+
+

कोरियामा पानीजहाज कम्पनीमा नेपालीलाई अवसर, कृषि र उत्पादनमूलक भन्दा के फरक ?

अच्युत पुरी अच्युत पुरी
२०८० साउन १४ गते १९:०१
Photo Credit : morethanshipping

१४ साउन, काठमाडौं । कोरियामा नेपाली श्रमिकका लागि नयाँ रोजगारीको ढोका खुलेको छ । यसअघि कृषि तथा पशुपन्छी र उत्पादनमूलक क्षेत्रका लागि मात्र नेपाली कामदार लिइरहेको कोरियाले अब पानीजहाज निर्माण कम्पनीमा कामदारका रुपमा समेत नेपाली कामदार माग गर्न थालेको छ ।

सोही अनुसार उम्मेदवारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुलाएको छ ।

मन्त्रालयका उपसचिव पुष्पराज कटुवालका अनुसार यो क्षेत्र नेपालीका लागि नयाँ अवसर हो । यसअघि यसै वर्ष उत्पादनमूलक क्षेत्रबाटै केही कामदारको छुट्टै रोष्टर बनाएर पानीजहाज निर्माण कम्पनीका लागि ८९२ जनाको सूची पठाइएको थियो । त्यसमध्ये २३८ जना कामदार छनोट समेत भइसकेका छन् ।

आइतबार भने ईपीएस कोरियाले नयाँ रोष्टरका लागि भाषा परीक्षाको आवेदन खुलाएको हो । यो परीक्षाको आवेदन कुल २५ सय जनाको रोष्टरका लागि खुलेको हो ।

यस परीक्षामा उत्तिर्ण भएका मध्ये कोरियाले छनोट गरी कामदार लैजाने छ । सन् २०२३ का लागि कोरियाले नेपालबाट मात्र करिब ३ हजार कामदार पानीजहाज निर्माणका क्षेत्रमा लैजाने गरी सूचीकृत गर्न चाहेको बताइएको छ ।

यसअघि उत्पादनमूलक क्षेत्रमा कोरिया पुगेका कतिपय नेपालीले पानीजहाज कम्पनीमा काम गर्ने अवसर पाइसकेको भएपनि क्षेत्र नै तोकेर भने यस पटक मात्र कामदार छनोट गर्न छुट्टै रोष्टर बनाउन लागिएको हो ।

कहिले हुन्छ परीक्षा ?

पानीजहाज कम्पनी क्षेत्रको परीक्षा पहिलो चरणमा १ असोज सोमबारदेखि सुरु हुने भएको छ । एक दिनमा ४ सिफ्ट गरी परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा पहिलो र दोस्रा गरी दुई चरणमा सञ्चालन गरिने भएको छ । पहिलो चरणको भाषा परीक्षाको नतिजा प्रकाशित भएपछि सीप परीक्षणको परीक्षा हुने भएको छ । भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा उत्तीर्णाङ्क प्राप्त गर्नेमध्ये उच्च अंक प्राप्त गरेका आवेदकलाई मात्र सीप परीक्षणमा सहभागी गराइने ईपीएस कोरियाले जनाएको छ ।

भाषा परीक्षा र सीप परीक्षण तथा अन्तर्वार्तामा प्राप्त गरेको प्राप्तांकको आधारमा अधिकतम अंक प्राप्त गर्नेमध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो र दोस्रो चरणमा गरी २५ सय जनाको नाम प्रकाशित हुने भएको छ । यसरी उत्तीर्ण भएकामध्ये स्वास्थ्य परीक्षणबाट समेत उत्तिर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सकिने भएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली कामदार यो परीक्षामा सहभागी हुन सक्छन् ।

कोरियामा गैरकानुनी गतिविधिमा भने संलग्न भएको र गैरकानुनी रुपमा कोरियामा बसेर फिर्ता पठाएकाहरु भने स्वतः अयोग्य बनेका छन् । नेपाल सरकारले अन्य मुलुकमा जान रोक लगाएकाहरुले समेत फारम भर्न पाउने छैनन् । आवेदन २० साउनदेखि २४ साउनसम्म भर्न सकिने भएको छ । आवेदकको परीक्षा ललितपुरको भैंसेपाटीस्थित यूबीटी भवनमा हुने भएको छ । परीक्षा शुल्क २८ डलर तोकिएको छ । सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा उत्तीर्ण भई सीप परीक्षण दिई बसेका व्यक्तिले समेत यस क्षेत्रको आवेदनका लागि परीक्षा दिन पाउने इपीएसले जनाएको छ ।

सेवा/सुविधा कस्तो हुन्छ ?

अहिले कोरियामा नेपाली कामदारको न्यूनतम पारिश्रमिक न्यूनतम २ लाख रुपैयाँ छ । उपसचिव कटुवालका अनुसार यसबाहेक पनि पानीजहाज निर्माण कम्पनीमा थप सेवा/सुविधा पाउने सम्भावना बढी हुन्छ । ‘अतिरिक्त आम्दानी बढी नै हुने सम्भावना छ,’ उनले भने, कामको खोखिम, प्रकृति र दक्षताका आधारमा पनि पारिश्रमिक तथा सेवा–सुविधा निर्धारण हुन्छ ।’
छुट्टै तालिम लिनु पर्छ ?

भाषा परीक्षामा सहभागी भई रोष्टरमा नाम उल्लेख भएकामध्ये ह्युमन डेभलपमेन्ट सर्भिस (एचआरडी) कोरियाबाट रोजगारदाताले कामदार छनोट गरी श्रम सम्झौता जारी गर्छन् । त्यसरी आएका कामदारले व्यावसायिक सीप विकास तालिम केन्द्र भैंसेपाटीबाट ६ दिने पूर्वप्रस्थान कार्यशालामा सहभागी हुने अपसर पाउँछन् । यसबेला नै कामदारलाई सम्बन्धित क्षेत्रका बारेमा आधारभूत जानकारी गराइने उपसचिव कटुवालले जानकारी दिए । कोरिया पुगेपछि भने कामदारले व्यवसायिक तालिम नै लिनुपर्छ । सोही अनुसार उनीहरुलाई काममा खटाइन्छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?