+
+
सहकारी संकट-१६ :

इमेज सहकारीमा फर्जी धन्दा : जनताको २ अर्ब निक्षेप मेयरको खातामा जम्मा

विजय पराजुली विजय पराजुली
२०८० साउन ३ गते २०:०५

३ साउन, काठमाडौं । बागलुङका जनताले देवकुमार नेपालीलाई अगाध विश्वास गरे, २०७४ र २०७९ गरी दुई पटक ढोरपाटन नगरपालिकाको मेयर बनाए । मेयरको सहकारीलाई पनि विश्वास गरेर आफ्नो पैसा जम्मा गरे । तर देवकुमारले त्यो विश्वासमा घात गरेका छन् ।

सर्वसाधारणले इमेज बचत तथा ऋण सहकारीमा जम्मा गरेको करिब २ अर्ब हिनामिना गरी देवकुमार फरार भएका छन् । बागलुङको सहकारीबाट १ अर्ब ३१ करोड र पोखरामा ६५ करोड रकम बचत फिर्ता नगरेको भनेर प्रहरीकहाँ उजुरी परेको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले सहकारीको रकम अपचलन गरेको दाबी सहित देवकुमार सहित ११ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर समेत गरेको छ ।

उनीहरूमध्ये सञ्चालक चित्रबहादुर भण्डारी, बागलुङ कार्यालयकी लेखा प्रमुख लालमती रोका र प्रबन्धक शक्ति किसान पक्राउ परेका छन् । सहकारीका अध्यक्ष देवकुमार नेपाली सहित ८ जना भने फरार छन् ।

सहकारीका अध्यक्ष देवकुमारसहित फरार ८ जना प्रतिवादीको खोजी भइरहेको बागलुङ प्रहरी प्रमुख एसपी योगन्द्रकुमार खड्काले बताए । १५४३ जनाको उजुरीको आधारमा अनुसन्धान गरी मुचुल्का सरकारी वकिलको कार्यलयमा बुझाएको र त्यसको आधारमा अभियोग पत्र दायर भएको भन्दै उनले भने, ‘थप उजुरी पनि आउने क्रममा छ ।’

मेयरको असली चेहरा

बुर्तिबाङमा नेपालीले बनाएको हेलिप्याडसहितको ८ तले दरबार होटेल ।

देवकुमारले ३१ असार २०६९ मा सहकारी डिभिजन कार्यालय, बागलुङमा इमेज सहकारी दर्ता गराएका थिए । २०७४ को स्थानीय तह निर्वाचनको मुखमा माओवादी छाडेर एमालेतिर लागे, ढोरपाटनको मेयर जिते । बुर्तिबाङमा हेलिप्याड सहित ८ तले घर बनाएका उनी बेलाबेला हेलिकप्टरमै पोखरा–बागलुङ आउजाउ गर्थे ।

कोरोना महामारीमा ‘मनकारी मेयर’को रूपमा चिनिएका उनले २०७९ को चुनाव पनि जिते । पछिल्लो समय ९ वैशाखमा मेयरको सहकारीले बचतकर्तालाई रकम फिर्ता दिनुको साटो सूचना टाँसेर कार्यालय बन्द गरेपछि भने देवकुमारको असली चेहरा बाहिर आएको छ ।

सहकारी ऐनले एकै व्यक्ति एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था गरेको छ । तर उनी बागलुङको सहकारीको अध्यक्ष नेपाली छन् भने त्यहाँका सञ्चालक चित्रबहादुर भण्डारी  पोखराको सहकारीको अध्यक्ष छन् । दुवै सहकारीको सञ्चालक समितिमा परिवार र आफूनिकटका व्यक्तिलाई राखेका उनले जनताको पैसा आफैंले उपयोग गरेका हुन् । उनले जनताको पैसा ठगी गर्न सेयर सदस्य, निक्षेप, कर्जा, खाता र धितो समेत सबै फर्जी सृजना गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा मेयर देवकुमारले नक्कली सम्पत्ति सहकारीलाई बेचेको भनी ३० करोड लिएको, ऋणका नक्कली फाइल खडा गरी ४८ करोड बढी हत्याएको र बैंकको ऋण तिर्न भनेर सहकारीबाट निकालेको रकम पनि आफैंले चलाएको पाइएको छ ।

ठूलो निक्षेप जम्मा गर्न नक्कली खाता

बागलुङको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा ३ वटा सेवाकेन्द्र खोलेको इमेज सहकारीमा बचतकर्ताको विवरण राख्न फिनाक्ट सफ्टवेयर प्रयोग गर्ने गरिएको थियो । तर यसमा ९ लाख ९९ हजार ९९९ रुपैयाँभन्दा कम रकम बचत गर्ने बचतकर्ताको मात्र विवरण समावेश गरिएको छ ।

१० लाख वा सोभन्दा माथिको रकम अध्यक्ष नेपालीले सिधै आफ्नो खातामा जम्मा गर्ने र यसको रेकर्ड म्यानुअल राख्ने गरेको पाइएको छ । प्रहरी नियन्त्रणमा रहेका लेखा अधिकृत लालमती रोकाले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘सहकारीको मूल्यमान्यता, प्रचलित कानुन बमोजिम स्रेस्ता राखी हिसाबकिताब नराख्नु मेरो गल्ती भयो ।’

सहकारीका अध्यक्ष देवकुमारले यसरी ७० करोड ५० लाख ५० हजार ८७१ रुपैयाँ अपचलन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

देवकुमारको निर्देशनमा त्यस्तो रकम सहकारीको बागलुङ शाखाका प्रबन्धक र लेखा अधिकृतले नक्कली खातामा जम्मा गरिदिने गरेका थिए । यो खाता पहिला देवकुमार नेपालीकै नाममा थियो, पछिल्लो समय सहकारीमा समस्या आउन थालेपछि परिवर्तन गरेर ‘इमेज सेभिङ’ राखिएको बयान प्रबन्धक किसान र लेखा अधिकृत रोकाले दिएकी छन् ।

ब्याजको रकम रकमान्तर गर्न इमेज जनरल नामको अर्को नक्कली खाता खोलिएको थियो । यस्तो रकमलाई कृत्रिम कर्जा देखाई संस्थाका अध्यक्ष देवकुमार नेपाली र सुनिल नेपालीले दुरुपयोग गर्ने गरेको पाइएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष र सञ्चालकको मिलेमतोमा सरकारलाई तिर्नुपर्ने ब्याजकर बापतको रकम पनि अपचलन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । कृत्रिम खातामा राखिएको पैसाको ब्याजकर ६२ लाख ८१ हजार रुपैयाँ सहित अन्य कर समेत १ करोड ९२ लाख ७६ हजार ८२६ रुपैयाँ राजस्व छली गरेको पनि प्रहरी अनुसन्धानको निष्कर्ष देखिन्छ । सहकारीले कृत्रिम नाफा र नोक्सान खाता तयार गरी संस्थाको नाफाको ३ करोड ३९ लाख ५६ हजार रुपैयाँ हिनामिना गरेको पनि पाइएको छ । संस्था र सदस्यको सम्पत्ति समेत हिनामिना गरेको अभियोग सहकारीका सञ्चालकमाथि लागेको छ ।

फरार हुनुअघि देवकुमारले मध्यरात कार्यालयमा प्रवेश गरी १० लाख रुपैयाँभन्दा माथिको निक्षेप विवरण भएको फाइलै लगेको पाइएको छ ।

३ जेठ २०८० को राति २ः१५ मा सहकारीमा पुगेका अध्यक्ष देवकुमार सहित ओमकुमार नेपाली र उपाध्यक्ष डोरबहादुर परियारले कार्यालय खोल्न लगाएर तीन वटा फाइल लगेका थिए । प्रबन्धक किसानले राख्दै आएका महत्वपूर्ण कागजात निकाल्न ड्रअर फोडेको सहकारीको सीसीटीभी फुटेजमा देखिन्छ । उक्त सीसीटीभी फुटेज डिलिट गर्न भने पनि आफूले त्यसो नगरेको सहकारीकी लेखा प्रमुख लालमती रोकाले बयान दिएकी छन् ।

सेयर सदस्य नै नक्कली

देवकुमारले सहकारीको स्रोत दुरुपयोग गर्न नक्कली सेयर सदस्य खडा गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सहकारी ऐनको दफा ३२ विपरीत संस्थाको पूँजी कोष बढी देखाउन कृत्रिम व्यक्तिलाई सदस्य बनाएर ८७ लाख ५२ हजार दायित्व देखाएर सहकारीको स्रोत अपचलन गरेका थिए । यसरी कृत्रिम सेयरधनी बनाएर देखाएको पूँजीको रकम लाभांशका रूपमा लिएको मुख्य कार्यालयका प्रबन्धक शक्ति किसान र लेखा प्रमुख लालमती रोकाले बताएका छन् ।

ऋण नै नतिरी तिरेको फर्जी कागजात, १० करोडको हिसाबै छैन

अध्यक्ष देवकुमारले सहकारीले राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण तिरेको भन्दै झुटो कागजात तयार गरी रकम भने आफूले लिएको खुलेको छ ।

इमेज सहकारीले राष्ट्रिय सहकारी बैंकलाई १ करोड ११ लाख ६९ हजार २६५ रुपैयाँ तिर्नुपर्ने थियो । यसका लागि सहकारीबाट रकम लिएका देवकुमारले झुटो कागज बनाएर अपचलन गरेको देखिएको छ ।

सहकारीको वित्तीय विवरण अनुसार नगद खाता र बैंक मौज्दातमा हुनुपर्ने करिब १० करोड रुपैयाँ कतै नभेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । नगद मौज्दात रहेको भनिएको ४ करोड ८१ लाख ५४ हजार ६९४ रुपैयाँ भेटिएको छैन । सहकारीको वासलातको सम्पत्ति अन्तर्गतको बैंक मौज्दातको रकममा देखिएको ४ करोड ९९ लाख ८० हजार ९१४ रुपैयाँ पनि बैंकमा भेटिएन । दुवै रकम अध्यक्ष नेपालीले अपचलन गरेका हुन् ।

सहकारीले २४ असोज २०७० देखि २९ चैत २०७९ सम्म कृत्रिम कर्जा मात्रै १ अर्ब ३० करोड ८३ लाख ९८ हजार ६६८ रुपैयाँ प्रवाह गरेको थियो । त्यसमध्ये ४८ करोड ५१ लाख ८९ हजार ८७८ रुपैयाँ अध्यक्ष देवकुमारले हिनामिना र अपचलन गरेको प्रहरीको निष्कर्ष छ ।

हुँदै नभएको सम्पत्ति बेचेर ३० करोड ठगी

सहकारीका अध्यक्ष देवकुमारले हुँदै नभएको सम्पत्ति सहकारीलाई बेचेको भनेर ३० करोड ठगी गरेको पनि प्रहरीको अनुसन्धानले देखाएको छ ।

संस्थालाई स्थिर सम्पत्ति बेचेको भनेर देवकुमारका नाममा खोलिएको नक्कली खातामा ३० करोड जम्मा भएको छ । त्यो स्थिर सम्पत्ति कतै देखिएकै छैन । हाल इमेज सहकारी बसेको बागलुङ नगरपालिका–२ को कर्मा कम्प्लेक्स भवन त्यही सम्पत्ति हो भनेर प्रबन्धक किसानले बताएका छन् । तर त्यो भवन सहकारीको नाममा छैन ।

सहकारी संस्थामा ऋण लगानी गर्न ऋण उपसमितिको निर्णय हुनुपर्छ । तर, इमेज सहकारीले भने २३ पुस २०७९ सम्म ऋण समिति बनाएको भए पनि उक्त समितिको कुनै बैठक बसेन । सहकारीका प्रबन्धक शक्ति किसानले संस्थाका अध्यक्ष देवकुमारको मौखिक आदेशमा कुनै धितो नराखी ऋण प्रवाह गर्ने गरेको पनि खुलेको छ । कतिसम्म भने अध्यक्ष देवकुमारले कर्मचारीका नाममा फेक ऋण कायम गर्न लगाई रकम भने आफैंले चलाउने गरेका थिए ।

अध्यक्ष देवकुमारले सहकारीलाई निजी कम्पनी चलाए जसरी चलाएको पाइएको गण्डकी प्रदेशको सहकारी रजिष्ट्रार रोशन अर्यालले बताए । सहकारीबाट दुरुपयोग गरेको रकम कहाँ लगानी गरे भन्ने एकिन विवरण नभएपनि होटल, जग्गा तथा अन्य निजी सम्पत्ति जोडेको हुनसक्ने उनले बताए ।

बचतकर्ताको रकमबाट ३३ ठाउँमा घरजग्गा

सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम दुरुपयोग गरेका अध्यक्ष देवकुमारले आफ्नो नाममा काठमाडौं, पोखरा र बागलुङमा ३३ कित्ता जग्गा जोडेको देखिएको छ । यसमध्ये अधिकांश पछिल्लो समय जोडिएको छ ।

सहकारीका सञ्चालक चित्रबहादुर भण्डारीको नाममा बागलुङको बुर्तिबाङमा १३ कित्ता जग्गा छ । त्यस्तै डोरबहादुर परियारको नाममा बुर्तिबाङमै ५ कित्ता छ । यस्तै लक्ष्मी सेन सुनारको नाममा रूपन्देही र बागलुङको बोहोरागाउँमा गरी दुई स्थानमा जग्गा रहेको देखिन्छ । सहकारीका सचिव सुनिल नेपालीको नाममा बुर्तिबाङको पाँच स्थानमा जग्गा छ । बागलुङ कार्यालयकी लेखा प्रमुख लालमती रोकाको नाममा कास्कीको शिशुवामा दुई कित्ता जग्गा छ ।

देवकुमारको कर्मभूमि कम्युनिकेसन एण्ड पब्लिकेसन बुर्तिबाङमा ४० हजार कित्ता, ढोरपाटन वाटर इनर्जीमा १८ हजार र दरबार होटल ढोरपाटनमा २ लाख ५० हजार कित्ता सेयर लगानी भेटिएको छ ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

सहकारी संकट-११

सहकारी संकट-१२

सहकारी संकट-१३

सहकारी संकट-१४

सहकारी संकट-१५

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?