+
+

संसद भवन निर्माणमै चरम ढिलाइ, निरीह सिंहदरबार

तेस्रोपटक थपिंदैछ ठेक्काको म्याद, निर्माण सकिने मिति अनिश्चित

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असोज १७ गते २३:५९

१७ असोज, काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको संघीय संसद भवन निर्माणको काममा चरम ढिलासुस्ती भएको छ ।

ठेकेदार कम्पनी ‘तुँदी सेक ज्वाइन्ट भेन्चर’ले काम सक्न थप एक वर्ष समय मागेपछि सरकार रनभुल्लमा परेको छ । यद्यपि ठेकेदारको माग अनुसार तेस्रो पटक म्याद थप गर्नु सरकारको बाध्यता छ ।

संघीय संसद सचिवालयले संसदको आगामी हिँउदे अधिवेशनका लागि भवन तयार गरेर दिन सरकारलाई ध्यानाकर्षण गराइरहेका छन् । मंगलबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आयोजनास्थलको अवलोकन गरेर हिउँदे अधिवेशन चलाउने गरी काम सक्न निर्देशन दिएको शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जन बताउँछन् ।

‘उहाँहरुले हिउँदे अधिवेशन यहीँ बस्छ भन्ने कुरा सम्झाएर जानुभएको छ’, उनले भने, ‘हामीले त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ठेकेदारलाई झकझाउने प्रतिवद्धता जनाएका छौं ।’

गत १८ जेठमा सभामुख देवराज घिमिरेले पनि नयाँ संसद भवनको निर्माणस्थल पुगेर निर्धारित समयभित्र काम सक्न आग्रह गरेका थिए ।

ठेकेदारअघि निरीह सरकार

संघीय संसद भवनको १ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्यास गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो । कोराना महामारीको समयमा काम रोकिएपछि निर्माण व्यवसायीले थप ६ महिनाको समय पाएको थियो । त्यस अनुसार उसले ३० चैत २०७९ मा काम सक्नुपर्ने थियो । तर गत वैशाखमा फेरि ६ महिना म्याद थप गर्दै आउँदो २८ असोजभित्र काम सक्नुपर्ने गरी समय दिइएको थियो । तर, दोस्रो पटक थपिएको समयमा पनि ठेकेदारले काम नसक्ने निश्चित छ ।

ठेकेदार कम्पनीले तेस्रो पटक थप एक वर्षको समय मागिसकेको आयोजना निर्देशक महर्जनले जानकारी दिए । ‘ठेकेदारले वैशाखमै डेढ वर्षको समय मागेको थियो, हामीले रातिसमेत काम हुने गरी ६ महिना म्याद थप गरेका थियौं’, महर्जनले भने,‘ ठेकेदारले प्रयास त गर्‍यो, तर नतिजा आएन ।’

संसदीय अनुगमनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगी कहिले काम सकिन्छ भन्नेबारे ठेकेकदार र आयोजनाका अधिकारीले आत्वविश्वासका साथ जवाफ नदिएको बताउँछिन् । ‘अझै ६ महिना म्याद थपियो भने सकिन्छ भनेर उहाँहरुले विश्वस्त बनाउनुभएन’, डाँगीले भनिन् ।

शहरी विकासमन्त्री सीता गुरुङ यही असोज महिनाभित्र भवनको बाहिरी संरचनाको काम सक्ने ठेकेदारको प्रतिवद्धता पनि पूरा नहुने देखिएको बताउँछिन् । ‘ध्यानाकर्षण गराउँदा गराउँदै पनि आशालाग्दो तबरले काम हुन सकेको छैन’, उनले भनिन्, ‘पहिलेको प्रतिवद्धताअनुसार काम भएको पाएनौं ।’

ठेकेदारले एक वर्षको समय मागेपछि आयोजनाले भरपर्दाे कारण पेश गर्न भनेको छ । ठेकेदारले दिने आधारहरुमा टेकेर तेस्रो पटक म्याद थपबारे निर्णय हुने आयोजना निर्देशक महर्जनले बताए ।

सिंहदरबारभित्रै काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई दण्डित गर्न सक्ने अवस्था नरहेको शहरी विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘कारवाही गर्न ठेक्का तोड्नुपर्छ, ठेक्का तोडे फेरि नयाँ ठेक्कामा जाने अर्को झञ्झटमा फस्नुपर्छ’, शहरी विकास मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आयोजनामा सुस्त भएपनि निरन्तर काम भइरहेकाले एक–दुई वर्ष ढिला हुँदा नै ठेक्का तोड्ने गल्ती गर्नुहुन्न ।’

आयोजनाका अनुसार संसद भवनका धेरैजसो ठूला काम पूरा भएका छन् । अहिले केही भवनको छाना छाउने काम भइरहेको छ । प्रतिनिधिसभाको बैठक बस्ने भवनको काम अन्तिम चरणमा पुगेको छ, तर राष्ट्रिय सभा भवन र साझा लविको भागमा छाना छाउनेसहितका काम बाँकी छन् ।

झ्याल–ढोका हाल्ने, फ्लोरिङ, पेन्टिङ र फिनिसिङको काम पनि बाँकी छ । भवनको प्रांगणमा बगैँचा निर्माण पनि भएको छैन ।

संघीय संसदको आफ्नै बैठकस्थल नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर बैठक सञ्चालन हुँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा देखि नै सम्मेलन केन्द्र संसद भवनको रुपमा चिनिँदै आएको छ । सम्मेलन केन्द्रलाई सरकारले भाडावापत वर्षमा १५ करोड रुपैयाँ तिर्दै आएको छ ।

हाल निर्माण भइरहेको संघीय संसद भवनमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक हल बन्दैछ । सभाहलमा ४०० र बालकोनीमा ३०० सिट क्षमता हुनेछ । यस्तै राष्ट्रियसभा बैठकका लागि हलमा ९० र बालकोनीमा २०० गरी २९० सिट क्षमताको हल तयार हुनेछ ।

करिब ३५० सिट अट्ने साझा लवि हुनेछ । १० राजनीतिक दलका लागि कार्यालय र बैठक कक्ष बनाइँदैछ । प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिंदैछ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हल पनि हुनेछ । पुस्तकालय र क्यान्टिनसमेत तयार हुँदैछ ।

प्रेस तथा छपाइको कामका लागि छुट्टै भवन, सुरक्षाकर्मी भवन र ७ सयवटा सवारीसाधन पार्किङ गर्न मिल्ने पूर्वाधार पनि बन्दैछ । परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र पनि तयार हुनेछ ।

सजावटको काम पनि बाँकी

तर, निर्माणको काम नसकिएका कारण साजसज्जाको काम अघि बढ्न सकेको छैन । भवनभित्रको डिजाइन तथा सजावटका लागि २ अर्ब ३४ करोड ५४ लाख ९० हजार रुपैयाँको ठेक्का लगाएको छ । केसी÷श्याम सुन्दर÷बानियाँ जेभीले संसद भवनको इन्टेरियरको ठेक्का पाएपनि भवनहरु तयार नहुँदा यो काम सुरु गर्न सकेको छैन ।

यो कम्पनीले कन्फ्रेन्स र सेक्युरिटी सिस्टमको कामको समेत ठेक्का पाएको छ । कम्पनीले भवनभित्रको सजावटका काम, टेबल, कुर्सी, सोफासहितका फर्निचर तथा अडियो÷भिडियो र सेक्युरिटी सिस्टम जोड्ने छ ।

यो काम सकिएपछि सिंहदरबारभित्रै संसदको भवन बैठक बस्न योग्य हुनेछ । ‘फर्निचर र सोफा बनाउने काम ठेकेदार कम्पनीले सुरु गरिसकेको छ’, आयोजना निर्देशक महर्जन भन्छन्, ‘भवन निर्माण सकेर रंग लगाएपछि मात्रै इन्टेरियरको काम सुरु हुन्छ ।’

प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति दीपकबहादुर सिंह संसद भवनको काम सक्न अझै २–३ पटक म्याद थप्ने खालको नियत देखिएको बताउँछन् । ‘समितिले यस्तो कुरा स्वीकार्दैन’, उनले भने, ‘सहरी विकास मन्त्रीज्यूले पनि यसलाई मानेर बस्ने अवस्था हामीले देखेका छैनौं ।’

 

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?