+

आँखामा देखिने ‘जान्थेलाज्मा’ कति खतरनाक ?

२०८० मंसिर  १८ गते १३:०४ २०८० मंसिर १८ गते १३:०४
आँखामा देखिने ‘जान्थेलाज्मा’ कति खतरनाक ?

अनुहारमा असामान्य रुपमा मासुको डल्लो, कोठी र मुसा देखिंदा त्यसले कुनै दु:ख नदिएसम्म खासै वास्ता गरिंदैन । तर बेवास्ता गरिने यस्ता समस्याले कालान्तरमा ठूलै समस्या निम्त्याउन सक्छ । हेर्दा सामान्य लाग्ने आँखाको वरपर देखिने एक समस्या हो जान्थेलाज्मा ।

जान्थेलाज्मा भनेको आँखाको ढकनीको वरपर र नाकतर्फ आँखाको कुनामा आउने पहेंलो वा सेतो डल्लो हो । यी डल्लो फराकिलो र केही भाग उठेको हुन्छ । यो कुनै आँखाको समस्या नभएर उच्च कोलेस्टेरोलको कारणले बनेको हुन सक्छ । जसकारण यसलाई आँखा वरपर जमेको कोलेस्टेरोल पनि भन्ने गरिन्छ । यो मासु छुँदा दुख्दैन र तत्काल कुनै हानि पनि गर्दैन । तर लामो समयसम्म राख्यो भने अल्सरको रुप लिन सक्छ ।

कारण

जान्थेलाज्मा उच्च कोलेस्टेरोल भएको व्यक्ति र हुन सक्ने जोखिम भएकालाई हुन सक्छ । जसकारण  आँखामा यस्तो डल्लो देखिएमा कोलेस्टोरोलको परीक्षण गराउनुपर्छ ।

साथै, अत्यधिक मदिरा पिउने र मोटोपन भएका व्यक्तिमा पनि यसको सम्भावना हुन्छ । मधुमेह, हाइपोथायराइडिज्म र कलेजोसम्बन्धी समस्या भएमा पनि यो समस्या देखिन सक्छ । कसैमा भने वंशाणुगत हुन पनि सक्छ ।

जान्थेलाज्मा प्राय: मध्यम उमेरदेखि वृद्धसम्मको उमेर समूहमा देखिन सक्छ । पुरुषको तुलनामा बढी महिलामा यो समस्या देखिएको पाइन्छ ।

अल्सर गराउन सक्छ

जान्थेलाज्मा भएपछि आँखामा कु्नै खालको दुखाइ हुँदैन भनेर चुप लागेर बस्नु हुँदैन । किनभने यो यत्तिकै हराउँदैन । र, पछि आकार पनि बढ्दै जान्छ । यसले अनुहार पनि नसुहाउँदो देखिन्छ । यसले बिस्तारै इन्फेक्सन गराउनेदेखि आँखाको अल्सर समेत गराउन सक्छ ।

के छ उपचार ?

सबैभन्दा पहिला नदुख्ने सुई दिइन्छ । सुई लगाइदिएपछि डल्लोमा सानो प्वाल पारेर त्यसमा जमेको पिप निकालिन्छ । साथै, यसलाई सानो शल्यक्रिया गरेर पनि निकाल्न सकिन्छ । त्यस्तै लेजर, केमिकल र केही औषधिबाट पनि यसको उपचार सम्भव छ । तर कुन विधिबाट गर्ने भन्ने निर्णय सो मासुको अवस्था हेरेर हुन्छ ।

साइड इफेक्ट

यसको साइड इफेक्टको रुपमा हल्का दाग देखिन सक्छ । त्यस्तै, छालाको रङ पनि हल्का परिवर्तन हुन सक्छ ।

जोखिमबाट कसरी बच्ने ?

– कोलेस्टेरोल भएमा यसलाई नियन्त्रणमा राख्ने

– सुर्तीजन्य पदार्थको सेवन नगर्ने

– शरीरको तौल नियन्त्रणमा राख्ने

– उच्च रक्तचाप र मधुमेहको उपचार गर्ने

आँखा रोग जान्थेलाज्मा डा. कमल खड्का
डा. कमल खड्का
लेखक
डा. कमल खड्का
वरिष्ठ नेत्ररोग विशेषज्ञ

डा. खड्का वरिष्ठ नेत्ररोग विशेषज्ञ हुन् । हाल उनी काठमाडौंस्थित नेपाल आँखा अस्पतालमा मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् । उनले नेत्ररोगमा एमडी र काटाराक्ट सर्जरीमा फेलोसिप गरेका छन् । डा. खड्काको नेपाल मेडिकल दर्ता नम्बर १२३९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय