+

के हुन्छ जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ

२०८० कात्तिक  ८ गते १२:०७ २०८० कात्तिक ८ गते १२:०७
के हुन्छ जब एकसाथ चुरोट र रक्सी सेवन गरिन्छ

अक्सर कतिपयलाई रक्सी पिएपछि चुरोटको तलतल लाग्छ । उनीहरु भनिरहेका हुन्छन्, ‘अरुबेला त चुरोट तान्न मन लाग्दैन तर रक्सीसँग भने जसरी पनि चाहिन्छ ।’

के हुन्छ जब एकसाथ रक्सी र चुरोट सेवन गरिन्छ ? चिकित्सकहरु चेतावनी दिन्छन्, ‘त्यसले स्वस्थ्यलाई दोब्बर बढी जोखिममा पार्छ ।’

हालैको एक अध्ययनले पनि यही भन्छ । युरोपियन हार्ट म्यागेजिनमा प्रकासित अनुसन्धान अनुसार चुरोट र मदिरा एकसाथ सेवन गर्दा मुटुमा गंभिर असर पर्छ । यसले मुटुको धमनीलाई कडा बनाउँछ र हृदयघातको खतरालाई बढाइदिन्छ ।

शोधकर्ताहरूले सन् २००४ देखि २००८ सम्मको ५ वर्षको अवधिमा १,२६६ किशोर किशोरीहरूमा यो अध्ययन गरेका थिए ।

त्यसो त स्वास्थ्यका लागि मदिरा जति हानिकारक छ, उत्तिनै बढी खतरनाक मानिन्छ चुरोटलाई पनि । चुरोट तानेपछि शरीरका यस्ता अंग बाँकी रहँदैन, जसलाई हानि नपुगेको होस् । फोक्सो, मुटुदेखि रक्तनलीसम्म यसका कणहरु मिसिन पुग्छन् ।

मदिरा र रक्सी एकसाथ पिउँदा घाँटी र अन्ननलीको क्यान्सरसमेत हुने जोखिम रहेको जनरल फिजिशियन डा. प्रशान्त त्रिपाठी बताउँछन् । ‘यी दुई चिज एकसाथ खाँदा मात पनि दोब्बर लाग्छ’ उनी भन्छन्, ‘हानि पनि उत्तिकै गर्छ ।’

चुरोट र रक्सी सँगै खाँदा चुरोटमा भएका रसायनहरू घाँटीमा रहँदा रक्सीले  घुल्छ र  यसले घाँटीको संवेदनशील तन्तुहरूमा कार्सिनोजेन्स फसाउन सक्छ । जसले गर्दा घाँटी र अन्न नलीको क्यान्सरको जोखिम बढाउन सक्ने त्रिपाठीले बताए ।

उनी भन्छन् ‘रक्सीले कलेजो , मुटुमा र चुरोटले फोक्सोलाई प्रत्यक्ष असर गर्ने नै भयो साथै यिनीहरुको सेवनले शरीरको हरेक अंगमा रक्सी असर गर्छ ।’

एक अध्ययनले देखाएको छ कि यदि कसैले धेरै रक्सी पिएर चुरोट पिएमा यसको ह्याङओभर पनि बढी समयसम्म रहन्छ ।

स्प्रिट, अल्कोहल र रक्सीमा प्रयोग भएको मुख्य इथानो आदि रक्सीको सेवनपछि पेटमा जान्छ । त्यो पेट र सानो आन्द्राबाट एकदमै चाँडो सोसिन्छ, पानीसँग छिटो घुल्छ र शरीरको हरेक भागमा पुग्छ । शरीरको हरेक अंगमा यसले असर गर्छ । दिमाग, मुटुदेखि हातखुट्टा सबैतिर यसले असर गर्ने वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा बताउँछन् ।

झा भन्छन् ‘चुरोटको धुवाँबाट पाँच हजार भन्दा बढी रसायन उत्पादन हुन्छ । त्यो रसायन धुवाँमार्फत फोक्सो हुँदै रगतको माध्यमले शरीरको विभिन्न भागमा फैलिन्छ । मस्तिष्क, स्पाइनल कर्ड, नसामा पनि पुग्छ र असर गर्छ ।’

पेट तथा कलेजो रोग सर्जन डा.रमेश सिंह भण्डारी भन्छन् ‘कलेजो त्यस्तो अङ्ग हो, जुन खराब भए पनि फेरि पुनरुत्पादन हुनसक्छ । तर मदिराले  कलेजोको पुनरुत्पादन गर्ने क्षमता कमजोर बनाइदिन्छ । एसिडलाई कुनै चीजमा फाल्यो भने जल्दै जान्छ त्यस्तो मदिराले कलेजोलाई त्यही बनाउँछ । मदिराले कलेजोमा बोसो जमाउने गर्छ । बोसो बढ्दै गएपछि पछि कलेजोमा सिरोसिस रोग लाग्छ ।’

त्यस्तै, चुरोटको धुवाँमा शरीरलाई हानी गर्ने एक हजार भन्दा बढी रसायन हुन्छ । यी रसायनहरू सँगै चुरोट बल्दा धुलोका कण, निकोटिन, कार्बोनमोनोअक्साइड र सल्फरडाइअक्साइड जस्ता हानिकारक ग्यास पनि निस्किन्छन् । चुरोट पिउने मान्छेले चुरोट तान्दा यी सबै कुरा श्वास नली हुँदै फोक्सोसम्म पुग्ने र फोक्सोमा असर गर्ने छाती रोग विशेषज्ञ राजु पंगेनी बताउँछन् ।

चुरोट र रक्सी दुवैमा शरीरलाई हानी गर्ने विभिन्न रसायनहरू हुन्छ । यी दुईको रसायन एक अर्कामा मिसिएपछि त्यसले शरीरलाई झन् धेरै असर गर्ने जनरल फिजिसियन डा. त्रिपाठी बताउँछन् ।

चुरोट र रक्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय