+

कान सुन्नै छाड्दा हुन सक्छ डिप्रेसन

२०८० भदौ  २० गते १३:२८ २०८० भदौ २० गते १३:२८
कान सुन्नै छाड्दा हुन सक्छ डिप्रेसन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा ४३ करोड मानिसमा कुनै न कुनै रुपमा श्रवणशक्तिको समस्या छ । यो विश्वको कुल जनसंख्याको झण्डै पाँच प्रतिशत हो । यही क्रम रहेमा सन् २०३० सम्ममा ६० करोड मानिसमा कुनै न कुनै रुपको बहिरोपन समस्या हुने डब्लुएचओको तथ्यांकमा उल्लेख छ ।

पहिला उमेर बढी भएपछि मात्र श्रवण शक्तिको समस्या देखिन्थ्यो भने अहिले कम उमेरमै पनि यस्तो समस्या बढ्दो छ । बहिरोपनको समस्या बढ्नुमा विभिन्न कारण छन् ।

कानमा संक्रमण

कानमा एक्युट र क्रोनिक गरी दुई किसिमले संक्रमण हुन्छ । कुनै कारणवश छोटो अवधिमा कानमा संक्रमण भई निको हुनेलाई एक्युट संक्रमण भनिन्छ । तर लगातार कानमा संक्रमण भइरहेमा त्यो क्रोनिक संक्रमण भनेर बुझिन्छ । कानमा पानी पस्नु, तेल लगातार हाल्नु,  कानमा चिलाएमा सिन्काले कोटाइरहनु,  रुघाखोकी बारम्बार भइरहनु जस्ता कारणले कानमा संक्रमण हुन्छ ।

यसको बेलैमा उपचार नगरेमा त्यो क्रोनिक समस्यामा परिणत हुन्छ । यसबाट बिस्तारै सुन्ने क्षमतामा ह्रास आउँछ ।

बढ्दो उमेर

उमेर बढ्दै गएपछि शरीरका अंगहरु कमजोर हुँदै जान्छन्, जसको प्रभाव कार्यक्षमतामा पर्छ । कानको कार्यक्षमता पनि बढ्दो उमेरसँगै घट्दै जान्छ । ६० वर्षभन्दा माथिका ३३ प्रतिशत  मानिसमा कुनै न कुनै किसिमको बहिरोपनको समस्या छ । ७४ वर्षभन्दा माथिका व्यक्तिहरूमा झनै ५० प्रतिशत कान सुन्ने क्षमतामा ह्रास आएको हुन्छ ।

जन्मजात समस्या

समयभन्दा अगाडि नै जन्म भएको, जन्मनासाथ भेन्टिलेटरमा राख्नुपरेको, जन्डिस भएको, एकदमै कम तौल भएको शिशुमा श्रवण क्षमतामा समस्या हुन सक्छ । त्यसैगरी वंशाणुगत पनि कानको समस्या शिशुमा आउन सक्छ । आमा र बुवा दुवैमा कान सुन्ने क्षमता कमजोर छ भने त्यसको असर शिशुमा पनि देखिन सक्छ । यसरी जन्मजात शिशुमा कानको समस्या देखिने भनेको कानभित्रको नसा सुकेर हुन्छ ।

ध्वनि प्रदषण

लगातार बढ्दो ध्वनि प्रदूषणमा रहनु श्रवणशक्ति गुमाउनुको एक प्रमुख कारण हो । इयरफोनको माध्यमबाट चर्को स्वरमा गीत सुन्ने, कलकारखानामा चर्को मेसिनको आवाजमा रहेर काम गर्नुपर्ने र लामो समयसम्म फोनमा कुराकानी गर्दा सुन्ने क्षमतामा ह्रास आउन सक्छ । किनकि कानको भित्र हुने कोक्लियाले मस्तिष्कमा आवाजको संकेत पठाउँछ । जब व्यक्ति लगातार ध्वनिको सम्पर्कमा आउँछ, कोक्लियाको कोषिकामा क्षति पुग्छ र मस्तिष्कसम्म ध्वनि प्रसारमा रोकावट हुन्छ । जसले गर्दा बहिरोपन देखिन सक्छ ।

यीबाहेक चोटपटकले कानको जाली फाट्नु, जन्डिस बिग्रिनु, कानलाई सिधा असर पार्ने औषधि जस्तै, पिसाब लगाउने औषधि, क्यान्सर, मलेरिया र क्षयरोगको औषधि सेवनले पनि बहिरोपन हुन सक्छ । कानमा मासु पलाउने, कानमा केही पसेर कानको जालीमा प्वाल पर्दा सुन्ने क्षमतामा ह्रास आउन सक्छ ।

श्रवण क्षमता कमजोर हुँदै गएको कसरी थाहा पाउने ?

सामान्य कुराकानी सुन्न कठिनाइ हुनु, कुराकानीमा बारम्बार के भनेको भन्दै सोध्नुपर्ने अवस्था आउनु, फोनमा आवाज सुन्नमा कठिनाइ, प्राकृतिक आवाज जस्तै, वर्षा वा चराहरूको चहलपहल सुन्न नसक्नु, आफैंले पनि दुई कानमध्ये एकबाट फरक आवाज आएको जस्तो महसुस गर्नु जस्ता समस्या बहिरोपन हुँदै जानुका संकेत हुन् ।

कान सुन्नै छाड्दा डिप्रेसन हुन सक्छ

मानिसहरू जानकारी आदानप्रदान गर्न कुरा गर्छन् । अर्को व्यक्तिसँग सम्बन्ध राख्न पनि अन्तरक्रिया जरुरी हुन्छ । यस्तोमा सुन्ने क्षमता कम भएको व्यक्तिले संवाद गर्न खोज्दा अरुले प्रतिक्रिया दिएको बुझ्न सक्दैनन् । जसकारण आफ्नो वरपरका अधिकांश मानिससँग कुराकानी गर्न गाह्रो हुन्छ । सुन्न सक्नेहरूलाई सुन्ने क्षमतामा कमीको अनुभव गरिरहेकासँग कसरी अन्तरक्रिया गर्ने भन्ने थाहा हुँदैन । जसकारण समाजमा घुलमिल पातलिंदै जान्छ ।

आफ्नो कुरा पनि पोख्न र अरुको कुरा सुन्न नपाएपछि एक किसिमको तनाव लिने, हीनताबोध हुने, कान नसुन्दा अपहेलित पनि हुने, एन्जाइटी बढ्ने, डिप्रेसनमा जाने जस्ता धेरै समस्याको सामना गर्नुपर्छ ।

उपचार

श्रवणशक्तिको समस्याको उपचार छ । त्यसका लागि सबैभन्दा कारणलाई पहिल्याउन आवश्यक हुन्छ । जस्तै, नसामा समस्या आउँदा वा बहिरोपन हुँदा अप्रेसनको मद्दतले समाधान गर्न सकिन्छ । कानको जाली फुट्दा टाल्न वा टाल्न सम्भव नभएमा नयाँ जाली बनाउन सकिन्छ । कानको हड्डी खुस्केको छ भने मिलाउन सकिन्छ । कानको नसा नै बिग्रिएको छ भने कानमा लगाउने मेसिन लगाएर पनि सुन्न सकिन्छ ।

कान ठप्पै सुन्न छाडेपछि वा सुन्न नसक्नेको कोक्लियर प्रत्यारोपण गर्न सकिन्छ । जुन नेपालमा पनि उपलब्ध छ । काम नगरेको नसामा डिभाइस प्रत्यारोपण गरेर सुन्न सक्ने बनाउन सकिन्छ ।

कसरी बच्ने ?

चर्को ध्वनिमा बस्नुपर्ने व्यक्तिमा कान सुन्ने क्षमता कमजोर हुने जोखिम हुँदा वर्षको एकपटक परीक्षण  गराउनुपर्छ । मोबाइलको प्रयोग गर्दा लगातार ठूलो आवाज पारेर कुराकानी नगर्ने, गर्नै परेमा (विश्व स्वास्थ्य संगठनको सुझाव) अनुसार आधा घण्टापछि पाँच मिनेटको विश्राम लिनुपर्छ ।

हेडसेटमा चर्को आवाजमा संगीत नसुन्ने र चर्को आवाज भएको ठाउँमा बस्न परे एयर प्लग लगाएर काम गर्नुपर्छ । कानमा कुनै पनि समस्या देखिएमा जथाभावी औषधि प्रयोग नगरी जाँच गराउनुपर्छ ।

(डा. केसी वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

कान सुनाइ डा.अरुण केसी बहिरोपन
लेखक
डा. अरुण केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय