+

स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती

२०८० मंसिर  १७ गते १४:०८ २०८० मंसिर १७ गते १४:०८
स्वास्थ्य बीमा बोर्ड र अस्पतालको लापरबाहीले मिर्गौला रोगीलाई सास्ती

काठमाडौं । दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरेकी झापाकी मनिषा राईले औषधि उपचारमा सहज होस् भनेर स्वास्थ्य बीमा गरेकी छिन् । तर औषधि लिन भने झापाबाट भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आउनुपर्छ । किनकि झापामा स्वास्थ्य बीमा अन्तर्गतको औषधि पाइँदैन ।

पहिले उनी तीन महिनामा एक पटक औषधि लिन भक्तपुर आउँथिन् । तर अहिले महिनैपिच्छे आउनुपर्छ किनकि अस्पतालले एक महिनाको लागि मात्र औषधि दिन्छ ।

‘मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले एक दिन पनि औषधि छुटाउन मिल्दैन । त्यसैले औषधि लिन आउनैपर्‍यो । त्यति टाढाबाट एक महिनाको लागि औषधि लिन आउँदा आउन जान खर्च नै धेरै हुन्छ,’ निराश हुँदै उनी सुनाउँछिन्, ‘औषधि उपचारमा सहज होस् भनेर स्वास्थ्य बीमा गरेको झन् धेरै गाह्रो भएको छ । हामीलाई आवश्यक औषधि अस्पतालमा पाइँदैन जहिल्यै अभाव छ भन्नुहुन्छ ।’

भक्तपुरका ७१ वर्षीय लोकबहादुर थापाले क्रिएटिनिन १.४ भन्दा माथि पुगेर पाँच वर्षदेखि मिर्गौलाको औषधि खाइरहेका छन् । उनले स्वास्थ्य बीमा गरेको हुनाले बीमा मार्फत पाउने औषधि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट लिइरहेका छन् ।

तीन महिनाअघि लिएको औषधि सकिएपछि उनी औषधि लिन अस्पताल पुगे । औषधि लिनेको लाइन लामै थियो । तर अस्पतालले भने टोकन सिस्टम लागू गरेको रहेछ दैनिक १५० जना बिरामी मात्र हेर्नेगरी ।

उनी कोटाभित्र परे औषधि लिन लाइनमा बसे । पहिला तीन महिनाको लागि दिइने बीमा अन्तर्गतको औषधि ‘अब एक महिनाको लागि मात्र पाइन्छ है’ भनेर अस्पतालको फार्मेसीका एक जना कर्मचारीले भने । त्यो कुरा सुनेर उनी निराश भए ।

‘तीन महिनामा एक पटक औषधि लिन आउन त यो बुढो शरीरलाई गाह्रो छ झन् अब एक-एक महिनामा कसरी आउनु,’ उनी दु:खेसो पोख्छन् ।

तीन वर्षअघि प्रत्यारोपण केन्द्रबाट नै मिर्गौला प्रत्यारोपण गरेका विकास पौडेलले पनि सोही अस्पतालबाट बीमा अन्तर्गतको औषधि लिएर खाइरहेका थिए । औषधि सकिने बेला भएपछि उनी औषधि लिन अस्पताल पुगे । अस्पतालको बीमा अन्तर्गतको औषधि पसलबाट एक महिनाको लागि मात्र औषधि पाए ।

‘पहिले त एकै पटक तीन महिनाको लागि औषधि दिइन्थ्यो तर अहिले किन एक महिनाको लागि मात्र दिन थाल्नुभयो?’ उनको प्रश्नमा फार्मेसीका एक कर्मचारीले औषधिको स्टक थोरै भएर यस्तो भएको भन्ने जवाफ दिए ।

उज्ज्वल भन्छन्, ‘मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले एक दिन पनि औषधि छुटाउनु हुँदैन । केही काम परेर दुई-तीन महिना बाहिर जानुपर्‍यो भने गर्ने ? यसबारेमा स्वास्थ्य बीमा बोर्ड र अस्पतालले सोच्नुपर्ने हो ।’

गरिब तथा विपन्न नागरिकले पनि सहज रूपले औषधि उपचार सेवा पाउन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमितहरुले सहजै औषधि पाएका छैनन् ।

अस्पताल भन्छ कडा रोगको बिरामीलाई तीन महिनाकै लागि औषधि दिएका छौ

स्वास्थ्य बीमा अन्तर्गत बिरामीले पाउने औषधि स्वास्थ्य बीमा बोर्डकै निर्देशनमा अहिले एक महिनाको लागि मात्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । तर कडाखाले रोग मुटु, मिर्गौला, क्यान्सर जस्ता रोगका लागि भने एक एक महिनामा औषधि लिन आउन गाह्रो हुने भएकोले बिरामी र अस्पतालको अनुरोधमा पत्र लेखेपछि यस्ता बिरामीका लागि तीन महिनाकै लागि औषधि दिने व्यवस्था गरेको अस्पतालको स्वास्थ्य बीमा हेर्ने एक कर्मचारी बताउँछिन् ।

मिर्गौला प्रत्यारोपण गरेको बिरामी र डायलाइसिस गरेका बिरामी र अन्य कडा रोगमा बिरामीलाई तीन महिनाको औषधि उपलब्ध गराइरहेको उनी बताउँछिन् । अस्पतालले कडाखाले बिरामीलाई तीन महिनाको लागि औषधि उपलब्ध गराइरहेको भने पनि पनि बिरामीहरूले भने एक महिनाको औषधि मात्र पाइरहेको गुनासो गरेका छन् ।

स्वास्थ्य बीमा बोर्ड भन्छ कडा रोगको लागि तीन महिनाको लागि औषधि दिने व्यवस्था छ

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत निःशुल्क दिइने औषधि पहिले तीन महिनाको लागि दिइन्थ्यो तर अहिले एक महिनाको लागि मात्र दिने व्यवस्था छ ।

पर्याप्त मात्रामा औषधिको स्टक नभएकाले र बिरामीले औषधिको दूर प्रयोग गरेको पाइएकोले बीमा अन्तर्गतको औषधि तीन महिनाबाट घटाएर एक महिनाको लागि मात्र दिने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेल बताउँछिन् । तर मिर्गौला, मुटु लगायत कडाखाले रोगको लागि भने तीन महिनाका लागि नै औषधि दिने व्यवस्था रहेको उनको भनाइ छ ।

कडाखाले रोगको लागि तीन महिनाको औषधि दिनुपर्नेमा पनि अस्पतालले एक महिनाको लागि मात्र औषधि दिन्छ भने ठूला अस्पतालमा स्टक कम भएर हुन सक्ने कँडेल बताउँछिन् । ‘अस्पतालमा स्टक हुँदाहुँदै पनि कडा बिरामीलाई तीन महिनाको लागि औषधि नदिएको पाइएको छ भने बिरामीले स्वास्थ्य बीमा बोर्डमा उजुरी दिन सक्छन्,’ उनी भन्छिन् ।

मिर्गौलाको बिरामी चेकजाँचमा पनि अस्पतालको कोटा सिस्टम

एक महिनाको लागि मात्र औषधि उपलब्ध गराउनुका साथै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाको बिरामी चेकजाँच पनि कोटा सिस्टममा गरिन्छ । दैनिक १५० जना मात्र बिरामी हेर्ने व्यवस्था छ ।

देशभरिबाटै मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गराइरहेका बिरामी परीक्षण तथा फलोअप गर्न अस्पताल पुग्छन् तर अस्पतालको कोटा सिस्टमले सास्ती भोग्नुपरेको बिरामीको गुनासो छ ।

‘अस्पतालमा पुगेका बिरामीले सहज तरिकाले सेवा प्रवाह नपाएको गुनासो गरेका छन् । एक जना सेवाग्राहीले भने, ‘के गर्नु पालो नै आउँदैन, कति कुरौं ?’

अस्पतालमा नेफ्रोलोजिस्ट चिकित्सक अभावका कारण कोटा प्रणाली लागू गरेको अस्पतालका कर्मचारी बताउँछन् ।

मिर्गौला रोग शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्वास्थ्य बीमा
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय