+

‘जंकफुडले बालबालिकामा क्यान्सरको जोखिम बढाउँछ’

२०८० भदौ  ६ गते १८:३२ २०८० भदौ ६ गते १८:३२
‘जंकफुडले बालबालिकामा क्यान्सरको जोखिम बढाउँछ’

काठमाडौं । क्यान्सर सबैभन्दा गम्भीर रोगमध्ये एक हो । यसले कुनै पनि उमेर र लिङ्गका मानिसलाई असर गर्न सक्छ । वयस्क र वृद्धवृद्धा मात्र होइन, बालबालिकालाई पनि क्यान्सरजस्ता गम्भीर रोग लाग्न सक्छ । धेरैजसो अवस्थामा, यो घातक हुन सक्छ । तर यदि सुरुवाती चरणमा पत्ता लागेको खण्डमा यो निको पनि हुन्छ । त्यसैले क्यान्सरको सुरुवाती लक्षणका बारेमा अभिभावकहरू सचेत हुन जरुरी छ ।

बालबालिकामा क्यान्सरका लक्षणहरू के के देखिन्छन् ? यसका कारणहरू के के हुन् ? लगायत विषयमा बाल क्यान्सररोग विशेषज्ञ डा. अञ्जली पण्डितसँग गरिएको कुराकानीको सम्पादित अंश :

बालबालिकामा देखिने मुख्य क्यान्सर के के हुन् ?

सामान्यतया बालबालिकामा देखिने क्यान्सर भनेको ‘ल्युकेमिया’ रक्त क्यान्सर हो । १० जना क्यान्सरको समस्या भएका बालबालिकामध्ये आठ जनामा रक्त क्यान्सर हुने गर्छ । साथै ब्रेन ट्युमर, लिम्फोमा,  १० वर्षमाथिका बालबालिकामा ‘सार्कोमा’ हड्डीको क्यान्सर, मिर्गौला र कलेजो लगायत विभिन्न क्यान्सर  पनि देखिन्छ ।

ठूला व्यक्तिमा जस्तो स्तन क्यान्सर, पाठेघरको क्यान्सर र फोक्सोको क्यान्सर भने बालबालिकामा देखिंदैन ।

लक्षणहरू के के देखिन्छन् ?

क्यान्सर समयमा पत्ता लाग्यो भने उपचारमा पनि सहज हुने भएकाले लक्षणहरू याद गर्नु एकदमै महत्त्वपूर्ण छ । संक्रमणको लक्षण र क्यान्सरको लक्षण लगभग उस्तै हुन्छन्, त्यसैले यी दुईको फरक छुट्याउनुपर्छ । साथै सबै बालबालिकामा एकै प्रकारको लक्षण देखिंदैन फरक-फरक देखिन्छ ।

एक हप्ताभन्दा बढी ज्वरो आउने, हातखुट्टाको जोर्नी दुख्ने, रगतको कमी हुने, हेमोग्लोबिनको कमी भएर शरीर सेतो हुँदै जाने, शरीरमा प्लेटलेटको कमीले निलो डाम वा रातो छिर्का देखा पर्ने, खाना खान मन नगर्ने र आलस्य देखिने जस्ता लक्षणहरू देखा पर्छन् । यी लक्षण अन्य संक्रमणको हो कि क्यान्सर हो भनेर रगत परीक्षणबाट नै पनि पत्ता लगाउन सकिन्छ ।

प्राय: क्यान्सर पत्ता नै ढिलो लाग्ने गर्छ, समयमा पत्ता नलगाउनुको कारण के हुन सक्छ ?

जनचेतनाको अभावले क्यान्सर ढिलो पत्ता लाग्छ । अभिभावकहरू बच्चालाई लिएर चिकित्सककहाँ नै ढिला पुग्ने गर्छन्  । पहिले रोग पत्ता लगाउने प्रक्रिया ढिलो थियो तर अहिले रोग पत्ता लगाउने प्रक्रिया ढिलो छैन ।

धेरै अभिभावकलाई मेरो बच्चालाई क्यान्सरको समस्या भएको हो भन्ने कुरा स्वीकार गर्न नै गाह्रो हुन्छ । जसले गर्दा उपचारमा नै ढिलो आइपुग्छन् । काठमाडौंबाहिरका जिल्लाहरूमा जाँच गर्न व्यवस्था नहुने भएकाले पनि काठमाडौंसम्म आइपुग्दा ढिलो हुन्छ ।

बालबालिकामा क्यान्सरको समस्या देखिनुका कारण के हुन सक्छ ?

बालबालिकामा यही कारणले क्यान्सर हुन्छ भन्ने कुरा संसारभर कसैले पनि ठोकुवा गरेर भन्न सकेका छैनन् र सकिंदैनन् पनि । हाम्रो विकासोन्मुख देशमा मात्र होइन, विकसित देशहरूले पनि बच्चाको क्यान्सरको कारण पत्ता लगाएका छैनन् । तैपनि केही कुराले जोखिम भने बढाउन सक्छ ।

प्याकेट फुड, जंकफुड जस्ता खानेकुरा बच्चाहरूले धेरै खान्छन् । यस्ता खानेकुरा खानेबित्तिकै आजको भोलि नै त असर गर्दैन । तर लामो समयको सेवनले कालान्तरमा क्यान्सरको जोखिम भने बढाउन सक्छ ।

गर्भावस्थामा यदि आमाले चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन गर्छिन् भने पनि बच्चामा जोखिम हुन्छ । यदि कोही गर्भवती महिला कुनै केमिकल फ्याक्ट्रीमा काम गर्छिन् वा विकिरण आउने ठाउँमा काम गर्छिन् भने पनि बच्चालाई जोखिम हुन्छ ।

धुम्रपान पर्ने व्यक्तिको नजिक बालबालिका बस्छन् भने पनि त्यसको असर बालबालिकामा पर्छ । सहरी क्षेत्रमा हामी विषादीयुक्त खाना खान बाध्य छौं, त्यसले पनि केही न केही असर त गर्छ नै । कतिपय क्यान्सरहरू भने वंशाणुगत पनि हुन्छन् ।

उपचार के छ ?

क्यान्सरको उपचार तीन विधिबाट हुन्छ, अप्रेसन, केमोथेरापी र रेडियोथेरापी । बालबालिकामा बढी मात्रामा देखिने रक्त क्यान्सरको उपचार किमोथरापी मात्र हो ।

क्यान्सरको उपचार साह्रै महंगो छ भन्ने गरिन्छ । तर उपचार महंगो भन्दा पनि उपचार पद्धति समय लामो भएको कारण उपचार खर्च महंगो पर्न गएको हो । बालिकाहरूको रक्त क्यान्सर उपचार दुई वर्ष तीन महिना हुन्छ भने बालकको तीन वर्ष तीन महिना हुन्छ ।

क्यान्सरको कोष बालकको अण्डकोषमा पनि बसेको हुन सक्ने भएकाले नदोहोरियोस् भनेर उपचार बालिकाको तुलनामा लामो भएको हो ।

क्यान्सर उपचारपछि पूर्ण रूपमा निको हुन्छ ?

उपचारपछि निको भएका थुप्रै उदाहरण हामीसँग छन् । समयमै उपचार गरियो भने ८० देखि ९० प्रतिशत क्यान्सर निको हुन्छ ।

जोखिमबाट बच्न के गर्न सकिन्छ ?

क्यान्सरको जोखिमबाट बच्न सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको समयमा रोग पत्ता लगाउनु हो । त्यसको लागि जनचेतना फैलाउनु जरुरी छ । बर्सेनि १४ सयदेखि १५ सयको हाराहारीमा बालबालिकामा क्यान्सरको समस्या देखिन्छ । तर अहिले पनि सबै अस्पतालमा डाटा हेर्ने हो भने करिब ६०० बच्चा मात्र उपचारको पहुँचमा छन् । अन्य त उपचारको पहुँचमा नै छैनन् । त्यसैले क्यान्सरको लक्षण देखिए अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ भन्ने जनचेतना फैलाउनु जरुरी छ ।

क्यान्सर डा. अञ्जली पण्डित बालबालिका स्वास्थ्य
डा. अञ्जली पण्डित
लेखक
डा. अञ्जली पण्डित
बाल क्यान्सररोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०९०२ एमबीबीएस, एमडी, फेलोसिप (भारत) बाल क्यान्सर उपचारमा १० वर्षको अनुभव, हाल नेपाल क्यान्सर अस्पताल ललितपुरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय