+

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

२०८० मंसिर  १० गते १७:१० २०८० मंसिर १० गते १७:१०
यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

दम्पतीको सम्बन्धलाई सुमधुर बनाउने र नजिक ल्याउने यौन क्रियाकलापलाई सोच्दा जति सहज लाग्छ, त्यति अभ्यासमा सहज छैन । यसलाई सही ढंगले बुझ्न नसक्दा दम्पतीले यौनसम्पर्कको पूर्ण आनन्द लिन सक्दैनन् ।

सहवासको क्रममा दिमागले आनन्द र चरम आनन्दको बारेमा सोच्छ । यसै दौरानमा धेरैले यहीबारे सोच्छन् र भरपुर आनन्द लिने प्रयासमा हुन्छन् । यौनमा उत्तम अनुभव त्यतिबेला सम्भव जब यौन प्रतिक्रिया चक्रबारे राम्रो ज्ञान हुन्छ ।

चरम आनन्दमा पुग्नु यौनको आनन्द प्राप्ति मानिन्छ । तर यो एकैपटक प्राप्त हुँदैन । यसका लागि यौनमा यौन प्रतिक्रिया चक्रमा हुने चार चरणबारे जान्न जरुरी छ ।

यौन प्रतिक्रिया चक्र

यौनसम्पर्कको क्रममा शारीरिक र भावनात्मक परिवर्तनहरू क्रमशः हुन्छन् अर्थात् दम्पतीहरूलाई बिस्तारै-बिस्तारै चरम सुखको अनुभूति हुन्छ, यो अचानक हुँदैन । यौन क्रियाकलापको यो क्रमलाई यौन प्रतिक्रिया चक्र भनिन्छ ।

प्रत्येक चक्रलाई बुझेर र यस अवधिमा शरीरले कस्तो प्रतिक्रिया दिन्छ भन्ने हेक्का राखेर सम्बन्ध बनाउने हो भने दम्पतीहरूले राम्रोसँग यौनको आनन्द लिन सक्नेछन् । र, यदि यौन दुर्बलताको समस्या छ भने तिनीहरूले पहिचान गरी उपचार गरेर आफ्नो सम्बन्ध सुधार गर्न सक्छन् ।

यौनक्रियाको लागि तयार हुनेदेखि सन्तुष्टि पाउने अवधिबीच हुने गतिविधि नै यौन प्रतिक्रियाको चक्रका चार चरणमा पर्छन् ।

पहिलो चरण : इच्छा

यौनसम्पर्कको आनन्द लिन सबैभन्दा पहिले यौन इच्छा जागृत हुनु आवश्यक हुन्छ । जसलाई यौन इच्छा भनिन्छ । यो केही मिनेटदेखि केही घण्टासम्म रहन सक्छ । यस चरणमा शरीरमा यस्ता परिवर्तनहरू हुन्छन् ।

– मांसपेशीमा तनाव बढ्छ ।

– मुटुको चाल बढदै सास छिटो—छिटो फेर्नु ।

– अनुहारको छाला रातो हुन्छ ।

– निप्पल कडा उम्रनु वा हल्का उठेको देखिनु ।

– यौनाङ्गमा रगतको प्रवाह बढ्दै जाँदा योनीको क्लिटोरिस र ल्याबिया माइनोरा सुन्निने र पुरुषको लिंग कडा हुँदै जान्छ ।

– योनीबाट तरल पदार्थ बग्न सुरु हुन्छ । पुरुषको अण्डकोष फुलेर कसिलो हुन्छ, त्यसपछि त्यहाँबाट तरल पदार्थ निस्कन थाल्छ ।

दोस्रो चरण : उत्तेजना

यौन क्रियाकलापको दोस्रो चरण उत्तेजना हो । उत्तेजना बढेपछि मात्रै मानिस चरम उत्तेजित हुनेतर्फ अघि बढ्छ । पहिलो चरणमा हुने शारीरिक परिवर्तनहरू यो चरणमा झन् तीव्र हुन्छन् ।

– रगतको प्रवाह बढ्नुका कारण योनीको आकार पनि फुल्लिन्छ । महिलाको भगशेष धेरै संवेदनशील हुन्छ र छोएमा दुखाइ हुन सक्छ।

– श्वास, मुटुको धड्कन र रक्तचाप निरन्तर बढिरहन्छ ।

– अनुहार, खुट्टा र हातको मांसपेशीमा क्र्याम्प महसुस हुन थाल्छ ।

तेस्रो चरण : चरम सुख

यो चरण यौन प्रतिक्रिया चक्र चरणको चरमोत्कर्ष हो । यो सबैभन्दा छोटो चरण हो र यो केही सेकेन्ड मात्र रहन्छ ।

– मांसपेशी संकुचन हुन थाल्छ, जसमा स्वनियन्त्रण हुन सक्दैन ।

– अक्सिजन छिटो प्रवाह हुँदा रक्तचाप, मुटुको चाल र श्वासप्रश्वास छिटो गतिमा बढ्छ ।

– महिलामा योनीको मांसपेशीहरू संकुचित हुन्छन् । पुरुषमा लिंगको मांसपेशीहरू क्रमबद्ध संकुचन हुँदै जान्छन् । जसको परिणाम अन्तिममा स्खलन हुन्छ ।

चौथो चरण : सन्तुष्टि

यो अवस्थालाई यौन सन्तुष्टि पनि भन्न सकिन्छ । यौनको आनन्द लिन यौन इच्छा, उत्तेजना हुँदै चरम उत्तेजित भई शरीरले चरम आनन्द महसुस हुन्छ, जसलाई यौन सन्तुष्टि भनिन्छ । जसमा चरमोत्कर्षमा पुगेपछि शरीर पुन: सामान्य रूपरंगमा फर्किन्छ ।

यो समयमा कतिपयले थकानको अनुभव गर्न सक्छन् । कतिपय महिला यस चरणपछि पनि चरम उत्तेजित अनुभव गरी थप यौन क्रियाकलापका लागि तुरुन्तै तयार हुन्छन् । जबकि पुरुषहरू सामान्य अवस्थामा फर्किन र फेरि यौनसम्पर्क गर्न तयार हुन समय लाग्छ । यद्यपि यो पनि उमेर, समयसँगै व्यक्तिपिच्छे फरक हुन सक्छ ।

हरेक व्यक्ति यौन प्रतिक्रिया चक्रमार्फत गुजरिन्छन् ?

यौन प्रतिक्रिया चक्रको सबैको अनुभव समान हुँदैन । उल्लेख गरिएका चरणमध्ये केही परिवर्तनहरू मात्र अनुभव हुन पनि सक्छ । वा, केहीले ती सबै अनुभव गर्न सक्छन् । कतिपय मानिसलाई उत्तेजित भएपछि पनि यौन चाहना महसुस हुन्छ ।

यी चरणहरू पुरुष र महिला दुवैले अनुभव गर्छन् । कतिपय महिलालाई चरम उत्तेजना हुँदैन भने कतिपय उत्तेजित पनि नहुन सक्छ्न । यसको मतलब यो व्यक्तिपिच्छे फरक हुन सक्छ र कुनै पनि चरणको लागि लाग्ने समय समान हुँदैन । प्रत्येक व्यक्तिले यौन आनन्दको लागि यौन अवस्थाको समयमा हुने शारीरिक र मानसिक परिवर्तनहरूलाई ध्यान दिनुपर्छ ।

सन्तुष्टिको समय फरक हुन सक्छ’

महिला र पुरुषको यौन सन्तुष्टिको समय फरक हुन सक्छ । एकै समयमा चरम उत्तेजित अनुभव दुवैले गर्नुपर्छ भन्ने जरुरी पनि हुँदैन । यसबाहेक प्रत्येक चरणमा व्यक्तिले कति चाँडो प्रतिक्रिया दिन्छ भन्ने कुरा पनि सबैको हकमा एकै किसिमको नहुन सक्छ ।

धेरै महिलाहरू यस क्रममा यौन चरणहरू पार नगरेको पनि हुन सक्छ । यौन क्रियाकलापको विभिन्न चरणमा धेरै खालका मनोवैज्ञानिक परिवर्तनहरू हुन्छन् । केही मानिसहरूले यी सबै अनुभव गर्न सक्छन्, कसैले केही मात्रामा त केहीले केही पनि अनुभव नगर्न सक्छन् ।

यौन प्रतिक्रिया चक्र पूरा नभएमा 

यदि चक्र पूरा गर्न चाहेर पनि नसकेको अवस्थामा व्यक्ति निराश हुन सक्छ । साथै, यौनांगमा रगतको प्रवाह बढाउने भएकाले कामोत्तेजनामा पुग्न नसकेमा शरीर भारीपन महसुस हुन सक्छ ।

यौन जीवन सुमधुर बनाउने तरिका

– चाहे त्यो अफिसको होस् वा घरमा हुने तनावपूर्ण कुराबारेमा यौन सम्बन्ध राख्ने समयमा गर्नु हुँदैन ।

– ओछ्यानमा मात्र नभई समय मिल्दा आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न नबिर्सनुहोस् । किनभने रोमान्सले यौन जीवनलाई रोमाञ्चक र जवान राख्छ ।

– समस्या भएमा एकअर्कासँग कुरा गरेर मात्र समाधान हुन्छ । अन्यथा, मौन बस्दा पार्टनरहरू बीच शंका बढ्छ र यौन जीवनलाई असर गर्न सक्छ ।

– आफ्नो पार्टनरलाई यौन क्रियाकलापको क्रममा कुन आसन वा क्रिया मनपर्छ सोध्ने र बताउने गर्नुपर्छ ।

– एउटै कोठामा मात्र यौनक्रिया बोरिङ हुन सक्छ । यसलाई रोमाञ्चक र उत्साहजनक बनाउन राम्रो वातावरण भएको ठाउँ परिवर्तन गर्न सकिन्छ ।

डा. ऋत पौडेल यौन जीवन स्वास्थ्य
डा. ऋत पौडेल
लेखक
डा. ऋत पौडेल
मनोचिकित्सक तथा यौनविद्

डा. पौडेल काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत छन्। उनले मनोचिकित्सामा एमडी र फेलोसिप साइको-सेक्सुअल मेडिसिन मा गरेका छन्। नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९२० हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय