+
+

पुतली बाजे : जो भन्थे- मेरो देशै नेपाल, मेरो लास सेतीमा जलाइदिनू

विकास रोकामगर विकास रोकामगर
२०८० कात्तिक १८ गते १९:४३

पोखरा । वास्तविक नाम कोलिन स्मिथ भए पनि पुतली बाजेकै नामले परिचित उनको शनिबार बिहान उपचारकै क्रममा पोखरामा निधन भएको छ । अस्वस्थताका कारण ८८ वर्षीय पुतलीबाजे दुई महिनादेखि हरियोखर्क अस्पतालमा उपचाररत् थिए ।

पुतलीबाजेको सोमबारमात्रै अन्त्येष्टि गरिने उनी निकट सुनिल उलकले जानकारी दिए । ‘त्यतिञ्जेलसम्म उहाँको शव अस्पतालमै राखिने भएको छ,’ उनले भने । उनको अन्त्येष्टि सोमबार १० बजे नदीपुरमा गरिनेछ ।

पोखराका मेयर धनराज आचार्य पर्यावरण त्यसमा पनि पुतलीको अध्ययन र खोजमा विशेष योगदान रहेको बताउँछन् । उनले पुतलीबाजेको अन्त्येष्टिका लागि आइतबार मात्रै विस्तृत जानकारी दिइने बताए ।

को हुन् स्मिथ ?

सेतो छाला, सेतै कपाल, सदाबहार सेतो पाइन्टसँग आकाशे निलो रङ सर्ट अनि शिरबाट कहिल्यै नहटेको ढाकाटोपी । यो थियो, बेलायती नागरिक कोलिन स्मिथको ‘नेपाली हुलिया ।’

२०२२ सालमा युनाइटेड मिसनमार्फत शिक्षणका लागि स्मिथ नेपाल आएका थिए । उनले सुरुमा पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालय (हालको गण्डकी बोर्डिङ स्कुल)बाट अध्यापन सुरु गरेका थिए । नेपाली आदर्श स्कुलमा पढाउँदा पढाउँदै उनलाई धर्म प्रचार गर्न पनि दबाब दिइएको थियो ।

तर उनले मानेनन् । ‘मैले यस्तो काम गर्न सक्दिनँ भनेपछि मलाई उतै (स्वदेश) फर्काइयो,’ स्मिथले भनेका थिए, ‘त्यसपछि फेरि नेपाल बोलाइयो । तर मलाई पोखरा होइन, पढाउन गोरखा पठाइयो ।’

गोरखाको अमरज्योति माविमा पढाउँदा उनका दुई मेधावी विद्यार्थी थिए, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपालकै प्रख्यात चिकित्सक उपेन्द्र देवकोटा । दुवैलाई उनले कक्षा ९ मा पढाएका थिए ।

‘उहाँ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो । समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चहार्नुहुन्थ्यो,’ पूर्वप्रधानमन्त्री भट्टराईले स्मिथलाई सामाजिक सञ्जालमार्फत स्मरण गरेका छन्, ‘कहिलेकाहीं त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि ‘ऊ..ऊ..पुतली’ भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो । हामी केटाकेटी मज्जाले हाँस्थ्यौं ।’

स्मिथ जति पुतली मन पराउँथे, त्यति नै मन पराउँथे पुतली पनि । त्यसैले कालान्तरमा उनी वास्तविक नामले भन्दा बढी पुतली बाजेको नामले चिनिए, लामो संघर्षपछि मानार्थ नेपाली नागरिकता पाए ।

पोखरा सराङकोट नजिकै बस्दै आएका उनी प्रायः जिल्ला प्रशासन कार्यालयमा भेटिन्थे । ‘जीवन त नेपालमै बिताइयो, नागरिकता पाइयो भने नेपाली भएर मरिन्थ्यो,’ प्रष्ट नेपालीमै उनी भन्थे, ‘म क्रिश्चियन हुँ । तर मेरो लास सेतीमा जलाइदिनू है ।’

सन् १९९० देखि नेपाली नागरिकताका लागि प्रशासन धाउन थालेका उनले सन् २०१९ डिसेम्बर २ मा बल्ल मानार्थ नेपाली नागरिकता पाएका थिए ।

स्मिथ कसरी बने पुतली बाजे ?

अहिले पनि उनको वास्तविक नामबाट कमैले चिन्छन् । तर पुतलीको जाति-प्रजातिको खोज अनुसन्धान गर्दागर्दै यो उपनाम पाए, पुतली बाजे । कालान्तरमा धेरैले चिन्ने र सम्झिने नाम पनि यही बन्न पुग्यो ।

खासमा उनलाई ‘पुतली बाजे’ भनिनु पनि उनको पुतलीप्रतिको मोह भएर नै हो । पुतली बाजेले आफू सानो हुँदा काका पुतलीको खोज र अनुसन्धानमा लागेको देखेर रुचि जागेको बताएका थिए । पुतलीकै खोजमा नेपालका ४० भन्दा बढी जिल्ला पुगेको उनी सुनाउँथे ।

‘पुतलीको खोज र अनुसन्धानमै लागेपछि मैले पढाउनै छोडें र मन लगाएर पुतली खोज्नतिर लागें,’ उनले भनेका थिए, ‘मलाई त पुतलीको फोटो खिच्न पनि मन पर्छ ।’

नेपालमा पाइने ६६० प्रजातिबारे नेपालीभन्दा उनी नै बढी जानकार थिए । लोपोन्मुख अवस्थामा रहेका विभिन्न जाति-प्रजातिका पुतली तथा झ्याउँकिरीबारे अध्ययन गर्नै उनले जीवन लगाए ।

नेपालका ४० जिल्ला घुमेर उनले २५ हजारभन्दा बढी पुतली संकलन गरेका थिए । जसको प्रमाण पीएन क्याम्पस, प्राकृतिक विज्ञान संग्रहालय स्वयम्भू र काठमाडौं विश्वविद्यालयमा रहेको पुतली संग्रहालयमा अहिले पनि देख्न सकिन्छ ।

उनले संग्रहित गरेका पुतली पृथ्वीनारायण क्याम्पसमा रहेको अन्नपूर्ण म्युजियम अहिले नामले भन्दा पनि ‘पुतली संग्रहालय’को नामले बढी चिनिन्छ । पुतली बाजेले पुतलीबारे दर्जनौं अनुसन्धानात्मक किताब पनि लेखेका छन् । पुतली र झ्याउँकिरीसम्बन्धी उनका ३० भन्दा किताब प्रकाशित छन् । उनको पहिलो कृति ‘बटरफ्लाइज अफ नेपाल इन सेन्ट्रल हिमालय’ सन् १९८९ मा प्रकाशित भएको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?