+
+
सहकारी संकट-३२ :

बचत–ऋण सहकारी केन्द्रीय संघ नै संकटमा, साढे ५ अर्ब घाटा नाफामा लेखांकन

विज्ञ भन्छन्– संस्थै कोल्याप्स हुन सक्छ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले खराब कर्जाबापत थप ५ अर्ब ३६ करोड प्रोभिजन गर्नुपर्नेमा वित्तीय विवरणमा छेडखानी गरिएको भन्दै लेखा परीक्षकले कैफियत लेखे ।

जनार्दन बराल जनार्दन बराल
२०८० चैत २७ गते २०:१५

२७ चैत, काठमाडौं । देशभरिका बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रीय संघ (नेफ्स्कुन) आर्थिक विचलनका कारण गम्भीर संकटमा परेको देखिएको छ ।

गत आर्थिक वर्ष (आव) २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा लेखा परीक्षक (अडिटर) स्वयम्ले नेफ्स्कुनको वित्तीय अवस्था गम्भीर जोखिममा रहेको र वासलात लगायत कुनै पनि वित्तीय विवरण सही ढंगले नराखिएको राय लेखेको छ ।

केन्द्रीय संघका रूपमा नेफ्स्कुनले देशभरिका बचत तथा ऋण सहकारीबाट निक्षेप लिने र उनीहरूलाई ऋण दिने काम गर्छ । यो एक हिसाबले सहकारी संस्थाहरूको बैंक हो ।

संस्थाको लेखा परीक्षण गरेको बीपी एसोसिएट्सले लेखा परीक्षण प्रतिवेदनमा विपरीत राय (एडभर्स अपिनियन) दिएको छ । ‘लेखा परीक्षकले यस्तो राय दिनु भनेको संस्थाको कुनै पनि हिसाबकिताब मिल्दैन र संस्था एक हिसाबले ‘कोल्याप्स’ भइसकेको हो भन्ने अर्थ हुन्छ,’ एक वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) ले भने ।

खासगरी खराब कर्जामा ‘प्रोभिजनिङ’ गर्नुपर्ने साढे ५ अर्ब रुपैयाँ प्रोभिजनिङ नगरी नाफामा लेखांकन गरेको कुरा लेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

‘संस्थाले सम्भावित कर्जा नोक्सानी व्यवस्थामा ५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ छुट्ट्याउनुपर्ने भए पनि ४२ करोड ४२ लाख मात्रै छुट्ट्याएको छ,’ लेखा परीक्षकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

नियम अनुसार संस्थाले जति रकम प्रोभिजनिङ गर्नुपर्ने हो, त्यसभन्दा ५ अर्ब ३६ करोड ३५ लाख न्यून कर्जा नोक्सानी व्यवस्था गरी कृत्रिम नाफा देखाएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले गत आवमा ४१ लाख नाफा देखाएको छ । जबकि, यति ठूलो रकम प्रोभिजनिङ गरेको भए संस्था ठूलो मात्रामा घाटा जाने लेखा परीक्षकले भनेको छ ।

लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाको पूँजीकोष २ अर्ब ३२ करोडको देखिन्छ । ‘यदि संस्थाले नियम अनुसार ५ अर्ब ३६ करोड प्रोभिजनिङ गरेको भए यसको नेटवर्थ नै ३ अर्बले ऋणात्मक हुने थियो, त्यो भनेको संस्था गम्भीर संकटमा छ भन्ने हो,’ एक सीएले अनलाइनखबरसँग भने ।

लेखा परीक्षण प्रतिवेदनले वित्तीय स्थिति, सञ्चालन नतिजा वा नगद प्रवाहको यथार्थ प्रस्तुत गर्दैन भन्ने निष्कर्षमा पुगेपछि लेखा परीक्षकले एडभर्स अपिनियन व्यक्त गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले जनाएको छ ।

अनलाइनखबरलाई यसबारे लिखित धारणा पठाउँदै आईक्यानले भनेको छ, ‘लेखा परीक्षकले पर्याप्त र उपयुक्त लेखा परीक्षण प्रमाण प्राप्त गरेपछि वित्तीय विवरणमा भएका कुनै एक वा समग्र गलत विवरण सारवान/सारभुत र विस्तृत छन्, तर वित्तीय विवरणले निकायको वित्तीय स्थिति, सञ्चालन नतिजा वा नगद प्रवाहको समग्रमा यथार्थ प्रस्तुत गर्दैन भन्ने निष्कर्षमा पुग्छ भने नेपाल लेखा परीक्षणमान बमोजिम लेखा परीक्षण प्रतिवेदनमा विपरीत राय व्यक्त गरिन्छ ।’

आईक्यान अध्यक्ष सुजनकुमार काफ्ले लेखा परीक्षकले विपरीत राय दिएको संस्थाको वित्तीय अवस्था ८० प्रतिशत जोखिममा रहेको बुझिने बताउँछन् । विपरीत राय दिइएका संस्था वित्तीय संकटको अवस्थामा रहेको बुझिने उनले बताए ।

सीए अरुण राउत वित्तीय अवस्था नराम्रो छ भने लेखा परीक्षकले विपरीत राय दिने बताउँछन् ।

‘लेखा परीक्षकले वित्तीय रूपमा समस्या रहेको संस्थाको लेखा परीक्षण रिपोर्टमा विपरीत राय दिने गर्छ,’ राउत भन्छन्, ‘लेखा परीक्षकले यस्तो टिप्पणी दिन धेरै नै हिम्मत गर्नुपर्छ ।’

लेखा परीक्षकले नै विपरीत राय दिएको प्रतिवेदन संस्थाको साधारणसभाबाट भने पारित भएको छ । ‘यस्तो प्रतिवेदन साधारणसभाबाट कसरी पारित भयो अचम्म लागेको छ,’ एक सीए भन्छन्, ‘यसले सहकारी संस्थाहरूको साधारणसभा कसरी हुन्छन्, को–को उपस्थित हुन्छन् र प्रतिवेदनहरू कसरी पारित गरिन्छन् भन्ने विषयमाथि गम्भीर प्रश्न उठेको छ ।’

सहकारी संस्थाहरूको सवा २३ अर्ब निक्षेप जोखिममा

नेफ्स्कुन बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रीय महासंघ हो । यसले प्राथमिक संस्थाहरूबाट निक्षेप संकलन गर्ने तथा ऋण प्रवाह गर्ने काम पनि गर्दछ ।

गत असार मसान्तमा संस्थासँग २३ अर्ब ३३ करोड निक्षेप रहेकोमा त्यो चैत महिनामा ३५ अर्ब पुगेको संस्थाले जनाएको छ । यो निक्षेप सर्वसाधारण बचतकर्ताको होइन । तर, सर्वसाधारण निक्षेपकर्ताको बचत लिने प्राथमिक संस्थाहरूले यहाँ निक्षेप जम्मा गर्छन् ।

संस्थाले १५ अर्ब २३ करोड ऋण प्रवाह गरेको पनि लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थामा ६ अर्ब ७० करोड नगद वा सोसरह सम्पत्ति रहेको उल्लेख छ ।

तर, जति मात्रामा ‘लोनलस’ प्रोभिजनिङ गर्नुपर्ने भनेर लेखा परीक्षकले उल्लेख गरेको छ, त्यसलाई हेर्दा संस्था निक्षेप फिर्ता गर्न सक्नेमा शंका रहेको ती सीए बताउँछन् ।

साढे ४ करोडको सफ्टवेयर काम नलाग्ने, घाटामा देखाउनुपर्ने रकम नाफामा लेखांकन

यस्तै नेफ्स्कुनले काम नै नलाग्ने मिरा ईआरपी नामको सफ्टवेयरमा ४ करोड ३५ लाख रुपैयाँ खर्च गरेकोमा पनि प्रश्न गरेको छ ।

त्यो सफ्टवेयर प्रयोगयोग्य पनि देखिएको छैन र व्यावसायिक रूपमा प्रयोग पनि भएको छैन । त्यसैले त्यसको मूल्य शून्य (निल) हुन्छ । तर, सफ्टवेयरमा गरेको खर्चलाई शून्य मानी त्यो रकमलाई ‘इम्पेयरमेन्ट लस’ मा देखाउनुपर्नेमा अझै सम्पत्तिमै गणना गरिएकोमा पनि लेखा परीक्षकले प्रश्न गरेका छन् ।

त्यस्तै लेखा परीक्षकले त्यो इम्पेयरमेन्टलाई लेखांकन गरिएको भए संस्थाको नाफा त्यति नै रकमले घट्ने थियो भनेर उल्लेख गरेका छन् ।

‘नेफ्स्कुनको लेखा परीक्षणमा लेखा परीक्षकले दिएको रायबाट व्यवस्थापनले तयार पारेको वित्तीय विवरण आधारभूत रूपमा नै गलत भएको बुझ्न सकिन्छ,’ अर्का एक सीएले भने, ‘लेखा परीक्षकले कस्तो अवस्थामा विपरीत राय दिन्छ भन्ने यो उदाहरण हो ।’

बैंक तथा वित्तीय संस्थाको लेखा परीक्षणमा पछिल्लो १०/१५ वर्षको इतिहासमा हालसम्म कुनै संस्थालाई पनि लेखा परीक्षकले एडभर्स अपिनियन लेखेको नपाइएको उनले बताए । ‘लेखा परीक्षकले उक्त राय दिनु भनेको संस्था वित्तीय रूपमा ध्वस्त भइसक्यो भन्ने हो,’ उनले भने ।

कस्तो छ असार मसान्तको वित्तीय अवस्था ?

गत आव २०७९÷८० असार मसान्तमा संस्थाको चुक्ता पूँजी १ अर्ब ७४ करोड ९४ लाख देखाइएको छ । यस्तै, साधारण जगेडा कोषमा ३४ करोड ८७ लाख, अन्य वैधानिक जगेडा कोषमा १३ करोड ५६ लाख, पुनर्मूल्यांकन जगेडामा ७ करोड ६६ लाखसहित संस्थाको कुल इक्विटी २ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ देखाइएको छ । संस्थाको सम्पत्ति तथा दायित्व २६ अर्ब १६ करोड रहेको पनि लेखा परीक्षण प्रतिवेदनमा देखाइएको छ ।

असार मसान्तमा संस्थाको खुद ब्याज आम्दानी ३५ करोड ९८ लाख छ । २०७८/७९ मा ७५ करोड ८८ लाख थियो ।

कर्जा रिकभरी हुँदै गरेको नेफ्स्कुनको दाबी

नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल भाखा नाघेको ऋण असुलीका लागि सूचना प्रकाशित गर्ने र ऋण नतिर्ने संस्थासँग समन्वय गर्ने प्रयास गरिरहेको दाबी गर्छन् ।

लेखा परीक्षकसँगको छलफलमा पनि वास्तविक अवस्था जस्तो छ, सोही अनुसार राय दिनुस् भनेर सोही अनुसार प्रतिवेदन तयार भएको उनले बताए ।

आफूले नेतृत्व लिएपछि भाखा नाघेको कर्जा असुल गर्ने कार्यलाई प्राथमिकतामा राखेको र आगामी असार मसान्तमा संस्थाको वित्तीय अवस्था जोखिममुक्त बनाउने उनले दाबी गरे ।

‘व्यवस्थापन समितिसँग निरन्तर छलफल भइरहेको छ । अधिकांश ऋणीसँग समन्वय भइसकेको छ,’ अध्यक्ष ढकालले भने, ‘कर्जा असुलीमा सकारात्मक प्रभाव छ । असारसम्म जोखिममुक्त वित्तीय विवरण आउँछ ।’

त्यसैगरी नेफ्स्कुनका सूचना अधिकारी गणेशप्रसाद तिमल्सिना संस्था कर्जा रिकभरीमा लागेको बताउँछन् । गत असार मसान्तमा १५ अर्ब २५ करोड रहेको कर्जा फागुन मसान्त आइपुग्दा १२ अर्ब ३१ करोड बाँकी रहेको उनले बताए ।

ठूलो परिमाणको कर्जा १/२ किस्ता भाखा नाघ्दा पनि प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाले सम्भावित कर्जा नोक्सानी व्यवस्थामा छुट्ट्याउनुपर्ने रकम धेरै देखिएको दाबी गर्छन् । संस्थाको वास्तविक वित्तीय अवस्थामा केही समस्या रहे पनि ठूलो जोखिमको अवस्था नरहेको उनको दाबी छ ।

‘पल्र्स’ को सिद्धान्त अनुसार एक वर्षभन्दा बढी भाखा नाघेको कर्जामा शतप्रतिशत र १ देखि १२ महिनासम्म भाखा नाघेको कर्जामा ३५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ ।

सहकारी संकट
लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?