+
+
सन्दर्भ : बुवाको मुख हेर्ने दिन :

बुवालाई के दिने उपहार ? उपयोगी हुनसक्छन् यी ७ पुस्तक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १४:३२

त्यसो त यो डिजिटल युगमा पुस्तक कसरी उपयोगी उपहार हुनसक्छ ? तपाईंलाई यस्तो पनि लाग्नसक्छ । यद्यपि पुस्तकको आफ्नै महिमा र मूल्य छ । पुस्तक पढ्नुको खास आनन्द छ ।

कति बुवा यस्ता हुन्छन्, जो पढ्नमा हुरुक्कै हुन्छन् । त्यसो भए बुवालाई उपहारमा कस्तो पुस्तक उपयोगी हुन्छ त ?

यसको  एउटै जवाफ नहुन सक्छ । किनभने पुस्तकको विधा अनुसार पढ्ने मान्छेको रुची फरक फरक हुन्छ । यद्यपि केही यस्ता पुस्तक छन्, जो बुवाका लागि अर्थपूर्ण र उपयोगी उपहार हुनसक्छ । चाहे त्यो श्रीमद्भागवत गीता होस् वा कर्णाली ब्लुज नै । यहाँ त्यस्तै पुस्तकहरुको सूची समावेश छ ।

कर्णाली ब्लुज

‘जतिबेला मसँग बुवा हुनुहुन्थ्यो, त्यसबेला मैले बुवालाई चिनिन । जतिबेला मैले बुवालाई चिनें, त्यसबेला मसँग बुवा हुनुहुन्थ्यो ।’

यो मर्मस्पर्शी पंक्तिबाटै थाहा हुन्छ, कर्णाली ब्लुज छोरा र बुवाबीचको कथा हो । उपन्यासले छोराको आँखाबाट देखिने बुवाको विविध रुप र आयमलाई मिहिन रुपमा समेटेको छ । यसको कथा एकदमै सरल, सरस र हृदयस्पर्शी छ ।

बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’ उत्कृष्ण उपहार हुनसक्छ, बुवाका लागि । फाइन प्रिन्टले प्रकासन गरेको यो पुस्तक अंग्रेजी भाषामा पनि पढ्न पाइन्छ ।

तपाईंका लागि योग

राजु अधिकारीले लेखेको पुस्तक ‘तपाईंका लागि योग’ उपयोगी उपहार हुनसक्छ, बुवाका लागि । यो पुस्तकले योगको महिमा मात्र गाएको छैन त्यसका विधि र अभ्यासहरु पनि सिकाएका छन् । कुन अवस्थामा कस्तो योग गर्ने, कसरी गर्ने, कसले गर्ने ? विस्तारमा लेखिएको छ । साथसाथै योगका फाइदा वेफाइदा पनि उल्लेख छ ।

यो पुस्तकले योग अभ्यासका लागि प्रेरित गर्नका साथै मार्गदर्शन पनि गर्न सक्छ ।

मैले देखेको नेपाल

इतिहासका कुरा, भूगोलका कुरा निकै चाखलाग्दा हुन्छन् । साथसाथै यस्ता कुराहरु जानकारीमुलुक र उपयोगी पनि हुन्छ । कुनैबेला नेपाल कस्तो थियो ? जनजीवन कस्तो थियो ? उनीहरुको रहनसहन कस्तो थियो ? के खान्थे ? कस्तो लगाउँथे ? यावत् उत्सुकता मेट्न यो पुस्तक उपयोगी हुनसक्छ ।

सन् १९६३ देखि १९७८ को अवधिमा नेपालका विभिन्न भागको भ्रमण गरी त्यहाँको सामाजिक, सांस्कृतिक अवलोकन गरेर गुरुङले यो पुस्तक तयार गरेका थिए ।

यदि तपाईंका बुवा इतिहास, भूगोलका विषयमा रुची राख्छन् भने हर्क गुरुङको पुस्तक ‘मैले देखेको नेपाल’ उपयोगी हुनसक्छ ।

हामी आमाबुवा

बालबच्चा कसरी हुर्काउने, बालबच्चासँग कस्तो व्यवहार गर्ने जस्ता सही ढंगले बालबच्चा हुर्काउनका लागि यो एउटा सहयोगी र उपयोगी पुस्तक हुनसक्छ । बालबच्चाको मनोविज्ञान र उनीहरुलाई हुर्काउने कला यस पुस्तकमा छ । एकदमै सरल ढंगले लेखिएको पुस्तक जो–कोहिका लागि उपयोगी हुनसक्छ । यद्यपि, किशोर चरणका छोराछोरी छन् भने उनीहरुले आफ्ना बुवाका लागि यो पुस्तक उपहारमा दिन सक्छन् । भारितय शिक्षाशास्त्री गिजुभाइले लेखेको यो पुस्तक नेपालीमा अनुवाद छ ।

श्रीमद्भागवत गीता

अध्यात्ममा रुची हुनेहरुलाई मात्र होइन, जीवन र जगतलाई बुझ्न चाहनेहरुका लागि पनि उपयोगी पुस्तक हो, श्रीमद्भागवत गीता ।

पूर्विय दर्शनको सर्वोच्व ग्रन्थ मानिएको यो पुस्तकले जीवन र जगतको विराट पाटोलाई समेटेको छ । पुस्तकले कुनैपनि दुःख, अप्ठ्यारा एवं प्रतिकुलताहरुमा पनि कसरी जीवनप्रति आशावादी भइरहने भन्ने कुरा बुझाउँछ । सांसरिक जीवनमा आइपर्ने अनेक उतारचढावको सही व्यवस्थापन गर्न सिकाउँछ ।

श्रीमद्भागवत गीता धेरै भाषामा अनुवाद छ । कतिपयमा यसको अपव्याख्या पनि भएको हुनसक्छ । त्यसैलै सही ढंगले अनुवाद वा व्याख्या गरिएको पुस्तक छनौट गर्नुपर्छ ।

चिना हराएको मान्छे

हास्य अभिनेता हरिवंश आचार्यको चर्चित पुस्तक हो, चिना हराएको मान्छे । हुन त यो पुस्तक उनको जीवन भोगाईको एउटा दस्तावेज हो । यद्यपि यसलाई निकै रमाइलो ढंगले लेखिएको छ र पुस्तक एकदमै मनोरञ्जनात्मक छ ।

त्यससँगै पुस्तकले कठोर संघर्ष र त्यसपछि प्राप्त हुने लोभलाग्दो उपलब्धीको कथा भन्छ । बुवाका लागि यो पुस्तक राम्रो उपहार हुनसक्छ ।

विनोद चौधरी, आत्मकथा

नेपाली अर्बपति विनोद चौधरीको आत्मकथा पनि पठनिय पुस्तकहरुमध्येमा पर्छ । यो पुस्तक खासगरी उनको जीवन भोगाईसँग सम्बन्धित छ । आफ्नो बुवाले सुरुको गरेको सानो व्यवसायलाई फैलाउँदै उनले कसरी चौधरी ग्रुपलाई यो अग्लाईसम्म ल्याइपु¥याए भन्ने कुरा पुस्तकमा छ ।

पुस्तकमा उनका बाल्यकालदेखि आजको अवस्थासम्म गरेका महत्वपूर्ण उपब्धी मात्र समेटिएका छैनन्, त्यसका लागि उनले गरेका संघर्ष, छिचोलेका अप्ठ्याराहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?