१८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा हुने दुरुपयोगमा गम्भीर हुन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने समेत बताए ।
बिहीबार वीरगञ्ज सुख्खा बन्दरगाह र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । ‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिने र सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौं,’ उनले भने ।
मन्त्री महतले आयात नहुँदा, माग नआउँदा भन्सार शुल्क कम उठ्नु स्वभाविक भएको बताए । त्यस्तो अवस्थामा राजस्व नउठ्नुमा कर्मचारीको दोष नहुने उनको भनाइ थियो । तर, बजारमा प्रशस्त माल वस्तु हुँदा पनि राजस्व घट्नु गम्भीर विषय रहेको उनले बताए ।
उपलब्ध प्रविधि किन थन्काइयो ?
मन्त्री महतले जायज कुरालाई नजायज नबनाउन कर्मचारीलाई निर्देशन समेत दिए ।
‘सार्वजनिक भन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रुपमा व्यवसायीले अर्को बाटो रोज्छ,’ उनले भने, ‘राजस्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट माल वस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ ।’
उनले प्रविधि अपग्रेट हुनुपर्ने भन्दै सुख्खा बन्दरगाहमा ठूलो मेसिन थन्काएर राखेको विषयमा प्रश्न समेत गरे । उनले भने, ‘त्यो उपयोग मै आएन, किन आएन कसैलाई थाहा छैन, अरुले सहयोग नै गर्न चाहेनन्, यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो ।’
प्रतिक्रिया 4