+
+
अन्तर्वार्ता :

‘हिन्दु राजनीति भाजपाको मामला हो, हामी धर्मनिरपेक्षता छाड्दैनौं’

हामी द्वन्द्वात्मक भौतिकवादी हो, धर्मनिरपेक्षतावादी हो, साम्यवादमा जाने हो भनेर कसैले नबुझेको कुरा होइन । हामी अहिले उहाँहरूले आफ्नो संगठन र सरकार चलाएको कुरा हेर्न चाहन्थ्यौं । बीजेपीको संगठन चलाउने, जनतासम्म पुग्ने तरिका, निर्णय जनतासम्म पुर्‍याउन पार्टी संगठनले काम गर्ने तरिका हेर्‍यौं र व्यवस्थित ढंगले चलाएको देख्यौं ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते २१:०१

१५ साउन, काठमाडौं । भारतको सत्तारूढ भारतीय जनपा पार्टीको निमन्त्रणामा नेपालको सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमण सकेर स्वदेश फर्किएको छ ।

हिन्दुत्वको राजनीति गरिरहेको भाजपासँग माओवादी केन्द्रको सम्बन्ध र सहकार्यलाई नेतृ भुसाल, जनताको स्तरमा हुने सहकार्यको संज्ञा दिंदै भन्छिन्, ‘पार्टीको सम्बन्ध भनेकै जनताको स्तरमा हुने सहकार्य हो ।’

माओवादी केन्द्रले धर्मनिरपेक्षता नछाड्ने र भाजपालाई ‘यो न हो’ भनेर नभन्ने उनले बताइन् । तर, कुनै दिन जनतामाथि ज्यादती गर्‍यो भने मित्रतापूर्ण सम्बन्ध भनेर नबस्ने र सम्बन्ध तोड्ने प्रष्टोक्ति उनको छ । ‘बीजेपी चिन्नुहोस्’ कार्यक्रम अन्तर्गत भारत भ्रमणबाट फर्किएकी भुसालसँग भाजपासँगको सम्बन्ध, माओवादीको केन्द्रीय समिति बैठक र सरकारको कामबारे अनलाइनखबरका सुदर्शन खतिवडा र दिपेश शाहीले गरेको कुराकानीः

तपाईं नेतृत्वको माओवादी टोलीले भर्खरै गरेको भारत भ्रमणको सन्दर्भ के थियो र भ्रमण कस्तो रह्यो ?

दुईवटा पार्टीबीचको मित्रतापूर्ण सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा यो भ्रमण थियो । हाम्रो अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीले गत वर्ष नै यो भ्रमण गर्नुभएको थियो । त्यसको निरन्तरता स्वरूपमा हाम्रो प्रतिनिधिमण्डल गएको हो ।

बीजेपीले ‘नो बिजेपी (बिजेपी चिन्नुहोस्)’ भन्ने कार्यक्रम राखेको थियो । विभिन्न देशका राजनीतिक दलहरूसँग छलफल र जानकारी गराउने कार्यक्रम चलिरहेको रहेछ । त्यही अन्तर्गत हामीलाई आमन्त्रण गरिएको थियो ।

यो मित्रताको प्रयत्न कसको प्राथमिकतामा हो ?

‘नो बीजेपी’ भनेपछि भारतीय जनता पार्टीको नै प्राथमिकता हो । यद्यपि हाम्रो सम्बन्ध अलिकति पुरानो हो । गत वर्ष पार्टीकै अध्यक्ष (प्रचण्ड)ले भाजपाका अध्यक्षको निमन्त्रणमा भारत भ्रमण गरेर आउनुभएको थियो । यो भ्रमणले दुई वटा पार्टीबीचको सम्बन्ध पनि मित्रतापूर्ण बनाउन, जनता र राष्ट्रको बीचको सम्बन्धलाई पनि सुदृढ र राम्रो बनाउँछ ।

यो भ्रमणबाट बीजेपीलाई कसरी चिन्नुभयो त ?

बीजेपी असाध्यै सु–संगठित र बलियो संगठन भएको पार्टी रहेछ । १८ करोड सदस्य रहेछन्, पार्टी सदस्यका हिसाबले संसारकै सबैभन्दा ठूलो पार्टी । संख्या सँगै संगठन पनि व्यवस्थित खालको रहेछ । डिजिटलाइज गर्नुभएको छ । विभिन्न तह केन्द्र, राज्य, ब्लक, बुथ र पाना संगठन भनेर एकदमै तलसम्मको संरचना रहेछ । महिला, युवा, पीछडिएको जाति, किसान आदि गरेर सातवटा फ्रन्ट रहेछन् ।

सुदृढ संगठन र त्यसमार्फत जनसेवा, जहाँ जनताको समस्या छ, त्यहाँ पुग्ने भन्ने रहेछ । केही नियमित ढंगले हुने कार्यक्रम हुँदा रहेछन् । संविधान दिवस, पार्टी स्थापना दिवस जस्ता ६ वटा जति कार्यक्रम पार्टीका सबै तहले नियमित आयोजना गर्दा रहेछन् ।

सरकारले जनताको पक्षमा गरेका घोषणा, बनाएका नीतिहरू कार्यान्वयन गर्न पार्टी बढो सक्रियतापूर्वक लागेर जनताको बीचमा पुर्‍याउने संयन्त्र पनि रहेछ । आफ्नो राज्य सरकार भएको ठाउँमा तीव्रताका साथ र नभएको ठाउँमा जनताको मागहरू राख्ने, विरोध प्रदशन गर्ने आदि काम गरेर सक्रियता जनाउने उहाँहरूको राम्रो अभ्यास रहेछ ।

माओवादीमा सरकारले गरेका कामलाई जनताको माझमा लिन सकिएन भन्ने गुनासो सुनिन्छ । बीजेपीको गतिविधि नियाल्दा माओवादी कहाँ चुकिरहेको महसुस भयो ?

हामीले पनि संगठन बनाएर, आन्दोलन गरेर, अझ सशस्त्र संगठन बनाएर आएका हौं । व्यवस्थित संगठन, सक्रियतापूर्वक्र जनतासँग जोडिएको सम्बन्ध नभइकन हामी पनि यहाँ पुगेका होइनौं ।

तर शान्ति प्रक्रियामा आएपछि विभाजन, एकता र पार्टी प्रवेश हुँदा संगठन चुस्त बनाउनुपर्छ भन्ने ज्ञान भए पनि प्रभावकारी कार्यान्वयन भएन ।

भारत भ्रमण जानुअघि पनि हामी पार्टीभित्र त्यही छलफलमा थियौं । हाम्रा आगामी योजना पनि पार्टी संगठनलाई व्यवस्थित गर्ने, सरकारका कामलाई जनतामा पुर्‍याउने र जनसेवामा केन्द्रित हुने भन्नेछ । यद्यपि, बिजेपीको हाम्रो भन्दा राम्रो छ ।

दोस्रो, उहाँहरू दस्तावेज, लाइब्रेरी सबैलाई डिजिटलाइज गर्ने काममा असाध्यै आक्रामक ढंगले लाग्नु भएको रहेछ । हरेक पार्टी युनिटमा सामाजिक सञ्जाल र मिडिया युनिट बनाएर काम गरिरहनु भएको रहेछ । संगठन, जनसेवा र प्रचार एकदमै सँगसँगै लग्नु भएको रहेछ ।

माओवादीले पनि कहिले उत्पादनसँग जोडिने, मन्त्रीलाई पार्टी कार्यालयमा राखेर अन्तक्र्रिया गराउने आदि भनेर कार्यक्रम बनाउनु हुन्थ्यो । कार्यान्वयनमा जाँदा के कुराले रोकेको रहेछ ?

उहाँहरूको हरेक तहको पार्टी कमिटीले त्यही तहका सरकारका कामकाजलाई जनतासँग जोड्ने काम गर्छन् । पार्टी बैठक नियमित बस्नेरहेछन् । भन्ने र गर्नेमा उहाँहरूको तादम्यता मिल्दो रहेछ । हामी पनि यसरी नै काम गरेर आएकोले नयाँ कुरा होइन । अहिले फितलो भएको छ । यसलाई व्यवस्थित गर्नुपर्छ भनेर बोध भइसकेको विषय त्यहाँ पनि देखियो ।

मिडियालाई २४ घण्टा अब्जर्भेसन गर्ने, त्यसैमार्फत अफेन्स, डिफेन्स गर्ने, आदिजस्तो कुरा असाध्यै प्रभावकारी छ । तर हामी भने गर्नुपर्छ भनेर पनि गर्न सकेका छैनौं ।

माओवादी केन्द्र र भाजपाबीच विचार, दर्शन र सिद्धान्तका हिसाबले धेरै ठूलो अन्तर छ । युद्धबाट आएको माओवादीले भाजपाबाट यति धेरै सिक्नुपर्ने भनेपछि तपाईंहरूमा के कुराको कमी रहेछ त ?

हामीले सिकेको कुरा नबुझेको वा नजानेको भन्ने होइन, तर उहाँहरूले प्रभावकारी ढंगले गर्नु भएको रहेछ । हामीले जटिल परिस्थितिमा पनि विचार, राजनीति, संगठन र सशस्त्र संघर्ष गरेर आउने हाम्रो कम वा नगरेको भन्ने होइन । उहाँहरूको प्रभावकारी छ भन्ने हो ।

साथै, हरेक देशका पार्टीका आफ्नै दर्शन, सिद्धान्त, मान्यता हुन्छन् । ती सबैसँग विचार र राजनीति मिल्दैन । तर हरेक राजनीतिक पार्टीको आफ्नो देशको सन्दर्भमा जनताको सेवा गर्ने र राष्ट्र निर्माण गर्ने कोण हुन्छ । उहाँहरूको जे दर्शन भए पनि त्यहाँको जनताको उन्नति, प्रगतिका लागि भनेर अघि बढिराख्नु भएको छ । र हामीले यहीँ बसेर हेर्दा पनि कैयौँ कुरा भएको देखिन्छ ।

कुनै बेला भारतमाथि तीन सय वर्ष लामो उपनिवेश कायम गर्ने ब्रिटिशका विरुद्ध स्वतन्त्र संग्राम लडेर उहाँहरूले स्वतन्त्र भारत बनाउनु भयो । अहिले आर्थिक हिसाबले बेलायतलाई नै पछि पारेर भारत पाँचौँ नम्बरमा पुगिसक्यो । यस्तो कुरा त हामीले यहीँबाट हेरेर जान्ने कुरा पनि हो ।

पार्टीका आफ्ना दर्शन, सिद्धान्त, मूल्य, मान्यता हुन्छन् । हामीले राजनीतिक र वैचारिक पाटोबाट बुझ्न खोजेको होइन । हामी द्वन्द्वात्मक भौतिकवादी हो, धर्म निरपेक्षतावादी हो, साम्यवादमा जाने हो भनेर कसैले नबुझेको कुरा होइन । हामी अहिले उहाँहरूले आफ्नो संगठन र सरकार चलाएको कुरा हेर्न चाहन्थ्यौं । बीजेपीको संगठन चलाउने, जनतासम्म पुग्ने तरिका, निर्णय जनतासम्म पुर्‍याउन पार्टी संगठनले काम गर्ने तरिका हेर्‍यौं र व्यवस्थित ढंगले चलाएको देख्यौं । हामी हाम्रै तरिकाले मुलुकको परिवर्तन, विकास गरेर अघि बढ्न चाहन्छौँ ।

मानसखण्ड निर्माण अभियानमा हाम्रो सुदूरपश्चिम प्रदेश पनि राख्नु भएको रहेछ । त्यो बनेपछि मात्रै बल्ल पूर्ण हुँदो रहेछ । त्यसलाई अगाडि बढाउने कुरामा हामीसँग पनि अपेक्षा रहेछ ।

नेपालको भौगोलिक अवस्थितिका कारण छिमेकी मुलुकका पार्टीगत, सरकारगत वा हरेक सम्बन्धलाई भूराजनीतिसँग जोड्ने गरिन्छ । माओवादी भारतसँग अलि बढी निकटजस्तो देखिन थालेको छ, जसले उत्तरी छिमेकसँग दूरी बढेको जस्तो देखिन्छ नै । तपाईंहरूलाई अहिले भारतसँग नमिलेर अगाडि बढ्न सकिँदैन भन्ने ठाउँमा पुग्नु भएको हो ?

दक्षिणको पार्टीसँग सम्बन्ध बनाउँदा उत्तरको पार्टीसँग दूरी बनाएको भन्ने कुरा अत्यन्तै निरर्थक हो । झन् हाम्रो त उत्तरी छिमेकको पार्टीसँग भाइचारा सम्बन्ध नै छ । अर्का उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा हाम्रो एउटा प्रतिनिधि मण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा अध्ययन भ्रमण गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भर्खरै नेपाल आएर जानु भएको छ । सम्भवतः प्रधानमन्त्रीले केही महिनामा चीनको भ्रमण गर्नुहुनेछ ।

हामी एउटा देशलाई अर्को देशको विरुद्ध वा, एकातिर लागेर अर्कोतिर उचाल्ने भन्ने हाम्रो छैन । हाम्रो देशले असंलग्न परराष्ट्र नीति लिएको छ । पार्टीगत सम्बन्ध जोसँग पनि राख्न सक्छौँ । भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँगै बसेर हाम्रा अध्यक्षले त्रिपक्षीय सहकार्यबाट विकसित भएका दुईवटा देश र हामी अल्पविकसित नेपाललाई पनि सँगै लिएर अघि बढौं भनेर प्रस्ताव नै गर्नुभएको हो । हामीलाई चीन र भारत दुवैको सहयोग चाहिन्छ भन्नुभएकै हो ।

यी सम्बन्धहरू अहिले मात्र होइन, परापूर्व कालदेखि बनेर आएका सम्बन्ध हुन् । भूगोल, संस्कृति, आर्थिक सम्बन्धले जोडेको छ । दक्षिणतिर भारतसँग त हाम्रो सीमा समेत खुल्ला छ ।

राष्ट्र, पार्टी वा सरकारका हिसाबले होस्, हामी समानताको आधारमा सम्बन्ध कायम गर्न चाहन्छौं । त्यसैले यो जनस्तरको सम्बन्ध निर्माणको कुरा हो । पार्टीको सम्बन्ध भनेकै जनताको स्तरमा हुने सहकार्य हो । सरकारको स्तरमा त यताबाट पनि जाने, उताबाट पनि आउने निरन्तर भइरहकै हो । कूटनीतिक हिसाबले दुईवटै देशमा हाम्रा राजदूतावास पनि छन् । बल्ल अहिले गर्‍यौं भनेजस्तो भ्रम नहोस् । त्यसैले विचार मात्रै मिल्नेसँग सम्बन्ध बनाउने भन्ने हुँदैन ।

सरकारको स्तरमा सम्बन्ध हुने कुरा एउटा भइहाल्यो । तर भारतमा भाजपाले लिएको कतिपय नीतिको आलोचना हुने गरेको छ । हाम्रोमा पनि त्यसको डर देखिन्छ । त्यसले त अर्थ राख्छ नि ?

त्यो उहाँहरूको मामला हो । हामी धर्म निरपेक्षता छाड्दैनौं । हामीले अर्कोलाई यो न हो भनेर पनि भन्न सक्दैनौं, भन्दैनौं । त्यो आफ्नो आन्तरिक मामला हो ।

तर यो सम्बन्धको पछाडि केही आयमहरू हुन्छन् । सिद्धान्त, विचार भन्ने पनि हुन्छन् । माओवादी कुनै बेला रिम र कम्पोसा (कम्युनिष्ट भाइचारा संगठन) बनाउँदै हिंड्ने पार्टी होइन र ?

त्यो भनेको हाम्रो राजनीतिक, वैचारिक र दार्शनिक ऐक्यबद्धता हो । त्यो जहाँजहाँ मिल्छ, त्यो पनि गर्छौं । जुनजुन देशका जुनजुन पार्टीसँग मिल्छ हामी त्यो गर्छौं । हामी एउटा स्वतन्त्र राष्ट्र भएकोले पनि अरुका सबै प्रकारका जे विचार छन् त्यसमा हामीले हस्तक्षेप गर्दैनौं । सबैका विचारको सम्मान गर्छौं । सम्मानको सम्बन्ध हुनुपर्छ भन्ने हाम्रो आशय हो । यसैको आधारमा हामी सम्बन्ध अघि बढाउँछौं ।

हाम्रा सम्बन्ध भारतीय कांग्रेस, सीपीआई, सीपीएमलगायत अरू पार्टीसँग पनि थिए । उहाँहरू सबैसँग हाम्रो दर्शन राजनीति मिलेको भन्ने थिएन ।

साम्यवादको लक्ष्य राख्ने पार्टी र हिन्दू अतिवादलाई प्राथमिकता दिने पार्टी बीचको यो सम्बन्ध अगाडि बढ्दै जाँदा कुनै ठाउँमा गएर असहज अवस्था पैदा होला नि ?

हामी हाइपोथेसिसमा जाँदैनौं । उहाँहरूले हाम्रो पार्टीमा हस्तक्षेप गर्नु हुन्न र हामीले पनि उहाँको पार्टीले के गर्छ भनेर हस्तक्षेप गर्दैनौं । त्यो भारतीय जनताको मामला हो र यहाँ नेपाली जनताको मामला हो । विचारको हिसाबले त एउटै पार्टी पनि दुईवटा भएका छन् । अहिले त हाम्रो मित्रतापूर्ण सम्बन्ध बनाउने भन्ने नै हो ।

कोही कम्बोडिया गएर त्यहाँको निर्वाचनलाई वैधता दिने । तपाईंहरू बिजेपीसँग सम्बन्ध बनाउँदै हुनुहुन्छ । यसको अर्थ सम्बन्धको कुनै न कुनै राजनीतिक प्रभाव हुन्छ र त्यहाँको उत्पीडित जनता थप उत्पीडनमा पर्नुपर्ने हुनसक्छ, होइन र ?

हामी पनि अन्तर्राष्ट्रियतावादी हौं । कहीं जनतामाथि एकदमै जघन्य खालका घटना भए भने हामी मित्रतापूर्ण सम्बन्ध छ भनेर बस्दैनौं । सही र गलतका आधारमा पनि हामीले मूल्यांकन गरौंला । सम्बन्धलाई अगाडि बढाउँला । अहिले म नकरात्मक नहुन आग्रह गर्छु ।

सिक्ने कुरामै जाऊँ । भाजपाभित्र निरन्तर नेतृत्व हस्तान्तरण, चलायमान संगठन लगायतका अभ्यास रहेछन् । त्यसबाट चाहिं के सिक्नु भयो ?

त्यो त आ–आफ्नो दृष्टिकोण हुन्छ । सिक्न पनि पर्दैन, हामीलाई नै थाहा भएको कुरा हो । हाम्रो गठबन्धनमा भएको नेपाली कांग्रेसकै नेतृत्व हस्तान्तरणको कुरा देखेका छौं । मेरै राजनीतिक कालमा वीपी कोइरालालाई देखेको हो । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले शेरबहादुर देउवालाई देखेकै हो ।

तपाईंले हाम्रो पार्टीतिर इंगित गर्न खोज्नु भएको हो भने ३०/३५ वर्षदेखि अध्यक्ष मूल नेतृत्वमा हुनुहुन्छ, तर विना प्रश्न हुनुहुन्छ ।

भारतबाट सिक्नुपर्ने कुरामा संघीयताको अभ्यास पनि एउटा होला । हाम्रोमा संघबाट प्रदेशमा अचाक्लि हस्तक्षेप देखिन्छ । प्रदेश १ नै ताजा उदाहरण होला । भारतको अभ्यास कस्तो रहेछ ?

संघीयता नस्वीकारेको भन्ने होइन । संघीयता ल्याएकै यही नेतृत्वले हो । पार्टी प्रणालीमा तलको कमिटीलाई सुझाव र निर्देशन दिइन्छ । सबैको पार्टीले सबै देशमा गर्छन्, त्यही भारतमा पनि गर्छन् । भाजपाले पनि राज्यमा को मुख्यमन्त्री हुने, को उम्मेदवार हुने, ब्लकमा को हुने भनेर निर्देशन दिन्छ ।

हाम्रो कोशी प्रदेशको कुरा गर्ने हो भने सर्वोच्चले फैसला गरिसकेको कुरालाई हामी मान्छौं । सम्मान गर्छौं ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको मिति तय भएको छ । पदाधिकारी बैठकले तय गरेका एजेन्डा के छन् र त्यसको राजनीतिक उद्देश्य के हुन् ?

केन्द्रीय समितिको बैठक नबसेको लामो समय भएको थियो । कहिले केन्द्रको बजेट, कहिल प्रदेशको बजेट, कहिले स्थानीय तहको बजेट, बीचमा प्रधानमन्त्रीको विदेश भ्रमणलगायत विषयले बैठक बस्न सकेको थिएन ।

अहिले बस्ने बैठकमा धेरै केही गर्नेभन्दा पनि समसामयिक विषयमा संश्लेषण र विश्लेषणसहित एउटा राजनीतिक प्रतिवेदन आउँछ । त्यसको तयारीका लागि अध्यक्षले पदाधिकारीको राय लिइसक्नु भएको छ ।

दोस्रो, संगठनको विषय छ । हिजो जानेर, गरेर पनि संगठन सुदृढ हुन सकेन, सबै संगठन एउटा रफ्तारमा चल्न सकेन । केहीलाई जिम्मेवारी धेरै भएजस्तो, केही जिम्मेवारी विहीन जस्तो देखिएको छ । अब सबैलाई मूर्त जिम्मेवारी तोकेर कार्ययोजना आउँछ । भद्दा र ठूलो संगठनलाई चुस्तदुरुस्त बनाउन पनि छलफल गर्छौं ।

नेपाल कम्युनिष्ट पार्टीसँग एकता र उक्त पार्टीका नेता नेत्रविक्रम चन्दलाई पार्टी महासचिव बनाउने र रोक्ने बारे विवादको विषय के हो ?

पार्टी एकता यस्तो प्राविधिक विषय होइन । यसरी प्राविधिक ढंगले कुरा चलेको पनि छैन । बाहिर यसलाई विषय बनाइएको छ ।

तपाईंकै पार्टीका नेताहरूले यसबारे बोलिरहनुभएको छ त ?

होइन । सबै माओवादीहरू एक ठाउँमा हुनुपर्छ । त्यसमा हामी कसैको पनि दुईमत छैन । विप्लवजी मात्रै होइन, किरणजी र बाबुरामजीहरू पनि आए मात्र बल्ल यो (माओवादी) पूर्ण हुन्छ । त्यस्तै, अरु बाँकी वामपन्थी क्रान्तिकारी कम्युनिष्टहरू पनि एक हुनुपर्छ र अझ एउटै पार्टी बनाउनुपर्छ भन्ने सैद्धान्तिक मान्यतामा हाम्रो कहीं पनि फरक छैन । त्यसपछि एकता कहिले, त्यसको स्वरूप कस्तो भन्ने अहिले उठेको कुरा होइन । यो मिडियामा बढी आइरहेको छ । हाम्रो भित्र छलफल भएको छैन ।

हामीले पार्टी एकताका निम्ति महराजीको नेतृत्वमा कार्यदल पनि बनाएका छौं । साना ठूला स्वतन्त्र वामपन्थी व्यक्तित्वहरूसँग छलफल पनि भइरहेको छ । एकताको अन्तिम आधार, पार्टी एकता भनेको संगठनको पनि एकीकरण हो, संगठनको एकीकरण गर्दाको कार्यविभाजनाबारे अहिले छलफल गर्नु समयपूर्वको बहस हुन्छ । हाम्रो भित्र भएकै छैन । मैले देख्छु बाहिर, फलानो आएर महासचिव हुने रे, फलानो/फलानोले नमानेको रे ! फलानो/फलानोले घेरा हालेको रे ! यी सबै मिडियाको उपज हुन् ।

तपाईंकै अध्यक्षले एक कार्यक्रममा ‘रैथाने’ले संरक्षण गरेनन्, बाहिरकाले बरु सरकारको पक्षमा बोलिरहेका छन् भनेर गुनासो गर्नुभयो र पार्टीका तीन उपमहासचिवले त्यसको खण्डन नै गर्नुभयो नि ?

त्यो प्रस्तावै भएको छैन । कहीँ एकता गरेर अध्यक्ष नै हुने पो हो कि ? के को महासचिवको मात्रै कुरा ? त्यसैले यो प्राविधिक कुरामा प्रवेश नै गरिएको छैन । स्ववियु काउन्सिलको पूर्वनिर्धारित कार्यक्रम थियो । अलि युवा नेतृत्व गएर बोल्ने भन्ने पहिला नै तय भएको थियो । अध्यक्षले बोल्नुभयो अनि उहाँहरू काउन्टरमा जानुभयो भन्ने विल्कुलै होइन ।

पार्टीभित्र गुटहरू छन् भन्ने त थियो नै । तर ती कार्यक्रममा स्पष्ट रूपमा एकले अर्कोलाई आरोपित गर्ने काम भयो नि ?

मैले ठ्याक्कै त सोधिनँ । एकचोटि उहाँहरूकै अन्तर्वार्ता लिँदा हुन्छ । यदाकदा दिइरहेको पनि देखेको छु । त्यस्तो होइन । अस्ति महाधिवेशन थियो, कि फलानो कि फलानो भन्दै त्यही खडा गरियो । त्यतिबेला महासचिव हुने म पनि हो भनिदिएको थिएँ एकचोटि । तर फेरि म सहमति भए मात्रै हुन्छु नै भनेको थिएँ ।

महासचिवमा दाबेदारी तपाईंको पनि थियो ?

महाधिवेशनमा थियो । सबैको सहमति भयो भने मात्रै हुन्छु नत्र हुन्न भनेको थिएँ । त्यसरी पदाधिकारी नै चयन भएन, सक्कियो । त्यसले हामी सबै कमरेडहरूको बीचमा कहीँ पनि सम्बन्धमा, एउटाको विरुद्ध अर्को, अर्काका विरुद्ध अर्को भन्ने भएन । सम्भावित को हो भनेर आफ्नो इच्छा उजागर गर्ने कुरा भयो । तर पछि हामीले सर्वसम्मत ढंगले कार्यविभाजन गर्‍यौं । बहुपदमा गएर पदाधिकारी बनायौं ।

तपाईंको पार्टीभित्र विधि र विधानमा चलेन भनेर निकै गुनासो गरेको सुनिन्छ । यो भनेको के हो ? विधि र विधानमा को चलेको छैन ?

हाम्रो पार्टी कमिटी ठूलो भएका कारण थोरै नेता मात्रै सक्रिय भए । ठूलो हुनु भनेको केहीको निर्देशन चल्ने, केहीले चाहिं कासन मान्ने भनेजस्तो हुन्छ ।

त्यो भनेको आन्तरिक लोकतन्त्रकै प्रश्न हो ?

लोकतन्त्रको प्रश्न होइन । सञ्चालनको विषय हो । बैठक बसेर निर्णय त गर्छौं । जस्तो कि हाम्रो पार्टीको वैकल्पिक समेत गर्दा झण्डै पाँच सय भन्दा बढी केन्द्रीय कमिटी छ । तर पदाधिकारी २१ जना भएकोले हामी एकै दिन दुईपटक पनि बैठक बस्न सक्छौं । केन्द्रीय समितिका बैठक यसरी बस्न सकिँदैन । त्यसैले ठूला कमिटी हुनु भनेको मूल नेतृत्व सक्रिय हुने, निर्णय प्रक्रियामा सहभागी हुने र निर्देशन हुने, बाँकी कार्यन्वयनमा जानेजस्तो मात्रै हुन्छ ।

संगठनात्मक प्रश्न भनेको त विचारधारासँग पनि जोडिएर आउँछ । विचारमा अस्पष्टता भएर यस्तो भएको हो ?

विचारमा अस्पष्टता भएर होइन । कहिलेकाहीं विचार बहुत क्रान्तिकारी र वस्तुनिष्ठ छ, तर त्यही अनुसारको संगठन बनाइएन भने संगठनले विचार पनि खाइदिन्छ । पुरानो संगठनले नयाँ विचार पनि खाइदिन्छ । हाम्रो संगठन भद्दा छन् भन्ने हो ।

त्यसलाई चुस्तदुरुस्त बनाउन के कुराले रोकिरहेको छ ?

केहीले पनि रोकेको छैन । त्यसका लागि विधि हुनुपर्छ । त्यसैले अब विधान महाधिवेशनमा जानुपर्छ । यही केन्द्रीय समितिबाट सायद हामी निष्कर्षमा पुग्छौँ । त्यसपछि कोही पनि व्यक्ति जिम्मेवारी विहीन हुनुपर्दैन । कमिटी पनि चुस्त हुन्छ । सदस्यताको विस्तार गर्न पनि खोजिरहेका छौँ । हामी मास होइन, क्याडर बेस्ड पार्टी भएकाले सबैलाई कमिटीमा राखेर कसरी व्यवस्थित गर्ने भनेर यसपटक फाइनल गर्छौं ।

पार्टी अध्यक्षमा सबै केन्द्रीकरण भएर यस्तो समस्या भएको हो कि ? नत्र त पार्टी सञ्चालनमा प्रणालीले काम गथ्र्यो होला ?

होइन । हाम्रो अध्यक्षात्मक प्रणाली छ । कार्यकारी अधिकार सबै उहाँमा नै हुन्छ । त्यसैले मुल नेतृत्व सक्रिय हुँदा सबै सक्रिय हुन्छ । नत्र नभएजस्तो देखिन्छ ।

यो केन्द्रीय समितिले विशेष महाधिवेशनको मिति तोक्छ ?

मिति नै तोक्नेसम्म नहोला । तर विधान अधिवेशनको मिति तय गर्छौँ । एकपटक हामी तलसम्मै पुगेर सदस्यता नविकरण, विस्तार, जबस, विभाग, सेलसम्म बैठक छलफल, अभियान चलाउँछौं ।

हामी पदाधिकारीलाई त्यहीअनुसार सुझाव दिइरहेका छौँ । उहाँले राजनीतिक प्रस्ताव ल्याउनु हुन्छ । त्यसपछि हामी लागेपछि यसरी लाग्छौँ कि मान्छेले महिनामा सकेको काम हामी हप्तामा सक्छौं, हप्तामा सकेको काम एकै दिनमा सक्छौं ।

विभिन्न पार्टीबाट एकताको प्रस्ताव आएको भन्ने सुनिन्छ । डा. बाबुराम भट्टराई, विप्लवसँग छलफल चलिरहेको भन्नेछ । यसलाई केन्द्रीय समितिबाट टुंग्याउनु हुन्छ ?

बैठकले पार्टी एकता गर्ने भन्ने कुरालाई सहमति खोज्छ । को–को सित के गर्ने भन्ने प्राविधिक र संगठनात्मक कुरा वैचारिक विषयभन्दा पछि आउने कुरा हो ।

माओवादी भन्ने नाम परिवर्तन गर्ने भन्ने कुरा छ ?

त्यो चाहिं अहिले नै प्रस्तावमा आएको छैन । बैठकको अन्तिमसम्म अध्यक्षले ल्याउनु भयो भने छलफलबाट निर्णय हुन पनि सक्छ ।

पुस माघमा बसेको बैठकमा चुनाव चिह्न र पार्टीको नामबारे विषयको उठान भइसकेको छ ।

के कुरा भएको थियो ?

छ्यास्स उठान मात्रै भएको थियो । क्लियर आएको थिएन । निर्णय गर्ने बेलासम्म पुग्दा त गम्भीर छलफल भएर निष्कर्षमा पुगिन्छ । विचार र दर्शनमा परिवर्तन हुने होइन, नाम त हामीले कतिपटक फेर्‍यौं । यो त्यति ठूलो कुरा होइन ।

पार्टी अध्यक्षले सरकारले यतिका काम गर्‍यो, तर रैथानेहरूले नै यसको पक्षमा बोलेनन् भन्नुभएको छ । सकारको कामप्रति तपाईंको बुझाइ के छ ?

सरकारमा जाँदा पार्टीका तीनवटा मूल्यमान्यता थिए । आर्थिक समृद्धि, सुशासन र समाजिक न्याय । पार्टीका नीति कार्यक्रममा नै यी विषय राखेका थियौं । अहिले तिनको शुभारम्भ भएको छ । पक्कै यसले राम्रो नतिजा ल्याउने छ ।

यसले गठबन्धनभित्र प्रश्न उठेको भन्ने छ नि ?

त्यो त उहाँको केन्द्रीय समिति बैठक लाइभमा नै देखियो । कसैले पनि यसको विपक्षमा मत उठाएको छैन ।

कांग्रेस केन्द्रीय समितिमा त गृहमन्त्रीको राजीनामा माग्ने कुरा पनि उठ्यो हैन ?

हामीले सामुहिक निर्णयलाई हेर्नुपर्छ । व्यक्तिले आफ्नो ढंगले बोल्ने कुरा फरक हो । गठबन्धन चाहिन्न, भत्काउनु पर्छ भन्ने कुरा त कसैले पनि गर्नु भएको छैन ।

समावादी मोर्चाले के गरिरहेको छ ?

पहिले आफ्नै पार्टी संगठन बलियो बनाउने हो । त्यसपछि ती पार्टीबीच मोर्चा बनाउने हो । विचार मिल्नेसँग एकता गर्ने हो ।

विचारधारमा नै फरक देखिएका पार्टीबीच भएको मोर्चा कहिलेसम्म जान्छ ?

मोर्चा भनेको एउटा कार्यनीतिक हुन्छ, अर्को रणनीतिक हुन्छ । विचार मिल्नेसँग मोर्चाबाट पार्टी एकतासम्म जान्छ । होइन भने तत्कालीन समयमा कुरा मिल्नेसँग मोर्चा बन्छ । समाजवाद चाहिं हामी सबैको साझा विषय हो ।

अहिलेको मोर्चा समाजवादका लागि हो वा सत्ताको रक्षाका लागि मात्रै ?

सबै गठबन्धनकै दलहरू छौं, विप्लव मात्रै संसदभन्दा बाहिर हुनुहुन्छ । त्यसो हुँदा विचार मिल्नेसँग सहकार्य गर्ने कुरा हो । एकतासम्मै जाने भएको भए त कमा, फुलिस्टफसम्म छलफल गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?