+

औषधिले पनि मोटोपन घटाउन सम्भव छ ?

२०८० भदौ  २७ गते १२:३४ २०८० भदौ २७ गते १२:३४
औषधिले पनि मोटोपन घटाउन सम्भव छ ?

गत जून महिनामा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा मोटोपनको समस्या समाधान गर्ने एक सुरुवाती योजना अर्थात् पाइलट प्रोजेक्टको घोषणा गरे । देशमा मोटोपनको दर घटाउन अत्याधुनिक औषधिको प्रयोगले ठूलो सफलता हासिल गर्न सकिने उनको भनाइ थियो ।

पाइलट स्किमको घोषणामा भिगोभी र ओजेम्पिक पनि प्रयोग गरिने उल्लेख गरिएको थियो । यीमध्ये एउटा औषधिको माग अहिले अन्तर्राष्ट्रिय बजारमा बढिरहेको छ । उक्त औषधि एक हलिउड स्टारले प्रयोग गरी मोटोपन घटाउँदैछन् भनेर सामाजिक सञ्जालमा धेरै अड्कलबाजी भइरहेको छ ? तर यो सबैको लागि उपयुक्त नहुन पनि सक्छ ।

मोटोपन एक विश्वव्यापी समस्या

मोटोपनको समस्या विश्वव्यापी रहेको डा. दिशा नारङ बताउँछिन् । सन् २०३० सम्ममा अमेरिकामा करिब १३ करोड मानिस मोटोपनको समस्याबाट पीडित हुनेछन् ।

अमेरिकाको नर्थ वेस्टर्न वेकफोरेस्ट अस्पतालकी ओबेसिटी मेडिसिन विभागकी डा. नारङ भन्छिन्, ‘अहिले मोटोपन घटाउन ओजेम्पिक नामक औषधि चल्तीमा छ, जसको माग विश्वव्यापी रुपमा छ । केही समयअघि यो औषधि विशेषगरी मधुमेहको उपचारमा प्रयोग गरिन्थ्यो । जुन जीएलपी-१ एगोनिस्टको वर्गमा आउँछ ।’

जीएलपी-१ शरीरभित्र पाउने एक हार्मोन हो, जसको प्रयोगले हार्मोनले राम्रोसँग काम गर्न सक्ने उनको भनाइ छ । यो उपचारले शरीरमा ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्नुका साथै वजन घटाउन सक्छ ।

डा.  नारङ भन्छिन्, ‘वजन घटाउन मद्दत गर्ने देखिएकोले यो औषधि केही वर्षयता निकै चर्चामा छ । टाइप २ मधुमेहका साथै भोक जगाउने हार्मोनलाई समेत नियन्त्रित गर्छ, जसले गर्दा बारम्बार केही खाने इच्छा कम हुन्छ ।’

अमेरिकामा उत्पादित औषधिलाई स्वीकृति

यी दुवै औषधि सेमाग्लुटाइड हो जसको प्रयोग टाइप २ मधुमेहको उपचारमा एकै किसिमको काम गर्छ । नारङका अनुसार यी औषधिले तुरुन्त चार-पाँच केजी तौल घटाउने होइन । कैयौं मानिस लामो समयसम्म मोटोपन कम गर्न संघर्ष गरिरहेका हुन्छन् । कैयौं पटक तौल घटेर पनि केही समयपछि पुनः बढ्छ ।

अमेरिकास्थित औषधि तथा खाद्यान्न नियन्त्रण सम्बन्धी संस्थाले जुन २०२१ मा भिगोभीलाई मोटोपनको उपचारको लागि स्वीकृति दिएको थियो । अन्य रोगजस्तै यसको उपचारमा पनि लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । अमेरिकामा यो औषधि पाउनका लागि केही मापदण्ड तोकिएको छ । जसको बडी मास इन्डेक्स (बीएमआई) कम्तीमा २७  र मोटोपनका कारण हुने कुनै पनि रोग छ भने यो औषधि दिइन्छ ।

उदाहरणका लागि  मधुमेह, हृदयरोग वा उच्च रक्तचाप समस्या भएको वा कुनै रोग नभएको तर बीएमआई ३० भन्दा बढी छ भने औषधि दिइन्छ ।

औषधिको मूल्य र डोज

यो औषधि हप्तामा एउटा सुई लगाउनुपर्छ । एक महिनामा मात्र चारवटा इन्जेक्सन लाग्छ, जसको लागत १३ सय डलर छ । दोस्रो समस्या यसको उपलब्धता पनि हो ।

एक-दुई वर्षयता यो औषधिको माग निकै बढेको डा. नारङले बताइन् । यसको एउटा कारण सामाजिक सञ्जालमा भएको चर्चा पनि हो । माग धेरै छ र आपूर्ति धेरै कम ।

औषधि अभावका कारण मधुमेह र मोटोपनका बिरामीलाई समयमै औषधि पाउन समस्या भइरहेको डा. दिशा नारङ बताउँछन् ।

जीवनभरको लागि औषधि

मोटोपन कम गर्न औषधिको प्रयोग कुनै नौलो कुरा होइन । यसअघि पनि केही औषधि आइसकेका छन् । पेन्सिलभेनिया विश्वविद्यालयको पेरेलम्यान मेडिकल कलेजका क्लिनिकल सेवाका निर्देशक डा. जेन्ना ट्रोनेरी तौल घटाउने सबैभन्दा पुरानो औषधि फेनटरमाइन सन् १९५९ मा अमेरिकामा स्वीकृत भएको बताउँछिन् । आज पनि फेनटरमाइन तौल घटाउने अन्य औषधिसँग मिसाएर प्रयोग हुने गरेको छ । यसले भोक कम गर्न मद्दत गर्छ, जसले गर्दा मोटोपनमा कमी आउँछ ।

जेन्ना अगाडि भन्छिन्,  ‘अर्को औषधि ‘वोर्लिसट्याट’ हो । यसले शरीरमा बोसो जम्मा हुनबाट रोक्छ । यसले खानाको माध्यमबाट शरीरमा पुग्ने क्यालोरीको मात्रा कम गर्छ । जबकि अन्य औषधिहरूले शरीरमा भोक लाग्ने हार्मोनलाई नियन्त्रण गरेर तौल घटाउने काम गर्छ ।

‘छोटो अवधिमै तौल घट्छ भन्ने जस्ता सामाजिक सञ्जालमा प्रचार देख्न र सुन्न सकिन्छ । यस्ता जानकारी गलत रहेको जेन्ना बताउँछिन् । ‘जब औषधि लिइन्छ तौल घट्छ तर औषधि लिन छाडेपछि तौल फेरि बढ्न थाल्छ,’ उनी भन्छिन् ।

यी औषधिको सेवनले पेटमा ग्यास भरिने र वाकवाकी जस्ता समस्या आउन सक्छ । त्यसैले यो समस्याको उत्तम समाधान नहुने जेन्ना बताउँछिन् ।

सेमाग्लुटाइड’ आशालाग्दो औषधि

मोटोपनको समाधानमा अहिलेसम्म खासै सफलता नपाएको स्वीट्जरल्याण्डको बायोटेक्नोलोजी कम्पनीका कार्यकारी र्निदेशक इराकल थेराप्युटिक्स बताउँछन् । उनका अनुसार सेमाग्लुटाइडले केही आशा भने पक्कै जगाएको छ । ‘यद्यपि यो मोटोपनको समस्याको समाधान होइन । योसँगै अन्य उपाय पनि खोज्नुपर्छ,’ उनी भन्छन्, ‘हाल यो औषधि इन्जेक्सनको रुपमा लिइन्छ । हरेक हप्ता इन्जेक्सन लिनु सबैको पहुँचमा नहुन सक्छ । यो औषधि ट्याब्लेटको रूपमा ल्याउन आवश्यक छ । ’

अन्य दीर्घरोगको औषधि ट्याब्लेटको रुपमा उपलब्ध रहेको जस्तै मोटोपन घटाउन प्रयोग हुने औषधि चक्की वा क्याप्सुलको रुपमा पनि उपलब्ध हुने जोस जोर्डीले विश्वास व्यक्त गरेका छन् ।

कहिले ट्याब्लेको रुपमा आउँछ ?

कम्पनीले मोटोपन घटाउने औषधि ट्याब्लेटको रुपमा छिट्टै बनाउने जोस जोर्डी बताउँछन् । हाल मोटोपन कम गर्न प्रयोग गरिने औषधि सेमाग्लुटाइड ओजेम्पिक र भिगोभी ब्रान्ड नाममा बिक्री भइरहेको छ । जोस जोर्डीका अनुसार अब अन्य कम्पनीहरु पनि यो दौडमा सामेल भएका छन् । ‘इलाय लिली’ले मोटोपन विरुद्धको औषधि पनि विकास गर्दैछ र उनीहरूले प्रस्तुत गरेको तथ्यांक कै उत्साहजनक देखिन्छ ।

इलाय लिलीको औषधि ६ महिनाभित्र बजारमा आउने र भिगोभीलाई चुनौती दिने अनुमान गरिएको छ । जोस जोर्डीका अनुसार यस्ता औषधि प्रेसक्रिप्सनबिना बेच्नु हुँदैन ।

उनी भन्छन्, ‘यो औषधि कडाइका साथ नियन्त्रण गर्नुपर्छ । जथाभावी प्रयोग गर्दा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।’

बीबीसी हिन्दीबाट अनुदित

‍औषधि मोटोपन स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय