+

कस्तो अवस्थामा गर्न सकिन्छ गर्भपतन ?

२०८० मंसिर  १ गते १६:४८ २०८० मंसिर १ गते १६:४८
कस्तो अवस्थामा गर्न सकिन्छ गर्भपतन ?

काठमाडौं । हुन त गर्भपतन गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो मानिंदैन । अझ सामाजिक रुपमा त यसलाई राम्रो मान्ने गरेको पाइँदैन । तर कतिपय अवस्थामा पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै पनि अनिच्छित गर्भ बस्न सक्छ । यस्तो बेला गर्भपतन गर्नुको विकल्प हुँदैन ।

निश्चित समयसम्मको गर्भपतन गर्न पाउने अहिले कानुनी व्यवस्था छ ।  भक्तपुर कटुञ्जेस्थित स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सन्ध्या न्यौपाने भन्छिन्,  ‘स्वास्थ्य क्षेत्रको हिसाबमा गर्भपतन गर्न पाउने व्यवस्था महिलाका लागि एक बरदान नै हो । किनकि गर्भपतन गर्न पाउँदा धेरै महिलालाई मृत्युको मुखबाट बचाउन सकिन्छ ।’ तर गर्भपतनलाई परिवार नियोजनको विकल्पका रुपमा भने लिन नहुने उनी बताउँछिन् ।

गर्भपतनका लागि दुईवटा विधि प्रचलनमा छन् । पहिलो, म्यानुअल भ्याकुम एस्पिरेसन (एमभीए) विधिबाट गरिने गर्भपतन र अर्को औषधिबाट ।

कुन अवस्थामा गर्न सकिन्छ गर्भपतन ?

अनिच्छित गर्भ रहन गएमा, गर्भको भ्रूणमा केही समस्या देखिएमा, आमा वा भ्रूणमा शारीरिक वा मानसिक समस्या भएमा, जबरजस्ती करणीबाट गर्भ रहेमा गर्भपतन गर्न सकिन्छ । यस्तो अवस्थामा गर्भवती महिलाको मानसिक सन्तुलन ठीक भएमा १८ वर्ष पार गरेकी युवतीले अरु कसैको मञ्जुरी बिना स्वेच्छाले १२ हप्तासम्मको गर्भपतन गर्न सकिने कानुनी व्यवस्था छ । बच्चाको अवस्था जटिल अवस्था भएमा २८ हप्तासम्मको पनि गर्भपतन गर्न सकिन्छ ।

१२ हप्तासम्म औषधिको प्रयोगले गर्भपतन गर्न सकिन्छ । यसका लागि सूचीकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र परामर्श लिएर औषधिको सेवन गर्न सकिन्छ । १२ हप्ताभन्दा बढी भएमा परिवारको सल्लाह र अनुमति लिएर मात्र गर्भपतन गर्न सकिन्छ । जुन म्यानुअल भ्याकुम एस्पिरेसन (एमभीए) प्रविधिबाट गरिन्छ ।

१८ वर्ष पार नगरेको वा मानसिक अवस्था ठीक नभएको अवस्थाकी गर्भवतीले आफ्नो नजिकको नातेदारको मञ्जुरीमा यो सेवा लिन पाउँछन् । बिना परामर्श अनाधिकृत ठाउँबाट यो औषधि सेवन गर्नु गैरकानुनी मात्र होइन, घातक पनि हुन सक्छ ।

गर्भपतनको औषधि सरकारी स्वास्थ्य संस्था हेल्थपोष्ट, जनस्वास्थ्य केन्द्र र सरकारी अस्पतालमा नि:शुल्क पाइन्छ भने निजी स्वास्थ्य संस्थामा शुल्क तिर्नुपर्छ ।

सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्था तथा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गराउन सकिन्छ । सुरक्षित गर्भपतनको लोगो र प्रमाणपत्र झुण्ड्याएको निजी क्लिनिकमा पनि गराउन सकिन्छ । तर आफूखुसी यत्तिकै औषधि किनेर सेवन गर्न मिल्दैन । यसले ज्यान समेत जान सक्छ ।

तर भ्रूणको लिंग पहिचान गरेर बारम्बार गर्भपतन गर्नु, २८ हप्ता भन्दा बढी कुनै समस्या नभए पनि गर्भपतन गरेमा, गर्भवती महिलाको इच्छाविरुद्ध धाकधम्की दिई गर्भपतन गराएमा यो अपराध ठहरिन्छ ।

गर्भपतन प्रजनन अधिकार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय