‘पाँच वर्षमुनि र १३ वर्षमाथिका बालबालिकामा बढी ब्लड क्यान्सर देखिन्छ’ (भिडियो )

नेपालमा कति बालबालिका क्यान्सरको जोखिममा छन् ? तथ्यांक पाउन सकिदैन । यद्यपि चिकित्सकहरुका अनुसार ब्लड क्यान्सरका कारण अस्पताल पुग्ने बालबालिकाको संख्या बढ्दो छ ।
खासमा बालबालिकालाई के कारणले ब्लड क्यान्सर हुन्छ ? यसको लक्षण के हुन्छ ? कुन अवस्थामा यसको उपचार संभव हुन्छ ? यावत् विषयमा हेमाटोलोजिस्ट–अंकलोजिस्ट डा. ऋतु लामिछानेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी ।
बालबालिकामा ब्लड क्यान्सर बढ्दो अवस्थामा छ भनिन्छ । बढ्दो, घट्दो वा स्थिर अवस्थामा छ ? यसबारे कुनै तथ्याङ्क छ ?
बालबालिकामा देखिने क्यान्सरमध्ये सबैभन्दा धेरै देखिने ब्लड क्यान्सर हो । तर, ब्लड क्यान्सर भएको बालबालिकाको संख्या यति नै छ भन्ने यकिन तथ्याकं भने छैन । बर्सेनि १ हजार देखी १५ सय वटा बालबालिकाको क्यान्सर मध्ये ४० देखि ५० प्रतिशत ब्लड क्यान्सरको पाइन्छ ।
कुन उमेर समूहमा ब्लड क्यान्सर बढी देखिन्छ ?
जुनसुकै उमेर समूहका बालबालिकामा ब्लड क्यान्सर देखिन्छ । तर, सामान्यतया पाँच वर्ष भन्दा कम उमेरमा बालबालिका र १३ वर्ष भन्दा माथिका बालबालिकामा यो समस्या बढी मात्रामा देखिन्छ ।
ब्लड क्यान्सरको कुनै लक्षण वा संकेत हुन्छ, जुन बालबालिकामा देखिन्छ ?
कारण पत्ता नलाग्ने गरी लामो समयसम्म ज्वरो आउने, जोर्नी सुन्निने एवं दुख्ने, पेट फुल्ने वा साह्रो हुने, बच्चा अचानक दुब्लो हुँदै जाने, शरीरमा निलो दागहरू देखिने, शरीरका विभिन्न भाग अर्थात् घाँटी, काखी वा अन्य भागमा गाँठो आउने, रक्त अल्पता हुने, चोटपटक बिना गिजा वा नाकबाट रगत बग्ने आदि ब्लड क्यान्सरको लक्षणहरू हुन् ।
बालबालिकामा ब्लड क्यान्सर के कारणले हुन्छ ?
बालबालिकामा यही कारणले ब्लड क्यान्सर हुन्छ भन्ने कुरा ठ्याक्कै त छैन । तर, क्यान्सर हुने मुख्य कारण जिनमा परिवर्तन हो । ब्लड क्यान्सर हुने रक्त कोशिकाको अनियन्त्रित विकास भएर हो ।
केही प्रतिशतमा वंशाणुगत कारणले यो समस्या देखा पर्न सक्छ । साथै डाउन सिन्ड्रोम भएका बालबालिकामा पनि ब्लड क्यान्सरको जोखिम हुन्छ ।
गर्भावस्थामा यदि आमाले चिकित्सकको सल्लाहबिना जथाभाबी औषधि सेवन गर्छिन् भने पनि बच्चामा जोखिम हुन्छ । यदि कोही गर्भवती महिला कुनै केमिकल फ्याक्ट्रीमा काम गर्छिन् वा विकिरण आउने ठाउँमा काम गर्छिन् भने पनि बच्चालाई जोखिम हुन्छ ।
ब्लड क्यान्सर हुनुमा बच्चाको रोग प्रतिरोधी क्षमताको भूमिका हुन्छ भनेको पनि सुनिन्छ, यसमा कति सत्यता छ ?
ब्लड क्यान्सर हुनुमा बच्चाको रोग प्रतिरोधी क्षमताको भूमिका हुन्छ भन्ने कुराको वैज्ञानिक आधार छैन । त्यसैले यो एउटा भ्रम मात्र हो । क्यान्सर भएपछि बरु बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता एकदमै कमजोर हुन्छ ।
ब्लड क्यान्सरको उपचार के छ ?
ब्लड क्यान्सरको प्रमुख उपचार किमोथरापी हो । साथै टारगेटेड थेरापी, इमेनो थेरापी र कुनै केसमा बोन म्यारो ट्रान्सप्लान्ट लगायत विधिबाट ब्लड क्यान्सरको उपचार हुन्छ ।
सही समयमा उपचार सुरु गरेमा बालबालिकामा हुने रक्त क्यान्सरको प्रकृति हेरेर पूर्ण रूपमा निको समेत हुन्छन् ।
के नेपालमा यसको सम्पूर्ण उपचार सम्भव छ ?
प्राय सबै क्यान्सरको सम्पूर्ण उपचार अहिले नेपालमा नै सम्भव छ । उपचारमा नयाँ नयाँ प्रविधिहरू पनि भित्री रहेका छन् ।
ब्लड क्यान्सर भएका बालबालिका उपचारपछि सामान्य जीवनमा फर्कने अवस्था कति हुन्छ ?
८० देखी ९० प्रतिशत ब्लड क्यान्सर भएका बालबालिका उपचारपछि सामान्य जीवनमा फर्कन सक्छन् । समयमै पत्ता लाग्यो भने पूर्ण रूपमा निको हुने सम्भावना बढी हुन्छ । तर, ढिलो पत्ता लाग्यो भने निको हुने सम्भावना कम हुन्छ र जोखिम पनि बढ्छ ।
ब्लड क्यान्सर हुनै नदिन के गर्ने ?
जुनसुकै रोगमा पनि खानपानको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले क्यान्सरको जोखिमबाट बचाउन बालबालिकाको खानपानमा ध्यान दिनुपर्छ । साथै कीटनाशक औषधि र विभिन्न प्रकारको विकिरणबाट बालबालिकालाई जोगाइयो भने जोखिम कम गर्न सकिन्छ ।
क्यान्सरको जोखिमबाट बच्न सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको समयमा रोग पत्ता लगाउनु हो । त्यसको लागि जनचेतना फैलाउनु जरुरी छ ।
प्रतिक्रिया 4