+

कस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ ?

२०८० असोज  २१ गते १७:४३ २०८० असोज २१ गते १७:४३
Shares
कस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ ?

काठमाडौं । बोनम्यारो अर्थात् चलनचल्तीको भाषामा यसलाई रगत मासी भनिन्छ । बोनम्यारोको काम शरीरभित्र खासगरी रातो र सेतो रक्तकोष निर्माण गर्नु हो । रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोष अर्थात् डब्लुबीसीले रोगप्रतिरोधात्मक क्षमतामा काम गर्छ ।

प्लेटलेटले रगत बग्न रोक्ने काम गर्छ । त्यस्तै रोगसँग लड्न इम्युनिटी अर्थात् इम्युनिग्लोबिन तत्व निर्माण गर्ने कोषिका पनि यही बोनम्यारोबाट बन्ने गर्छ । यसबाहेक अन्य रोग विभिन्न कोषिका पनि यही बोनम्यारोबाट निर्माण हुने गर्छ ।

बोनम्यारो र यसको प्रत्यारोपणका विषयमा वरिष्ठ बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट एवं बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. सुधीर सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश :

बोनम्यारो प्रत्यारोपण कसरी गरिन्छ ?

साधारण भाषामा शरीरमा भएको अस्वस्थ बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया भन्ने बुझिन्छ । यदि शरीरमा भएको बोन म्यारो अस्वस्थ वा त्यसमा केही समस्या देखिएमा नयाँ प्रत्यारोपण गर्नुपर्ने हुन्छ । आजभोलि यसलाई ब्लड एण्ड म्यारो ट्रान्सप्लान्ट वा स्टेमसेल ट्रान्सप्लान्ट पनि भनिन्छ । यसको प्रमुख उद्देश्य बढिरहेको कोषिकालाई बोनम्यारोमा राख्नु हो ।

बोनम्यारो प्रत्यारोपण धेरै तरिकाबाट गर्न सकिन्छ । पहिलो व्यक्ति स्वयंको शरीरको अन्य भागको कोषिका प्रयोग गरेर गर्न सकिन्छ । जसलाई अटोलोगस रगत ट्रान्सफ्युजन भनिन्छ । यदि यो सम्भव नभएमा परिवारको सदस्यबाट स्टेमसेल लिइन्छ । जस्तै दाजुभाइ, दिदीबाहिनी, आमाबुवा र एकदम नजिकका नातेदारबाट लिने गरिन्छ । अम्बिलिकल कर्ट अर्थात् नाभी । बच्चाहरु जन्मिने बित्तिकै उसको नाभीबाट जुन अम्बिलिकल कर्ट हुन्छ, त्यसलाई जोगाएर राख्न सकिन्छ । यदि त्यो जोगाएर राखेको छ भने त्यसमा एचएलए मिलाउन सकिन्छ । यसबाट पनि भएन वा स्टेमसेल चिन्दै नचिनेको मान्छेहरुको पनि प्रयोग गरिन्छ ।

बोनम्यारो प्रत्यारोपण गर्नुअघि के कुरामा ध्यान दिनुपर्छ ?

ब्लड ग्रुपजस्तै बोनम्यारोको एचएलए टाइपिङ हुन्छ । बोनम्यारो प्रत्यारोपणको लागि एचएलए मिल्नुपर्ने हुन्छ । यो दुई प्रकारले मिलाइन्छ, पूरा र आधा । यदि एचएलए पूरै मिलेको छ भने १०-१० भन्ने गरिन्छ र एचएलए १० भन्दा कम मिलेको छ भने त्यसलाई आधा मिलेको मानिन्छ ।

कहिलेकाहीं एचएलए पूरा म्याच नभए खण्डमा हाफ म्याच भएको छ भने पनि प्रत्यारोपण गर्ने गरिन्छ । तर फुल म्याचमा समस्या आउने सम्भावना कम हुन्छ भने हाफ म्याचमा पुन: प्रत्यारोपण पनि गर्नुपर्ने हुन सक्छ ।

कसरी जोगाउन सकिन्छ बोनम्यारो ?

कुनै बालबालिकालाई क्यान्सर रोग लागेको छ भने त्यसलाई निको पार्न कडा खालको किमोथेरापी वा रेडियोथेरापी चलाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा बोनम्यारोको जुन स्टेमसेल हुन्छ, त्यो पहिल्यै निकालेर सुरक्षित तरिकाले फ्रिज गरेर राख्न सकिन्छ । त्यसपछि क्यान्सरको उपचारको क्रममा गरिने किमोथेरापी वा रेडियोथेरापी गरिसकेपछि निकालेर स्टेमसेल पुन: राखिन्छ । यसले कडा खालको औषधिको साइड इफेक्ट जोगाउन मद्दत गर्छ ।

बोनम्यारो प्रत्यारोपण कस्तो अवस्थामा गर्नुपर्ने हुन्छ ?

खासगरी बोनम्यारो प्रत्यारोपन दुई कारणले गर्नुपर्ने हुन सक्छ, क्यान्सररोग र अन्य रोग । रक्त क्यान्सरका बिरामी, जसमा क्यान्सर बल्झिएको छ र उपचार गरिरहँदा पनि शरीरमा क्यान्सरका कोषिकाहरु कम नभएमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

त्यस्तै थालासेमिया वंशाणुगत (जस्तै, आमाबाबुबाट बच्चाहरूलाई जीनमार्फत सर्ने) रोग लागेमा, वंशाणुगतकै कारण बोनम्यारो फेल भएको अवस्थामा पनि बोनम्यारो प्रत्यारोपण गर्नुको विकल्प हुँदैन ।

त्यस्तै रोगप्रतिरोधात्मक क्षमता कम भएर बारम्बार संक्रमण भइरहने, बारम्बार निमोनिया हुने, सानो घाउचोट पनि चाँडै निको नहुने समस्या भएका बालबालिकामा पनि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

बोनम्यारो प्रत्यारोपण गर्न कति खर्च लाग्छ ?

बोनम्यारो प्रत्यारोपणका लागि भारतमा लगभग ४० देखि ५० लाख खर्च हुन्छ । नेपालमा भने करिब २० लाख रुपैयाँमा गर्न सकिन्छ ।

प्रत्यारोपण गरिसकेपछि पूर्ण रुपमा निको हुन्छ ?

यदि एचएलए १०-१० म्याच भएको छ भने उनीहरुमा निको हुने सम्भावना ९० प्रतिशत हुन्छ । तर एचएलए हाफ म्याच अर्थात् ५०–६० प्रतिशत मिलेमा निको हुने सम्भावना ५० देखि ८० प्रतिशत मात्रै हुन्छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि अन्य अंग प्रत्यारोपण जस्तै जीवनभर औषधि सेवन गरिरहनुपर्दैन ।

डा. सुधीर सापकोटा बोनम्यारो बोनम्यारो प्रत्यारोपण
डा. सुधीर सापकोटा
लेखक
डा. सुधीर सापकोटा
वरिष्ठ बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२८६ एमबीबीएस, एमडी (बालरोग), फेलोसिप (हेमाटोलोजी-ओन्कोलोजी), हड्डी मज्जा प्रत्यारोपण र सेलुलर थेरापीमा फेलोसिप हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?