+
+

बाह्य ऋण : लिएको भन्दा तिरेको धेरै

सरकारले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म १५ अर्ब ८५ करोड रुपैयाँ बाह्य ऋण उठायो भने १६ अर्ब १८ करोड रुपैयाँ तिर्‍यो ।

अच्युत पुरी अच्युत पुरी
२०८० मंसिर १२ गते २२:३०

१२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चार महिनामा सरकारले बाह्य ऋण प्राप्त गरेभन्दा धेरै तिर्न खर्च गरेको छ । चार महिनाको अवधिमा सरकारले १५ अर्ब ८५ करोड रुपैयाँ ऋण उठाएको छ भने सावाँ र ब्याज भुक्तानीका लागि १६ अर्ब १८ करोड रुपैयाँ खर्च गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त कार्यालय प्रमुख डिलाराम गिरी नेपालको आन्तरिक कारणले पहिलो चौमासिकमा उल्लेख्य बाह्य ऋण आउन नसकेको बताउँछन् । यो समय नेपालको बजेट प्रणालीमा बढी ठेक्का प्रक्रियाका काम हुन्छन् । बाह्य ऋण धेरैजसो सोधभर्नामा आधारित हुने भएकाले पूँजीगत खर्च नभएसम्म बाह्य ऋण प्राप्ति उल्लेख्य हुन नसक्ने उनले जानकारी दिए ।

‘अहिले बजेटरी सहायताको रकम आइरहेको छ,’ उनले भने, ‘कतिपय रकम आएर कागज प्राप्त नहुँदा रेकर्डमा ढिला देखिने पनि हुन्छ, अर्कोतर्फ सोधभर्नाको रकम खर्च भएपछि आउने हो ।’

सम्झौता भइसकेको सहायता प्राप्त हुन भए पनि खर्च प्रणाली सुस्त हुँदा प्राप्तीमा समस्या भएको उनले बताए । ‘बाह्य ऋण मूलतः परियोजनामा जोडिएर आउने हो, त्यसो हुँदा जतिसक्दो छिटो काम गर्न सक्यो, उति नै छिटो सहायता प्राप्त हुन्छ,’ उनले भने ।

सरकारले पूँजीगत खर्च बढाउन र बजेट खर्च प्रभावकारी बनाउन भन्दै कात्तिक मसान्तसम्म ठेक्का प्रक्रिया पूरा गरी मंसिरदेखि धमाधम काम गर्ने लक्ष्य लिने गरेको छ । कार्यालय प्रमुख गिरीका अनुसार यसबीचमा चाडपर्व समेत पर्ने भएकाले पूँजीगत प्रकृतिको खर्चले गति लिँदैन । सोहीकारण बाह्य ऋण प्राप्ति कमजोर देखिने गर्छ । सरकारले चालु आवमा वैदेशिक ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ लिने लक्ष्य राखेको छ ।

यस अवधिमा आन्तरिक ऋण भने सरकारले आक्रामक रुपमा उठाएको छ । आन्तरिक तथा भन्सार राजस्व लक्ष्य भन्दा निकै कम उठाएको सरकारले साउन–कात्तिकमा मात्र १ खर्ब हाराहारी आन्तरिक ऋण उठाएर खर्च धानिरहेको छ ।

कार्यालयको तथ्यांक अनुसार पछिल्लो चार महिनामा खुद बाह्य ऋण तीन अर्ब रुपैयाँले मात्र बढेको छ । असार २०८० मा ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ रहेको बाह्य ऋण कात्तिक मसान्तमा आइपुग्दा ११ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ मात्र पुगेको छ । बाह्य ऋणको सावाँ भुक्तानी १२ अर्ब ६० करोड रहेका कारण खुद बाह्य ऋण मात्र ३ अर्बले बढेको हो । यसबीचमा खुद आन्तरिक ऋण भने ५४ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । असार मसान्तमा ११ खर्ब २९ अर्ब १० करोड रुपैयाँ रहेको आन्तरिक ऋण कात्तिक मसान्तमा पुग्दा ११ खर्ब ८३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

सरकारले चार महिनाको अवधिमा सावाँ र ब्याज तिर्न १ खर्ब ६१ अर्ब १८ करोड खर्च गरेको छ । यसै अवधिमा आन्तरिक र बाह्य ऋण प्राप्ति १ खर्ब १३ अर्ब १६ करोड रहेको छ । यो अवधिमा आन्तरिक ऋणको सावाँ भुक्तानी ४२ अर्ब ८४ करोड र ब्याज भुक्तानी २२ अर्ब ६१ करोड रुपैयाँ भएको छ । बाह्य ऋणको भुक्तानी १२ अर्ब ६० करोड र ब्याज भुक्तानीमा ३ अर्ब ५८ करोड खर्च भएको कार्यालयको तथ्यांक छ ।

साढे २३ खर्ब पुग्यो सार्वजनिक ऋण

कार्यालयको तथ्यांक अनुसार नेपालको सार्वजनिक ऋणको आँकडाअनुसार नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड पुगेको छ । यो असार मसान्तको तुलनामा ५७ अर्ब ७१ करोड रुपैयाँ धेरै हो । असार मसान्तमा नेपालको कुल सार्वजनिक ऋण ११ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । सार्वजनिक ऋण बढ्नुमा सरकारले सुरुआती महिनाहरुमा लिएको आन्तरिक ऋण मुख्य कारण हो ।

कार्यालयका प्रमुख गिरीका अनुसार सरकारले आवको सुरुवातमै बढी आन्तरिक ऋण लिनुमा कम ब्याजदर हुनु मुख्य कारण हो । यसबाहेक पर्याप्त तरलता रहेको समयलाई समेत हेरेर बढी आन्तरिक ऋण सुरुवातमै उठाइएको उनले बताए ।

आन्तरिक ऋणका लागि सरकारलाई तोकिएको सीमाभन्दा माथि नउठ्ने भएकाले आन्तरिक ऋण अगाडि वा पछाडि जुनसुकै समयमा उठ्दा पनि समस्या नहुने अर्थ मन्त्रालयको तर्क छ । यस आवमा सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ मात्र आन्तरिक ऋण उठाउन पाउने सीमा छ ।

प्रत्येक नेपालीको टाउकोमा ८० हजार ८१९ ऋण

सार्वजनिक ऋणको कात्तिकसम्मको तथ्यांक अनुसार अब हरेक नेपालीको टाउकोमा ८० हजार ८१९ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ । यस अवधिसम्मको २३ खर्ब ५७ अर्ब ६ करोड ऋणलाई नेपालको २०७८ सालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जनामा भाग लगाउँदा प्रतिव्यक्ति ऋण दायित्व ८० हजार ८१९ रुपैयाँ पर्न जान्छ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?