मुटुको चाल कम भएका व्यक्तिको छातीमा एक प्रकारको स्वचालित यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरलाई सामान्य ढंगले इन्भर्टर वा ब्याट्री भनेर बुझ्दा हुन्छ । यसले मुटुको चाल कम भएका अवस्थामा मुटुलाई चाल दिने गर्छ ।
सामान्यतया पेसमेकर दुई प्रकारका हुन्छन्, एकतारे र दुईतारे । एकतारे पेसमेकरमा एउटा मात्र तार हुन्छ, जुन तार मुटुको तल्लो कोठामा जोड्ने गरिन्छ । अर्को दुईतारे पेसमेकरमा दुईवटा तार हुन्छन् । जुन एउटा मुटुको तल्लो कोठामा र अर्को माथिल्लो कोठामा हाल्ने गरिन्छ । यो एकतारे पेसमेकरभन्दा अझ बढी उपयोगी हुन्छ । तर सबै बिरामीलाई दुईतारे पेसमेकरले राम्रो हुन्छ भन्ने छैन । प्रायजसो एकतारे पेसमेकर नै प्रयोग गर्छ । किनकि जति कम तार भयो त्यति यसको मूल्य कम हुन्छ तर यसको मतलब यसले कम काम गर्ने भन्ने होइन । एकतारे वा दुईतारे पेसमेकर राख्ने भन्ने कुरा बिरामीको समस्या हेरेर विशेषज्ञ चिकित्सकले निर्धारण गर्छन् ।
जब जब मुटुले चाल फाल्न कम हुन्छ तब यसले काम गर्छ । तर कहिलेकाहीं मुटुको चाल आफैं आएमा वा नियमित भएमा यसले काम गर्दैन । यो बेला यो चुप लागेर बस्छ ।
कसरी राखिन्छ ?
छातीको माथिल्लो भागबाट नसाको माध्यमबाट मुटुको कोठामा तार हालिन्छ । पेसमेकरको ब्याट्री भने कलर बोनको तल छाती नजिकै छालाका काटेर खल्तीजस्तो कोठा बनाएर राख्ने गरिन्छ । पेसमेकरको कम्पनी अनुसार यसको समयावधि फरक-फरक हुन्छ । तर सामान्यतया लगभग १२ वर्षको हुन्छ । यदि ब्याट्रीको समयावधि सकेपछि अर्को ब्याट्री फेर्ने गरिन्छ तर भने पुरानै हुन्छ । यो एकचोटि राखिसकेपछि आजीवन राख्नुपर्ने हुन्छ ।
पेसमेकर राखेपछि केही समस्या हुन्छ कि हुँदैन ?
पेसमेकर राखिसकेपछि सुरुसुरुमा मुटुमा घोचेको जस्तो महसुस हुने, सास फेर्न गाह्रो भएको जस्तो हुने गर्छ । यसबाहेक अरु खासै समस्या हुँदैन । तर यदि पेसमेकर राखेको नमिलेको खण्डमा चिरेको भाग इन्फेसन हुने, घाउ पाक्ने, पिप बग्ने जस्ता समस्या आउन सक्छ ।
नियमित जाँच गर्नुपर्छ ?
सामान्यत पेसमेकर राखिसकेको एक-दुई वा चिकित्सकले भनेको समयमा जाँच गराउनुपर्छ । यदि केही समस्या छैन भने जाँच गराइराख्नुपर्ने जरुरी हुँदैन । तर राखेपछि असहज महसुस भएमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।
कस्ता व्यक्तिले राख्छन् ?
प्राय: बुढेसकालमा लगाउने गरिन्छ । किनभने उमेर बढ्दै गएपछि मुटुको चाल फाल्ने ठाउँ बिरामी हुने गर्छ । सामान्यतया मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटकसम्म धड्किन्छ । तर यसबेला प्राय: ६० भन्दा कम हुने गर्छ ।
त्यस्तै हृदयघात भएको व्यक्तिमा मुटुको बनावटमा परिवर्तन आई मुटुको चालमा गडबडी हुन सक्छ । यस्तो अवस्था पनि राख्ने गरिन्छ । साथै थाइराइडका बिरामीको पनि उपचार गरिए पनि मुटुको चाल कम हुने सम्भावना हुन्छ । यस्ता व्यक्तिले चिकित्सकको परामर्श लिएर पेसमेकर राख्ने गरिन्छ । यो समस्या कसैकसैलाई जन्मजात पनि हुन सक्छ ।
कति पर्छ ?
कम्पनीअनुसार मूल्य भिन्नाभिन्नै हुन्छ । सामान्यतया डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म पर्छ ।
के के कुरामा ध्यान दिनुपर्छ ?
पेसमेकर राखेको सुरुमा तीन–तीन महिना र पछि ६–६ महिनामा पेसमेकरको जाँच गराउनुपर्छ । कुनै कारणले शल्यक्रिया गर्नुपरेमा चिकित्सकलाई पेसमेकर राखेको बारेमा जानकारी दिनुपर्छ ।
पुरानो पेसमेकरमा चुम्बकीय उपकरणहरुको नजिक जानु हुँदैन । जस्तै एमआरआई जाँच, सेक्युरिटी चेक, मेटल डिटेक्टर । तर अहिलेको नयाँ पेसमेकरमा एमआईआर गर्न मिल्छ ।
मोबाइलको प्रयोग गर्दा पेसमेकर राखेको उल्टोतिरको कानमा प्रयोग गर्ने, छातीको खल्तीमा कोबायल नराख्ने, एकदम मुटुलाई भारी हुने काम नगर्ने र पेसमेकर राखेको हातले धेरै भारी काम नबोक्ने, मुटु ढुकढुक हुने रिंगटा लाग्ने वा स्वाँस्वाँ भएमा वा बेहोस भएमा तुरुन्तै जाँच गराउने, पेसमेकर हालेको ठाउँमा सुन्निने, दुख्ने, घाउ वा रातो भएका चिकित्सकलाई देखाइहाल्नुपर्छ ।
पेसमेकर राखेको छ भने हाइ भोल्टेज वा ट्रान्समिटर भएको ठाउँको नजिकै जानु हुँदैन ।
(मुटुरोग विशेषज्ञ डा. विष्ट विराट मेडिकल कलेज शिक्षण अस्पताल, टंकीसिनुवारी, मोरङका कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् । उनले सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप गरेका छन् । डा. विष्टसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
                            
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                                        
                            
                                        
                            
                        
                        
                        
                        
                            
                            
                                        
                            
                            
                                        
                            
                            
                                        
प्रतिक्रिया 4