+

कोलोरेक्टल क्यान्सरको कारण र उपचार

२०८० मंसिर  १३ गते १७:१८ २०८० मंसिर १३ गते १७:१८
Shares
कोलोरेक्टल क्यान्सरको कारण र उपचार

नेपालमा ठूलो आन्द्राको क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । विकसित देशहरुमा ठूलो आन्द्राको क्यान्सरको समस्या सामान्य भइसकेको भए पनि नेपालमा यसबारे जनचेतनाको अभाव र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो समस्याको रुपमा देखा परेको छ ।

यस विषयमा ध्यान दिन नसकेका कारण यसले भयावह रुप लिंदै गएको छ । त्यसैले ठूलो आन्द्राको क्यान्सर कसरी लाग्छ, के कारणले लाग्छ ? परीक्षण कसरी गराउने ? उपचार के छ ? भन्ने जान्न जरुरी छ ।

ठूलो आन्द्रा (कोलोन) ६ फिट लामो नली जस्तो मांसपेशी हो । यसले सानो आन्द्रालाई मलाशयसँग जोड्छ । त्यति मात्र नभई खानाबाट प्रोटिन र भिटामिन जस्ता आवश्यक चीजहरू लिन्छ र फोहोरलाई अलग गर्ने काम पनि यसैले गर्छ । जसमार्फत अनावश्यक तत्व मलको रुपमा तयार हुन्छ । जब यसको कुनै भागमा कुनै कारणवश तीव्र रुपमा अत्यधिक कोषहरु अनियन्त्रित रुपमा बढ्दै गएमा ठूलो आन्द्राको क्यान्सर भएको बुझिन्छ ।

ठूलो आन्द्राको क्यान्सरलाई चिकित्सकीय भाषामा कोलोरेक्टल क्यान्सर पनि भनिन्छ ।

यो कति सामान्य ?

डब्ल्यूएचओका अनुसार पेटको क्यान्सर पुरुष र महिलामा हुने दोस्रो सबैभन्दा सामान्य क्यान्सर हो । करिब दुई प्रतिशत मानिसलाई ५० वर्षको उमेरमा पेटको क्यान्सर हुन्छ । यद्यपि, नेपालमा भने यस रोगबाट कति प्रभावित छन् भने एकिन तथ्यांक पाइँदैन । कोलोरेक्टल क्यान्सरले पुरुष र महिलालाई समान रूपमा असर गर्छ । तर पुरुषमा यो कम उमेरमा हुन सक्छ ।

कारण 

कोलोरेक्टल क्यान्सर कसरी हुन्छ भन्नेमा त खास कारण पत्ता लागेको छैन । यद्यपि, केही कारणलाई यसको जिम्मेवार मानिन्छ ।

अत्यधिक रेड मिट खाने, फाइबर अत्यन्त कम खाने, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिलाई पनि ठूलो आन्द्राको क्यान्सर गराउने मुख्य कारक मानिन्छ । खानपानमा लापरवाही, जंकफुड, फास्टफुडको अत्यधिक उपभोग पनि यसको कारण बन्न सक्छ ।

त्यस्तै, आन्द्रामा देखिने कोलोरेक्टल पोलिप अर्थात् आन्द्रामा मासु पलाएको छ तर समयमा उपचार भएको छैन भने पछि क्यान्सरमा परिणत हुन सक्छ ।

त्यसैगरी, इन्फ्लामेटरी बाउल डिजिजले ठूलो आन्द्राभरि नै घाउ बनाउँछ । त्यसको उपचार भएको छैन वा पित्तनलीसम्बन्धी रोगमा पनि अन्तिममा गएर क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

कुनै पनि आन्द्रामा देखिने रोग समयमा उपचार भएन भने पनि क्यान्सरको रुप लिन्छ । खानपानमा ध्यान नदिनुका साथै कम शारीरिक परिश्रम गर्ने मानिसमा मोटोपनको समस्या हुन्छ । अत्यधिक मोटोपन पनि कोलोरेक्टल क्यान्सरको सम्भावना बढाउँछ । मोटोपनबाट पीडित व्यक्तिहरूलाई अन्य धेरै पेटसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । यसबाहेक जसको परिवारमा यो पहिले नै कसैलाई क्यान्सर भइसकेको छ भने त्यस परिवारको सदस्यमा हुने जोखिम हुन सक्छ ।

लक्षण

आन्द्राको कुन भागमा क्यान्सर छ, त्यहीअनुसारको संकेत देखिन्छ । जस्तै, ठूलो आन्द्राको दायाँ भागमा क्यान्सर भए बिरामीलाई कुनै किसिमको दुखाइ नहुन सक्छ । उनीहरुमा एकैपटक रगतको कमी भएर रिंगटा लाग्ने, मासुको डल्लो पलाउने, दिसा कालो हुने, कमजोर अनुभव हुने, छिटो थाक्ने जस्ता लक्षण देखिन्छ ।

यस्तै, बायाँतर्फको भागमा क्यान्सर भएमा मासु पलाएर आन्द्रा साँघुरो हुन्छ, जसकारण दिसा गर्ने क्रममा त्यसको प्रभाव फरक हुन्छ । उनीहरुमा कडा दिसा हुने, दुई-तीन दिनपछि मात्र दिसा हुने, कहिले डायरिया हुने, कहिलेकाहीं खाना खाएपछि पेट बटारिएको जस्तो महसुस हुन्छ ।

कहिलेकाहीं क्यान्सरले पलाएको मासुको भागबाट रगत बग्ने गर्छ, जुन गएर दिसामा गाढा रगत देखा पर्छ । यसबाहेक कब्जियत, पेटमा दुखाइ, पेट सुन्निने, बान्ता हुने र पेटमा गाँठो हुनु लगायत लक्षण देखिन सक्छ ।

पहिचान

यो रोगको पहिचान लक्षणलाई आधार मानेर गरिन्छ । दिसामा समस्या भएर आएका बिरामीको दिसाको परीक्षण गरिन्छ । यसबाट बिरामीमा रगतको मात्रा कति छ भनेर निर्क्योल गर्न सकिन्छ । यसबाट पनि केही हदसम्म पत्ता लाग्छ ।

त्यस्तै, कोलोनस्कोपी गरेर दूरबीनको माध्यमबाट ठूलो आन्द्रामा हेरी क्यान्सरको लक्षणको शंका लागेमा त्यहाँबाट सानो टुक्रा निकालेर बायोस्पी गरिन्छ ।

अर्को भनेको क्यान्सर बनाउने पोलिप (मासु पलाएको ) छ भने स्क्रीनिंङद्वारा पत्ता लगाउन सकिन्छ । यदि पोलिपको समयमै उपचार गरियो भने क्यान्सरसम्म पुग्न पाउँदैन । यस्ता विधिबाट क्यान्सर कुन चरणमा छ पत्ता लाग्छ । र, सोही अनुसार उपचार प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

उपचार

यदि पेटको क्यान्सर प्रारम्भिक चरणमा नै पत्ता लाग्यो भने निको हुने सम्भावना धेरै हुन्छ । यसको उपचार  शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी पर्छन् । क्यान्सरको कुन चरण हो त्यसको आधारमा उपचार फरक हुन्छ ।

त्यस्तै, क्यान्सर पहिलो र दोस्रो चरणमा छ र अन्य अंगमा फैलिएको छैन भने क्यान्सर भएको मासुको भाग शल्यक्रिया गरी निकाल्न सकिन्छ । मासुसँगै त्यसको ग्रन्थी पनि निकाल्नुपर्छ । क्यान्सर हुँदा सम्पूर्ण भाग नै फाल्नुपर्ने हुँदा अन्य शल्यक्रियाभन्दा क्यान्सरपछिको शल्यक्रिया फरक हुन्छ ।

पहिला चिरफारबाट मात्र शल्यक्रिया हुन्थ्यो भने अहिले ल्याप्रोस्कोपिक प्रविधिबाट सानो घाउ बनाएर गर्न सकिन्छ । सुरुको अवस्थामा पहिचान भयो र शल्यक्रिया पनि सही ढंगले भएको छ भने बिरामी निको हुन सक्छ ।

क्यान्सरको तेस्रो चरण पार भएको छैन भने शल्यक्रिया गराउनु प्रभावकारी हुन सक्छ । चौथो चरणमा भने कलेजोतिर पनि क्यान्सर फैलिसकेको हुन सक्छ । कसैलाई किमोथेरापी त कसैलाई अवस्था हेरेर रेडियोथेरापी पनि गर्नपर्ने हुन्छ ।

कसरी बच्ने ?

-पारिवारिक इतिहास भएमा बेलाबखतमा स्क्रिनिङ गर्ने ।

-रेडमिट नखाने, धुम्रपान र मदिरा सेवन नगर्ने ।

-मोटोपन हुन नदिन फाइबरयुक्त र ठिक्क मात्रामा सन्तुलित आहार खाने ।

-शारीरिक व्यायाम गर्ने ।

कोलोरेक्टल क्यान्सर क्यान्सर ठूलो आन्द्रा
डा. रामेश्वर भण्डारी
लेखक
डा. रामेश्वर भण्डारी
कन्सल्टेन्ट कोलोरेक्टरल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५९६६ अध्ययन : एमबीबीएस, एमडी हाल काठमाडौंको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पताल तथा शुक्र होम अफ डायग्नोस्टिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मोटरसाइकल पछाडि बस्ने बढी असुरक्षित, हेलमेट लगाउनु किन जरुरी ?

मोटरसाइकल पछाडि बस्ने बढी असुरक्षित, हेलमेट लगाउनु किन जरुरी ?

नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै