+
+

सुत्केरीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते १४:४९

८ मंसिर, काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ । महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो ।

मृतकका भाइ पर्ने मोहम्मद सकिर राइनका अनुसार शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो । वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे पुर्‍याएपछि चिकित्सकले शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत छोरा जन्माएकी तजवुलको आज बिहान रक्तस्राव भएर मृत्यु भएको उनले बताए ।

उनले चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको दाबी गर्दै चिकित्सक फरार भएको आरोप लगाए । घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ ।

यता प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले तजवुलको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरे ।

‘उनलाई कुनै पनि प्राइभेट हस्पिटलले भर्ना नलिएपछि अन्तिम सिकिस्त अवस्थामा प्रादेशिक अस्पतालमा ल्याइयो । हामी सरकारी हस्पिटल त्यस्तो अवस्थामा पन्छिन मिल्दैन । बाहिर रेफर गर्ने अवस्था थिएन ।

उनलाई हेल्थसिन्डोम (चम्की रोग) र जण्डिस रोग थियो’, डा.पण्डितले भने ‘अन्तिम अवस्था रहेको बिरामीलाई हामीले तुरन्तै शल्यक्रिया गरेर हरसम्भव बचाउने प्रयास गर्‍यौं । बच्चा समान्य छन् । तर आज बिहान आमाको मृत्यु भयो’

यस्तो रोग भएको प्रसूति महिलालाई शरीरको जुनसुकै भागबाट रक्तस्राव भई मृत्यु हुने सम्भावना प्रवल हुने उनको तर्क छ ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञसमेत रहेका डा. पण्डिका अनुसार उनको शल्यक्रियामा अनुभवी प्रसूति रोग विशेषज्ञ डा. राजदेव महतोले गरेका थिए । अनुभवी एनेसथेसियालगायतको टीम सरिक थियो ।

‘परिवारले समेत अन्तिम अवस्थामा ल्याएको भनिरहेका छन् । कतै भर्ना नलिएपछि हामीले हरसम्भव बचाउने प्रयास गरेका हौं । कसैले उचालेर हंगामा गर्नुको कुनै अर्थ छैन,’ डा. पण्डित भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?