+
+
युवा उद्यम :

दाजु-बहिनीको फेसन उद्यम

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० साउन २८ गते १९:२०

काठमाडौं । सोह्रखुट्टेका फरहीन बानु र उनका दाजु सफीर खानलाई आफ्नै केही व्यवसाय गर्नुपर्छ भन्ने लाग्थ्यो । किनकि उनीहरूले सानैदिख बुबाले छालाको कच्चा पदार्थको व्यापार गरेको देखेका थिए । फरहीन स्नातक पढ्दै थिइन् भने सफीर आईटीमा स्नातक सकाएर बसेका थिए । उनीहरूले मिलेर केही व्यवसाय गर्ने सोच बनाए ।

बुबाले छालाको कच्चा पदार्थको व्यापार गरिरहेकाले उनीहरूलाई त्यसबारे ज्ञान थियो । छालाको बारेमा ज्ञान भएकाले उनीहरूमा छालाकै सामान किन नबनाउने त भन्ने सल्लाह भयो । त्यसैअनुसार २०७६ मंसिरमा उनीहरूले सुरु गरे ‘छाला’ । जहाँबाट छालाको डिजाइनर ज्याकेट, बेल्ट, पर्स, ब्याग लगायत सामान उत्पादन गर्न थाले । उनीहरूले ‘छाला’ सुरु गरेको केही महिनामा नै कोरोना महामारीका कारण लकडाउन भयो, काम ठप्प बन्यो ।

कोरोनाबाट बच्न मास्कको प्रयोग अनिवार्य भएपछि नेपाली बजारमा मास्कको अभाव हुन थाल्यो । मास्कको अभाव भइरहेको समयमा फरहीन र सफीरको दिमागमा एउटा आइडिया आयो छालाको मास्क बनाउने ।

मास्क बनाउने सोच त आयो तर त्यो मास्कले कोरोनाको जोखिमबाट बचाउनुका साथै स्टाइलिस्ट पनि हुनुपर्‍यो । अब उनीहरूले तीनपत्रे छालाको मास्क तयार गरे । त्यो मास्क पहिले आफैं लगाए र आफ्ना साथीहरूलाई पनि  दिए । साथीहरूबाट राम्रो प्रतिक्रिया पाएपछि उनीहरूले छालाको मास्क बजारमा ल्याए । मास्क पुन: प्रयोग गर्न मिल्ने र बलियो भएकाले ग्राहकहरूले छालाको मास्कलाई एकदमै रुचाए ।

‘छाला’का सञ्चालकहरु सफीर खान र फरहीन बानु

‘छाला’को मास्कको लोकप्रियतासँगै छालाको सामानको गुणस्तर राम्रो हुन्छ भन्ने कुरा धेरैलाई थाहा भयो । कोरोनाको जोखिम कम भएसँगै मास्कको उत्पादन त बन्द भयो । तर छालाले नयाँ डिजाइनमा महिला पुरुषको लागि ब्याग, ज्याकेट, पञ्जा र बेल्ट उत्पादनलाई बढायो ।

राम्रो गुणस्तर र राम्रो डिजाइन भएकाले छालाको सामान धेरैको रोजाइमा पर्‍यो । ‘छाला’को अर्को विशेषता भनेको आफूलाई मनपर्ने डिजाइन र आकारमा ज्याकेट र ब्याग कस्टमाइज पनि गर्न सकिन्छ ।

बजारभन्दा कम मूल्यमा गुणस्तरीय छालाको सामान

लेदरको सामान भनेपछि अलि फेन्सी भन्ने सोच छ । त्यसैले लेदरको केही सामान आफूसँग होस् भन्ने पनि धेरैलाई लाग्छ । तर लेदरको सामान अन्य भन्दा महंगो हुने भएकाले मान्छेले आफ्नो इच्छा पूरा गर्न सकेका हुँदैनन् ।

लेदरको सामान खरिद गर्ने सबैको सपना पूरा गर्न ‘छाला’ सुरु गरेको फरहीन बताउँछिन् । ‘बजारभन्दा कम मूल्यमा गुणस्तरीय लेदरको ज्याकेट, बेल्ट लगाउने इच्छा पूरा होस् भन्ने सोचले नै हामीले छाला सुरु गरेका हौं,’ उनी भन्छिन्, ‘के सामान बनाउने हो त्यहीअनुसार जनावरको छाला प्रयोग गरिन्छ । सामान्यतया भेडा, बाख्रा, भैंसी र ऊँटको छालाबाट सामानहरू बन्छ । यहाँ धेरै सामान भेडाको छालाबाट बनेको छ ।’

पाँच लाखमा सुरु, अहिले वार्षिक ३० लाखको व्यापार

छालाले पाँच लाख रुपैयाँमा आफ्नै घरबाट सामान उत्पादन गर्न थाल्यो । कोरोनाको समयमा छालाको मास्कलाई धेरैले रुचाएपछि अब नयाँ डिजाइनमा अन्य सामान उत्पादन गर्ने लक्ष्यका साथ सोह्रखुट्टेमा आफ्नो आउटलेट सुरु गरे उनीहरुले ।

मास्क जस्तै छालाको ज्याकेट, ब्याग पर्स, किरिङ र पन्जा लगायतका सामानलाई पनि धेरैले रुचाए । अहिले सामान्यतया दैनिक १० वटा सामान अर्डर आउने गरेको सफीर बताउँछन् । ‘वार्षिक लगभग ३० लाखको व्यापार छालामा हुन्छ,’ उनी सुनाउँछन् ।

३५० देखि १६ हजार रुपैयाँसम्मका सामान

‘छाला’मा फरक मूल्यमा लेदरको विभिन्न सामान पाइन्छ । छालाको किरिङको मूल्य ३५० पर्छ भने मास्कको ६ सय रुपैयाँ । पर्सको मूल्य दुई हजारदेखि सुरु हुन्छ । महिलाको ज्याकेटको मूल्य १४ हजार रुपैयाँ पर्छ भने पुरुषको ज्याकेटको १५ हजार रुपैयाँ पर्छ । कस्टुम ज्याकेटको मूल्य भने १६ हजार रुपैयाँसम्म पर्छ ।

अहिले ज्याकेटको सिजन नभएकाले महिला-पुरुष सबैको ज्याकेटमा २० प्रतिशत छुट दिइएको सफीरले बताए । ‘ज्याकेटमा २० प्रतिशत छुट भएकाले अहिले महिलाको ज्याकेटको ११ हजार रुपैयाँ र पुरुषको ज्याकेटको १२ हजार रुपैयाँ पर्छ ।

‘छाला’मा विभिन्न डिजाइनका ब्यागहरू पनि उपलब्ध छन्, जसको मूल्य दुई हजारदेखि ९ हजार रुपैयाँ पर्छ । बेल्टको मूल्य २५ सयदेखि तीन हजार रुपैयाँ पर्छ ।

छालाको गुणस्तरमा झुक्किनु हुँदैन

बजारमा छालाका सामग्रीको माग निकै राम्रो छ । छालाका सामान किन्दा सचेत रहन र चिनेर मात्रै किन्न फरहीन सुझाउँछिन् । रेग्जिनको गन्ध प्लास्टिकको जस्तै हुन्छ । शुद्ध छालाको गन्ध जीवित प्राणीको जस्तो हुन्छ । शुद्ध छालामा चाँडै आगो सल्किंदैन, तर रेग्जिन तुरुन्तै सल्किन्छ । शुद्ध छालाको बाहिरी सतह खस्रो हुन्छ । रेग्जिन चिल्लो हुन्छ ।

छालाको सबै सामानलाई ग्राहकहरूले धेरै माया गरेकाले अझै नयाँ डिजाइनमा ज्याकेट, ब्याग ल्याउँदै छ  । साथै चाँडै छालाको जुत्ता पनि ल्याउने योजना भएको फरहीन बताउँछिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?