+
+
सहकारी संकट-११ :

सुमेरुका बचतकर्ताको रकम निखन्न भरत महर्जनको असहयोग

सुमेरु सहकारीका वर्तमान सञ्चालक र बचतकर्ताले पटक–पटक समझदारीमा आउन अनुरोध गरे पनि भरत महर्जन सम्पर्कमा आएनन् । बरु बचतकर्ताको बचत फिर्ताको योजनालाई भाँड्ने तथा आफ्नो र परिवारको नाममा जोडेको अर्बौंको सम्पत्ति जोगाउने दाउमा छन् ।

विजय पराजुली जनार्दन बराल विजय पराजुली, जनार्दन बराल
२०८० असार २२ गते १९:३०

२२ असार, काठमाडौं । १५ अर्बभन्दा बढी रकम अपचलन गरेर सञ्चालक भरत महर्जन परिवार सहित बेलायत पलायन भए पनि सुमेरु बचत तथा ऋण सहकारीका बचतकर्ताले रकम पाउने आश मारेका छैनन् ।

पुल्चोकस्थित सहकारीको मुख्य कार्यालयमा हरेक दिन बचतकर्ता पुग्छन् । रकम फिर्ताका लागि ३०० भन्दा बढी आवेदन त लिखित रूपमै परेको छ । आफ्नो रकम फिर्ता लिन माग गर्न सहकारीमा आइपुग्नेहरूलाई बचतकर्ता समितिका सदस्य र सञ्चालक समितिका सदस्यहरूले ‘कार्ययोजना अनुसार काम गर्छौं’ भनेर फर्काउने गरेका छन् ।

सहकारी संकटमा परेपछि बचतकर्ताहरूको भेलाले समिति बनाएको थियो, जसले सञ्चालक समितिसँग मिलेर श्वेतपत्र जारी गर्नुका साथै समस्या समाधानको कार्ययोजना पनि बनाएको छ । सहकारी विभागका अधिकारीहरूले समेत ‘एक्सिलेन्ट’ भनेको कार्ययोजनाको निष्कर्ष छ, ‘यसलाई यथार्थपरक ढंगले लागू गर्न सके सहकारीको जटिल र संवेदनशील घडीलाई सफलताको मोडमा पुर्‍याउन सक्छौं ।’

तर बचतकर्ताको रकम अपचलन गरी बेलायत पुगेका सञ्चालक महर्जनले अहिलेसम्म सहयोग गरेका छैनन् । कतिसम्म भने सहकारी सञ्चालक र बचतकर्ता समितिले पटक–पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएका छैनन् । बरु कार्ययोजना लागू गर्ने समय (साउन) नजिकिंदै गर्दा बचतकर्ताको रकम दुरुपयोग गरेर व्यक्तिगत नाममा जोडेको सम्पत्ति जोगाउन चलखेल गर्न थालेका छन् ।

सहकारी सञ्चालक समिति र बचतकर्ता समितिले मिलेर बनाएको श्वेतपत्र अनुसार सहकारीमा बचतकर्ताको १० अर्ब ३४ करोड बढी निक्षेप छ, जसको दुरुपयोग गर्दै भरतले आफू मात्र होइन; श्रीमती, छोराछोरी लगायतको नाममा विभिन्न कम्पनी खोलेर लगानी गरेका छन् ।

बचतकर्ता र सञ्चालकहरूले बारम्बार पत्रका साथै महर्जनका नातेदार तथा मित्रहरू मार्फत समझदारीमा आउन अनुरोध गरे पनि उनी सम्पर्कमा आएका छैनन् । ‘महर्जनले बचतकर्ताको बचत फिर्ताको योजनालाई भाँड्ने तथा आफ्ना कुकर्म ढाकछोप गर्ने प्रयत्न गरिरहेको देखिन्छ’ बचतकर्ता र वर्तमान सञ्चालकहरूले २० असारमा जारी गरेको समस्या समाधानको पहलको प्रगति विवरणमा उल्लेख छ ।

उनी सम्पर्कमा नआए कानुनी प्रक्रिया मार्फत भए पनि नेपाल ल्याएरै छाड्ने दुवै पक्षले बताएको छ । हालै भएको छलफलमा सहकारी विभागका अधिकारीहरूले महर्जनलाई इन्टरपोल मार्फत पक्राउ गरी नेपाल ल्याउन अनुरोध गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यस्तो छ कार्ययोजना

सहकारीका सञ्चालक समिति र बचतकर्ता समितिले १८ जेठमा जारी गरेको श्वेतपत्र अनुसार सुमेरुमा बचतकर्ताको १० अर्ब ३४ करोड बढी निक्षेप तथा दायित्व छ । बैंकको कर्जा तथा अन्य दायित्व समेत जोड्दा यो रकम ११ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी पुग्छ ।

यस्तै सहकारीबाट ४ अर्ब १० करोड ऋण पनि प्रवाह भएको पाइएको छ । सहकारीको बचत दुरुपयोग गरेर भरत महर्जन र उनको परिवारको नाममा सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, कृषि फार्म, हर्स राइडिङ, सुमेरु रिसोर्ट, एसियन कलेज, शंकरापुर एकेडेमी खोलिएको छ । भरत र उनको परिवारको नाममा भएको घर–जग्गालाई समेत जोड्दा सम्पत्तिको मूल्य ११ अर्ब ४९ करोड भन्दा बढी हुन्छ ।

त्यसैले सञ्चालक समिति र बचतकर्ता समितिले सुमेरु सहकारीको स्रोत प्रयोग भएका सम्पत्ति बेचबिखन, कम्पनीहरूको आम्दानी तथा भाडा संकलन एवम् ऋणको ब्याज आम्दानी समेत जम्मा गरेर २०८१ असार मसान्तसम्म सबै निक्षेप फिर्ता गर्ने योजना बनाइएको छ ।

प्राथमिकताका आधारमा बचतकर्ताको रकम फिर्ता गर्न ३/३ महिनाको चार चरणको कार्ययोजना वर्तमान सञ्चालक समिति र बचतकर्ता समितिले सार्वजनिक गरेको छ । सबभन्दा पहिला साना बचतकर्ताको निक्षेप फिर्ता गर्ने र त्यसपछि अन्यको फिर्ता गर्दै जाने हिसाबले कार्ययोजना बनेको बचतकर्ता समितिले जनाएको छ ।

कार्ययोजनाको पहिलो चरण अर्थात् आव २०८१ को साउनदेखि असोजसम्ममा २८ करोड ६३ लाख फिर्ता गर्ने योजना छ । यस अवधिमा २५ हजार रुपैयाँसम्म बचत रहेका १७ हजार २६३ साना बचतकर्ताको निक्षेप फिर्ता गर्ने लक्ष्य छ । यही अवधिको ब्याज रकम, अति समस्याग्रस्त निक्षेपकर्तालाई दिने रकम लगायतको व्यवस्थापन गर्न धापाखेल, दमौली, चितवन तथा हेटौंडाको जग्गा बिक्री गर्ने योजना छ । सहकारीको पुल्चोक, कालीमाटी, धापाखेल तथा गट्ठाघर चार वटै शाखाबाट ऋण असुली गर्ने र ६० करोड ७५ लाख रुपैयाँ जुटाउने योजना बचतकर्ता र सञ्चालकहरूको समितिले बनाएको छ ।

सहकारीको धापाखेल र पुल्चोक शाखाबाट असार मसान्तसम्म १५ करोड रुपैयाँ ऋण असुलीको प्रतिबद्धता आएको थियो । तर लक्ष्य अनुसारको असुली कठिन देखिएको छ । त्यस्तै, धापाखेलको जग्गा बिक्रीबाट ३९ करोड प्राप्त हुने अपेक्षा गरेको भए पनि बैंकको ऋण मिलान गर्दा जम्मा ६ करोड रुपैयाँ मात्रै बच्ने देखिएको सञ्चालक समिति र बचतकर्ता समितिले जनाएको छ । यसबीचमा सुमेरुका बचतकर्तालाई जग्गा दिएर १ अर्ब ६५ करोड रुपैयाँको दायित्व भने मिलान भएको छ ।

दोस्रो चरणमा कात्तिकदेखि पुस मसान्तसम्म बचतकर्ताको निक्षेपको ब्याज भुक्तानी, १५ हजारदेखि १ लाख रुपैयाँसम्म निक्षेप राख्नेको सावाँ–ब्याज भुक्तानी लगायतको योजना छ । त्यसका लागि ५५ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ, जुन पहिलो त्रैमासको आम्दानीबाट बाँकी रकम, ऋण असुली गर्ने लगायत योजना बनाइएको छ ।

तेस्रो चरणमा एक लाखदेखि तीन लाख बचत रहेकाको बचत फिर्ता गर्ने योजना बनेको छ । सबै निक्षेपको ब्याज समेत गरेर यो अवधिमा कुल ८८ करोड २२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ, जुन नियमित ऋण असुलीका अतिरिक्त उपत्यका र बाहिर रहेका विभिन्न जग्गा बिक्री गर्ने, अस्पताल, कलेज तथा मार्टहरूबाट प्राप्त आम्दानी रकमबाट व्यवस्थापन गर्ने लक्ष्य छ । त्यसो गर्दा सो अवधिमा ९० करोड ८८ लाख रुपैयाँ आय संकलन हुने अपेक्षा गरिएको छ ।

चौथो चरणमा ३ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म निक्षेप भएका निक्षेपकर्ताको सावाँ–ब्याज भुक्तानी गर्ने र बाँकी सबै निक्षेपको ब्याज दिने योजना छ । त्यसका लागि २ अर्ब ८७ करोड रुपैयाँ आवश्यक पर्ने कार्ययोजनामा उल्लेख छ । संस्थाको स्रोत प्रयोग भएको ठोस सम्पत्ति बिक्री मार्फत १ अर्ब ८४ करोड स्रोत जुटाइने र बाँकी स्रोत ऋण असुली लगायतबाट जुटाइने कार्ययोजनामा उल्लेख छ ।

यसरी निक्षेप फिर्ता, ब्याज भुक्तानी, निक्षेपकर्तालाई जग्गा दिई निक्षेप मिलान लगायतबाट एक वर्षको अवधिमा कुल निक्षेप ७५ प्रतिशत घट्ने र २५ प्रतिशत बाँकी रहने अवस्थामा आउने कार्ययोजनामा उल्लेख छ ।

सबै कम्पनी र घरजग्गा भरत महर्जनको नाममा, उनको उपस्थिति विना बिक्री गर्न असम्भव

सहकारीको स्रोत प्रयोग भएको स्थिर सम्पत्तिको मूल्य ११ अर्बभन्दा माथि भए पनि त्यो संस्थापक अध्यक्ष भरत महर्जनको परिवार तथा आफन्तको नाममा रहेको श्वेतपत्रमा उल्लेख छ ।

त्यसमध्ये सबभन्दा धेरै सम्पत्ति धापाखेलको सुमेरु अस्पताल प्रालिको नाममा छ । सुमेरु अस्पताल भएको स्थान धापाखेलमा १५ रोपनी १३ आना २ पैसा १ दाम जग्गा छ । सो अस्पतालको जग्गा, भवन तथा उपकरणहरूको मूल्यांकन २ अर्ब ५२ करोड रुपैयाँ गरिएको छ । प्राइभेट लिमिटेड कम्पनीमा दर्ता भएको अस्पतालको अध्यक्ष भरत महर्जन स्वयम् छन् भने भतिज विकास महर्जन उपाध्यक्ष । अस्पतालको जग्गाको मूल्य १ अर्ब ५२ करोड र उपकरण लगायतको मूल्य एक अर्ब मूल्यांकन गरिएको छ ।

त्यस्तै, पुल्चोकको सुमेरु सिटी अस्पताल, अस्पताल रहेको भवन तथा जग्गा पनि सहकारीको स्रोतबाट नै खरिद गरेको सहकारीको दाबी छ । २ रोपनी १३ आनामा फैलिएको जग्गाको मूल्य मात्रै ६७ करोड ५० लाख रुपैयाँ हुने दाबी गरिएको छ । सबै जग्गा सुमेरु सिटी हस्पिटलको नाममा छ । मेसिनरी, लाइसेन्स, शय्या र अन्य सामग्री तथा भौतिक संरचना समेतको मूल्यांकन गरी सुमेरु सिटी अस्पतालको कुल मूल्य ७५ करोड रुपैयाँ रहेको सहकारीको दाबी छ । बचतकर्ताको रकम फिर्ता गर्न दुईमध्ये एक अस्पताल बिक्रीको प्रक्रिया सुरु गर्नुपर्छ ।

ललितपुरको धापाखेलमै हर्स राइडिङ एरियामा ३१ रोपनी ४ आना २ पैसा २ दाम जग्गा व्यक्तिको नाममा खरिद गरिएको छ । कुल ५५ कित्तामा फैलिएको उक्त जग्गाको मूल्य १ अर्ब २५ करोड कायम गरिएको छ । यो जग्गा सुमेरु सामुदायिक अस्पताल, सुमेरु हाउजिङ, सुमेरु सिटी अस्पताल र भरतका भान्जा रमेश महर्जनको नाममा छ ।

ललितपुरको इकुडोलमा पनि सुमेरु ग्रुपभित्रका कम्पनीको लगानीमा कृषि फार्म सञ्चालन गरेको १२८ रोपनी ७ आना २ पैसा जग्गा छ । त्यसमध्ये एशियन कलेजको नाममा ८ कित्तामा ३४ रोपनी ८ आना छ । बाँकी जग्गा सुमेरु ग्रुपको शंकरापुर एकेडेमी र सुमेरु ग्रुप अफ अर्गनाइजेसनको नाममा छ । जसको बजार मूल्य ९ करोड ६० लाख हुने सहकारी श्वेतपत्रमा उल्लेख छ ।

सातदोबाटोको सुमेरु मार्ट रहेको स्थानमा चार रोपनी सात आना जग्गा र भवनहरू छन् । यो जग्गामध्ये ४ आना भरत महर्जनको नाममा छ भने बाँकी सुमेरु सिटी हस्पिटल, शंकरापुर एकेडेमी, एशियन फाउन्डेसन र सुमेरु हाउजिङ एण्ड डेभलपर्सको नाममा छ । सहकारीकै बचतबाट सुमेरु ग्रुपले ललितपुरको सातदोबाटोमा मार्ट चलाउँदै आएको छ । यहाँको घरजग्गाको मूल्य १ अर्ब १६ करोड ५० लाख हुने दाबी गरिएको छ । ललितपुरको लेलेमा हेटौंडा जोड्ने मुख्य सडकमा सुमेरु वृद्धाश्रम रहेको ४२ रोपनी १२ आना जग्गामध्ये साढे २२ रोपनी वृद्धाश्रमकै नाममा छ भने बाँकी सुमेरु एग्रोको नाममा छ । त्यसको मूल्यांकन ३४ करोड २० लाख रुपैयाँ गरिएको छ ।

सहकारीको गट्ठाघरको भवन रहेको घरजग्गा संस्थापक अध्यक्ष भरत महर्जनको नाममा छ, जसको बजार मूल्य ६ करोड रहेको सहकारीको दाबी छ । ललितपुर महानगर ३ मा रहेको इन्द्रेणी रेष्टुरेन्ट सञ्चालन भएको जग्गा महर्जनकी श्रीमती राजमाया महर्जन र उनको भाञ्जा विकास महर्जनको नाममा छ, जसको बजार मूल्य १४ करोड हुने सहकारीको दाबी छ । ललितपुर महानगरपालिका–३ मै पुल्चोक कम्प्लेक्स भवन छ । यसमा सहकारीको मुख्य कार्यालय छ । सुमेरु सेभिङ र सुमेरु सिटी हस्पिटलको नाममा रहेको ७ आना जग्गामा बनेको भवनको बजार मूल्य २० करोड राखिएको छ ।

कालीमाटीको घरजग्गाको मूल्य १० करोड राखिएको छ भने सिनामंगलमा रहेको १ रोपनी एक आना जग्गाको कुल मूल्य १७ करोड ५० लाख छ । यो जग्गा सुमेरु सिटी हस्पिटलको नाममा छ ।

चोभारमा २१ रोपनी ४ आनामा सुमेरु रिसोर्ट छ । यो जग्गा भरत महर्जनका छोरा सचिन महर्जन र छोरी सरला महर्जनको नाममा छ । उक्त सम्पत्तिको बजार मूल्य २८ करोड ९० लाख रुपैयाँ हुने मूल्यांकन सहकारीले गरेको छ । सहकारीका संस्थापक अध्यक्ष भरत महर्जनकी श्रीमती राजमाया महर्जनको नाममा ललितपुरकै धापाखेलमा ३ कित्तामा २ रोपनी २ आना २ पैसा २ दाम जग्गा छ । यसको बजारमूल्य १७ करोड ३७ लाख ५० हजार हुने सहकारीको दाबी छ ।

उपत्यका बाहिर संस्थाका ऋणी र सहकारीको अर्ध स्वामित्वमा चितवनको देवौली, रामनगर, हेटौंडामा समेत गरी ६ बिघा १५ कट्ठा जग्गा रहेको देखिन्छ । त्यस्तै, तनहुँको दमौलीमा ६५ रोपनी जग्गा खरिद गरेको सहकारीले जनाएको छ । यी सबै जग्गाको मूल्य २ अर्ब ८५ करोड ३० लाख रुपैयाँ रहेको श्वेतपत्रमा उल्लेख छ । सहकारीको ऋण र अर्ध स्वामित्व भएको भनिएको जग्गा सहकारीले कर्मचारीको नाममा ऋण लगानी गरेर सहकारीको सञ्चालक र व्यवस्थापकले नै किनेको स्रोतको दाबी छ ।

यसबाहेक ललितपुरकै उपत्यका भन्दा बाहिरी भागमा सुमेरु मेडिकल कलेज, सुमेरु सेभिङ र भरत महर्जनकै नाममा ८ रोपनी १५ आना जग्गा रहेको र त्यसको मूल्य १५ करोड रुपैयाँ रहेको श्वेतपत्रमा उल्लेख छ । महर्जनको नाममा नुवाकोटको बेलकोट, ललितपुरको धापाखेल र झरुवारासी भन्ने स्थानमा गरी ८ रोपनी १५ आना जग्गा छ, जसको मूल्य १० करोड ५३ लाख रुपैयाँ दाबी गरिएको छ ।

सबै स्थिर सम्पत्तिको बजार मूल्य ११ अर्ब ४९ करोड ५० लाख ६६ हजार ५०० रुपैयाँ रहेको सुमेरु सञ्चालक समिति र बचतकर्ताले निकालेको श्वेतपत्रमा उल्लेख छ । यो सबै सम्पत्ति महर्जन परिवार र उनको लगानी भएको कम्पनीका नाममा रहेको देखिएपनि सहकारीको स्रोतबाट लगानी भएको वर्तमान सञ्चालक समिति र बचतकर्ता समितिको निष्कर्ष छ ।

अब यो सम्पत्तिहरू सहकारीकरण गरी बचतकर्ताको रकम फिर्ता गर्ने उनीहरूको योजना छ । ‘हामीले संस्था र संस्थासँग आबद्ध रहेका व्यक्तिहरूको नाममा रहको सम्पत्ति र दायित्वको विवरण देखाएका छौं । सहकारीको ऋण लगानी र सुमेरु ग्रुपसँग सम्बन्धित व्यक्ति तथा कम्पनीको सम्पत्ति निक्षेप दायित्वभन्दा बढी नै छ’ सहकारीका अध्यक्ष होमराज दाहालले अनलाइनखबरसँग भने, ‘सबै सम्पत्ति सहकारीकरण गर्छाैं ।’

पूर्वअध्यक्ष भरत महर्जन र वर्तमान उपाध्यक्ष विकास महर्जन बाहेकका सबै सञ्चालकले सहकारी विभागमा मञ्जुरीनामा दिएका छन् । तर बेलायतमा रहेका भरतले भने बचतकर्ताको रकम फिर्ताको योजनालाई भाँड्ने तथा अर्बौंको सम्पत्ति हत्याउने प्रयासमा छन् ।

सहकारीको स्रोतमा खरिद भएको जग्गा हत्याउने योजना अनुसार नै महर्जनले साढे दुई वर्षअघि श्रीमती राजमायासँग नक्कली डिभोर्स गरेको हालै मात्र खुलेको छ । उनले छोराछोरीलाई अंश दिइसकेको पाइएको छ । महर्जनले योजनाबद्ध रूपमा सम्पत्ति हत्याउने प्रयास विगतदेखि नै गरेको हुँदा उनले अन्य सम्पत्ति नेपालमै लुकाएको हुनसक्ने र सहकारीको ठूलो स्रोत विदेश पलायन गरेको हुनसक्ने एक बचतकर्ताले बताए ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

 

 

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?