+
+

मोरङमा प्रहरीकै हतियार लुट्ने समूह पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०८० भदौ २४ गते १८:१४

२४ भदौ, विराटनगर । प्रहरीकै हतियार लुटपाट गर्ने ७ जना मोरङमा पक्राउ परेका छन् । मोरङ र सुनसरीको विभिन्न ठाउँमा हतियार देखाएर लुटपाट गर्ने गिरोहले २२ भदौमा प्रहरीकै हतियार लुटेपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहबी-१ का ३० वर्षीय मोहम्मद अलिम मुर्तुजा, मोरङ बुढीगंगा गाउँपालिका-४ का ४० वर्षीय रिजवन मिया, बुढीगंगा-५ कै २१ वर्षीय मोहम्मद नजरूल मिया, २५ वर्षीय सिजाम आलम र भारत घर भई सुनसरी दुहबी नगरपालिका- ६ बस्ने ४० वर्षीय महम्मद आलम छन् । अर्का एक जना बालक भएकाले प्रहरीले नाम खुलाएको छैन ।

उनीहरुले मोरङ र सुनसरीमा रातको समयमा यात्रा गर्नेहरुलाई हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीमा उजुरी परेको थियो । यो समूहले लुटपाट गरेको भन्दै ५ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो । तर २२ भदौमा बुढीगंगा-४ पेठियामा यही समूहले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोसेर लगेपछि चलाइएको कारबाहीमा ६ जना पक्राउ परेका हुन् ।

ड्युटीमा रहेका सादा पोशाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई त्यस दिन चार जनाको समूहले आक्रमण गरी हतियार लुटेर लगेको थियो ।

अनुसन्धानका क्रममा लुटपाट भएको पेस्तोलसहित गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार लुटपाट गर्ने गिरोहको नाइके रिजवान हुन् । उनी २०६४ सालदेखि २०७९ सालसम्म १० वटा अपराधिक घटनामा संलग्न भएको प्रहरीको दाबी छ । उनी विरुद्ध मोरङ र सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

रिजवानविरुद्ध डाका ज्यान, चोरी, हातहतियार खरखजाना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा थिए । हातहतियार मुद्धामा केही समय उनी  पुर्पक्षको लागि कारागार समेत बसेका थिए ।

पछिल्लो समय भने उनी नयाँ समूह बनाएर रातको समयमा मोरङ र सुनसरीको विभिन्न स्थानमा लुटपाटमा संलग्न थिए । प्रहरीका अनुसार यो समूह राति ११ बजेदेखि विहान ३ बजेसम्म लुटपाट र चोरीमा सक्रिय भएको देखिन्छ ।

भदौ २ गतेदेखि २२ गतेसम्म यो समूहले मोरङको विराटनगर, झोराहाट, बेलेपुर, ग्रामथान गिधनिया, तेतरीया, बेलबारीलगायतका स्थानमा १५ वटा लुटपाटका घटना गराएको थियो । त्यस्तै सुनसरीको दुहबी, बर्जु, गढीलगायतका स्थानमा लुटपाट गरेको थियो ।

‘सेरा ब्राभो हन्ट अप्रेशन’

सुनसरीको धरान-इटहरी सडक खण्डको सेउती पुलमा गत साउन ५ गते विराटनगरका रोहित चौधरीको गोली हानी हत्या भयो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या आरोपी खोज्ने क्रममा मोरङ र सुनसरीको उत्तरी क्षेत्रमा लुटपाट गर्ने गिरोहलाई नियन्त्रणमा लिएको थियो ।

गत साउन १९ गते गिरोहका सदस्यहरु पक्राउ परेपनि लुटपाटको उजुरी भने रोकिएन । उत्तरी क्षेत्रबाट लुटपाटको उजुरी नआए पनि पूर्वपश्चिम राजमार्गबाट दक्षिणी ग्रामीण क्षेत्रबाट लुटपाट भएको उजुरी आइरह्यो । यसरी आउने उजुरीहरु मिल्दोजुल्दो थियो । दुवै क्षेत्रको घटनाको प्याटर्न उस्तै भएपनि कनेक्सन खुलिनसकेको डीएसपी दाहालले बताए ।

सुनसरी र मोरङका सडकमा लुटपाटको उजुरी आएपछि प्रहरीले ‘सेरा ब्राभो हन्ट’ अपरेसन चलायो । सोही अपरेसनका क्रममा प्रहरीले २२ भदौको राति गिरोहका सदस्यलाई पक्राउ गरेको थियो । यो समूहले रातको समयमा बाटो छेकेर हतियार देखाएर लुटपाट गर्दै आएको थियो । प्रतिकार गरेको अवस्थामा कुटपिट पनि गर्ने गरेको थियो ।

भदौ २२ गते राति साढे ११ बजे बुढीगंगा गाउँपालिका-५ बाट कोयलपुर क्षेत्रमा पैदल हिंडिरहेका ३ जना व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको गुनासो आएपछि प्रहरी टोली घटनास्थल तर्फ गएको थियो।

सो क्रममा राति करिब १२ बजे कोयलपुर क्षेत्रको नहरमा बसेको समूहलाई पक्राउ गरेको थियो । सोही दिन दुई जना सादा पोशाकका प्रहरीमाथि कुटपिट गरी हतियार खोसेर लगेका थिए ।

आरोपी पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले सो समूहको साथबाट कटुवा पेस्तोल, प्रहरीबाट लुटेको चाइनिज पेस्तोल पनि बरामद गरेको थियो ।

दुई वटा पेस्तोल, तीन वटा रड, चक्कु, पेचकस, दुई वटा मोटरसाइकल, एक लाख ७५ हजार नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय नगद र लुटेको १६ वटा फोन बरामद गरेको थियो ।

पक्राउ परेकाहरुमाथि डाका मुद्दा र संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?