+
+

लुम्बिनी एमालेमा गुटगत प्रतिस्पर्धाको तयारी

टोपराज शर्मा टोपराज शर्मा
२०८० भदौ १० गते १९:२३
राधाकृष्ण कँडेल, लक्ष्मण आचार्य र हरिप्रसाद रिजाल ।

१० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आउन एक साता बाँकी रहँदा शनिबार सबै पालिका र जनसंगठनबाट प्रतिनिधि चयन भएका छन् । चयन भएका प्रतिनिधिहरुको अन्तिम सूची तयार पार्ने क्रम चलिरहेको नेताहरुले जनाएका छन् ।

तर प्रतिनिधि चयन अगाडि नै प्रदेशको नेतृत्वमा पुग्ने आकांक्षा राखेका नेताहरुको लबिङ तीव्र बनिसकेको थियो । लुम्बिनीमा यसपटक गुटगत प्रतिस्पर्धाको तयारी देखिएकाले पनि दाबेदारहरुले प्रतिनिधि चयनलाई महत्व दिए ।

आगामी १६–१७ भदौमा हुने अधिवेशनमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल निकट नेताहरुले गुटगत प्रतिस्पर्धाको तयारी गरेका छन् । उपाध्यक्ष पौडेल निकट नेताहरुका तर्फबाट अहिलेकै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल उम्मेदवार बन्ने तयारीमा छन् ।

पाल्पाका कँडेललाई रोक्न महासचिव पोखरेल निकटका नेताहरुले हरिप्रसाद रिजाल उम्मेदवार बनाउने तयारी गरेका छन् । यद्यपि अहिलेका प्रदेश सचिव लक्ष्मण आचार्य पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने मनसायमा छन् । दाङका आचार्य महासचिव पोखरेलसँग सन्तुष्ट नरहेकाले पनि उम्मेदवारी दिन खोजिरहेका छन् ।

तर मुख्य प्रतिस्पर्धा कँडेल र रिजालबीच हुने नेताहरु बताउँछन् । कँडेल र रिजाल दुबैले चुनाव जित्ने दाबी गरिरहेका छन् । रिजालले अध्यक्ष जित्नेकै निम्ति पार्टीको केन्द्रीय कमिटीबाट प्रदेशमा आउने तयारी गरेको बताउँछन् । ‘म अध्यक्ष जित्ने गरी केन्द्रीय सदस्य हुँदाहुँदै प्रदेशमा आउन लागेको हो’, रिजाल भन्छन् ।

महासचिव पोखरेल निकट रिजाल यसअघि प्रदेशसभा सदस्य थिए । उनलाई शंकर पोखरेलले मुख्यमन्त्री हुँदा स्वास्थ्य मन्त्री बनाएका थिए । तर गत वर्ष मंसिरको चुनावमा नेपाली कांग्रेसका रोज राणासँग रिजाल पराजित भएका थिए ।

उपाध्यक्ष पौडेल निकट कँडेलको दाबी पनि रिजालकै जस्तो छ । उनी पनि प्रदेशको नेतृत्वमा रहनकै लागि केन्द्रीय सदस्य नबनेको बताउँछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै समर्थनमा आफू प्रदेश अध्यक्ष बनेकाले फेरि पनि नेतृत्वमा आउने कँडेलको दावी छ ।

आफूले प्रदेशको नेतृत्व गर्दा पार्टीले ठूलो उपलब्धि हासिल गरेकाले पनि एकपटक दोहोरिन चाहेको उनी बताउँछन् । पाँच दलीय गठबन्धनविरुद्ध समानुपातिक तर्फ प्रदेशसभामा पहिलो बनेको, प्रत्यक्षतर्फ ५० प्रतिशतले जितेको, संगठनलाई व्यवस्थित गरेको लगायत सफलता आफ्नो नेतृत्वमा संभव भएको कँडेल बताउँछन् ।

यी सफलता देखेका नेताहरुले सर्वसहमत नेतृत्व छोड्नुपर्ने उनी तर्क गर्छन् । चुनावै हुँदा पनि जित्नेगरी लागेको उनी बताउँछन् । ‘कथङ् चुनाव भए पनि शानदार ढंगले जित्छु’, कँडेल भन्छन् ।

अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण आचार्य भने आकांक्षी नेताहरुको संख्या अझै बढ्न सक्ने बताउँछन् । तर सहमतिमा नेतृत्व चयनको सम्भावना पनि उतिकै रहेको उनको विश्वास छ ।

तर आचार्यको विश्वासजस्तो सर्वसहमतिमा नेतृत्व चयनको सम्भावना कम रहेको नेताहरु बताउँछन् । ‘आकांक्षी नेताहरुले अर्कोलाई नेतृत्व स्वीकारे न सर्वसहमति हुने हो । तर जस्तो परिस्थिति विकास भइरहेको छ, त्यसले चुनाव नै हुने सम्भावना छ’, प्रदेशका एक नेता बताउँछन् ।

पार्टी उपाध्यक्ष र महासचिवकै समूह बनाएर नेताहरुले लबिङ गरिरहेकाले पनि सर्वसहमत नेतृत्वको संभावना कमजोर रहेको उनको बुझाइ छ ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेल आफैंले भने गुटगत प्रतिस्पर्धाको संकेत गरेका छैनन् । तर उनीहरुबीच पार्टीभित्र रहेको प्रतिस्पर्धालाई टेकेर प्रदेशका नेताहरुले गुटगत तयारी गरेका छन् । यसअघि प्रदेश सदस्य रहेकाहरुले पनि यसपटक पुरानै पदमा अवसर पाउने संभावना नरहेकाले पनि चुनावी प्रतिस्पर्धाको तयारी स्वभाविक बन्न पुगेको छ ।

किनकि एमालेले यसपटक प्रदेश कमिटीको संख्या घटाउने नीति लिएको छ । अहिले प्रदेश कमिटीमा ६ सय बढी सदस्य रहे पनि अबको अधिवेशनले २५० मा झार्ने भएको छ । अतः फेरि प्रदेश कमिटीमै रहन पनि नेताहरुले गुटगत प्रतिस्पर्धाको सजिलो बाटो रोजेको अनुमान गर्न सकिन्छ ।

उपाध्यक्ष पौडेल निकट कतिपय नेताहरु भने अहिलेकै प्रदेश नेतृत्वलाई निरन्तरता दिनुको साटो विस्थापित गर्ने तयारी हुनुले पनि लोकतान्त्रिक प्रतिस्पर्धा स्वभाविक जस्तो बन्न पुगेको बताउँछन् ।

‘केन्द्रीय महाधिवेशनमा प्रदेशकै नेतृत्व गर्ने भनेर वचन पाएकालाई एकपटक मौका दिँदा सर्वसम्मतिले नेतृत्व चयन भएको सन्देश जान्थ्यो’, ती नेता भन्छन्, ‘मन्त्री र सांसद भइसकेका पार्टी केन्द्रीय सदस्यलाई ल्याउन खोज्नुले गुट चलाउन खोजेको देखियो ।’

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशनका लागि लुम्बिनीका १०९ पालिका र २३ जनसंगठनबाट एक हजार बढी प्रतिनिधि चयन भएका छन् । प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेका अनुसार, भूगोलबाट ९१५ र जनसंगठनबाट बाँकी प्रतिनिधि आउनेछन् । प्रतिनिधि चयनका लागि एमालेले एक सय पार्टी सदस्य बराबर एक प्रतिनिधि, जनसंगठनबाट ३ जना र महासंघबाट ५ जना चयन हुने मापदण्ड बनाएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?