+

सुत्केरीमा देखिन सक्छ उदासीपन, बेवास्ताले निम्त्याउँछ जटिल समस्या

२०८० भदौ  १६ गते १९:४१ २०८० भदौ १६ गते १९:४१

आमा बन्ने क्रममा रहेका महिलामा शारीरिक परिवर्तन सँगसँगै हर्मोनमा हुने परिवर्तनले अनेकौं समस्या आइपर्छन् । सुत्केरीपछि उदासीपनलाई बेवास्ता गर्दा डिप्रेसन निम्तिन्छ । जटिल समस्याबाट महिला गुज्रिंदा बच्चा वा आफैंलाई हानि गर्ने बाटोमा पुग्छन्  ।

सुत्केरीमा देखिन सक्छ उदासीपन, बेवास्ताले निम्त्याउँछ जटिल समस्या

१६ भदौ, काठमाडौं । काभ्रेकी २६ वर्षीया अस्मिता सापकोटा (नाम परिवर्तन)ले विवाह भएको एक वर्षपछि छोरी जन्माइन् । तत्काल आमा बन्ने उनको चाहना थिएन । घरपरिवारले जोड गरे । पेशाले नर्स उनलाई परिवारका सदस्यले भनेका थिए- ‘बच्चा पाइदेऊ, हुर्काउने जिम्मेवारी हाम्रो !’ श्रीमान्ले पनि बच्चा भएपछि पुनः जागिरमा पठाउने आश्वासन दिए ।

गत फागुनमा पहिलो सन्तानका रूपमा छोरी जन्मिएपछि घरपरिवारमा खुसीको माहोल छायो । अस्मिता भने धेरै दिन खुसी हुन सकिनन् । परिवारबाट अपेक्षा गरे जस्तो साथ-सहयोग नपाए पछि उनी निराश हुन थालिन् । ‘श्रीमान्को पनि सहयोग भएन’ अस्मिताले उपचारमा संलग्न चिकित्सकलाई सुनाइन्, ‘त्यसवेला एक्लोपन महसुस भयो । मनभित्र धेरै कुरा खेल्थे ।’

विस्तारै अरू बोलेको सुन्दा पनि झर्को लाग्ने, विना कारण रुन मन लाग्ने, केही भयो कि रिस मात्रै उठ्ने हुनथाल्यो । बच्चाको पनि बेवास्ता गर्ने, रोएमा फालिदिने गर्न थालेपछि घरपरिवारले चिकित्सककहाँ पुर्‍याए । उनीमा पोस्टपार्टम डिप्रेसन भएको पत्ता लाग्यो । अहिले उनी निरन्तर काउन्सिलिङमा छिन् ।

 *** ****

धरानकी ४० वर्षीया मीना गुरुङ (परिवर्तित नाम)ले पनि सुत्केरी अवस्थामा विभिन्न समस्या भोग्नुपर्‍यो ।

गर्भवती भएकै बेला उनमा उदासीनता थियो । सुत्केरी भएको दुई दिनपछि निन्द्रा नलाग्ने, सास फेर्न गाह्रो हुने, सानो कुरामा पनि चिढिने, कसैसँग नबोली एक्लै बस्ने गर्थिन् । बच्चालाई घुरेर हेर्ने, एक्कासि चिच्याउने लगायत अनौठो व्यवहार देखाउन थालिन् । ‘बच्चा रोए भन्दा ठूलो स्वरले कराउँथिन्’ उनका श्रीमान् भन्छन्, ‘एकछिन बच्चालाई एक्लै छोडेर हिंड्न नसक्ने अवस्था आयो ।’

समस्या बढ्दै गएपछि परिवारले चिकित्सककहाँ पुर्‍याए । त्यसक्रममा बाल्यकालमा भएको यौन हिंसाका कारणले पोस्टपार्टम डिप्रेसनमा पुगेको खुल्यो । ‘उनको मस्तिष्कमा यौन हिंसाको छाप गहिरोसँग बसेको रहेछ, जसले गर्दा पोस्टपार्टम डिप्रेसनसम्म पुगिन्’ उपचारमा संलग्न चिकित्सक भन्छन्, ‘परिवारको साथ-सहयोगले स्वस्थ हुँदै जानुभएको छ । अहिले काउन्सिलिङसँगै औषधि सेवन गरिराख्नुभएको छ ।’

*** ***

पोखराकी विमला बास्तोलाले चार वर्षअघि छोरीलाई जन्म दिइन् । छोरी जन्मनुअघि आफ्नो बच्चा कस्तो होला भन्ने कौतूहल थियो । साथीहरूले सन्तानको हेरचाह गरेको देख्दा आफूले पनि त्यस्तै माया गरेर हुर्काउँछु भन्ने लाग्थ्यो । तर जब आफ्नो छोरी जन्मिइन्, मायाको अनुभूति नै भएन । बच्चा छुँदा पनि झर्को लाग्ने, सकेसम्म बच्चा हेर्न नपरोस् जस्तो हुने, कसैसँग बोल्न पनि झर्को लाग्ने हुनथाल्यो ।

‘मान्छेले छोराछोरीलाई आफ्नो ज्यानभन्दा बढी माया गर्थे । आफूलाई भने छोरीको माया नै नलाग्ने, रुँदा पनि झर्को लाग्ने’ उनले भनिन्, ‘यस्तो कुरा कसरी सेयर गर्न सक्नु ?’

छोरी जन्मेको करिब दुई वर्षसम्मै यस्तो भइरहृयो । त्यसपछि भने विस्तारै छोरीको माया लाग्न थाल्यो । अहिले बुझ्दा त्यो वेला आफूलाई पोस्टपार्टम डिप्रेसन भएको रहेछ भन्ने उनलाई लाग्छ । भन्छिन्, ‘त्यसबेला मैले आफ्नो अनुभूति श्रीमान् अथवा डाक्टरलाई भनेको भए थाहा हुन्थ्यो होला ।’

चिकित्सकहरूका अनुसार गर्भावस्थामा वा आमा बनेपछि डिप्रेसनको जोखिम हुन्छ । पोस्टपार्टम डिप्रेसन भयावह बन्दै गए तापनि नजरअन्दाज गरिएको चिकित्सकहरू बताउँछन् ।

सुत्केरीलाई किन हुन्छ डिप्रेसन ?

महिलाका लागि आमा बन्नु जति खुसीको विषय हो, गर्भावस्था त्यति नै पीडादायी पनि हुन्छ । गर्भमा ४/५ किलो तौलसम्मको बच्च्ाा नौ महिनासम्म बोकेर हिंड्नुपर्छ ।

चिकित्सकहरूका अनुुसार गर्भमा भ्रूण बसेदेखि नै महिलाको हर्मोन परिवर्तन हुन थाल्छ । हर्मोन अधिक उत्पादन हुने हुँदा शरीरमा थकान, सुस्तता र मनमा उदासीपन छाउँछ ।

प्रसवले पनि थप पीडा दिन्छ । त्यही वेला बच्चाको स्याहारसुसारका कारण अनिंदो हुन्छन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भन्छन्, ‘आमालाई आराम पुग्दैन । यस्तो वेला घरपरिवारको सहयोग पुगेन र लामो समय पीडाबाट गुजि्रनु पर्‍यो भने डिप्रेसन हुनसक्छ ।’

जसलाई पहिले अलिकति डिप्रेसन थियो, उनीहरूमा गर्भावस्था वा सुत्केरी अवस्थामा बढेर जान्छ । बाल्यकालको हुर्काइमा धेरै दुःख पाएकोे, घरेलु वा यौन हिंसा भोगेको, महिला भएकै कारणले नियममा बाँधिएर बस्नुपरेको महिलामा गर्भावस्थापछि पोस्टपार्टम डिप्रेसनको सम्भावना बढी देखिएको मनोविद् डा. विजय बिजुक्छे बताउँछिन् ।

बच्चा जन्मिनुअघि (पेरिपार्टम) वा जन्मिएपछि (पोस्टपार्टम) डिप्रेसन हुँदा अधिकांश आमाको स्वभाव परिवर्तन हुन्छ । मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइरालाका अनुसार सुत्केरी अवस्थामा दुःखको अनुभूति हुनु, आफू वा बच्चालाई हानि पुर्‍याउने विचार आउनु, झर्को लाग्नु वा चिडचिडापन हुने, निन्द्रा नलाग्ने वा धेरै सुत्ने, खान मन नलाग्नु आदिलाई सुत्केरी अवस्थामा हुने मानसिक समस्या (पोस्टपार्टम डिप्रेसन) भनिन्छ ।

पोस्टपार्टम डिप्रेसन एक मूड डिसअर्डर हो । सामान्यतया बच्चा जन्मेको पहिलो-दोस्रो हप्ताभित्र देखा पर्दछ । परिवारको सहयोग भएन, इच्छा विपरितको गर्भधारण भएको छ वा श्रीमान्-श्रीमतीको सम्बन्ध राम्रो छैन भने डिप्रेसनको सम्भावना बढी हुन्छ ।

पोस्टपार्टम डिप्रेसन निम्त्याउने अर्को कारण हो, सामाजिक । घरपरिवारलाई छोराको इच्छा थियो, तर छोरी जन्मियो भने पनि आमाले दबाब/हेलाहोचो खेप्नुपर्ने हुन्छ । ‘यस्तो वेला मेरो भविष्य के होला भन्ने डर पैदा हुन्छ, जसले डिप्रेसनसम्म पुर्‍याउँछ’, डा.सुवेदी भन्छन् ।

मनोवैज्ञानिक कारणले पनि पोस्टपार्टम डिप्रेसन निम्त्याउने गर्छ । ‘पहिलो पटक बच्चा जन्माउँदा परिवारमा आर्थिक समस्या छ भने कसरी हुर्काउने, पाल्ने भन्ने तनाव हुन्छ’ डा. बिजुक्छे भन्छिन्, ‘अफिस छ भने पहिलाको अवस्थामा काम दिन नसकिने हो कि भन्ने डर हुन्छ । यसले उदासीनता र नकारात्मक सोचाइ पैदा गर्छ ।’

पोस्टपार्टम डिप्रेसनका तीन चरण

चिकित्सकहरूका अनुसार पोस्टपार्टम डिप्रेसनलाई पनि तीन चरणमा वर्गीकरण गरेर हेर्न सकिन्छ- पोस्टपार्टम ब्लुज, पोस्टपार्टम डिप्रेसन र पोस्टपार्टम साइकोसिस ।

डा. कोइरालाका अनुसार धेरैजसो आमामा देखिने अत्तालिने वा बच्चालाई कसरी हुर्काउने भन्ने चिन्ता पोस्टपार्टम ब्लुजको संकेत हो । यस्तो समस्या पहिलो पटक आमा बनेका ६० प्रतिशतमा हुन्छ ।

तर धेरैजसो दुई-तीन हप्ताभित्र आफैैं ठीक भएर जान्छ । यसको लागि कुनै औषधि खाइरहनु पर्दैन । ‘पहिलो पटक आमा बन्दै गर्दा धेरै आत्तिने हुन्छ । परिवारको साथ-सहयोग राम्रो भएमा केही दिनमा आफैं ठीक भएर जान्छ’ डा. कोइराला भन्छन्, ‘पोस्टपार्टम ब्लुजको अवस्थामा उपचार गर्नुपर्दैन । परिवारको साथले आफैं निको हुन्छ ।’

मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइराला

कतिपयलाई भने लामो समयसम्म रहिरहन्छ । सुत्केरी महिलालाई निन्द्रा लाग्दैन, भोक नलाग्ने, बच्चाको माया नलाग्ने वा गलत विचारहरू मनमा आउन थाल्यो भने यो पोस्टपार्टम डिप्रेसनको लक्षण हो । यस्तो वेला अस्वाभाविक रूपले उदासीपन बढ्दै जान्छ ।

चिकित्सकका अनुसार पोस्टपार्टम डिप्रेसनको लक्षण ६ महिनासम्म पनि देखिन्छ । र, यसको उपचार गर्नैपर्छ । ‘आमाको डिप्रेसनको प्रत्यक्ष असर बच्चामाथि पनि पर्छ । बच्चामा व्यावहारिक तथा संवेगात्मक समस्या देखिन सक्छ । बोलीको विकास पनि ढिलो हुनजान्छ’ डा. कोइराला भन्छन्, ‘त्यसैले लक्षण देखिएपछि उपचार प्रक्रिया सुरु गर्नुपर्छ ।’

तेस्रो स्टेज साइकोसिस डिप्रेसन अझ खतरनाक हुन्छ । चिकित्सकहरूका अनुसार साइकोसिस डिप्रेसन पुगेका महिलाहरूले बच्चालाई राम्रोसँग दूध चुसाउन वा हेरचाह गर्न समेत सक्दैनन् । एक्लै हाँस्ने, कराउने र आफ्नै बच्चालाई क्षति गराउन खोज्ने समेत गर्छन् । ‘यो धेरै कम महिलामा हुन्छ, तर जसलाई हुन्छ, उनीहरूको मनमा बच्चालाई मार्ने वा आफैं मर्ने सोच समेत आउन सक्छ’, डा. कोइराला भन्छन् ।

परिवारको साथ महत्वपूर्ण

नेपालमा पोस्टपार्टम डिप्रेसन सम्बन्धी कुनै अध्ययन भएको छैन । तर गर्भावस्था तथा सुत्केरी समयमा डिप्रेसनको समस्या बढ्दो रहेको चिकित्सकहरूको अनुभव छ । उनीहरूका अनुसार गर्भवती भएको समयमा ५० प्रतिशतसम्म आमामा उदासीपन हुने गरेको छ भने २० प्रतिशत हाराहारी पोस्टपार्टमको डिप्रेसनमा जाने गरेको अनुमान छ ।

चिकित्सकहरूका अनुसार पोस्टपार्टम डिप्रेसन हुन नदिनका लागि परिवारको साथ-सहयोग नै महत्वपूर्ण हुन्छ । यस्तो वेलामा गर्भवती महिलाको भावनालाई परिवारका सदस्यले बुझ्न जरूरी हुन्छ । श्रीमान् र परिवारको साथ-सहयोग नपाए बिरामीको अवस्था जटिल हुनसक्छ ।

‘सुत्केरी महिलालाई शारीरिक वा मानसिक रूपमा साथ चाहिन्छ । बच्चाको हेरचाह गर्न बढी दबाब दिनुहुँदैन । श्रीमान् वा परिवारले आफ्नो दायित्व हो भन्ने ठान्नुपर्ने हुन्छ’ डा. कोइराला भन्छन्, ‘गर्भावस्थामा उनीहरूको भावनाको समर्थन गर्नुपर्छ ।

डा.बिजुक्छे पनि परिवारका सदस्यले व्यवहारमा परिवर्तन आएको छ कि छैन ? थाहा पाउनुपर्ने बताउँछिन् । सुत्केरी अवस्थामा कुनै पनि व्यवहार परिवर्तन भएमा परिवारका सदस्यहरूले बुझेर परामर्श वा अन्य उपचारहरू सुरु गरिहाल्नुपर्ने उनी बताउँछिन् । ‘पोस्टपार्टमको उपचार एकदमै छिटो गर्न जरूरी हुन्छ । उपचार गरेको अवस्थामा जटिलता निम्तिनबाट जोगिन सकिन्छ’ पोस्टपार्टम डिप्रेसनबारे जानकारी नहुँदा पनि क्षति व्यहोरेको अनुभव सुनाउँदै उनले भनिन्, ‘उपचार र परामर्शपछि पोस्टपार्टम डिप्रेसनको समस्या सामान्य र दैनिक जीवन सहज हुन्छ ।’

गर्भवती डिप्रेसन पोस्टपार्टम डिप्रेसन सुत्केरी
लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय