+
+
सहकारी संकट-२० :

सहकारी पीडितको अनशनमा ठेलागाडा मजदुरदेखि बसुन्धरा भुसालसम्म

भुसाल भन्छिन्, ‘रातदिन सुटिङ गरेर र स्टेजमा नाचेर कमाएको पैसा सहकारीले खाइदियो

विजय पराजुली विजय पराजुली
२०८० साउन १६ गते २२:०५
सहकारी पीडितहरू

१६ साउन, काठमाडौं । सहकारीका पीडित बचतकर्ताहरुले दुई महिनादेखि माइतीघरमा गरिरहेको धर्ना कार्यक्रमलाई नजिकबाट नियाल्दा यो समस्याको गहिराइ कति धेरै छ भन्ने आकलन गर्न सकिन्छ ।

जेठको चर्को गर्मीमा १९ जेठबाट सुरु माइतीघरको २४ घण्टे धर्ना कार्यक्रममा असार–साउनको झरीमा पनि निरन्तर रह्यो, मंगलबार यो ६२ औं दिनमा पुगेको छ ।

सहकारीका पीडितहरुले धर्नाको ४६औं दिनदेखि रिले अनशन सुरु गरेका छन्, त्यो पनि १६औं दिन पुगेको छ । यो धर्ना तथा अनशनमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिक, रिक्साचालकहरुदेखि देशमा ठूलाठूला सेलिब्रिटीहरु पनि सहभागी छन् । यी सबै नागरिकहरु सहकारी संस्थामा राखेको आफ्नो बचत फिर्ता नपाएपछि चिसो सडकमा धर्ना बस्न आएका हुन् ।

सोमबारको १० घन्टे रिले अनशनमा दुई पाका अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमण्डलमा बसेका थिए ।

उनीहरु सोमबार राति १० बजेसम्म रिले अनशनमा बसे ।

बसुन्धरा भुसाल, चैत्यदेवी, भुवन चन्द र उनीहरुका परिवारका १४ जनाको २ करोड ६० लाख रुपैयाँ सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले अपचलन गरेको अभिनेतृ भुसालले बताइन् । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा ४ जनाको करिब ७० लाख रुपैयाँ बचत फिर्ता नपाएको उनको भनाइ छ ।

‘कान्तिपुरले ब्याज नदिएको १ वर्ष भइसक्यो । कहिले जग्गा दिन्छु त कहिले बचत फिर्ता गर्छु भनेर पटक–पटक झुलाउँदै आएका छन्’, भुसालले भनिन् । कान्तिपुरका सञ्चालक अहिले पनि सम्पर्कमा रहेको तर सिभिल सहकारीले भने तीन वर्षदेखि न सावाँ न ब्याज केही पनि नदिएको उनको भनाइ छ ।

सिभिल सहकारीले सामाजिक सेवाका लागि खोलिएको भुवन–चैत्य–बसुन्धरा फाउन्डेसनको १४ लाख रुपैयाँ पैसा फिर्ता नपाएको उनले बताइन् । फाउन्डेसनले हरेक वर्ष विशिष्ट व्यक्ति सम्मान गर्दै आएको थियो । सहकारीले पैसा नदिंदा २ वर्षमा १ पटक यो वर्ष गर्न लागेका उनको भनाइ छ ।

‘कति दुःख गरेर, रातदिन सुटिङ र स्टेजमा नाचेर कमाएको पैसा हो’ भुसालले गहभरि आँसु पार्दै भनिन्, ‘आफ्नो व्यक्तिगत पैसा भन्दा पनि फाउन्डेसनको पैसा डुब्यो ।’

सहकारीमा राखेको रकमको ब्याज पनि नपाउँदा घरखर्च चलाउन समेत मुश्किल परेको उनीहरुको गुनासो छ ।

सहकारीको बचत फिर्ताका लागि पहल गर्न बसुन्धरा, चैत्यदेवी, भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर, कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको उनीहरुले बताए ।

कान्तिपुर सहकारीले बचत फिर्ता गर्ने भन्दै चितवनको मेघौलीको जग्गा पैसा थपेर लिन भनेको भुसालले बताइन् । ‘चलनचल्तीको भन्दा बढी मूल्यमा जग्गा पैसा थपेर लिन भनिरहेका छन्’ उनले भनिन्, ‘हामीले जग्गा लिएर के गर्ने । समस्यामा परेको बचतकर्तालाई जग्गा दिने बहानामा थप पैसा असुल्ने काम भइरहेको छ।’

सामाजिक रुपमा पहिचान बनाएको चर्चित अभिनेत्रीले पहल गर्दा त सहकारीको बचत फिर्ता पाउन सकेका छैनन् । पहुँच नहुने आम सर्वसाधारण र दैनिक ज्यालामजदुरी गरी पैसा कमाउनेको अवस्था झनै नाजुक बन्दै गएको छ ।

त्यस्तै पीडितमध्येका एक हुन्, मकवानपुरको फापरबारीकी पुतलीमाया तामाङ । उनले इँटा भट्टामा ज्यामी काम गरेर कमाएको रकम सहकारीमा राख्दै आएकी थिइन् । ललितपुरको भैंसेपाटीमा रहेको एउटा सहकारीमा पैसा राखेको उनलाई थाहा छ, तर सहकारीको नाम भने उनलाई थाहा छैन । ज्यामी काम गरेर कमाएको ६० हजार रुपैयाँ उनले सहकारीमा राखेकी थिएन् । अहिले काम नपाएको बेलामा सहकारीमा बचत गरेको पैसाबाट गुजारा चलाउने उनको सपना मात्रै तुहिएको छैन, अहिले दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ता थपिएको छ ।

सिन्धुलीको भिमान घर भएका फणीन्द्रराज कोइराला काठमाडौंका चाबहिलमा ज्यामी काम गर्छन् । दैनिक ठेलागाडा कमाएर केही रकम बचत गर्न उनले उत्तम बचत तथा ऋण सहकारी संस्थामा बचत खाता खोलेका थिए । ‘ज्यामी काम गरेर कमाएको दैनिक २०० रुपैयाँको दरले महिनाको ६ हजारको सहकारीमा राख्दै आएको थिएँ’ उनले पीडा भरिएको स्वरमा भने, ‘राम्रो लगाउने र खाने रहरलाई समेत पूरा नगरी ज्यामी काम गरेर कमाएर बचत गरेको पैसा सहकारीले खाइदियो । दैनिक मजदुरी गर्नेलाई १ लाख ४० हजार भनेको ठुलो रकम हो ।’

एक दिन काम नपाए के खाने भन्ने अवस्थाका फणीन्द्र जस्ता लाखौं मजदुरले दैनिक रुपमा कमाएको गरेको केही बचत अपचलन गर्दै सहकारीका सञ्चालकहरु फरार छन् । तर, यसले न राज्य संयन्त्रलाई नै छोएको छ, न सहकारी अभियानको नाममा देश विदेश घुम्ने सहकारी अभियन्तालाई नै ।

काठमाडौंको बौद्ध बस्ने उदयपुरकी मेली तामाङले अरुको घरमा दैनिक जुठा भाँडा माझेर र सरसफाई गरेर कमाएको १ लाख रुपैयाँ रकम गेटवे सहकारीमा बचत गर्ने गरेकी थिइन् । दैनिक छाक कटाएर सहकारीमा गरेको बचत फिर्ता गर्नुको साटो ताला लगाएर सञ्चालकहरु फरार भएको उनले बताइन् ।

‘२ रुपैयाँ कमाउँदा १ रुपैयाँ बचत गरेर १ रुपैयाँ खायौं । बरु कमाएको पैसाले त्यही बेला राम्रो खाने र लाउने गरेको भए अहिले दुःख पाउनुपर्ने थिएन होला’ उनले भनिन्, ‘श्रीमान् ज्यामी काम गर्नुहुन्छ । बच्चा पढ्दै छन् । हाम्रो पीडा कसले सुन्ने ।’

भक्तपुरको कमलविनायकका ७९ वर्षीय भीमबहादुर प्रजापतिले ओरिएण्टल सहकारीमा ५ लाख रुपैयाँ राखेको थिए । १३ वर्षददेखि त्यसको सावाँ नै फिर्ता नपाएको उनले ब्याज फिर्ता पाइने आशा मारिसके । उनले भक्तपुरमा नै शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा १६ लाख रुपैयाँ राखेको ६/७ वर्ष भयो । तर, अहिले न सावाँ न ब्याज भएको छ । ‘सावाँ यति थियो भन्ने थाहा छ । छोराहरूले बुढेसकालमा खर्च दिंदैनन्, सहकारीमा राखेको बचतको ब्याजबाट खर्च चलाउँला भनेर जग्गा बेचेर आएको पैसा सहकारीमा राखेको थिएँ’, उनले भने ।

ललितपुर प्याङगाउँकी फुलमाया घलानले दिनभरि फुटपाथमा कपडा बेचेर कमाएको पैसा दैनिक २०० रुपैयाँको दरले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थामा बचत गर्दै आएकी थिइन् । ‘दैनिक फुटपाथमा व्यापार गरेर कमाएको पैसा २०७८ साउनदेखि दैनिक २०० रुपैयाँ राख्दै आएको थिएँ’ उनले भनिन्, ‘अहिले सहकारीले पैसा दिंदैन, फुटपाथको व्यापार पनि छैन । कसरी बालबच्चा पाल्ने र पढाउने भन्ने भएको छ ।’ सहकारीमा २ लाखभन्दा बढी बचत भए पनि कति रकम पाउनुपर्ने छ भन्ने यकिन जानकारी समेत उनलाई छैन ।

काठमाडौंकाे कीर्तिपुरकी ६६ वर्षीय प्रेमनानी महर्जन दम्पतीले दैनिक खर्च टारेपछि बचेको केही रकम शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा राख्दै आएका थिए । श्रीमान्, छोरा, बुहारी र नातिनी समेतको गरेर उनको परिवारको सदस्यको ९ लाख रुपैयाँ बचत सहकारीमा थियो । ‘अहिले पसल चलाउन नसक्ने हुँदा सोही बचतबाट खर्च चलाउँला भनेर सहकारीमा राखेका थियौं । तर, एक वर्षदेखि न सावाँ न ब्याज भएको छ’, उनले भनिन् ।

माइतीघरको रिले अनशनमा देशभरका १०५ वटा सहकारी संस्थाका पीडितहरुको ऐक्यबद्धता रहेको सहकारी पीडित महासंघका अध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताए ।

यस्ता हजारौं मजुदरको रकम सहकारीका सञ्चालकले दुरुपयोग गर्दै व्यावसायिक साम्राज्य खडा गरेका छन् । नीतिनिर्माण तहमा समेत उनीहरुकै पहुँच पुग्छ । गरिब तथा मजदूरहरुले आपसी उत्थानका लागि सहकारी बनाउने भन्ने परिकल्पना ऐनमा गरिएको छ । तर, त्यही सहकारी संस्थाको नाममा राजनीतिक संरक्षण पाउँदै नवधनाढ्यहरुको उदय हुँदा अहिले पीडितको समस्याबारे राज्यले कुनै सुनुवाइ गरेको छैन ।

सरकारले गठन गरेको सहकारी समस्या सुधार सुझाव कार्यदलमा सहकारी पीडितको कुनै प्रतिनिधित्व छैन । तर, बचतकर्ताको २ अर्ब रुपैयाँ बचत फिर्ता नगरेका केबी उप्रेती वित्तीय विश्लेषकका नाममा कार्यदलमा घुसेका छन् । अर्कातिर, सहकारी विज्ञका रुपमा अर्का सहकारी सञ्चालक ऋषिराज घिमिरे पनि कार्यदल सदस्य बनेका छन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल पदेन सदस्य बनेकै छन् । कार्यदलले सहकारी पीडितको समस्या समाधान गर्ने होइन, जनताको अर्बौं रुपैयाँ अपचलन गर्ने सञ्चालकको पक्षमा प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।

स्थानीय तह, प्रदेश र संघअन्तर्गतका करिब १ हजार हाराहारी सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै सम्बन्धित तहको सरकार तथा प्रहरीमा उजुरी परेको सहकारी विभागको अनुमान छ । तर, त्यसरी उजुरी परेका सहकारीका सञ्चालकलाई कारबाही गर्नुको साटो विभागले उल्टै बचतकर्तालाई मिल्न दबाब दिने गरेको छ । सहकारी विभागले एक दर्जन संस्थाका सञ्चालकलाई कारबाही गर्न भन्दै केन्द्रीय अनुसन्धान ब्युरोमा लेखेर पठाएको छ । तर, ब्यूरोले शिवशिखर सहकारीबाहेक अन्य कुनै पनि सहकारीको अनुसन्धान गरेको छैन । देशका अन्य स्थानमा रहेका प्रहरी कार्यालयहरुले बागलुङको इमेज सहकारी र विराटनगरको तुलसी सहकारीलगायत सीमितको मात्रै अनुसन्धान अघि बढाएको छ ।

सहकारी विभागले १२ जेठमा समस्यामा परेका सहकारीलाई सावाँब्याज फिर्ताको कार्ययोजना सहितको श्वेतपत्र जारी गर्न निर्देशन दिएको थियो । त्यस्तै, कान्तिपुर, उपलब्धि, हाम्रो सगरमाथालगायत केही सहकारीलाई असार मसान्तसम्म पाकेको ब्याज भुक्तानी गर्न निर्देशनसमेत दिएको थियो । तर, कुनै पनि सहकारीले त्यो निर्देशन पालना गरेका छैनन् । तर, निर्देशन पालना नगर्ने सहकारीलाई विभागले कुनै कारबाही गरेको छैन । विभागका प्रवक्ता टोलराज उपाध्याय उक्त निर्देशन पालन नगर्ने सहकारीलाई उजुरी हेरेर समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्नेदेखि अनुसन्धानको लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पठाउने बताउँछन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी सहकारी समस्या समाधान सुझाव कार्यदलमा तत्काल गर्न सकिने सुधारका कामहरु के हुने र दीर्घकालीन रुपमा के गर्नुपर्ने भनेर छलफल भइरहेको बताउँछन् ।

प्रचलित ऐन नियम र निर्देशिकाभित्र र रहेर पीडित बचतकर्ताको बचत फिर्ताका लागि गर्न सकिने सहजीकरणको विषयमा कार्यदलमा छलफल भएको उनले बताए । सहकारी संस्थाहरु सिद्धान्त, मूल्य मान्यताभित्र सञ्चालन हुन सहकारी ऐन र नियमावलीमा आवश्यक परिमार्जन गर्ने गरी छलफल भएको उनले बताए ।

सहकारीमा देखिएको समस्या समाधान गर्ने विकल्प नै छैन भनने नभएको तर एकैपटक सबै समस्या समाधान गर्न भने नसकिएको सचिव दुवाडीले बताए । सहकारीको नियमन प्रभावकारी बनाउने र सहकारीको समस्या समाधानको सहजीकरणका लागि २१ साउनमा ७ वटै प्रदेशका सहकारी मन्त्रालयअन्तर्गत सहकारी रजिस्ट्रार नियुक्त भएको र उनीहरुलाइ पनि बोलाएर छलफल गर्न लागिएको उनले बताए । ‘सहकारीका बचतकर्ताले पनि आफ्नो स्वनियमनको सिद्धान्तलाई पालन गर्नुपर्छ । सहकारीका सञ्चालकले पनि विधि प्रक्रिया पालन गर्नुपर्छ’ उनले भने, ‘गलत गर्ने सहकारीका सञ्चालकलाई कारबाही हुन्छ र पीडित बचतकर्तालाई राहत दिनुपर्छ ।’

सहकारीको मूल्यमान्यताअनुरुप एकअर्कामा परिचित मान्छे मात्रै सदस्य बनेर कारोबार गर्दा समस्या नआउने सचिव दुवाडी बताउँछन् । ‘आज यता पैसा थुपार्ने र भोलि अर्कातिर जाने सञ्चालक भएको र सेयर सदस्यहरु परिचित नभएको ठाउँमा बचतकर्ताले पैसा पनि राख्नुभएन’, उनले भने ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

सहकारी संकट-११

सहकारी संकट-१२

सहकारी संकट-१३

सहकारी संकट-१४

सहकारी संकट-१५

सहकारी संकट-१६

सहकारी संकट-१७

सहकारी संकट-१८

सहकारी संकट-१९

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?