मुटुमा रगत र अक्सिजन पु¥याउने कोरोनरी धमनी अवरुद्ध हुँदा हृदयघात हुन्छ । यसले मुटुको मांसपेशीमा रगत र अक्सिजनको प्रवाह रोक्छ । त्यस्तै प्यानिक अट्याक एन्जाइटी अर्थात तनाव, चिन्ता र डर अत्याधिक भएमा हुन सक्छ । कुनै तनावपूर्ण घटनाका कारण प्यानिक अट्याक हुने जोखिम बढी हुन्छ ।
कसरी छुट्याउने ?
हुदयघात हुँदा छाती दुख्ने, छाती भारी हुने, डकार आउने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पसिना आउने, चक्कर लाग्ने, शरीरको माथिल्लो भाग दुख्ने हुन सक्छ ।
प्यानिक अट्याक हुँदा छाती दुख्ने, मुटु छिटोछिटो धड्कने, पसिना आउने, मृत्युको डर, चक्कर लाग्ने, वाकवाकी लाग्ने र शरीर झमझम गर्ने, चिसो मौसममा पनि गर्मी भएको महसुस हुन्छ । यसैगरी शरीर कामेको महसुस हुनु, टाउको दुख्नु, रिगंटा लाग्ने र बेहोस नै भएको महसुस हुनु, शरीर दुख्नु, पेट बटारिएको अनुभव हुनु जस्ता लक्षण प्यानिक अट्याकको हो ।
क-कसलाई हुनसक्छ हृदयघात र प्यानिंग अट्याक ?
यो जुनसुकै उमेर समुहलाई हुने गर्दछ । तर प्राय प्यानिंग अट्याक कम उमेर अर्थात किशोरकिशोरी अवस्थामा हुन्छ । यसको जोखिम किशोरलाई भन्दा पनि बढी किशोरीलाई छ ।
त्यसैगरी हृदयघातकोजोखिम चाहिँ मधुमेह, उच्च कोलेस्ट्रोल, तनाव र उच्च रक्तचापको समस्याबाट ग्रसित व्यक्तिलाई बढी छ । यसबाहेक, धुम्रपान, मद्यपान गर्ने, खराब जीवनशैली अपनाउने र शारीरिक व्यायाम नगर्नेलाई यसको जोखिम छ ।
प्यानिक अट्याक कुनै जस्तै सुतेको समयमा, आराम गरिरहेको समयमा, ड्राइभिङ गर्दा, घुम्न गएको समयमा अथवा अफिसमा काम गररहेको समयमा हुनसक्छ ।
त्यस्तै हृदयघात धेरै वा भारी काम गरेको समयमा हुन सक्छ ।
के छ त उपचार ?
छातीमा अचानक दुखेमा इसिजी परीक्षण गराउन सकिन्छ । यदि प्यानिक अट्याकका लक्षणहरू महसुस देखिएको छ भने तुरुन्त डाक्टरलाई जाँच गराउनुहाल्नु पर्छ । प्यानिक अट्याक आफैं व्यवस्थापन गर्न गाह्रो हुन्छ र त्यो उपचार बिना झन् बढ्न सक्छन् ।
प्यानिक अट्याकका लक्षण हृदयघात जस्ता अन्य गम्भीर स्वास्थ्य समस्याका लक्षणहरूसँग पनि मिल्दोजुल्दो हुन सक्छन् ।
कुन बढी जोखिम ?
प्यानिंग अट्याक भन्दा हृदयघात बढी जोखिम हुन्छ । किनकि तनाब छिनभरको लागि हुन्छ भने हृदयघात भएमा मृत्युसमेत हुने जोखिम हुन्छ ।
त्यसैले हृदयघातबाट बच्नको लागि खानपानमा ध्यान दिने, दीर्घरोग भएमा त्यसलाई सन्तुलनमा राख्ने र छाती वा मुटुसम्बन्धी केही समस्या देखिएमा चिकित्सकलाई जाँच गराइहाल्नु पर्छ ।
त्यस्तै प्यानिक अट्याक रोक्ने कुनै निश्चित तरिका छैन । यद्यपि, त्यसलाई अझ खराब हुन वा बारम्बार हुनबाट रोक्न सकेसम्म चाँडो उपचार गर्नुपर्छ । यसमा मनोचिकित्सकलाई जाँच गराउँनुपर्छ । यसलाई कम गर्न चिन्ता नगर्ने र चिन्ता कम गर्न नियमित शारीरिक व्यायाम गर्ने, व्यस्त रहने कोसिसका साथै चिकित्सकको निगरानीमा औषधिको सेवन गर्नुपर्छ ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्साल चाबहिलस्थित ओम अस्पतालमा कार्यरत छन् ।)
प्रतिक्रिया 4