+

बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?

२०८० मंसिर  १२ गते १६:३० २०८० मंसिर १२ गते १६:३०
Shares
बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?

मौसम परिवर्तनसँगै बालबालिका बिरामी हुने सम्भावना धेरै हुन्छ । बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा कमजोर हुने हुनाले बदलिंदो मौसममा संक्रमण हुने जोखिम हुन्छ । त्यसैकारण बालबालिका बिरामी परिरहेका हुन्छन् ।

बच्चालाई ज्वरो, रुघाखोकी जस्ता भाइरल संक्रमणबाट कसरी बचाउने र बिरामी भइहाले कसरी छिटो निको पार्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

बच्चालाई भाइरल संक्रमणबाट बचाउने उपाय

आफ्नो वरपर सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पहिले नै रुघाखोकी लागेकाहरूबाट बच्चालाई टाढा राख्नुपर्छ । यस मौसममा फोहोर वा धेरै चिसो पानी पिउँदा बच्चालाई चिसो लाग्न सक्छ । बच्चाहरूलाई सफा र उमालेको पानी प्रशस्त मात्रामा पिउन दिनुपर्छ । यसले उनीहरूको शरीरको तापक्रम कायम राख्छ र संक्रमणको जोखिम कम गर्छ ।

भाइरल संक्रमणबाट बचाउने सबैभन्दा राम्रो उपाय भनेको बालबालिकाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु हो । यसका लागि उनीहरूको खानपानमा विशेष ध्यान दिनुपर्छ । नवजात शिशुहरूको लागि आमाको दूध र सबै उमेरका बच्चाका लागि प्रशस्त मात्रामा फलफूल र तरकारी उत्तम खाना हो ।

बिरामी बालबालिकाको हेरचाह गर्दा ध्यान दिनुपर्ने कुरा

कति अभिभावक बच्चाको शरीर अलि तातो हुने बित्तिकै औषधि दिने गर्छन् । यसो गर्नु ठीक होइन । बालबालिकालाई अनावश्यक औषधि खुवाउनु स्वास्थ्यका लागि राम्रो होइन । वातावरणका कारण वा निर्मलीकरणका कारण पनि बच्चाको शरीर तातो हुन्छ । त्यसैले थर्मामिटरबाट जाँच गरेर ज्वरो छ कि छैन भनी पुष्टि गरेर मात्र औषधि दिनुपर्छ ।

बच्चालाई ज्वरो आउँदा रुघाखोकी लाग्दा धेरै न्यानो लुगा लगाइदिनुपर्छ भन्ने अभिभावकलाई लाग्छ । तर यो भ्रम मात्र हो । ज्वरो आएको बेला धेरै कपडा लगाइदिंदा बच्चाको शरीर गुम्सिने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्न सक्छ । त्यसैले ज्वरो आएको बेला बच्चालाई ठिक्क न्यानो सुती कपडा लगाउनुपर्छ । यसले बच्चालाई सहज महसुस गराउँछ ।

बच्चालाई ज्वरो आउँदा प्रायः अभिभावक कोठाको पङ्खा र एसी बन्द गरेर हिटर चलाएर कोठालाई गुम्म बनाएर राख्छन् । यसो गर्दा थर्मा रेगुलेसन मेनटेन नभएर बच्चाको ज्वरो झन् बढ्न सक्छ । बच्चालाई चिसोबाट त बचाउनुपर्छ तर धेरै गुम्साएर पनि राख्नु हुँदैन ।

ज्वरो आएमा सबैभन्दा पहिले असर पर्ने कुरा बच्चाको आहार हो । ज्वरोका कारण बच्चाको मुखको स्वाद बिग्रिन्छ । जसले गर्दा उनीहरू खाना खान मान्दैनन् । यदि बच्चाले खाना बन्द गर्छ भने निको हुन लामो समय लाग्न सक्छ । त्यसैले बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्छ । उनीहरूलाई प्रशस्त मात्रामा झोलिलो पदार्थ सुप, दाल, नरिवल पानी खान दिनुपर्छ । बाहिरको प्रशोधित खाना दिनुहुँदैन ।

बच्चालाई रुघाखोकी लागेको बेला मह खान दिने चलन छ । तर दुई वर्ष भन्दा कम उमेरका बच्चालाई मह नखुवाउनु राम्रो हुन्छ । महमा बोटुलिज्म टक्सिन हुन्छ, जसकारण बोटुलिज्म भन्ने समस्या देखा पर्न सक्छ  । त्यसैले दुई वर्ष भन्दा कम उमेरका बच्चामा कुनै समस्या देखा परे अस्पताल नै लैजानु राम्रो हुन्छ ।

दुई वर्षभन्दा माथिका बच्चालाई एक सय डिग्री फरेनहाइटभन्दा माथिको ज्वरो मात्र छ तर अन्य लक्षण छैन भने सिटामोल दिन सकिन्छ । तर दुई वर्ष भन्दा कम उमेरका बालबालिकालाई अस्पताल लगेर चिकित्सकको सल्लाह अनुसार औषधि दिनुपर्छ ।

डा. बाबुराम पाण्डे बालबालिका बालरोग भाइरल संक्रमण
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै