+
+

यज्ञोपवित अर्थात् सकारात्मक अवधारणा

मानिसको शरीरमा भएको यज्ञोपवित वा जनैको धारण उसमा रहेको ‘सत्यलाई त्यही रूपमा देख्न सक्ने’ योग्यता एवम् क्षमताको पहिचान वा संकेत हो ।

केशवराज ज्ञवाली केशवराज ज्ञवाली
२०८० भदौ १४ गते १०:४३

सामान्यतया प्रत्येक वर्ष वर्षा ऋतुको श्रावण शुक्लपक्षको पूर्णिमाको दिनलाई तागाधारीहरूले जनैपूर्णिमा, रक्षाबन्धन एवं नेवारहरूले गाईजात्रा पर्वको रूपमा मनाउँदछन् । यस वर्ष अधिकमास (मलमास) परेकोले जनैपूर्णिमा एक महिना ढिलो भएर भाद्र महिनामा परेको छ ।

जनैपूर्णिमाका दिन व्रतबन्ध गरेका तागाधारीहरूले पवित्र तलाउ, कुण्ड वा गंगातटमा गई स्नान गरी विधिपूर्वक मन्त्रद्वारा शुद्धीकरण गरिएका नयाँ जनै लगाउने तथा पुरानो जनै विसर्जन गर्ने प्रचलन छ । केही दशक अघिसम्म पनि व्रतबन्ध गरेका तागाधारीहरूको शरीरमा जनै नरहेको कल्पना गरिंदैनथ्यो भने अहिले नयाँ पुस्तामा जनै नरहेको विषय सामान्य रूपमा नै लिएको पाइन्छ ।

नयाँ पुस्तामा जनैप्रतिको आकर्षण किन कम भयो ? यसको दार्शनिक, सामाजिक, सांस्कृतिक, संरचनात्मक, ऐतिहासिक एवं चिकित्सकीय आयामका बारेको ज्ञान नयाँ पुस्तामा सार्न सकियो त ? यो लेख यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित छ ।

जनैलाई विष्णु र ब्रहृमाको सृष्टिको प्रथम सूत्रको प्रतीकको रूपमा लिने गरिन्छ र यसै अनुरूप नै जनैको लम्बाइ पनि जनै धारण गर्ने मानिसको नाभिसम्मको मात्र रहनुपर्दछ भन्ने मान्यता छ । नाभि भन्दा छोटो वा लामो लम्बाइकोे जनैको धारण अशुभ मानिन्छ ।

धार्मिक एवं सांस्कृतिक रूपमा जनै धारण व्रतबन्ध संस्कार पश्चात् गरिन्छ । सनातन धर्मका अनुसार जनै अर्थात् उपनयन वा यज्ञोपवित धारण मनुष्य मात्रको जीवनकालमा गरिने १६ संस्कारमध्ये दशौं संस्कारमा पर्दछ । संस्कृत भाषामा ‘व्रत’ को अर्थ प्रतिज्ञा वा संकल्प हुन्छ भने ‘बन्ध’ को अर्थ नियम वा विधि ।

व्रतबन्ध अर्थात् उपनयन संस्कारमा गुरुले शिष्यलाई गायत्री मन्त्र सुनाई जनै अर्थात् उपवित प्रदान गर्दछन् र आफ्नो आश्रममा शिक्षा प्रदान गर्नका लागि स्वीकार पनि गर्दछन् । यसैले, व्रतबन्ध संस्कारको सम्पूर्ण अर्थ शिष्यले ‘गुरुले निर्माण गरेको विधिलाई पूर्ण रूपमा पालन गरी शिक्षा प्राप्त गर्न सार्वजनिक रूपमा संकल्प वा प्रतिज्ञा गरेको’ भन्ने लाग्दछ ।

उपनयन संस्कारबाट उपवित प्राप्त गरेको शिष्यलाई द्विज भनिन्छ । द्विजको अर्थ उपवित प्राप्त गर्ने व्यक्तिको दोस्रो जन्म भएको मानिन्छ । व्रतबन्धपछि द्विज आफ्नो जीवनको ब्रहृमचर्य अवस्थामा प्रवेश गर्दछन् । ब्रहृमचर्य अवस्थामा उनले आफूलाई सम्पूर्ण रूपमा आध्यात्मिक ज्ञानको विकास र त्यसको साधना एवं ध्यानमा केन्दि्रत गर्दछन् ।

शाब्दिक रूपमा ‘उप’ को अर्थ नजिक र ‘नयन’ को अर्थ अग्रसर भन्ने हुन्छ । यसरी उपनयनको अर्थ ‘नेतृत्वका लागि तयार भएको’ भन्ने लाग्दछ । व्यावहारिक रूपमा पनि व्रतबन्ध पश्चात्को शिक्षा एवं दीक्षा पश्चात् मनुष्य सांसारिक रूपमा समाजका अन्य सदस्य एवं सामाजिक जिम्मेवारीको बहन गरी नेतृत्वदायी भूमिका बहन गर्ने अवस्थाको नजिक पुगेको वा तयार नै भएको रूपमा लिइन्छ । त्यसैले व्रतबन्ध संस्कारलाई विवाह संस्कारको पूर्वशर्तको रूपमा पनि लिएको पाइन्छ ।

आचार्य चाणक्य एवम् आधुनिक मनोविज्ञानका ज्ञाताहरूका अनुसार मनुष्यको स्वभाव निर्माणको उमेर सात वर्षदेखि १४ वर्षको अवधि नै हो । यस उमेर पश्चात् उसको व्यक्तित्व यस अवधिमै बनेको स्वभावको प्रतिबिम्बको प्रस्फुटित स्वरूप मात्र हो ।

अर्को शब्दमा भन्नु पर्दा १४ वर्षको उमेर पश्चात् मानिसको स्वभावमा परिवर्तन आउन असम्भवप्रायः नै हुन्छ । अर्थात् यस पश्चात्को स्वभावमा आउने खास परिवर्तन एउटा दुर्घटना जस्तै हो । यसैले सात वर्षकै उमेरमा व्रतबन्ध गरी घरभन्दा टाढा गुरुको समिपमा रही शिक्षा प्राप्त गर्ने कार्यले मनुष्यको स्वभाव, आचरण, एवम् ज्ञानलाई एउटा सही दिशानिर्देश गर्न सहायकसिद्घ हुनसक्दछ ।

साथै, यस प्रक्रियामा हुने सहभागिताले उसलाई जीवनपर्यन्त सामाजिक परम्परा, मूल्यमान्यता एवम् रीतलाई अवलम्बन्ा गरी गुरुले प्रदान गरेको सिद्घान्तको मार्गदर्शनमा सामाजिक विषयमा निर्णय लिन मद्दत गर्दछ । प्रकारान्तरले उसबाट यसरी गरिनेे कार्यले सृष्टिमा निर्माण भएको चराचर जगतको अस्तित्वलाई निरन्तर चलाउन सहायकसिद्घ भई उसले आफ्नो जीवनलाई एउटा सार्थक जीवनको रूपमा परिणत गर्न सक्दछ ।

संरचनात्मक रूपमा जनैमा तीन वटा मूल धागोहरू रहेका हुन्छन् । प्रत्येक एउटा मूल धागोमा थप तीन वटा धागोहरू संयोजन भएका हुन्छन् । यसरी जनैमा नौ वटा धागाहरू हुन्छन् जसले तीन वटा मूल तत्व र ती मूल तत्वका थप तीन वटा सहायक तत्वहरूलाई प्रतिनिधित्व गर्दछन् । तीन वटा मूल धागाहरूले तीन वटा मूल तत्वहरू -नाडी वा स्नायु, गुण वा स्वभाव, र ऋण वा दायित्व) लाई प्रतिनिधित्व गर्दछन् ।

पितृ-मातृ ऋण अर्थात् पिता-माताप्रतिको दायित्व र गुरु ऋण अर्थात् ज्ञान प्रदान गरी दोस्रो जन्म दिने गुरुप्रतिको दायित्व । यी दायित्वहरूले मानिसलाई बाँच्नुको सार्थकता प्रदान गर्दछन् अर्थात् यी दायित्वको निर्वाह गर्नु नै सार्थक जीवन बाँच्नुको पहिलो र महत्वपूर्ण कर्तव्य हो भनी सम्झाउँछ । यसैले हरेक मानिसले आफू मर्नुभन्दा अघि यी तीन वटा दायित्वहरू पूरा गर्ने कर्तव्य निर्वाहका लागि बाँच्नुपर्दछ भन्ने कारण प्रष्ट्याउँछ ।

विक्रम संवत् १९७७ तिरको समयलाई पानीसरो मान्दै सरदार भीमबहादुर पाँडे आफ्नो पुस्तक ‘त्यस बखतको नेपाल’ मा समाजको जातीय विभाजन बारे लेख्छन्, ‘त्यस बखत गाउँमा प्रायः तीन वर्गका मानिस हुन्थे- तागाधारी, मतवाली र अछूत । तागाधारी वर्गमा बाहुन, क्षेत्री, ठकुरी अर्थात् जनै लगाउने ! मतवाली वर्गमा गुरुङ, चुरेटा, मगर, भोटे, कुमाले, थारू, राई, लिम्बू, नेवार अर्थात् छोइछिटो हाल्न नपर्ने र जाँडरक्सी खाएर जात नजाने । सार्की, कामी, दमाई, गाइने, पोडे लगायत माथि छुवाछूतको विभेद थियो ।’

जनैको धारण गर्नु एउटा धारणा मात्र नभई सिद्धान्त, विश्वास, अनुशासन, औषधि, दायित्व र कर्तव्य सूचक, सकारात्मक ऊर्जाको स्रोत, ऐतिहासिक धरोहर र रक्षा सूत्र पनि हो भनी विश्वस्त हुन सकिन्छ

सनातन धर्मका अनुसार सम्पूर्ण देवताको निवास (देवलोक) उत्तर दिशातर्फ छ भने पितृहरूको निवास (पितृलोक) दक्षिण दिशातर्फ रहेको छ । त्यसैले पुण्य प्राप्त गर्ने सम्पूर्ण कार्यहरू पूर्वतर्फ फर्केर गर्ने गरिन्छ । सामान्यतया जनैलाई बायाँ काँधमा राखेर दाहिने हातको तल पर्ने गरी लगाइन्छ । यस अवस्थामा पूर्वतर्फ फर्केर शुभकर्म गर्दा जनै उत्तर दिशा (देवलोक) तर्फ पर्न जान्छ ।

यस अवस्थामा गरिने कार्यलाई सव्य कर्म भनिन्छ । यसले सत्व्ा गुणलाई उत्प्रेरित र देवताहरूलाई आहृवान गर्दछ । त्यसैगरी अन्तिम संस्कार, पिण्डदान तथा श्राद्घमा तर्पण दिंदा जनैलाई दायाँ काँधमा राखेर बायाँ हातको तल पर्ने गरी लगाइन्छ । यस अवस्थामा पूर्वतर्फ फर्केर पितृकार्य गर्दा जनै दक्षिण दिशा (पितृलोक) तर्फ पर्न जान्छ । यस अवस्थामा गरिने कार्यलाई अपसव्य कर्म भनिन्छ ।

अध्यात्म विज्ञानका अनुसार मानिसको शरीरमा नाभिभन्दा माथिको भागलाई शुद्घ र नाभिभन्दा तललाई अशुद्घ भागको रूपमा लिइन्छ । सनातन धर्मका अनुसार शौच कर्म अथवा उत्सर्जन कर्ममा रज एवं तम गुण प्रधान हुन आउँछ । त्यसैले उत्सर्जन कार्य गर्दा जनैलाई दायाँ कानमाथि राख्ने गरिन्छ ।

शौचकर्म गर्दा जनै नाभिभन्दा तल पर्न गई अशुद्घ हुन जाने सम्भावना रहने हुनाले जनैलाई कान माथि राख्दा सो सम्भावना टर्दछ भने अशुद्घ शक्ति (रज (पिसाब) र तम (दिसा) गुण) ले जनैलाई प्रेरित गर्ने सम्भावना पनि रहँदैन ।

पूर्वीय जीवनदर्शनको मूल ग्रन्थ चार वेदको संकलन कार्यको मुख्य श्रेय महर्षि व्यासलाई जान्छ । यी चार वेदहरूलाई यो रूपमा संकलित गर्न महर्षि व्यासको समूहमा ४०० बढी विद्वान् तथा विदुषीहरू रहेकोमा कम्तीमा पनि २५ भन्दा बढी विदुषीहरू रहेको विश्वास गरिन्छ । यस अर्थमा शिक्षा प्राप्त गर्ने वा व्रतबन्ध पश्चात् गुरुका समीपमा गई ज्ञान हासिल गर्ने अवसरबाट महिलाहरूलाई त्यस बखतमा वञ्चित नगरिएको कुरा जान्न सकिन्छ ।

यसले प्रारम्भिक वैदिककालमा गुरुकुलमा पढ्ने र पढाउने कार्यमा महिला र पुरुषका बीचमा कुनै विभेद नरहेको बुझिन्छ । पौराणिक कालमा मैत्रेयी लगायतका महिलाहरूले जनै धारण गरेको तथा वेदको अध्ययन गरी तत्कालीन सद्गुरु एवम् महर्षिहरूसँग विभिन्न विषयमा शास्त्रार्थ गरेको कुरा उल्लेख भएको पाइन्छ ।

समयक्रममा शंकराचार्यले उत्तर मीमांसा (ब्रहृम सूत्र) को तुलनामा पूर्व मीमांसा (धर्म सूत्र) को प्रचारप्रसार एवम् व्यावहारिक प्रयोगमा जोड दिएबाट वैदिक ज्ञानको प्रयोगमा महिलाको सहभागिता कमजोर बन्दै गएको पाइन्छ । झण्डै एक शताब्दीअघि पनि नेपाली राई समुदायकी महिला योगेश्वरी अञ्जना देवी (नेपाली मीराका नामबाट भारतमा चर्चित) तथा भोजपुरकी योगमाया न्यौपाने (योगमायाका नामले चर्चित) ले पनि वैदिक ज्ञान आर्जन गरी प्रसिद्धि प्राप्त गरेको पाइन्छ । यसबाट महिलाहरूले पनि पुरुष समान व्रतबन्ध गर्न, जनै लगाउन तथा शिक्षा प्राप्त गर्न सक्दछन् तथा यस कार्यका लागि वैदिक दर्शनले भेदभाव नगरेको प्रष्ट हुन्छ ।

सनातन धर्मका अनुसार सबै मानिस जन्मँदा एकैस्तरमा अथवा शूद्रकै तहमा जन्मिन्छन् । अर्थात् जन्मका आधारमा कोही पनि ब्राहृमण वा क्षेत्रीय हुँदैनन् । यदि गुरुले शिष्य स्वीकार गरेमा उपनयन संस्कार पछि गुरुबाट प्राप्त ज्ञान, संस्कार, आचरण तथा आफ्नै चेतना सहितको साधनाद्वारा उनीहरू अन्य मानिसहरू भन्दा फरक स्तरमा पुग्दछन् ।

मानिसको शरीरमा भएको यज्ञोपवित वा जनैको धारण उसमा रहेको ‘सत्यलाई त्यही रूपमा देख्न सक्ने’ योग्यता एवम् क्षमताको पहिचान वा संकेत हो ।

समाज विज्ञानको सन्दर्भमा सिद्घान्तको व्याख्या र प्रयोग पनि समय र सन्दर्भ अनुसार प्रासंगिक हुने भएकोले जनै वा यज्ञोपवितलाई अकाट्य वा शाश्वत सिद्घान्तका रूपमा नभई एउटा सकारात्मक अवधारणाका रूपमा लिएको पाइन्छ ।

यसैकारण, श्रावण महिनाको शुक्लपक्षको पूर्णिमाको दिनलाई यज्ञोपवित धारण गर्ने दिन वा जनैपूर्णिमाको दिनको रूपमा मनाइन्छ । जनैपूर्णिमाको दिन मन्त्रद्वारा शुद्घीकरण गरिएको जनै धारण गरे पश्चात् प्रत्येक दिन हातमा लिई १०८ पटक गायत्री मन्त्र जाप गरी जनैलाई ऊर्जावान् बनाई राख्नुपर्दछ भन्ने मान्यता छ ।

जनैको अवधारणाको सही चेतनाका साथ यसलाई धारण गरी यथोचित प्रयोग गरेमा यसबाट बहुआयामिक लाभ प्राप्त गर्न सकिन्छ । यसले मानव शरीरमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै मानव जीवनलाई नै उद्देश्यमूलक बनाई सार्थकतातर्फ उन्मुख गर्नेमा द्विविधा गर्नुपर्दैन ।

जनैको धारण गर्नु एउटा धारणा मात्र नभई सिद्धान्त, विश्वास, अनुशासन, औषधि, दायित्व र कर्तव्य सूचक, सकारात्मक ऊर्जाको स्रोत, ऐतिहासिक धरोहर र रक्षा सूत्र पनि हो भनी विश्वस्त हुन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?