+

मेवादेखि कफीसम्म, गर्भावस्थामा यी खानेकुरा नखाएकै बेस

२०८० भदौ  १८ गते १३:४२ २०८० भदौ १८ गते १३:४२
मेवादेखि कफीसम्म, गर्भावस्थामा यी खानेकुरा नखाएकै बेस

गर्भावस्थामा कसैलाई मीठोमसिनो खानेकुराको तलतल लाग्छ । कसैलाई अमिलो–पिरो खान मनपर्छ, कसैलाई गुलियो । यसबेला मस्तिष्कले न्युरोपेपटाइड हर्मोन उत्पादन गर्छ, जसले अत्यान्तै भोक जगाउने काम गर्छ ।

भूगोल अनुसार पनि उनीहरुको रोजाई फरक हुने रहेछ । सामान्यत पश्चिमा देशका महिलाहरुलाई आइसक्रिम, केक जस्ता गुलियो खानेकुराको तलतल लाग्छ । पूर्विय देशका महिलाहरुलाई चटपटे, तितौरा जस्ता अमिलो, पिरो एवं टर्रो खानेकुराको तलतल लाग्छ ।

यद्यपि गर्भावस्थामा मनलाग्दी खानेकुरा खानु त्यती उपयुक्त हुँदैन ।

किनभने आमाको खानपानको सोझो प्रभाव गर्भमा हुर्किरहेको बच्चामा पर्छ । त्यसैले यसबेला के खानुहुन्छ वा के हुँदैन भन्ने कुरामा हेक्का राख्नुपर्छ ।

१. मेवा

गर्भावस्थामा मेवा खान हुदैन । मेवामा ‘बेन्जाइल आइसोथायोसाइनेट’ हुन्छ, जसकारण अत्यिाधक मात्रा खानु शरीरका लागि विषाक्त हुन सक्छ ।

यस्तोमा गर्भवती महिलाले मेवा खाँदा गर्भपतनको खतरा हुनसक्छ । अझ काँचो मेवा त गर्भावस्थामा खानै हुदैन । काँचो मेवामा पाइने इन्जाइमले पाठेघरको खुम्च्याउन मद्दत गर्छ । जसका कारण गर्भपतन हुने खतरा बढी रहन्छ ।

२. धुम्रपान तथा मद्यपान

गर्भावस्थामा धुम्रपान तथा मद्यपान गर्नु शिशुको लागि जोखिम हुनसक्छ ।चुरोटमा हुने रसायनले पाठेघरमा रगतको नलीहरु खुम्च्याउने हुँदा गर्भमा शिशु कम तौलको हुने, मिति अगावै प्रसवव्यथा लाग्ने, शिशको विकासमा बाधा गराउन सक्छ ।

त्यो भन्दा पनि खतरनाक साबित रक्सि सेवन गर्नु हुनसक्छ । यसले गर्भमा शरीरको वनावट नै अंगभंग गराउन सक्छ ।

३. क्याफिनयुक्त खानेकुरा

धेरैजसो मानिसहरू कफी पिउन रुचाउँछन्, तर गर्भवती महिलाहरूलाई कम मात्रामा क्याफिन सेवन गर्न सल्लाह दिइन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार गर्भवती महिलाले दिनमा २०० मिलिग्रामभन्दा कम क्याफिन सेवन गर्नुपर्छ ।

क्याफिन शरीरमा छिट्टै घुल्छ र गर्भनालमा पुग्छ । गर्भमा रहेको बच्चामा मेटाबोलिक इन्जाइम हुँदैन जसको कारणले गर्दा उसलाई हानि पुग्न सक्छ । गर्भावस्थामा धेरै क्याफिन सेवन गर्दा बच्चाको तौल र वृद्धिबिकासमा बाधा पुग्न सक्छ ।

४.जंक फूड

गर्भावस्थामा बच्चाको विकासका लागि पोषक तत्वले भरिपूर्ण खानेकुरा मात्रै खानुपर्छ ।

यस समयमा जंक फूडबाट टाढा रहनुपर्छ । किनकि जंक फूडहरूमा पोषक तत्वहरू हुँदैनन् र चिनी र क्यालोरीहरू उच्च हुन्छन्। जंक फूड खाँदा पोषणको कमि त हुन्छ नै । साथै, तौल छिट्टै बढ्छ र यसले प्रसवको समयमा धेरै समस्या निम्त्याउन सक्छ । गर्भावस्थामा आफ्नो आहारमा प्रशस्त फलफूल, हरियो सागसब्जी, प्रोटिन, फोलेट र आइरन समावेश गर्नुपर्छ ।

५. काँचो अण्डा र नपाकेको मासु

कचेला जस्ता केही मासुजन्य खानेकुरा छन्, जो पूर्णत पकाइएको हुँदैन । यस्ता खानेकुरा गर्भावस्थामा खानै हुन्न ।

अधिकांश ब्याक्टेरिया मासुको सतहमा पाइन्छ भने केही मासुभित्र पाइन्छन् । जसकारण मासुहरू काँचो वा कम पकाएर खानु गर्भवती महिलाका लागि पनि हानिकारक हुन्छ । यसको सेवनले टोक्सोप्लाज्मा, लिस्टेरिया र साल्मोनेलाजस्ता धेरै प्रकारका ब्याक्टेरिया संक्रमण गरी गर्भमा रहेको बच्चामा न्यूरोलोजिकल रोग निम्त्याउन सक्छ ।

त्यस्तै कतिपयले थप पोषिलो हुन्छ भन्दै काँचो अण्डा पनि खाने गर्छन् । पकाएको अण्डामा भन्दा काँचो अण्डामा पोषक तत्व बढी हुन्छ नै । तर, गर्भावस्थामा काँचो अण्डा नखाएकै बेस हुन्छ । किनभने काँचो अण्डामा साल्मोनेला ब्याक्टेरिया हुन्छ । जसले  ज्वरो आउने, बान्ता हुने, पेट दुख्ने र पखाला लाग्न सक्छ । कतिपय अवस्थामा यो संक्रमणले गर्भाशय क्र्याम्प (बाउँडिने) निम्त्याउन सक्छ, जसले समयपूर्व नै शिशुको जन्म हुनसक्छ ।

गर्भावस्था
लेखक
डा. किर्तिपाल सुवेदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय