+
+

मानव कोशिका मानचित्र परियोजना के हो ? किन आवश्यक छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते ६:५४

मानव सभ्यताको सुरुवातदेखि नै दुनियाँलाई बुझ्नका लागि नक्सा बनाउने चलन थियो ।

नदी तथा पहाडदेखि ब्रम्हाण्डसम्मका सटीक तस्वीर उतार्नका लागि वैज्ञानिकहरुले नक्सा बनाउने गर्दथे । तर, पछिल्ला केही दशकदेखि वैज्ञानिकहरुले मानव शरीरको आधारभूत संरचनालाई बुझ्नका लागि समेत नक्शा बनाइरहेका छन् ।

मानव वंशाणु अर्थात् जिनले कसरी काम गर्दछ भन्ने बुझ्नका लागि सन् १९९० देखि ६ देशका वैज्ञानिकहरुले मानव जिनोम परियोजना सुरु गरेका थिए ।

झण्डै १० वर्षमै उनीहरुले मानव शरीरमा जिनको संरचना तथा क्रोमोजोमको नक्सा बनाउन सफल भए ।

यो एक क्रान्तिकारी उपलब्धि थियो । किनकि यसबाट प्राप्त जानकारीलाई विश्वभरको चिकित्सा क्षेत्रमा प्रयोग गर्न लागिएको छ ।

तर जिनोम परियोजना केवल एक सुरुवात मात्र थियो । हामीलाई थाहा छ कि शरीरमा जे पनि हुन्छ त्यो शरीरको कोशिकाको संरचनामा निर्भर हुन्छ ।

यो कसरी बन्दछ र कसरी काम गर्दछ ? विज्ञानका लागि यो एउटा महत्वपूर्ण पहेली रहँदै आएको छ ।

जीवनको सबैभन्दा सानो रुप

मानव कोशिका अर्थात् ह्युमन सेलको नक्सा बनाउनुभन्दा अगाडि कोशिका के हुन् ? भन्ने बुझ्नु पर्दछ ।

अवीव रेगेभ ह्युम सेल एटलस प्रोजेक्टका सह अध्यक्ष हुन् । सन् २०१६ यो मानव कोशिका नक्सा परियोजना सुरुआत भएको हो ।

उनी भन्छन्, ‘कोशिका जिवनको सबैभन्दा सानो स्वरुप हो । यसभित्र हाम्रो जेनेटिक कोड हुन्छ । कोशिकाले उक्त डिएनएलाई सक्रिय बनाएर अणु बनाउनमा मद्दत गर्दछ ।’

हरेक कोशिकाहरुमा फरक किसिमका जिन हुन्छन् जसले उक्त कोशिकाले के गर्नुपर्छ भन्ने बताउँछन् ।

यदि कोशिकाहरुले सही ढंगले काम गरे भने मात्रै हामी स्वस्थ रहन्छौं । तर यदि ती जिनले कोशिकाहरुलाई गलत निर्देशन दिन थालेभने यसले गलत तरिकाले काम गर्न थाल्दछ र हामी बिरामी पछौं ।

उदाहरणको रुपमा एउटा यस्तो कोशिका छ, जसबाट सिस्टिक फाइब्रोसिस हुन्छ । यो एक वंशाणुगत रोग हो । यसबाट फोक्सो तथा पाचन तन्त्रमा समस्या पैदा हुन्छ ।

जुन जिनका कारण यो रोग हुन्छ त्यसको पहिचान ३० वर्षअघि नै गरिएको थियो । तर यो जिनले गलत निर्देशन दिंदा कुन कोशिकाले रही ढंगले काम गर्न सक्दैन भन्ने कुरा पत्ता लागेको थिएन ।

अन्ततः सन् २०१८ मा अत्याधुनिक प्रविधिको सहयोगमा अवीव रेगेभ सहितका वैज्ञानिकहरुले उक्त विशेष कोशिका पत्ता लगाए ।

उक्त कोशिकाले गलत तरिकाले काम गर्दा फोक्सोमा पिप जम्न सुरु गर्दछ, जसबाट ब्याक्टेरिया उत्पन्न र रोग फैलिन्छ ।
अवीवका अनुसार हरेक कोशिकालाई विस्तृतमा बुझियो भने हाम्रो मानव सरीर बारेको बुझाइ झनै गहन बन्दछ ।

ह्युम सेल एटलस

सेरा टाइकमन यो परियोजनाकी सह संस्थापक हुन् ।

उनी भन्छिन्, ‘हाम्रो मानव सरीरमा रहेका सबै कोशिकाहरुको एक नक्सा बनाउनु आवश्यक छ ताकि हामीले शरीरलाई राम्रो ढंगले बुझ्न सकियोस् । यसले हामीलाई रोगहरुको कारण थाहा पाउने र त्यसको उपचारमा समेत मद्दत मिल्दछ । यो हाम्रो स्वास्थ्यका लागि निकै उपयोगी सावित हुन्छ ।

वास्तवमा ह्युमन सेल एटलस एक प्रकारले शरीरको गुगल म्याप जस्तै हो ।

सेराका अनुसार यो थाहा पाइयो भने हामीले तन्तुहरुको बारेमा बुझ्न सक्छौं जसबाट हाम्रो सरीरको अवयवहरु बन्दछ ।

अर्थात् कोशिकाहरुको बारेमा थाहा पाउनाले हाम्रो जीव विज्ञानको बुझाइमा गहन प्रभाव पर्नेछ । यसबाट रोगहरुको उपचारका सम्बन्धमा नयाँ प्रविधि तथा औषधिहरु बनाउनमा समेत सहयोग पुग्दछ ।

अहिले आधुनिक प्रविधिको सहयोगबाट शक्तिशाली सूक्ष्मदर्शक यन्त्र बनिसकेका छन् जसको माध्यमबाट यी कोशिका तथा अणुहरुलाई हेर्न सकिन्छ । ती डेटालाई शक्तिशाली कम्प्युटरको माध्यमबाट प्रोसस गर्न सकिन्छ ।

मानव कोशिका मानचित्र अर्थात् ह्युम सेल एटलसको माध्यमबाट अहिलेसम्म गरिएका कामलाई यसअघि कोभिड नियन्त्रण गर्नमा उपयोग गरिसकिएको छ ।

यसैका माध्यमबाट वैज्ञानिकहरुले कोभिड भाइरस हाम्रो आँखा, नाक र मुखका माध्यमबाट सरीरमा प्रवेश गर्ने कुरा पत्ता लगाएका थिए ।

यही जानकारीबाट सार्वजनिक स्वास्थ्य नीतिहरु प्रभावित भए र यसैको आधारमा मास्क लगाउने निर्देशन विश्वव्यापी बन्यो ।
यो अनुसन्धान एउटा झलक मात्रै हो । यदि हामीसँग मानव सरीरका सबै कोशिकाहरुको नक्सा भयो भने त्यो निकै लाभदायक हुनेछ ।

शक्तिशाली सूक्ष्मदर्शक यन्त्रको माध्यमबाट हामीले हेरेर हामीले हाम्रो शरीर कुन तत्वबाट बनेको छ भन्ने कुरा थाहा पाउन सक्नेछौं । मानव कोशिका मानचित्र परियोजनाको उद्देश्य यही नै हो ।

यो परियोजना अन्तराष्ट्रिय सहयोगमा आधारित छ । यस क्रममा बेहिसाब तरिकाले ठूलो परिमाणमा जानकारीहरु संकलन भैरहेका छन् । जसको आँकलन गर्नु कुनै सानो टिमका लागि मुस्किल हुन्छ । तयसैले यो परियोजनाका लागि विश्वका कैयन् देशका वैज्ञानिकहरु सहभागी हुनु आवश्यक छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?