+
+

आइएसएमटी कलेजमा ‘प्रविधि मेला’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १५:३७

सूचना प्रविधिमा दक्ष जनशक्तिको माग उच्च छ, विश्व रोजगार बजारमा । मान्छेको दैनिक जीवनसँग अभिन्न रुपले जोडिदै आएको सूचना प्रविधि अब आवश्यक्ता मात्र होइन, अनिवार्य बनिसकेको छ । त्यसैले त नयाँ नयाँ प्रविधि एवं उपकरणको विकास र विन्यासमा युवाहरुको आकर्षण बढ्दो छ ।

यही आकर्षण र अवसरलाई उजागर गर्दै काठमाडौंका आइएसएमटी कलेजले हालै मात्र ‘आइटी एक्स्पो’ आयोजना गरेको थियो ।  कलेज परिसरमै सम्पन्न यो प्रविधि मेलामा विद्यार्थीहरुले तयार गरेका नयाँ नयाँ एप, उपकरण आदि प्रदर्शन गरियो । खासगरी एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित प्रोजेक्टहरु प्रदर्शनीमा रखािएको थियो ।

आइएसएमटी कलेजमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यक्रममा आधारित रहेर उक्त प्रविधि एवं उपकरण निर्माण गरेका थिए । ‘हाम्रो कलेजको विशेषता भनेकै पाठ्यक्रमसँगै अन्य क्रियाकलापमा विद्यार्थीलाई जोड दिनु हो’ बिजनेस डेभलोपमेन्ट प्रमूख वासुदेव वस्तीले भने, ‘जसले गर्दा उनीहरुमा सीप एवं क्षमता विकास हुन सकोस् ।’

प्रदर्शनीमा ट्राफिक व्यवस्थापन गर्न बनाइएको प्रविधिबारे धेरैले चासो र रुची राखेका थिए । ‘स्पिड डिटेक्सन सिस्टम’ नाम दिइएको उक्त प्रविधिले सडकमा गुडिरहेका गाडीको गतिलाई निगरानी गर्न सकिन्छ । क्यामेराको फ्रेमभित्र परेको गाडीको गति र समयलाई गणना गरेर सो प्रविधिले गाडी कुन गतिमा कुदिरहेको छ भन्ने पत्ता लगाउँछ । यसले सडक दुर्घटनाको कारणमध्ये एक मानिएको ‘दू्रत गति’लाई निगरानी र नियन्त्रण गर्न सहज हुने बताइन्छ ।

यसैगरी कम्प्युटर तथा ल्यापटपमा प्रयोग हुने माउसलाई विस्थापित गर्ने प्रविधि पनि विद्यार्थीले रुचाएका थिए । उक्त प्रविधिको साहयताले दुई औलाको भारमा माउसको काम गर्न सकिन्छ ।

फ्रन्ट डेक्स अफिसरको रुपमा आफ्नो संस्थाका बारेमा कुनैपनि जानकारी दिन, त्यससँग सम्बन्धित कुनैपनि जिज्ञासाको उत्तर दिने प्रविधि पनि प्रदर्शनमा धेरैको आकर्षण बन्यो । विद्यार्थीले दैनिक जीवनमा प्रयोग हुने वा कामकाजलाई सहज र छरितो बनाउने यस्ता थुप्रै एप र उपकरण तयार गरेर प्रदर्शनीमा राखेका थिए ।

‘आइएसएमटी एक्स्पो–२०२३’ शीर्षकको यो मेला कलेजको नियमित कार्यक्रम अन्र्तगत आयोजना गरिएको बताइन्छ । ‘कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि नियमितजसो कुनै न कुनै इभेन्ट गरिरहेको हुन्छ’ वस्तीले भने, ‘त्यही गतिविधिको निरन्तरता हो यो ।’

अहिले विश्व बजारमा कस्तो जनशक्ति माग एवं खपत हुन्छ, सोही अनुसार विद्यार्थीमा क्षमता विकास गर्नुपर्ने उनको ठम्याई छ । उनी भन्छन्, ‘पढाईका साथमा यसरी नै प्रयोगात्मक एवं व्यवहारिक काममा विद्यार्थीलाई जोड्नैपर्छ । यसले गर्दा उनीहरुको क्षमता एवं सीप विकास हुन्छ । अनि भविष्यमा बेरोजगार बस्नुपर्ने बाध्यता रहँदैन ।’

काठमाडौंको गैरीगाउँ, तीनकुनेस्थित कलेजले बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धनमा बिबिए, बिएस्सी आइटी, बिएचएम जस्ता शैक्षिक कार्यक्रममा पठनपाठन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?