+

बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?

२०८० मंसिर  १२ गते १६:३० २०८० मंसिर १२ गते १६:३०
बदलिंदो मौसममा बच्चालाई भाइरल संक्रमणबाट कसरी बचाउने ?

मौसम परिवर्तनसँगै बालबालिका बिरामी हुने सम्भावना धेरै हुन्छ । बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा कमजोर हुने हुनाले बदलिंदो मौसममा संक्रमण हुने जोखिम हुन्छ । त्यसैकारण बालबालिका बिरामी परिरहेका हुन्छन् ।

बच्चालाई ज्वरो, रुघाखोकी जस्ता भाइरल संक्रमणबाट कसरी बचाउने र बिरामी भइहाले कसरी छिटो निको पार्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

बच्चालाई भाइरल संक्रमणबाट बचाउने उपाय

आफ्नो वरपर सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पहिले नै रुघाखोकी लागेकाहरूबाट बच्चालाई टाढा राख्नुपर्छ । यस मौसममा फोहोर वा धेरै चिसो पानी पिउँदा बच्चालाई चिसो लाग्न सक्छ । बच्चाहरूलाई सफा र उमालेको पानी प्रशस्त मात्रामा पिउन दिनुपर्छ । यसले उनीहरूको शरीरको तापक्रम कायम राख्छ र संक्रमणको जोखिम कम गर्छ ।

भाइरल संक्रमणबाट बचाउने सबैभन्दा राम्रो उपाय भनेको बालबालिकाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु हो । यसका लागि उनीहरूको खानपानमा विशेष ध्यान दिनुपर्छ । नवजात शिशुहरूको लागि आमाको दूध र सबै उमेरका बच्चाका लागि प्रशस्त मात्रामा फलफूल र तरकारी उत्तम खाना हो ।

बिरामी बालबालिकाको हेरचाह गर्दा ध्यान दिनुपर्ने कुरा

कति अभिभावक बच्चाको शरीर अलि तातो हुने बित्तिकै औषधि दिने गर्छन् । यसो गर्नु ठीक होइन । बालबालिकालाई अनावश्यक औषधि खुवाउनु स्वास्थ्यका लागि राम्रो होइन । वातावरणका कारण वा निर्मलीकरणका कारण पनि बच्चाको शरीर तातो हुन्छ । त्यसैले थर्मामिटरबाट जाँच गरेर ज्वरो छ कि छैन भनी पुष्टि गरेर मात्र औषधि दिनुपर्छ ।

बच्चालाई ज्वरो आउँदा रुघाखोकी लाग्दा धेरै न्यानो लुगा लगाइदिनुपर्छ भन्ने अभिभावकलाई लाग्छ । तर यो भ्रम मात्र हो । ज्वरो आएको बेला धेरै कपडा लगाइदिंदा बच्चाको शरीर गुम्सिने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्न सक्छ । त्यसैले ज्वरो आएको बेला बच्चालाई ठिक्क न्यानो सुती कपडा लगाउनुपर्छ । यसले बच्चालाई सहज महसुस गराउँछ ।

बच्चालाई ज्वरो आउँदा प्रायः अभिभावक कोठाको पङ्खा र एसी बन्द गरेर हिटर चलाएर कोठालाई गुम्म बनाएर राख्छन् । यसो गर्दा थर्मा रेगुलेसन मेनटेन नभएर बच्चाको ज्वरो झन् बढ्न सक्छ । बच्चालाई चिसोबाट त बचाउनुपर्छ तर धेरै गुम्साएर पनि राख्नु हुँदैन ।

ज्वरो आएमा सबैभन्दा पहिले असर पर्ने कुरा बच्चाको आहार हो । ज्वरोका कारण बच्चाको मुखको स्वाद बिग्रिन्छ । जसले गर्दा उनीहरू खाना खान मान्दैनन् । यदि बच्चाले खाना बन्द गर्छ भने निको हुन लामो समय लाग्न सक्छ । त्यसैले बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्छ । उनीहरूलाई प्रशस्त मात्रामा झोलिलो पदार्थ सुप, दाल, नरिवल पानी खान दिनुपर्छ । बाहिरको प्रशोधित खाना दिनुहुँदैन ।

बच्चालाई रुघाखोकी लागेको बेला मह खान दिने चलन छ । तर दुई वर्ष भन्दा कम उमेरका बच्चालाई मह नखुवाउनु राम्रो हुन्छ । महमा बोटुलिज्म टक्सिन हुन्छ, जसकारण बोटुलिज्म भन्ने समस्या देखा पर्न सक्छ  । त्यसैले दुई वर्ष भन्दा कम उमेरका बच्चामा कुनै समस्या देखा परे अस्पताल नै लैजानु राम्रो हुन्छ ।

दुई वर्षभन्दा माथिका बच्चालाई एक सय डिग्री फरेनहाइटभन्दा माथिको ज्वरो मात्र छ तर अन्य लक्षण छैन भने सिटामोल दिन सकिन्छ । तर दुई वर्ष भन्दा कम उमेरका बालबालिकालाई अस्पताल लगेर चिकित्सकको सल्लाह अनुसार औषधि दिनुपर्छ ।

डा. बाबुराम पाण्डे बालबालिका बालरोग भाइरल संक्रमण
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २२७७५ अध्ययन : एमबीबीएस, एमडी हाल ललितपुरस्थित किष्ट मेडिकल कजेलमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय