+
+
सहकारी संकट-३ :

बचत फिर्ता माग्न बचतकर्ता धाउँछन्, सहकारी भन्छ : पसलबाट पाँच हजारका सामान लैजानू

सागर चन्द सागर चन्द
२०८० असार १३ गते २०:०५

१३ असार, काठमाडौं । विदुरलाल महर्जन हरेक दिन कीर्तिपुर नयाँ बजारमा रहेको शिव शिखर सहकारीको कार्यालय आउँछन् । महर्जन विगत ८ वर्षदेखि शिव शिखर सहकारीमा पैसा जम्मा गर्ने गर्थे । निर्माण सामग्रीको व्यवसाय गर्ने महर्जन करिब एक वर्षदेखि आफ्नो बचत फिर्ता पाइने आशमा सहकारी कार्यालय धाउँदैछन् ।

कीर्तिपुर नयाँ बजारस्थित शिव शिखर सहकारीको कार्यालयमा भेटिएका महर्जन सुनाउँछन्, ‘०७९ को भदौदेखि पैसा दिन छाड्यो सहकारीले ।’ १० महिनादेखि उनी हरेक दिन सहकारीको अफिस छिर्छन् । वर्षौंको परिश्रमले आर्जेको पैसा सहकारीमा फसेपछि आर्थिक संकटमा परेका छन् उनी । ‘पैसा पाइने खबर पाइन्छ कि भनेर दिनहुँ सहकारीमा आउँछु,’ उनी सुनाउँछन् ।

महर्जनले आफ्नी श्रीमती र छोराको नाममा पनि शिव शिखर सहकारीमा पैसा जम्मा गरेका थिए । परिवारका सबै सदस्यको नाममा गरेर सहकारीमा उनको करिब १ करोड २० लाख रुपैयाँ छ । ‘त्यत्रो ठूलो पैसा कसरी माया मार्नु ?,’ महर्जन सुनाउँछन् ।

०७२ साउनमा शिव शिखर सहकारीले कीर्तिपुरमा शाखा कार्यालय स्थापना गरेको थियो । यो सहकारीले कीर्तिपुरमा ४ तले भवन बनाएको छ । भवनको तीन वटा तल्लामा गार्डेन मार्ट सञ्चालन गरिएको छ भने चौथो तल्लामा सहकारीको कार्यालय छ । गार्डेन मार्ट सहकारीले नै सञ्चालन गरेको हो ।

यो सहकारी कार्यालयमा आफ्नो बचत फिर्ता माग्ने महर्जन जस्ता बचतकर्ताहरुको घुइँचो लागिरहन्छ । सहकारीले बचत फिर्ता गर्न नसकेपछि मार्टबाट प्रत्येक बचतकर्तालाई हप्ताको एक पटक पाँच हजार मूल्य बराबरको सामान दिने गरेको छ ।

बचत फिर्ता पाउने आशमा सहकारी कार्यालय धाउने बचतकर्ताहरु मार्टबाट सामान लिएर फिर्छन् । ‘मैले पनि थाल र ग्लास लगें,’ महर्जन सुनाउँछन्, ‘खाद्यान्नबाहेक अरु सामान लिन पाइन्छ ।’ तर, सामान लिएरै १ करोड २० लाख असुली हुन्छ भन्ने विश्वास छैन महर्जनलाई ।

‘त्यो सामान त हामीलाई अल्झाउनलाई दिएका हुन्,’ उनी आक्रोश पोख्छन्, ‘हामीलाई सामान होइन हाम्रो बचत फिर्ता चाहियो ।’ सहकारीमा आफ्नो परिवारका सबै सदस्यको रकम फसेपछि महर्जनको व्यवसाय पनि बिगि्रएको छ । ‘यहाँ पैसा फस्यो । कारोबार सबै रोकिएर व्यवसाय चौपट भइसक्यो,’ उनी चिन्तित छन् ।

शिव शिखर सहकारीको कीर्तिपुर शाखा व्यवस्थापक रोशनी शाक्यका अनुसार कीर्तिपुरमा ५ हजार २०० बचतकर्ता छन् । गएको मंसिरदेखि कर्मचारीले तलब नपाएको गुनासो गर्छिन् शाक्य । ‘मंसिरदेखि तलब पाएका छैनौं । यहाँ बचतकर्ताहरु आएर आफ्नो बचत कहिले फिर्ता हुन्छ भनेर सोध्नुहुन्छ, हामीसँग केही जवाफ हुँदैन,’ उनी सुनाउँछिन् ।

भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीका ९ जना सञ्चालकमध्ये अमिस राजभण्डारी, गिता शर्मा र पुष्कर मल्ललाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । सञ्चालक पक्राउ परेसँगै बचतकर्ता र आफूहरु बिचल्लीमा परेको शाक्य बताउँछिन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार भक्तपुरबाट मात्र १ हजार २९२ जनाले शिव शिखरविरुद्ध उजुरी दिएका छन् । यी उजुरीको ६६ करोड ३१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । पक्राउ परेका सञ्चालकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् । ब्युरोका अनुसार ३५ जिल्लामा शाखा रहेको शिव शिखर सहकारीले करिब १४ अर्ब रुपैयाँ हिनामिना गरेको छ ।

सहकारीको कार्यालयमा आएका बचतकर्ताहरू ।

महर्जन जस्तै सुमन गोपाली पनि हरेक दिन शिव शिखर सहकारीको कार्यालय धाउँछन् । गोपालीसहित उनका बुबा, आमा, श्रीमती, मामाले पनि शिव शिखर सहकारीमा पैसा बचत गरेका थिए ।

‘थोरैथोरै गरेर पैसा जम्मा गरेका थियौं । बचत गरेर पछि निकाल्दा घरपरिवारलाई सजिलो होला भन्ने आश थियो,’ उनको अपेक्षा विपरीत सहकारीले झन् अप्ठ्यारो बनाइदियो । शिव शिखर सहकारीको कीर्तिपुर शाखामा बचत जम्मा गर्ने बचकर्ताहरु आफैंले संकलन गरेको विवरण अनुसार ५ हजार जना बचतकर्ताको १ अर्ब २० करोड भन्दा धेरै रकम छ ।

बचतकर्ताहरु हरेक दिन सहकारीको कार्यालयमा आएर कर्मचारीसँग आफ्नो बचतका बारेमा सोधपुछ गर्छन् । तर, कर्मचारीसँग जवाफ हुँदैन् । ‘यहाँ कर्मचारी मात्र छन् । उनीहरुलाई केही थाहा हुँदैन,’ गोपाली भन्छन् । शिव शिखर सहकारीमा उनको र उनको परिवारका सदस्यको करिब १ करोड रुपैयाँ बचत थियो । ‘हामीले दुःख गरेर कमाएको पैसा यहाँ जम्मा गर्यौं,’ उनी भन्छन्, ‘अब अहिले एक सुका पनि फिर्ता पाएका छैनौं ।’ सहकारीको कार्यालयमा आफ्नो बचत फिर्ता माग्दै चेक बोकेर बचतकर्ताहरु दैनिक आउँछन् ।

चेक बोकेर आए पनि उनीहरु रित्तै फर्किन बाध्य छन् । करिब ४५ लाख रुपैयाँ बचत गरेकी गुणदेवी श्रेष्ठ हातमा पासबुक र चेक बोकेर चार तल्ला माथि रहेको कार्यालयमा दिन बिराएर आउँछिन् ।

६० वर्षे महर्जन क्यास काउन्टरमा गएर आफ्नो चेक देखाउँछिन् । ‘पैसा छैन भन्छन्,’ उनी गुनासो गर्छिन्, ‘हामीले त यो बैंक (सहकारी)लाई खुरुखुरु पैसा दिएका थियौं ।’ ६ वर्षदेखि उनी सहकारीमा पैसा जम्मा गर्ने गर्थिन् । नयाँबजारमा अगरबत्ती/धुप बेचेर ब्यापार गरेर बचत गरेको पैसा फिर्ता पाइने आशमा उनी सहकारी कार्यालय धाउँछिन् ।

पैसा दिन नसकिरहेको सहकारीले उनलाई हप्तामा एक पटक पाँच हजार रुपैयाँसम्मको सामान लगेर जान भनिरहेको छ । तर, उनी भने सामान होइन आफूले बचत गरेको रुपैयाँ नै फिर्ता खोजिरहेकी छिन् । ‘मैले नगद गनेर दिएकी थिएँ, मलाई नगद नै चाहिन्छ,’उनी प्रश्न गर्छिन्, ‘नगदको सट्टा सामान किन लिने ?’

शिव शिखर सहकारीमा रकम बचत गर्ने कीर्तिपुरका बचतकर्ताहरुको सम्पूर्ण विवरण संकलन गरेर प्रहरीमा उजुरी दिन जाने तयारी गर्दैछन् । ‘भक्तपुरको छानविन गरिसक्यो, सीआईबीले हामीलाई पनि उजुरी दिनुहोस् भनेको छ, अब हामी पनि उजुरी लिएर जान्छौं,’ गोपालीले भने ।

सहकारी संकट
लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?