+
+

भीमदत्त पन्तको स्मृति दिवस आज, को हुन् भीमदत्त ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते ७:३१

१७ साउन, काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले आदर्श पुरुष मान्ने शहीद भीमदत्त पन्तको ७१ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा डडेल्धुराको बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानले जनाएको छ ।

१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्तको २०१० साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमानामा पर्ने गल्लेख भन्ने ठाउँमा हत्या भएको थियो ।

जमिन्दार र सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गरेका उनले ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा आवाज बुलन्द पारेका थिए ।

अन्याय र सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलन शुरुवात गरेको लेखक तथा प्राध्यापक कल्याण ओझाको पुस्तक ‘शहीद भीमदत्त पन्त’मा उल्लेख छ ।

गरीब दलित जनजाती किसानहरुलाई संगठित गरेर राणा विरोधी आन्दोलनमा समेत भीमदत्त पन्त सक्रिय रहेका थिए । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनी राणासँग मिलेर बनाएको सरकारको विरोध गरे ।

परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित, मगर र थारुहरु संगठित गरी मुक्ति सेना गठन गरे । किसानहरुलाई बेदखल गर्ने, जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरुलाई कारबाही गर्न थाले । दलितहरुको घरमा खाना खाएर उनले छुवाछूत अन्त्य भएको घोषणा गरेका थिए ।

कांग्रेससित बैचारिक भिन्नता आएपछि उनले अभिवादन गर्दा ‘जय नेपाल’ भन्न छोडेर ‘जय जनता’ भन्न थाले ।

गरीबहरु संगठित हुनुपर्छ, अन्न खेर फाल्नु हुँदैन, उत्पादन बढाउनुपर्छ, अनावश्यक खर्च घटाउनु पर्छ, प्रकृतिलाई बिगार्ने काम गर्नु हुँदैन भन्ने जस्ता कुरामा पनि उनले सचेतना अभियान चलाएका थिए ।

भारतको उत्तरप्रदेशबाट संस्कृत विषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो ।

२००९ सालमा कञ्चनपुरको ब्रह्मदेवमा राखिएको नुनको गोदाम कब्जा गरी किसानलाई वितरण गरेपछि नेपाली र भारतीय दुबै देशका शासकहरु उनका दुश्मन बन्न पुगे । किसान आन्दोलनकै क्रममा उनका दुई छोरा प्रेमराज र लीलाराज तथा छोरी रेवाको मृत्यु भयो ।

२०१० साल साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमामा पर्ने गल्लेख भन्ने ठाउँमा नेपाल र भारत दुवै देशका सेनाहरुको टोलीले संयुक्त रुपमा घेरा हालेर उनको हत्या गरेको थियो । हत्यापछि पनि उनको टाउको काटेर सार्वजनिक स्थानमा झुण्ड्याइएको थियो । त्यतिबेला नेपालको प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए । भीमदत्तको किसान आन्दोलन चर्किएपछि उनैले आन्दोलन दबाउन भारतीय सेनाको सहयोग मागेको बताइन्छ ।

क्रान्तिकारी किसान नेता पन्तको हत्या भएको ६ दशकपछि २०७२ साल फागुन १९ गते मात्रै नेपाल सरकारले उनलाई शहीद घोषणा गरेको थियो ।

उनको सम्मानमा कञ्चनपुरको महेन्द्रनगरलाई ‘भीमदत्त नगर’ नामकरण गरिएको छ । २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायतबाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइएको थियो तर २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार महेन्द्रनगर नगरपालिकालाई भीमदत्त नगरपालिका नामकरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?