+
+

६५ करोड ऋणमा सनी देओललाई राहत, बैंकले फिर्ता लियो घर लिलामीको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते ११:५७

काठमाडौं । ६५ करोड भारुको ऋण संकटमा बलिउड अभिनेता तथा सत्तारुढ भाजपा सांसद सनी देओललाई राहत मिलेको छ । बैंक अफ बडोदाले देओलको जुहुमा रहेको सनी भिल्लाको लिलामी सूचना फिर्ता लिएको छ । बैंकले सोमबार प्राविधिक कारणले सूचना फिर्ता लिइएको जनाएको हो ।

बैंकले २४ घण्टाभित्र आफ्नो निर्णय परिवर्तन गर्दै देओलको सम्पत्ति लिलामीमा रोक लगाएको छ । यस विषयमा कांग्रेस नेता जयराम रमेशले प्रश्न उठाएका छन् । सोमबार ट्वीट गर्दै उनले लिलामी रोक्नुको प्राविधिक कारण कहाँबाट आयो ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रकाशित सूचना अनुसार सन्नीले ५६ करोड रुपैयाँ ऋण लिएका थिए, जुन तिर्न सकेनन् । ऋण नतिरेपछि बंगलाको लिलामीको मिति पनि २५ सेप्टेम्बरमा दिइएको थियो । बैंकले सनीबाट ऋण असुलीको सूचना समेत प्रकाशित गरेको थियो । यसमा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम पनि लेखिएको थियो ।

कांग्रेस नेता जयराम रमेशले ट्वीट गर्दै प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘हिजो दिउँसो, देशलाई थाहा भयो कि बैंक अफ बडोदाले भाजपा सांसद सनी देओलको जुहूको घर ई–लिलामीको लागि राखेको छ किनभने उनले बैंकलाई ५६ करोड रुपैयाँ तिर्न बाँकी छ । आज बिहान २४ घण्टा भन्दा कम समयमा देशले थाहा पाएको छ कि बैंक अफ बडोदाले ‘प्राविधिक कारणले’ लिलामी सूचना फिर्ता लिएको छ । कुन कारणले यस्तो निर्णय लिनुपर्‍यो ?’

सनी देओलको आधिकारिक नाम अजय सिंह देओल हो । उनी २०१९ देखि पञ्जाबको गुरदासपुर क्षेत्रबाट भाजपा सांसद छन् । उनले तत्कालीन कांग्रेस नेता सुनिल जाखरलाई पराजित गरेका थिए । यस क्षेत्रबाट अभिनेता विनोद खन्ना लामो समयसम्म सांसद थिए ।

सनीको फिल्म ‘गदर २’ ले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । फिल्मले आइतबार ४१ करोड कमाएको छ । योसँगै फिल्मको १० दिनमा कुल कलेक्सन ३७७.२० करोड पुगेको छ । यी तथ्यांक आफैंमा ऐतिहासिक छ । करिब ७० देखि ८० करोडमा बनेको यो फिल्म अब ४०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।

गदर २ ले ऋतिक रोशनको फिल्म वार र सलमान खानको फिल्म बजरंगी भाइजानको लाइफटाइम कलेक्सनलाई पछाडि छाडेको छ । आइतबार यो फिल्मले टाइगर जिन्दा हैं, पीके र सञ्जु जस्ता फिल्मलाई ठूलो अन्तरले पछाडि छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?