+

थाइराइड अनियन्त्रित हुँदा जुनसुकै अंगमा पनि असर गर्न सक्छ

२०८० साउन  २१ गते १४:०६ २०८० साउन २१ गते १४:०६
थाइराइड अनियन्त्रित हुँदा जुनसुकै अंगमा पनि असर गर्न सक्छ

थाइराइड घाँटीको अगाडिको भागमा हुने पुतली आकारको १० देखि २५ ग्रामको ग्रन्थि हो, जसले शरीरमा थाइरोक्सिन (टी–३०) र ट्राइआयोडो थाइरोनिन (टी–४०) हार्मोन उत्पादन गर्छ । शरीरका हरेक अंगलाई आवश्यक पर्ने यी हार्मोनले खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई नियन्त्रण गर्दछन् ।

यी दुई हार्मोन कम वा बढी हुँदा थाइराइडको सन्तुलन बिग्रंदा थाइराइडसम्बन्धी समस्या आएको बुझिन्छ । जसलाई बोलीचालीमा थाइराइड भएको भनिन्छ ।

हार्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ । यीमध्ये सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । त्यस्तै हाइपर थाइराइड कमैलाई मात्र देखिन्छ ।

महिलामा समस्या बढी

पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । महिलामा रोगप्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको पाइएको हो । थाइराइड आमालाई भएमा शिशुलाई पनि जन्मिएपछि हुने सम्भावना हुन सक्छ । कतिपय अवस्थामा गर्भवती भएपछि पनि थाइराइड हार्मोनको गडबडी देखिन्छ । तर केही समयपछि यो समस्या आफैं निको भएर जान्छ ।

कारण

आयोडिनबाट शरीरमा थाइराइड हार्मोन बन्छ । जब आयोडिनको कमी हुन्छ तब थाइराइड हार्मोनसम्बन्धी समस्या आउँछ । वंशाणुगत रुपमा पनि यो रोगले सताउने गर्छ । विभिन्न रसायन, वातावरणीय प्रदूषण, भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर समस्या देखिन सक्छ ।

त्यस्तै थाइराइड ग्रन्थिको आकार वृद्धि भएमा तुरुन्त जाँच गराउनुपर्छ । ग्रन्थिको आकार बढ्नुलाई गलगाँड पनि भनिन्छ । किनभने कतिपय गलगाँड क्यान्सर पनि हुन सक्ने सम्भावना हुन्छ ।

थायराइड कम हुँदा र बढी हुँदा लक्षण पनि भिन्नाभिन्नै देखिन्छ ।

थाराइडको कमी हुँदा देखिने लक्षण

-शरीरमा सुस्तपन आउने

-मोटोपन बढ्नु

-दिमागमा सुस्तता

-अत्यधिक निद्रा लाग्ने

-मुटुको धड्कन कम हुने

-छाला चिलाउने, फुस्रो हुने

-हातखुट्टा सुन्निने

थाराइड बढी हुँदा देखिने लक्षण

-जति खाए पनि दुब्लाउने

-गर्मी महसुस हुने

-मुटुको धड्कन बढ्ने

-महिलामा महिनावारी गडबड हुने

पहिचान तथा उपचार

सर्वप्रथम पहिचानका लागि पारिवारिक इतिहास र लक्षणबारे बुझ्नुपर्ने हुन्छ । थाइराइडको लेभल रगत जाँच गरी पत्ता लगाइन्छ । थाइराइड बढी वा कम भएमा यसलाई औषधिउपचार गरिन्छ । यद्यपि, पूर्णतया यसलाई निर्मूल गर्न सकिंदैन । यसलाई सन्तुलनमा राख्न थाइराइड हार्मोनको स्तर अनुसारको औषधि दिइन्छ । जुन नछुटाई आजीवन खानुपर्ने हुन्छ । यससँगै ६-६ महिना रगतको जाँच गरी स्तर हेर्नु अनिवार्य हुन्छ । थाइराइडको स्तर अनुसारकै औषधि घटाउने वा बढाउने गर्नुपर्छ ।

अनियन्त्रित हुँदा देखिने समस्या

थाइराइडले शरीरको प्रत्येक अंगमा काम गरिरहेको हुन्छ । त्यसैले थाइराइड अनियन्त्रित हुँदा यसले मुटु, मस्तिष्क, मिर्गौला,  छाला, न्युरोसम्बन्धी समस्या, नाक, कान तथा घाँटी जता पनि समस्या ल्याउन सक्छ ।

रोकथाम हुन सम्भव छ ?

थाइराइडलाई रोकथाम गर्न सकिंदैन । यो जुनसुकै उमेरमा पनि देखिन सक्ने हुँदा कसलाई कतिखेर हुन्छ थाहा हुँदैन । यदि परिवारमा कसैलाई छ भने घरको सदस्यले बेलाबखतमा थाइराइडको परीक्षण गराइरहनुपर्छ । विकिरणमा बढी एक्स्पोज हुनु हुँदैन ।

खानेकुरा बार्नपर्छ ?

थाइराइड हुँदा काउली र दाल जस्ता खानेकुरा बार्ने गरिन्छ  । तर खानेकुरा र थाइराइडबीच  प्रत्यक्ष सम्बन्ध अध्ययनहरुले देखाएको छैन । त्यसैले खानेकुरा अति बार्नु हुँदैन । कुनै पनि खानेकुरा सन्तुलित रुपमा खान जरुरी छ । साथै, आयोडिनयुक्त नुन र समुन्द्री खानेकुरा थाइराइडका समस्या हुनेहरुका लागि फाइदाजनक नै मानिन्छ ।

(नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. यादव वीर अस्पतालका असिस्टेन्ट प्रोफेसर समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

थाइराइड स्वास्थ्य
डा. ओमप्रकाश यादव
लेखक
डा. ओमप्रकाश यादव
नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : ७९४१ एमबीएस, एमएस हाल वीर अस्पताल र बीपी स्मृति अस्पताल, बसुन्धरामामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय