्षण देखेमा चिकित्सकलाई देखाउनुपर्छ । मधुमेह भएको छ भने शरीरमा औषधिको डोज कम भएर सुगरको मात्र बढ्नाले पनि थकान हुने गर्छ ।

हाइपोथाइराइड

शरीरमा थाइराइडड हार्मोन कम हुनुलाई हाइपोथाइराइड हुन्छ । हार्मोन कम हुँदा शरीर गल्ने, आलस्य हुने, थकान महसुस हुने लक्षण देखापर्छ । यो रोगको संक्रमित भएमा बिहान उठ्दा शरीर बोझिलो महसुस हुन्छ ।

(डा. प्रजापति भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा कार्यरत एमडी इन्टरनल मेडिसिन चिकित्सक हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

आलस्य शरीर स्वास्थ्य
डा. अमर प्रजापति
लेखक
डा. अमर प्रजापति
जनरल फिजिसियन 

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५४१६ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन) हाल भक्तपुरस्थित ख्वप अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय