+
+
अग्रपथ :

‘नागरिक पहिलो’ नभएको लोकतन्त्र के लोकतन्त्र ?

आज नयाँ लोकतान्त्रिक आन्दोलनको सार कथित राजा वा रैती, दलपति वा गुटतन्त्रबाट देशलाई मुक्त गर्नु र नागरिकलाई सबै नीति र अभ्यासको केन्द्रमा ल्याउनु हो । अन्यथा नागरिक हराउनेछन्, लोकतन्त्र हराउने छ । नागरिक पहिलो, सार्वभौम र सर्वोच्च नभएको लोकतन्त्र के लोकतन्त्र ?

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० मंसिर १० गते १९:००

केही उदाहरणबाट विषय उठान गरौं ।

एक- गत महिना संसद्मा सार्वजनिक मर्यादाक्रम विधेयकको चर्चा र विवाद थियो । त्यो कसरी सल्टियो थाहा भएन, आम सरोकारको विषय पनि थिएन । तर, नम्बर १ मा राष्ट्रपति र सायद अन्त्यमा कार्यालय सहयोगीलाई राखे होला । हिजो राजतन्त्रमा ‘श्री ५’ नम्बर १ र कार्यालय सहयोगी अन्त्यमा हुन्थ्यो । यो बहसमा नागरिक खै कहाँ छ ? राज्यको पद नभएको मान्छे खै कहाँ छ ? यदि यो प्रणाली लोकतन्त्र हो भने मर्यादाक्रमको नम्बर १ मा ‘आम नागरिक’ किन नलेख्ने ?

दुई- सिंहदबार प्रवेश गर्न सर्वसाधारण नागरिकलाई प्रवेश पास चाहिन्छ । यदि भित्र चिनचानको मान्छे छैन तर भित्र पस्नुपर्ने काम पर्‍यो भने आम नागरिक कसरी प्रवेश गर्छ ? बरु पञ्चायतकालमा दिउँसो २ बजेपछि सर्वसाधारण सिंहदरबार प्रवेश गर्न पाउँथे । हाकिम, सांसद र मन्त्रीहरूलाई भेट्न सक्थे । काम र गुनासा सुनाउन सक्थे ।

आज लोकतन्त्रमा पनि त्यति सुविधा नागरिकलाई छैन, किन ? खै नागरिक सर्वोच्चता ? सिंहदरबार कसको हो ? नागरिकको कि मन्त्री, सांसद र प्रशासकको ? अमेरिकाको राष्ट्रपति भवन हृवाइट हाउस र ओभल अफिसमा सर्वसाधारण जान मिल्ने सिंहदरबारमा नमिल्ने कस्तो सुरक्षा संवेदनशीलता हो ?

तीन- हामी जब कुनै सभा गर्छौं, सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि भन्दै सम्बोधन गर्छौं । ती सबै कुनै न कुनै राजकीय पदमा भएका व्यक्ति हुन्छन् । अन्तिममा ‘र उपस्थित जनसमुदाय’ भन्छौं । अन्तिममा ‘र’ राखेर सम्बोधन किन ? किन सबैभन्दा पहिले ‘प्रिय सार्वभौम नागरिक’ बाट सम्बोधन सुरुवात नगर्ने ?

हाम्रा यी र यस्ता सयौं प्रचलनभित्र नागरिक खै कहाँ छन् ? लोकतन्त्र खै कहाँ छ ?

लोकतन्त्रको सिद्धान्त जति सुन्दर छ, यसको व्यवहार उत्तिकै जटिल र समस्याग्रस्त छ । भन्नलाई हामी भन्छौं- लोकतन्त्रमा नागरिक सबैभन्दा माथि हुन्छन् । लोकतन्त्र भनेको नागरिक सत्ता हो । नागरिक केन्द्रीयता हो । नागरिक सार्वभौमसत्ता हो ।

तर, के व्यवहारमा त्यसो भएको छ ? के नागरिक साँच्चै राजनीति र राज्यसत्ताको केन्द्रमा छन् ? के प्रशासनिक संयन्त्रमा नागरिक -सेवाग्राही) लाई सबैभन्दा माथि राखेर व्यवहार गरिएको वा सम्मान दिइएको छ ? के अर्थनीति निर्धारण गर्दा सबैभन्दा माथि नागरिक (उपभोक्ता) को हित र अधिकार उच्च प्राथमिकतामा छ ? के भूराजनीतिक विषय निरुपण गर्दा प्रथम दृष्टि नागरिक प्रतिष्ठा र आत्मसम्मानलाई बनाइएको छ ? सायदै छ । यदि छ भने पनि असाध्यै थोरै छ ।

यदि छैन भने खै कहाँ छ लोकतन्त्र ? ‘नागरिक पहिलो’ नभएको लोकतन्त्र पनि कहीं लोकतन्त्र हुन्छ ? त्यो लोकतन्त्र हुँदैन, अर्थोक नै केही हुन्छ । त्यो दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र, परिवारतन्त्र, अल्पतन्त्र, बजारतन्त्र, कर्पोरेटतन्त्र, सिन्डिकेटतन्त्र वा यस्तै केही तन्त्र हुन सक्दछ । तर, लोकतन्त्र हैन ।

जब लोकतन्त्रबाट ‘लोक’ (नागरिक) गायब हुन्छ र ‘तन्त्र’ मात्र बाँकी रहन्छ, त्यस्तो तन्त्रको कुनै अर्थ हुँदैन । आज हाम्रो लोकतन्त्रमा नागरिक हराएका छन् । ‘लोक’ हराएको छ, तन्त्र मात्र बाँकी छ । तसर्थ यो लोकतन्त्र हैन, दलतन्त्र भएको छ । लोकतन्त्र भनेर, बडो ठूलो संघर्ष र बलिदान गरेर ल्याएका थियौं, तर यसले आज दलतन्त्रमा पतन गरेको छ ।

वाद वा विचारधाराका दृष्टिकोणले यहाँ धेरै प्रकारका विचार, सोच वा सिद्धान्त होलान् । तर, मुख्यतः तीन वटा सोच बीचको, तीन वटा तन्त्र बीचको, तीन वटा अभ्यास बीचको संघर्ष निरन्तर जारी देखिन्छ ।

आजको संघर्ष तीन वैचारिक ध्रुव- राजतन्त्र, दलतन्त्र र लोकतन्त्रबीचको हो । पश्चगामीहरूले राजतन्त्रको पैरवी गर्दछन् । त्यो फर्किंदैन, उनीहरूलाई थाहा छ । यो देशमा अब राजतन्त्र कहिल्यै फर्किंदैन भन्ने कुरा सबैभन्दा राम्रो गरी यदि कसैलाई थाहा छ भने राजेन्द्र लिङ्देन, कमल थापा, पशुपतिशमशेर, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई छ

सकिए भनिएका, इतिहासमा दरकिनार गरिए भनिएका, सभ्यताको संग्रहालयमा थन्काइए भनिएका राजावादीहरू घरीघरी हल्ला गर्न आउँछन् र भन्छन्- राजतन्त्र चाहियो । एउटा राजा हटाएर धेरै राजा भए, हामीलाई एउटा राजा भए पुग्छ । तर, उनीहरू यो सोच्दैनन् कि एउटा राजा हुँदा नागरिक कहाँ हुन्छन् ? किन र कसरी गायब हुन्छ नागरिक सर्वोच्चता ? एउटा व्यक्तिको सर्वोच्चता आम नागरिकको सर्वोच्चता त हुन सक्दैन ।

‘राजा’ भन्ने शब्द आफैंमा नराम्रो हैन । राजनीतिशास्त्रमा यसको सरल अर्थ हो- अन्तिम निर्णयाधिकार प्राप्त भएको सार्वभौभ व्यक्ति । अर्थात् राजतन्त्रको सार एक व्यक्ति सार्वभौमसत्ता, एक व्यक्ति सर्वोच्चता हो । एउटा मान्छे सर्वेसर्वा हुने अरू सबै उसका नोकर, दास, रैती वा प्रजा हुने व्यवस्था हो । त्यस्तो प्रणाली कसलाई किन चाहिने हो र ? कम्तीमा नागरिकलाई त त्यो चाहिएकै छैन ।

चाहिए केही दास मनोवृत्तिका मान्छेलाई चाहिएको होला, जसलाई सम्मानित नागरिक हुनुभन्दा रैती हुनुमा गौरव छ । जसलाई स्वयं सार्वभौम हुनुभन्दा कुनै एक व्यक्तिलाई सार्वभौम बनाएर आफूलाई प्रजा बनाउँदा आनन्द आउँछ । त्यस्तो सोचको स्रोत दास-चिन्तन हो । त्यसको अरू कुनै उत्तर, उपाय छैन ।

तर, समस्या कहाँ छ भने हामी राजतन्त्रबाट करिब ७० वर्ष लामो जनसंघर्षबाट निस्किएर ‘दलतन्त्र’ मा फसेका छौं । अहिलेको व्यवस्था र प्रणाली, अभ्यास र प्रचलन लोकतन्त्र हैन, दलतन्त्र हो । यदि लोकतन्त्र हो नै भने पनि सीमित, औपचारिक, कानुनची लोकतन्त्र हो । साँचो, वास्तविक, गहिरो नागरिकतन्त्र हैन ।

राजतन्त्रमा एक व्यक्ति राजा हुन्छ । एक व्यक्ति सार्वभौम हुन्छ । दलतन्त्रमा केही दल र दलपति नयाँ राजा हुन्छन् । केही दर्जन वा सय राजा हुन्छन् । सबै निर्णयाधिकार, राज्यको स्रोतसाधन, अन्तर्राष्ट्रिय सम्पर्क र मानप्रतिष्ठा तिनले कब्जा गर्छन् । नागरिक राजतन्त्रमा पनि नाङ्गै र रित्तै, दलतन्त्रमा पनि नाङ्गै र रित्तै ।

यहाँसम्म कि दलतन्त्रमा दल र दलपतिहरूले ‘यसलाई भोट देऊ, उसलाई भोट नदेऊ’ भनेर हृवीप लगाउँछन् । अनेक प्रकारका गठबन्धन र सिन्डिकेट खडा गरेर स्वतन्त्रतापूर्वक भोट हाल्ने, दल वा उम्मेदवार छनोट गर्ने अधिकार समेत सीमित गर्दछन् । संसद्मा चुनिएर आएका सांसद वा जनप्रतिनिधिहरूको कुनै मौलिक चेतना र सोच हुँदैन । ती हृवीपमा चल्ने नयाँ दास, नयाँ रैती हुन पुग्दछन् ।

दलपतिले जे भन्छ, तिनले त्यही मान्नुपर्छ । चाहे मन परेको होस् वा नहोस् । सांसदहरूको चेतना, मन र दृष्टिकोण अर्कैतिर हुन्छ, आफूलाई मन नपरेको विचार र एजेन्डाको पक्षमा भोट दिनुपर्ने हुन्छ ।

जसरी राजतन्त्रमा एउटा व्यक्ति राजा हुन्छ, उसको वरिपरि उसको परिवार र केही सय भारदार वा दरबारिया हुन्छन्, ठीक त्यसैगरी दलतन्त्रमा हरेक दलपति आफ्नो दलभित्रको राजा हुन्छ, उसको वरिपरि उसको परिवार, गुट र केही हजार कार्यकर्ता हुन्छन् । ‘किचेन क्याबिनेट’ भन्ने एक अघोषित वृत्त वा संस्था हुन्छ त्यहाँ ।

राजतन्त्रमा सय भारदार दरबारियाले देशको सम्पूर्ण निर्णयाधिकार र राज्यको स्रोत-साधन कब्जा गर्छन्, लुट्छन् । जब एउटा राजाको सत्ता जान्छ, ती सबैको ‘लुटतन्त्र’ लुट्ने अवसर समाप्त हुन्छ । तिनैलाई चाहिने हो राजा । वेला न कुवेला ‘राजा, राजा’ भन्दै हल्ला गर्नेहरू तिनै हुन् ।

खासमा तिनलाई राजाको पनि माया हुँदैन । राजाको सत्ता गुम्दा आफ्नो भारदारी गुमेको पीडामा रन्थनिएका मात्रै हुन् ती । आफ्नो लुट्ने अवसर गुमेको गहिरो विशादमा डुबेका मात्र हुन् ती । लुट्ने अवसर नयाँ ढंगले पाइन्छ भने ती कमल थापाले जस्तो सूर्य चिहृनमा चुनाव लड्न समेत राजी हुन्छन् । रवीन्द्र मिश्रले जस्तो ‘वैकल्पिक राजनीति’ को भ्रम छर्दै पनि हिंड्छन्, लाजै विना । राजेन्द्र लिङ्देन जस्तो एमाले र ओलीसँग गठबन्धन/तालमेल बनाउन वा प्रचण्डको सरकारमा मन्त्री खान मरिहत्ते र हतारो गर्छन् । राजाको जयजयकार तिनका लागि आफ्नै स्वार्थको जयजयकार हो ।

ठीक, त्यसैगरी दलतन्त्रमा गुट वा किचेन क्याबिनेटले दलपतिको जयजयकार गर्दछ । दलपतिले जे भन्यो त्यही, जे आदेश निर्देश गर्‍यो त्यही, जे हृवीप लगायो, त्यही मान्ने । किचेन क्याबिनेट वा गुटका सदस्यहरू दलपतिप्रति यति धेरै निष्ठा वा भक्ति देखाउन खोज्छन् कि ती ‘धरहराबाट हाम फाल्ने’ आदेश पर्खिरहेका हुन्छन् । राजतन्त्रका भारदार र दलतन्त्रका गुट-सदस्य उस्तै उस्तै हुन् । तिनको कुनै विवेक हुँदैन, कुनै सार्वभौम सोच वा जीवनदृष्टि हुँदैन ।

दलतन्त्रमा आफ्नो दलपतिको पद, अध्यक्ष, सभापति वा नेतृत्व गुम्यो भने राजतन्त्र ढलेको भारदारको जस्तो तिनको सबै थोक गुम्छ । गुट भत्किन्छ । चुनावका टिकट गुम्छन् । राजनीतिक नियुक्तिको सम्भावना गुम्छ । प्रहरीको सलाम र प्रशासनिक पहुँच गुम्छ । भ्रष्टाचार र कमिसनको स्रोत गुम्दछ । तसर्थ, ती चाहन्छन् कि अरू जेसुकै होस्, आफ्नो दलपतिको पद, अध्यक्ष वा सभापति नगुमोस् ।

यदि गुम्न लाग्यो भने पार्टी फुटाएर भए पनि अर्को गुट बनाउनुपर्छ । दलतन्त्रमा दलहरूको विभाजनको सार यही हो । प्रत्येक एउटा अलिक नाम चले जस्तो नेता, प्रत्येक नेताको एउटा गुट । एउटा नेता एउटा गुट एउटा पार्टी । अलिक नाम चले जस्तो नहुन्जेल त्यो कुनै गुटको कार्यकर्ता भएर बस्छ । जब आफैं दलपति हुन सक्दछु भन्ने लाग्दछ, तुरुन्तै पार्टी फोड्छ र अर्को गुट बनाउँछ । अनावश्यक पार्टीहरूको संख्या बढ्नुको रहस्य यही हो ।

नेपालमा अहिलेसम्म भएको राजतन्त्रबाट दलतन्त्रमा परिणत हो । दलतन्त्रलाई लोकतन्त्र ठानेर हामी भ्रमित छौं । केही मान्छे दलतन्त्रका खराबी देखाएर राजतन्त्र ठीक हो भन्छन् । केही मान्छे राजतन्त्रका खराबी देखाएर दलतन्त्र ठीक हो भन्छन् ।

जसरी राजतन्त्रको एउटा राजाले भारदारहरूको बोझ बोक्छ र दुःख बेसाउँछ त्यसरी नै यी दलतन्त्रका दलपतिहरू गुटको बोझ बोकेर फोकटको दुःख बेसाइरहेका छन् । स्वार्थ त्यही एउटा हो- जयजयकार खाने र आफूलाई कथित रूपमा शक्तिशाली देखाउने । शक्तिको भ्रममा बाँच्ने र जिन्दगी सार्थक भएको ठान्ने । अन्यथा राजा हुनु पनि दुःख बेसाउनु र स्वाभिमान गुमाउनु नै हो

खासमा यो राजतन्त्रका भाइभारदार र दलतन्त्रका गुटीय कार्यकर्ताबीचको स्वार्थको लडाइँ हो । कसले देश लुट्ने, कसले राज्य दोहन गर्ने, कसले निर्णयाधिकार हत्याउने, को सार्वभौम र सर्वोच्च हुने, को सर्वेसर्वा हुने भन्ने स्वार्थको लडाइँ हो । जताबाट नापे पनि यो नागरिक सर्वोर्च्चताको सोच हैन । नागरिक सार्वभौमसत्तालाई हानि पुर्‍याएर आफ्नो महाराज वा दलपतिलाई सार्वभौम बनाउने र त्यसबाट आफ्नो स्वार्थ पूरा गर्ने प्रयास हो ।

राजतन्त्र र दलतन्त्र- यी दुवै तन्त्रमा नागरिक हराएका हुन्छन् । लोक हराएका हुन्छन् । लोकको निर्णयाधिकार हराएको हुन्छ । राजाका भारदारबाट लुटिएका हुन् वा दलपतिका गुट-सदस्यबाट, नागरिक नाङ्गै हुने हुन् । नागरिक भोकै हुने हुन् । नागरिक रोगी नै हुने हुन् । नागरिक बेरोजगारी, गरिबी, महँगीको मारमै पर्ने हुन् । नागरिक आत्मसम्मानका कदम-कदममा ठेस पुग्ने हो । नागरिकतन्त्र हराउने हो । नागरिक सर्वोच्चता खण्डित हुने हो । नागरिक सार्वभौमसत्ता कुण्ठित र सीमित हुने हो ।

ठीक हो, राजतन्त्रमा भन्दा दलतन्त्रमा ‘राजा’ को सङ्ख्या विस्तार हुन्छ । राजतन्त्रमा एउटा राजा, दलतन्त्रमा सय राजा । छोटे राजा त कति कति ! लोकतन्त्र भनेको राजतन्त्र र दलतन्त्रभन्दा यसर्थ फरक हो कि लोकतन्त्रमा हरेक नागरिक ‘राजा’ हुन्छन्, हुन सक्दछन् ।

यसको अर्थ हो कि- प्रत्येक नागरिक सार्वभौम हुन्छ, हुन सक्दछन् । प्रत्येक नागरिकसँग निर्णयाधिकार, स्वाभिमान र समृद्धि हुन सक्दछ । त्यो अहिलेसम्म भएको छैन, किनकि साँचो लोकतन्त्र आएकै छैन । जब लोकतन्त्र आउनेछ, त्यो हुनेछ । जब लोकतन्त्र हुन्छ, नागरिक सर्वोच्चता र कल्याण हुन्छ, हुन्छ । यदि भएको छैन भने लोकतन्त्र छैन । नागरिक केन्द्रीयता छैन । ‘नागरिक पहिलो’ छैनन् ।

तसर्थ, आजको संघर्ष तीन वैचारिक ध्रुव- राजतन्त्र, दलतन्त्र र लोकतन्त्रबीचको हो । पश्चगामीहरूले राजतन्त्रको पैरवी गर्दछन् । त्यो फर्किंदैन, उनीहरूलाई थाहा छ । यो देशमा अब राजतन्त्र कहिल्यै फर्किंदैन भन्ने कुरा सबैभन्दा राम्रो गरी यदि कसैलाई थाहा छ भने राजेन्द्र लिङ्देन, कमल थापा, पशुपतिशमशेर, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई छ ।

तर, आफ्नो स्वार्थपूर्तिका लागि तिनले थाहा पाई-पाईकन पनि ‘राजा राजा’ भनिरहनुपर्दछ । किनकि रैती मानसिकताले मनोवैज्ञानिक रूपमै सही कसै न कसैलाई मनमनै राजाको प्रतिमान बनाएर राखेको हुन्छ । त्यसो गर्दा ऊ सुरक्षित महसुस गर्दछ । कसैबाट संरक्षकत्व पाएको महसुस गर्दछ । राजतन्त्रवादी हुनुको मनोवैज्ञानिक अर्थ नै ‘म सक्षम छैन, म सार्वभौम हुन लायक छैन, मलाई कसै न कसैको संरक्षकत्व चाहिन्छ, छत्रछायाँ चाहिन्छ’ भन्ने स्वीकार गर्नु हो ।

एलिक्स डी. टक्भिलका शब्दमा- ‘जब कोही मान्छे भित्र हृदयदेखि नै कसैको दास हुन चाहँदैन, उसलाई संसारको कुनै पनि शक्तिले दास बनाउन सक्दैन । जब दास हुन चाहन्छ, मालिकको प्रतिमान उसले आफैं बनाउँछ, मालिक आफैं जन्माउँछ ।’

यथास्थितिवाद दलतन्त्रको पक्षपोषक भएको छ । उनीहरू अहिले ‘सबै थोक ठीक छ’ भन्छन् । जनतामा असन्तुष्टिको भाष्य कृत्रिम हो भन्छन् । उनीहरूको विचारमा जनता उनीहरूको शासनमा खुसी, सुखी र समृद्ध छन्, चाहे तथ्यले त्यो पुष्टि नगरोस् । हरेकका एउटा एउटा दल छन् । खास ती दल हैनन्, गुट हुन् भन्ने तिनलाई राम्रो थाहा छ । दलतन्त्रले देशमा राम्रो गरिरहेको छैन भन्ने यदि कसैलाई थाहा छ भने सबैभन्दा बढी केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, उपेन्द्र यादव आदिलाई थाहा छ ।

तर, उनीहरू यो सत्य भन्न सक्दैनन् । बोल्न सक्दैनन् । गुटस्वार्थले उनीहरूको वाणी हराएको छ । जिब्रोमा बसेकी सरस्वती सुतेकी छन् । आत्मामा खिया लागेको छ । बुद्धिको बिर्को बन्द छ । भएको अलिअलि शक्ति र हैसियत गुम्ने चिन्ताले ती मनमनै त्रसित छन्, निद्रामा पनि तर्सिने गरी ।

प्रत्येकको एउटा एउटा गुट छ- १०० देखि १००० सम्मको किचेन क्याबिनेट छ । यिनीहरूको धाउन्न तिनै गुट-सदस्यको पालनपोषण गर्नु हो । तिनलाई टिकट दिनु, राजनीतिक नियुक्तिको जोहो मिलाइदिनु, चुनाव जित्ने वातावरण बनाइदिनु, पैसाको जोहो गर्दिनु, राजनीतिबाटै जीविका चल्ने र सामाजिक हैसियत निर्माण हुने वातावरण बनाइदिनु हो ।

जसरी राजतन्त्रको एउटा राजाले भारदारहरूको बोझ बोक्छ र दुःख बेसाउँछ त्यसरी नै यी दलतन्त्रका दलपतिहरू गुटको बोझ बोकेर फोकटको दुःख बेसाइरहेका छन् । स्वार्थ त्यही एउटा हो- जयजयकार खाने र आफूलाई कथित रूपमा शक्तिशाली देखाउने । शक्तिको भ्रममा बाँच्ने र जिन्दगी सार्थक भएको ठान्ने । अन्यथा राजा हुनु पनि दुःख बेसाउनु र स्वाभिमान गुमाउनु नै हो । दलपति हुनु पनि दुःख बेसाउनु र आत्मसम्मानहीन हुनु नै हो । दास वा रैती हुनु, गुट-सदस्य वा करिअरिष्ट कार्यकर्ता हुनु दुःख बेसाउनु मात्रै हैन, त्यो मान्छे हुन अस्वीकार गर्नु हो । सार्वभौम हुन अस्वीकार गर्नु हो ।

सार्वभौम नागरिक हुनुभन्दा ठूलो सुख र सन्तुष्टि संसारमा अरू केही हुँदैन । र जो साँचो अर्थमा सार्वभौम नागरिक हो, समान हैसियतको मान्छे हो- जो दास, रैती वा प्रजा हैन, जो दलपतिको गुट-सदस्य वा करिअरिष्ट कार्यकर्ता अर्थात् आधुनिक दास, रैती वा प्रजा हैन, तिनीहरूको विचार, सोच र आन्दोलन हो- लोकतन्त्र, नागरिकतन्त्र ।

र, आज कथित राजावादी आन्दोलन र दलपतिहरूको गुटतन्त्री शासनसत्ताको चपेटामा लोकतन्त्र ओझेलमा परेको छ । लोकतन्त्रको आन्दोलनलाई नयाँ ढंगले उडाउन, नयाँ प्रकारले विकसित गर्न जरूरी भइसकेको छ ।

आज नयाँ लोकतान्त्रिक आन्दोलनको सार कथित राजा वा रैती, दलपति वा गुटतन्त्रबाट देशलाई मुक्त गर्नु र नागरिकलाई सबै नीति र अभ्यासको केन्द्रमा ल्याउनु हो । अन्यथा नागरिक हराउनेछन् । लोकतन्त्र हराउने छ । नागरिक पहिलो, सार्वभौम र सर्वोच्च नभएको लोकतन्त्र के लोकतन्त्र ?

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?