+
+

असीको चरित्र चित्र र विकल्पको मौलिक विचार

सुवोध गौतम सुवोध गौतम
२०८० साउन २८ गते १९:०२

विद्यमान नेपाली राजनीतिको चरित्रको मूल्यांकन गर्ने हो भने जातका आधारमा चारथरि राजनीतिक शक्तिको उपस्थिति देखिन्छ- कांग्रेस, कम्युनिस्ट, राजा मान्ने र विकल्प खोज्ने । चार धार अथवा कथित समाजवादी, कथित साम्यवादी, कथित राष्ट्रवादी र कथित वैकल्पिक ।

कुनै समय कांग्रेस र कम्युनिष्टले पनि राजा मानेका हुन् । राजा नमान्ने माओवादीका कारण राजा हट्नुपरेको हो । माओवादी आजसम्म आफूलाई साम्यवादी कम्युनिस्ट भन्न छोड्दैन, चाहे जतिसुकै टुक्रिएको किन नहोस् । एकजना डा. बाबुराम भट्टराई विकल्प खोजिरहेका देखिन्छन् । तर उनले खोजेको विकल्प कसका लागि हो कसैलाई थाहा छैन ।

राजावादीलाई मात्रै राष्ट्रवादी भन्ने हो भने फेरि बाँकी सबै रिसाउँछन् । विकल्प दिन्छु भन्दै तराजु बोकेर हिंडेका रवीन्द्र मिश्र घुमिफिरी राजा चाहिन्छ भन्ने ठाउँमा पुगे ।

अरु थुप्रै सानातिना शक्तिहरू जन्मिंदै छन् जो आफूलाई विकल्पको राजनीतिक मार्गमा भएको दाबी गर्न पछि पर्दैनन् । विकल्पको आवाज उठ्नु नै एक प्रकारले पुरानो राजनीतिक शक्तिको असफलता सिद्ध हुनु हो ।

कांग्रेसभित्रको विवाद छताछुल्ल भएपनि उसले अहिले आफ्नो घर फोरेको छैन । कांग्रेसको आफ्नै समस्या छ । ५० टुक्रा भएको हाँडीजस्ता कम्युनिस्टहरू एकले अर्कालाई कम्युनिस्ट देख्तैनन् । राजा मान्नेहरू राप्रपाभन्दा ३ कदम अगाडि पुगिसके ।

विकल्प खोज्नेहरू संसदमा निहुँ खोजिरहेका छन् । कहाँ कसको के छ भित्री मिलेमतो हामी देख्दैनौँ । बाहिरबाट हेर्दा एकले अर्कालाई निषेध गरेर जान खोजेको देखिन्छ । स्वभाव र चरित्रलाई दाँजेर हेर्ने हो भने कोही भन्दा कोही कम देखिंदैन ।

आम नागरिकको ठाउँमा उभिएर हेर्ने हो भने जसको सरकार बनेपनि सर्वसाधारण नागरिकको जीवनमा कुनै भिन्नता आएन । राणाको विरोधमा कांग्रेस, कांग्रेसको विरोधमा कम्युनिस्ट, सबैको विकल्प माओवादी र माओवादी लगायत सबैको विकल्पका रूपमा स्वतन्त्र पार्टी अगाडि आएको देखिन्छ । ७७ जिल्लाकै समग्र बहुआयामिक विकास योजना र दीर्घकालीन लक्ष्य ऊसँग पनि देखिंदैन ।

यस्तो अवस्थामा पुराना र नयाँ नेताबीच, पुराना पार्टी र नयाँ पार्टीबीच, पुराना राजनीतिक शक्ति र नयाँ राजनीतिक शक्तिबीच सजिलै फरक छुट्याउन पनि सकिंदैन । यसरी हेर्दा खाली विरोधको राजनीतिक विकल्पको बाटो होइन, उपायको राजनीति विकल्पको बाटो बन्न सक्छ ।

के सबै शक्तिहरू मिलेर काममा लाग्ने हो भने समृद्धि असम्भव छ ? जनमानसको समस्यालाई केन्द्रमा राखेर, गर्नुपर्ने कामको सूची बनाएर कार्यविभाजन गर्ने हो भने मिल्न असम्भव छ ? समृद्धि चाहनेले समृद्धिको आधार के हो भनेर खोजी गर्नुपर्दैन ?

कम्युनिस्टहरू जातभन्दा पनि विजात, उपजात, महाजात भएर फैलिएका छन् । बाजेको पेडा र कम्युनिस्ट एउटै भएकाले असली कम्युनिस्ट चिनिंदैन, चिनिरहन अब जरुरी पनि देखिंदैन । त्यसकारण यी सबैलाई कम्युनिस्ट भन्दा पनि भ्रमनिस्ट भन्दा अत्युक्ति नहोला ।

यति हुँदाहुँदै पनि मानव कल्याणका लागि, नेपाल राष्ट्र र नेपालीको हितका लागि जो कसैले काम गरोस् त्यो हाम्रा लागि स्वीकार्य छ । यो सबैका हकमा लागू हुने कुरा हो तर कसैप्रति जनविश्वास देखिंदैन । जित्नु, हार्नु आकारमा सानो वा ठूलो हुनुले नागरिकको जीवनमा कुनै अर्थ राखेको छैन ।

मदन भण्डारीले राजालाई शक्ति मानेर नै राजा र कम्युनिस्ट छुट्टाछुट्टै शक्ति हुन् भनेका थिए । उनले राजालाई हटाउने कुराभन्दा राजालाई क्षेत्राधिकार नमिच्न मात्र चेतावनी दिएका थिए ।

दशकौं जेलनेल भोगेर प्रजातन्त्रका लागि लड्ने बीपीले राजासँग मेलमिलाप गर्नुपर्ने देखेका थिए । संवैधानिक राजा स्वीकारेका थिए । राजासँग आफ्नो घाँटी जोडिएको छ भनेका थिए । राज्य बचाउन राजा चाहिन्छ नै भन्ने उनले देखेका थिए होलान् ।

तर आज देशबाट राजाले शासनसत्ता त्याग गरेको पनि १५ वर्ष बितिसकेको छ । यो १५ वर्षको बीचमा के त्यस्तो एउटा उपलब्धि भयो जुन राजाका कारणले हुन पाएको थिएन ? आशा बोकेर बाँच्न, रोजगारी पाउन र विदेश जाने क्रम रोकिन के २३८ वर्ष नै कुर्नुपर्ने हो त ? यो एउटा गम्भीर प्रश्न भने उठेको छ ।

त्यसो त राजा मानिरहनु ठीक थियो भन्ने तर्क गर्ने हो भने अथवा अब फेरि राजा चाहिन्छ भन्ने हो भने पहिले किन हटाएको त भन्ने प्रश्न आफैंमाथि उठ्छ । राजा आफैं आउँदैन । उनलाई बल गरेर ल्याउनुपर्छ । कहिलेसम्मका लागि को को मिलेर कुन राजा ल्याउने भन्ने अर्को प्रश्न जन्मिन्छ । त्यसपछि राजा नमान्नेहरूलाई निस्तेज गर्न वा बदला लिएर समाप्त पार्नपट्टि हामी लाग्न थाल्नेछौँ । पुनः सङ्क्रमणकाल सुरु हुनेछ । नयाँ योजना तय गर्न फेरि समय लाग्छ ।

संविधानदेखि लिएर सारा विषयमा उथलपुथल हुनेछन् । राजाको छोरो राजा हुने, एकलौटी निर्णय हुने, प्रजातन्त्र कुण्ठित हुने, निरङ्कुशता हाबी हुने भन्दै अर्को समूह विरोधमा उत्रिनेछ । बीपी र मदन भण्डारीलाई गाली गर्नेहरूसँग दोहोरी चल्नेछ । हामी फेरि उही ठाउँमा पुग्नेछौं । इतिहासमा पुर्खाले गरेको सङ्घर्ष माटामुनि मिल्नेछ ।

पुर्खाले सुरु गरेको सङ्घर्ष यात्रा माटोका लागि हो भन्ने कसैले भुल्नु हुँदैन । नेपालको गौरव र नेपालीको इज्जत विश्वमा फैलाइरहने हो भने इतिहासमा खोजेर पुग्दैन, व्यवहारले निरन्तर जीवन्त बनाउनुपर्छ । सुरु गरेको यात्रा पूरा गर्नुछ भने बढ्नु अगाडि नै पर्छ । पछाडि फर्किएर गन्तव्यमा पुगिंदैन ।

राजा र राजतन्त्रका अनेकौं सकारात्मक पक्षहरू हुनसक्लान् तर पनि ०६२/६३ विकल्प खोज्दै आइपुग्यो । त्यसकारण आजको दिनमा हामीले विकल्पको पनि विकल्प, आफूभित्रैबाट विकल्प खोज्नुपर्ने भएको छ । के राजाको शक्ति हाम्रो शक्ति होइन ? के लोकतान्त्रिक शक्ति, कम्युनिस्ट शक्ति र विकल्पमा आएका शक्तिहरू हाम्रा शक्ति होइनन् ? हाम्रा प्यारा यी र यिनका प्यारा हामी बन्नु पर्दैन ?

अविभावकको झगडाले हुनपुगेको बालबच्चाको विचल्लीको तुरुन्त अन्त्य हुनुपर्छ । हाम्रा समस्या, आवश्यकता, हाम्रो राष्ट्रिय स्वार्थ र हाम्रा प्रश्नहरूको एउटै उत्तर हामीले नै किटान गर्नुपर्छ । हाम्रो लक्ष्य र हाम्रो साझा राष्ट्रिय सङ्कल्प के हुनुपर्ने निकै मजासँग मन्थन हुनु जरुरी छ ।

एक अर्कामा विश्वासको वातावरण हुनु जरुरी छ, ताकि कार्यकारी ठाउँमा जो पुगे पनि राजनीतिको राष्ट्रिय धर्म नधर्मराओस् । त्यसका लागि चार राजनीतिक शक्तिबाट छानिएका प्रतिनिधिमण्डल सुरुमा बनाउनुपर्ने हुन्छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्र भन्नुस् वा जे सुकै नाम दिनुस्, सरकार बदलिंदा संयन्त्र नबदलियोस् । समाजवादी जस्तो पनि अलिकति साम्यवादी जस्तो पनि राजावादी जस्तो पनि र विकल्पवादी जस्तो पनि, झट्ट हेर्दा त्यो देखियोस् । हरेक निर्णयमा सबैको एउटै सम्झौतामूलक सहमति गर्ने परिपाटीलाई जीवन्त बनाइयोस् ।

यसको अर्थ हो- नेपालमा मूलतः चार राजनीतिक शक्ति छन्, सबैले राज्यमा स्थान पाएका छन्, कोही प्रतिबन्धित छैनन्, कसैले कसैलाई निषेध गर्दैन, नेपालमा मौलिक राजनीतिक व्यवस्था चलेको छ भन्ने सन्देश विदेशमा फैलाउन सक्नु ।

अस्वस्थ प्रतिस्पर्धाको घिनलाग्दो राजनीतिक परिपाटीलाई अन्त्य गरी विकल्पको सेवामूलक राजनीतिक परिपाटी संचालन गराउनुछ । समग्र देशको बहुआयामिक विकासको मोडलमा छलफल गर्नुछ । साझा राष्ट्रिय कार्यक्रम निर्माण गरेर निगरानी गर्नुछ । लोकतान्त्रिक पद्धतिबाट इमानदारीपूर्वक विकासमा प्रतिस्पर्धा गर्नुछ । नागरिकलाई सीप सिकाउनुछ । क्षमता अनुसारको काम दिनु छ ।

मान्छेलाई ऊर्जाशील र अनुशासित बनाउन साझा राष्ट्रिय सांस्कृतिक आन्दोलन चलाउनुछ । गर्नुपर्ने धेरै छ । १० वर्ष दिलोज्यान दिएर लाग्ने हो भने एउटा हितकारी राज्य प्रणालीलाई जीवित बनाउन सकिन्छ । तर एउटा पंक्ति कामै नगरी मोजमस्तीले बाँचिरहेको छ । चौबिसै घन्टा काममा दलिने मरिरहेका छन् । विद्यार्थी र बलियो विदेश भागिरहेको छ ।

के यही हो त स्रोत साधन र अवसरको समानुपातिक र न्यायोचित वितरण ? यही हो त समाजवाद ? अर्कालाई दोष देखाएको छ, गर्नुपर्ने काम कसैले केही गरेको छैन । हामी आफैं गरुँ वा गर्न सकिन्छ भन्ने हो भने चार शक्तिका १/१ प्रतिनिधि एउटै टेबुलमा बसेर कहिले सम्झौता गर्ने ?

नागरिक समृद्ध नबने देश समृद्ध बन्न सक्दैन । हरेक नागरिकलाई चाँडै समृद्ध हुनुछ । के गरे हामी समृद्ध हुनेछौं ? हामीले चाहेको समृद्धि कस्तो हो ? यो कहिंकतै कसैले चर्चा गरेको पाइँदैन । प्रत्येक नागरिकले घर, गाडी र बैंक ब्यालेन्सको चाहना पूरा गर्नु समृद्धि हो कि कम्तीमा बिहान बेलुकी आरामले पेट पूजा गर्न पाउनु समृद्धि हो ?

समृद्धिको आधार हाम्रो उर्बर भूमि हो जहाँ कङ्क्रिट थुपारेका छौं । समृद्धिको आधार हाम्रा नदीहरू हुन्, जुन पर्याप्त उपयोगसमेत गरेका छैनौं । समृद्धिको आधार हाम्रा जङ्गलहरू हुन् जहाँ हरेक वर्ष आगो लगाइरहेका छौँ । समृद्धिको आधार हाम्रा जडिबुटी हुन् जुन विद्यार्थीलाई चिनाएकै छैनौं र तिनै युवा हाम्रो समृद्धिका आधार हुन् जो दैनिक हजारौंको सङ्ख्यामा विदेश गइरहेका छन् ।

राज्यको आह्वानमा नागरिक ज्यान दिन तयार हुन्छ तर त्यो विश्वास राज्यले जित्न सक्छ ? राज्यको अवस्था कमजोर भएकाले मेरो अवस्था कमजोर भएको हो भनेर नागरिक चित्त बुझाउँछ तर राज्य किन कमजोर छ ? नागरिकले राज्यको उपस्थिति कसरी महसुस गर्छ ? जागरणको राष्ट्रिय भाव आर्जन गर्नुछ भने राज्य र नागरिकका बीचमा सम्बन्ध सुधार हुन जरुरी छ ।

राज्यलाई दोहन गर्ने राजनीतिक दलको चिन्तनमा सुधार हुन जरुरी छ । कर्मचारी प्रशासनको पुरानो शैली बदलिनु अनिवार्य छ । पुरानै ढर्राको कर्मचारी प्रशासनले सेवा दिने हो भने जुनसुकै व्यवस्था आएपनि कसैलाई सुविधा हुँदैन । निजामती कर्मचारीलाई करारमा नियुक्त गरी पेन्सन प्रणाली हटाउन सके राज्यले अर्कै गति लिनेछ ।

कुर्सीमा हाकिम बनाएर राख्ने होइन, कर्मचारीलाई जागरिलो भएर मेहनत गर्ने र कार्यक्षेत्रमा दौडिने गरी प्रोत्साहन गर्नुपर्छ । भरपुर काम दिन सक्नुपर्छ । प्रविधि, वातावरण र सुविधामैत्री समाज निर्माण गर्नु हामी सबैको दायित्व हो । कर्तव्यपरायण नेतृत्व र जिम्मेवार नागरिक प्राप्त गर्न आचरण सुधार अभियान दल र नेताले पनि चलाउन जरुरी छ ।

शक्तिलाई स्वीकार गर्नुपर्छ । शक्तिले स्थान पाउनुपर्छ । एउटै व्यवस्थामा सबै शक्ति अटाउनुपर्छ । जुनसुकै बेला द्वन्द्व हुन सक्ने खतराबाट बेलैमा सबै सचेत रहनुपर्छ । व्यवस्था बदलिरहने परम्परा अवस्था परिवर्तनको बाधक हुन्छ । हाम्रा लागि हामीले नै बनाएको हाम्रो साझा कार्यक्रम हाम्रो विकल्प बन्न सक्छ । हामीसँग सधैं एउटै विकल्प हुन्छ त्यो विकल्प भनेको कांग्रेस कम्युनिस्ट राजावादी र वैकल्पिक शक्तिका १/१ प्रतिनिधिबाट खोजिने विकल्प हो ।

प्रकृति प्रेम नै मानव सुरक्षाको दीर्घकालीन मन्त्र हो । यसकै आधारमा मानव विचारहरूको एकता सम्भव छ । कसैको एक्लो बल र बुद्धिले सर्वहितकारी प्रणाली संचालनमा आउन सक्तैन ।

सुशासनको गतिलो प्रणाली कसैले एक्कासी चामत्कारिक रूपमा ल्याउने कुरा पनि होइन । देश केकेले बनेको छ, तिनलाई जोगाउन सके देश जोगिने हो ।

भूगोल मात्रै देश होइन । देश त जनसंख्या पनि हो । हाम्रो जनसंख्या हामीले जोगाउन सकेनौं । देश भाषा पनि हो हामीले हाम्रो भाषा बोल्न जानेनौँ । देश संस्कृति पनि हो, हामीले हाम्रो संस्कृति संरक्षण गर्न सकेनौं ।

हामीले हाम्रो आर्थिक मेरुदण्ड पर्यटन कहिले बनाउने ? कृषि पर्यटन, वन तथा पहाड पर्यटन, हिमाल र नदी पर्यटन, धार्मिक तथा संस्कृति पर्यटनजस्ता विषयमा हाम्रो ध्यान कहिले पुग्ने ?

आफूमात्रै सत्तामा टासिइरहने लिडेढिपिले मुलुकमा सुधार आउँदैन ।

आजको विश्व मङ्गलमा जङ्गल खोजिरहेको छ । हामी अपराधी र भ्रष्टाचारी खोजिरहेका छौँ । बलत्कारी र हत्यारा भेटिरहेका छैनौं । कमसेकम खोज्न थाल्नु राम्रै कुरा होला । के अपराधी खोजेर मात्रै समृद्धि आउँछ ? सम्भावना खोज्नुपर्दैन ? लोभी र पापी मिलेर देश बन्छ र ? असल विचार भएका एक एक सिला खोजेर जिम्मेवारी दिनुपर्दैन ?

नेपालका राजनीतिक शक्तिहरूलाई पूर्वाग्रह र पक्षधरता नलिइकन फरक फरक ढंगले नियाल्दा प्रवृत्तिका आधारमा अपवादबाहेक खासै भिन्न भिन्न देखिंदैनन् । नाम र कथित वैचारिक चरित्रका आधारमा सबै भिन्न देखिन्छन् ।

वर्गीकरण गर्दा वाद र व्यवस्थाका आधारमा पनि गर्न सकिन्छ तर यहाँ वर्गीकरण भन्दा पनि होलसेलमा दलको नामाकरण गरिएको छ । जबसम्म चार शक्तिहरू मिलेरै विकल्पको खोजी गर्ने छैनन् वा विकल्प बन्ने छैनन् तबसम्म नामकरण चलि नै रहने छ । ती चार शक्ति हुन्- नेपाली थाङ्रेस पार्टी, नेपाल भ्रमनिस्ट पार्टी, थाप्रपा र राष्ट्रिय कोरतन्त्र पार्टी ।

लेखक हास्यव्यंग्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?